Skip to content


नेपाली पत्रकारिता विकासको यात्रालाई नियाल्दा यसको श्रीगणेश साहित्यिक पत्रकारिताबाट भएको देखिन्छ । संवत् १९४१ मा बनारसबाट रामकृष्ण वर्माको सम्पादन तथा युवाकवि मोतीराम भट्टको सक्रियतामा ‘गोर्खाभारत जीवन’ वा देशभित्रैबाट संवत् १९५५ मा ‘सुधा सागर’ पत्रिकाहरू साहित्यसँग सम्बन्धित थिए । यसबाट पनि यतिविघ्न इतिहास बोकेको साहित्यिक पत्रपत्रिकाको अवस्था आज कुन रूपमा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यद्यपि संस्थागत तवरबाट निस्केका केही पत्रिकाबाहेक बेला मौकामा खहरे उर्लेजस्तो आउने र साँच्चै नै यसले त छलाङ मार्छजस्तो लाग्ने हामीकहाँ साहित्यिक पत्रिकाको हालत छ ।

सूचना तथा प्रविधिको क्षेत्रमा दिन दुई गुना रात चौगुनाले विकास भइरहेको आजको दुनियाँ एउटा ग्रामीण विश्वको रूपमा परिणत भैरहेको छ । विश्वको कुनै एक कुनामा खिसिक्क केही घटना भयो भने क्षणभरमै आगोको झिल्का सरह देशदेशान्तर पुग्ने अवस्थामा त एकतर्फीय सांस्कृतिक अतिक्रमणको दुर्दशा छ भने आजभन्दा करिब ४२-४३ वर्ष अघि समाज वाहृय प्रवाहबाट कति ग्रसित थियो ? स्वतः अनुमान गर्न सकिन्छ । यस्तो विषम परिस्थितिले निम्त्याउँदा कतै आफ्नो मौलिक सिर्जना गुम्ने त होइन भन्ने आशङ्कालाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायले ‘मधुपर्क’ को जन्म भएको हो भन्ने अभिमत रहेको छ । यद्यपि यसको न्वारनको बारे विभिन्न विद्वान्हरूको आ-आफ्नै धारणा रहेको पाइन्छ । प्रतिगमनकारीको आक्षेप नलागे केही ज्ञाताहरू ‘मधुपर्क’ प्रकाशनको थालनीको श्रेय राजा महेन्द्रलाई दिन्छन् । केही संस्थानका तत्कालीन पदाधिकारीहरूको मत्ता मोहले उब्जाएको भन्छन् र कोही चाहिँ महान् नाटककार बालकृष्ण समको दिमागको उपज हो भन्छन् । ‘मधुपर्क’को लोगोको चित्रकारिता पनि उहाँकै हो भनेर ठोकुवा गर्दछन् । जे भए पनि ‘मधुपर्क’ प्रकाशनको आरम्भ र निरन्तरता नेपाली वाङ्मयको श्रीवृद्धिमा एउटा कासेेढुङ्गा हो भन्दा अत्युक्ति नहोला । त्यसमा पनि एउटा साहित्यिक पत्रिकाको ५०० औँ अङ्कसम्मको उपलब्धि राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै सहजै आँकलन गर्ने विषय होइन ।

नेपाली भाषा र साहित्यको उत्थानमा आफूलाई एउटा विशिष्ट आयाम र कालखण्डका रूपमा स्थापित गरेका ‘शारदा’, ‘रूपरेखा’ जस्ता उत्कृष्ट पत्रिकाहरू हेर्दाहेर्दै हामीबीच हराएर गए । कुनैबेला सिर्जनाका खँदिलो विषयवस्तु बनेका पारिका ‘हंस’ र ‘सारिका’ ले टिक्नुका लागि यावत, परिवर्तन गर्दागर्दै पनि ती नामहरू केवल हाम्रा स्मृतिमा मात्र रहन गए । यद्यपि बेलाबखत ती पत्रिकाका सामग्रीहरू हाम्रा बौद्धिक समाजमा चर्चाका विषय हुने गर्दथे ।

यहाँनेर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो हुन गयो । कुरा ‘मधुपर्क’ को गन्थन अनेक तिरको । फेरि पनि ‘मधुपर्क’ कै कुरा कोट्याउँदा प्रतिगामी बिल्ला लाग्न सक्छ । भन्ााइको तात्पर्य ‘मधुपर्क’ का आरम्भका अङ्कहरू अलि घोत्लेर हेर्ने हो भने ती अङ्कहरूको पाठ्य सामग्री, विषयवस्तु, साजसज्जा, कागज तथा छपाइ प्रविधि उत्कृष्ट थिए । आवरण छपाइ आर्ट बोर्डमा, भित्री कागज आर्ट पेपरमा छापिनु, तिनताकका चलन चल्तीका सिद्धहस्त लेखकहरूका अतिरिक्त स्वयं राजा महेन्द्रका कविताले स्थान पाउनुले पनि राजा महेन्द्रको ध्यान दृष्टि थिएन भन्न सकिन्न । सुनेकै कुरा गर्ने हो भने राजा महेन्द्रले ‘मधुपर्क’ मा प्रकाशित रचनाको पारिश्रमिक हात लिएर ओल्टाइपल्टाई गरेर देशको राजा भएर तलब भत्ता पाउनु अधिकारको कुरा हो तर एउटा सर्जक भएर सिर्जनावापत पारिश्रमिक पाउनु मेरो वास्तविक कमाइ हो भनेका थिए रे ‘मधुपर्क’ को कुरा हुँदा कविवर केदारमान व्यथित हामीसँग भन्ने गर्नुहुन्थ्यो ।

यसरी ‘मधुपर्क’ सुरुका दिनहरूमा आकर्षक रूपरङ स्तरीय छपाइ, पठनीय सामग्री तथा विज्ञापनमय भएर प्रकाशन हुँदै आए पनि अन्ततः संस्थानको जोड, घटाउ, नाफा, नाफा-नोक्सानको हिसावले निरीह हुँदै गयो । यद्यपि सरकारका मन्त्री तथा नेताहरू देशको साहित्य र संस्कृतिको जति बखान गरेर पनि थाक्दैनन् । वाङ्मय राष्ट्रको गहना हो । देशको मौलिक पहिचान हो भनेर जति घाँटी सुकाए पनि वाङ्मयको जगेर्ना गर्न सरकारले के कति योगदान गरेको छ ? त्यसको विवेचनामा अलि नलागौँ । यद्यपि ‘मधुपर्क’ पनि यसैको शिकारबाट मुक्त हुन सकेको छैन । सरकारअन्तर्गत रहेको मुद्रण विभाग गोरखापत्र छापाखाना संस्थानमा परिणत भएपछि संस्थान आफ्नै खुट्टामा उभिनु परेको छ । सरकारबाट सहयोग अनुदान पाएको छैन । यदाकदा केहीवापत केही सहयोग गरेको पाइन्छ, त्यो पनि नगण्य रूपमा ।

फेरि कुरा ‘मधुपर्क’को लेखाइ भाषण हुन गयो । यति हुँदाहुँदै पनि संस्थान व्यवस्थापनले कहीँ कतैबाट सहयोग नभए पनि नाफा नोक्सान नहेरेर हारिजिती ‘मधुपर्क’ प्रकाशनमा निरन्तरता दिँदै आएको छ । आज ५०० औँ अङ्क प्रवेश यसैको प्रतिफल हो भन्नुमा कुनै कञ्जुस्याईं गर्ने ठाउँ देखिँदैन । ‘मधुपर्क’ कस्तो निकाल्ने स्तरीय, पठनीय र समयमै आदि सबै व्यवस्थापनको नेतृत्वमा भर पर्दछ । सम्भवतः २०४१ वैशाखसम्म जेनतेन प्रकरण कहिलेकाहीँ त संयुक्ताङ्कसम्म निस्केको ‘मधुपर्क’लाई तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक नगेन्द्र शर्माले छुट्टै निगरानीका साथ यसलाई बेग्लै ढङ्गले पाठ्य सामग्री, आकर्षण छपाइ, साजसज्जा एवं रूपरङमा ढालेर एउटा साहित्यिक प्रधान पारिवारिक पत्रिकाका रूपमा विकसित गर्न खोज्नुभयो । त्यस बेलासम्म ‘गोरखापत्र’ दैनिकअन्तर्गत रहेको ‘मधुपर्क’ एउटा स्वायत्त विभागका रूपमा स्थापित गर्नुभयो । त्यसबेला उड्नलाई करिब करिब पखेटा भिजाएको ‘मधुपर्क’को कुल १२८ पृष्ठमा ४१ पृष्ठसम्म विज्ञापन छापेको हामी आफैँले हौं । त्यतिखेर व्यवस्थापनले मधुपर्ककर्मीलाई देख्यो कि कति पेज विज्ञापन आयो । के कस्तो रचना छाप्दै हुनुहुन्छ भनेर निकै केरकार गरेको हाम्रो स्मृतिमा अझै ताजा छ । सुरुमा निकै उत्साही भएर आउनेहरू विस्तारै ‘गोरखापत्र’ लगायत दैनिक प्रकाशनमा प्रकाशित समाचारहरू उत्पन्न समस्या, मन्त्री नेताहरूको भाषण छुटको आक्रोश, अन्तसन्त समाचारबाट उत्पन्न स्थिति, छपाइ समस्या, वितरण प्रणालीमा कठिनाई आदि अनेक झमेलाले गाँजेपछि कहाँको ‘मधुपर्क’ स्तरीयताको कुरा । अनि कुना पस्न थाल्छ ‘मधुपर्क’ ।

हुन त संयोग भनौँ कि के भनौँ । संस्थानमा जति पनि अध्यक्ष तथा महाप्रबन्धक नियुक्ति भएर आएका छन् । त्यसमा अधिकांश वाङ्मयसँग कुनै न कुनै रूपमा गाँसिएका छन् । सुन्दरप्रसाद शाह दुःखी, टेकबहादुर खत्री, रामराज पौडेल, नगेन्द्र शर्मा, उत्तमलाल श्रेष्ठ, पुरुषोत्तम बस्नेत, कृष्णभक्त श्रेष्ठ, गोविन्द भट्ट, डा. तुलसी भट्टराई, राजेन्द्र सुवेदी, शिव अधिकारी, किशोर नेपाल, इन्दिरा प्रसाईं, रमेश भट्टराई, विजय चालिसे यसका उदाहरणहरू हुन् । नियुक्तिताक ‘मधुपर्क’ लाई स्तरीय, आकर्षण एवं सबैका लागि पठनीय बनाउने सोचका साथ आउने पदाधिकारीहरू अन्य कामकै जिम्मेवारी, अनावश्यक वाहृय तनावका कारण ‘मधुपर्क’ तर्फ सोच्ने फुर्सद नै हुँदैन । दैनिक अखबार र अनेकौँ आन्तरिक व्यवधानको तुलनामा ‘मधुपर्क’ कुनै समस्या नै होइन ।

नेपाली भाषा साहित्यको श्रीवृद्धि भनेको त्यस्तै त्यस्तै हो । यस प्रसङ्गमा २०५२-०५३ ताक डा. तुलसी भट्टराई अध्यक्ष भएर आएपछि ‘मधुपर्क’ को तत्कालीन सम्पादक यस पङ्क्तिकारलाई “हेर्नुहोस् भाइजान ‘मधुपर्क’ लाई अब अब्बल बनाउनुपर्छ । तपाईं अगाडि बढ्नुहोस् । मैले गर्ने सहयोगमा कुनै कसर बाँकी राखिनन्” भन्नुभएको थियो तर एक महिनापछि ‘मधुपर्क’ को योजना लिएर जाँदा लामो सुस्केरासहित तपाईंले ‘मधुपर्क’ राम्रैसँग निकाल्नु भएको रहेछ । कुनै समस्या छैन । यसैलाई निरन्तरता दिनुहोस् । त्यस्तै केही पर्‍यो भने भन्नु होला ! भन्नुभएको यसको कानमा अझै गुञ्जयमान छ ।

यसरी संस्थान व्यवस्थापनले मासिक प्रकाशनहरूमा त्यति दृष्टि पुर्‍याउन नसक्नु वाध्यता हुँदाहुँदै पनि ‘मधुपर्क’ ले आफ्नो पहिचान र मौलिकतालाई ठेस पुग्न दिएको छैन । यसका हरेक विशेषाङ्कहरू नेपाली वाङ्मयका पाठकहरूलाई गहकिलो खुराक भएको छ । अनुसन्धानकर्ताहरूलाई मार्ग दर्शन भएको छ । किशोर नेपालको कार्यकालमा स्थापित ‘मधुपर्क’ सम्मान र विजय चालिसेले जाँगर चलाएर ‘मधुपर्क’ का प्रकाशित रचनाहरूद्वारा सङ्ग्रहीत मधुपर्कका प्रतिनिधि हास्यव्यङ्ग्य, मधुपर्कका प्रतिनिधि नियात्रा तथा मधुपर्कका प्रतिनिधि कथा सङ्ग्रहजस्ता ग्रन्थ र गोष्ठीहरूले समग्रमा मधुपर्कको माग होइन नेपाली भाषा साहित्यको स्तर उकास्नमा योगदान पुर्‍याएको छ भन्नु अतिशयोक्ति नहोला ।

यहाँनेर एउटा हेक्का राख्नुपर्ने कुरा के छ भने हिजोआज साहित्यिक बजारमा विविध रङविरङ्ग र आकर्षक साजसज्जाका साथ साहित्यिक पत्रिकाहरू देखा पर्ने गर्दछन् । त्यसमा पनि स्रष्टाहरूलाई राम्रै पारिश्रमिक उपलब्ध गराउने तीमध्ये अधिकांश पत्रिकाहरूले तेस्रो-चौथो अङ्कदेखि आफ्ना आयु लम्ब्याएको पाइँदैन । यस्तो विषम अवस्थामा ‘मधुपर्क’ ले जे जस्तो रूपमा भए पनि ५०० औँ पूर्णाङ्क प्रवेश गर्नु समष्टिमा साहित्य, समाज र आफैँमा एउटा विशिष्ट उपलब्धि हो । र यो अभियान र अभीष्टमा ‘मधुपर्क’ ले सधैँ सफलता पाओस् अहिलेलाई यही शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *