नेपालको साहित्यिक इतिहासमा साहित्यिक पत्रकारिताको लामो इतिहास छ । साहित्यिक पत्रिकाहरूलाई छहारी, मञ्च जे नाम दिइए पनि यसै थलोबाट थुप्रै प्रख्यात साहित्यकार जन्मिने मौका पाए । साहित्यिक प्रतिभाहरू जन्माउन र हुर्काउनका लागि साहित्यिक पत्रकारिताले विशेष भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले भन्न सकिन्छ, साहित्यिक पत्रकारिताको आफ्नो छुट्टै मान्यता र विशेषता छ । समाचारप्रधान पत्रकारिताभन्दा पुरानो रहेर पनि साहित्यिक पत्रकारिताले जति गर्नुपर्ने प्रगति हो त्यो गर्न नसक्नाका कारणहरू थुप्रै छन् तर मुख्यतया राज्यबाट यस पत्रकारिताबारे सहयोगमात्र होइन राज्यकै लागि यो अनिवार्य विषय हो भन्ने समेत महसुस गरिएनक । प्रत्येकपल्ट छलफल, गोष्ठी, संगोष्ठीमा साहित्यिक पत्रकारिताको आवश्यकताबारे कार्यक्रमहरू प्रस्तुत हुन्छन्, राज्यबाट सहयोग हुने वचन दोहर्याउँछन् तर साहित्यिक पत्रकारिता गर्नु भनेको अनावश्यक बाध्यता सम्भिmएर व्यवहार गर्छन् । यस्तो असहयोग र सङ्कटमा पनि साहित्यिक पत्रपत्रिकाहरूको प्रवेश र प्रकाशन भइरहृयो । यी आदि सन्दर्भहरू नै साहित्यिक पत्रकारिताका कहरलाग्दा यात्रा-पथका कुराहरू हुन् ।
‘सुधासागर’ नै नेपालको जेठो पत्रिका मानिन्छ । वि.सं. १९५८ मा ‘सुधासागर’ निस्केको तीन वर्षपछि मात्र ‘गोरखापत्र’को प्रकाशन भएको हो । त्यसताक कुनै पनि साहित्यिक पत्रपत्रिकाहरू नेपालबाट प्रकाशित हुँदैन थियो, बनारसबाट बरू थुपै्र साहित्यिक पत्रपत्रिकाहरू प्रकाशन भएको देखिन्छ । ‘गोरखापत्र’ले नै केही साहित्यिक सामग्रीहरू प्रकाशित गरेर पाठकको साहित्यिक चाहनालाई त्यसताक पूर्ति गरेको थियो । राजनीतीकरणले स्वतकन्त्र ढङ्गले साहित्यिक पत्रिका प्रकाशन गर्नु पनि अपराध सोचिने बेला भएकै कारणले भारतबाट नेपाली साहित्यिक पत्रपत्रिकाहरू प्रकाशित हुन्थ्यो । मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, काशीबहादुर श्रेष्ठ, राममणि आदिले नेपाली साहित्यिक पत्रपत्रिकाको विकासका लागि आफूसक्दो योगदान पुर्याइदिएको देखिन्छ । अझ भनौँ, काशीबहादुर श्रेष्ठले ‘उदय’को प्रकाशन गरेर नेपाली साहित्यको विकासका लागि काशीबाट योगदान पुर्याए । उक्त पत्रिका आजपर्यन्त पनि दुर्गाप्रसाद श्रेष्ठको सम्पादनमा ‘उदय’ नै भएर प्रकाशित भइरहेको छ ।
वि.सं. १९९१ मा मात्र ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’को प्रकाशन भएको हो । ‘शारदा’को योगदान विशिष्ट र उल्लेखयोग्य रहृयो । लेखनाथ, देवकोटा, सम, सिद्धिचरणलगायत थुप्रै कालजयी स्रष्टाहरू जन्माउन सफल यस पत्रिकाको स्थान नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा उच्च र महान्स्थान ओगट्न सफल छन् । २०१६ मा प्रकाशित ‘नेपाली’ले पनि आफूलाई जसोतसो डोर्याउँदैछ । यसैगरी २०१७ सालमा प्रकाशित ‘रूपरेखा’ले पनि ‘शारदा’ पछिको एउटा सुन्दर नामको रूपमा साहित्यिक पत्रिकाका इतिहासमा ठाउँ छोडेर गएको छ । २०१८ सालमा रोचक घिमिरेको सम्पादनमा ‘रचना’को प्रस्तुति सुन्दर रहृयो । अद्यावधि पनि यो पत्रिका प्रकाशित हुँदैछ । २०१९ सालमा प्रकाशित ‘भानु’ले आफ्नो छवि हालसम्म पनि कायम गरेकै छ । २०२० तिर प्रकाशित ‘अभिव्यक्ति’ले हालसम्म पनि आकार पाएकै छ । आजकल प्रकाशनमा आइरहेका थुप्रै साहित्यिक पत्रिकाहरूको नाम लिनुपर्दा ‘उन्नयन’, ‘जनमत’, ‘बगर’, ‘तन्नेरी’, ‘शब्दसंयोजन’, ‘शिवपुुरी सन्देश’, ‘शब्दाङ्कुर’, ‘नवप्रज्ञापन’, ‘जुही’, ‘वनिता’, ‘वेदना’, ‘कलम’, ‘नार्गाजुन’, ‘कौशिकी’, ‘दायित्व’, ‘रश्मि’, ‘कल्पतरू’ ‘अन्तर्बोध’, ‘कालीको सुसेली’, ‘अक्षर’ आदि साहित्यिक पत्रिकाहरूले आ-आफ्नो ढङ्गको साहित्यिक सिर्जनाहरू फिँजाउने कार्य गरिरहेका छन् । यी उल्लेख भएका साहित्यिक पत्रिकाहरू सबैजसो निजीप्रयासमा व्यक्तिकै रहरमा प्रकाशित छन् ।
विभिन्न संस्थान, कार्यालय, बैङ्कबाट प्रकाशित पत्रिकाहरूमा ‘समकालीन साहित्य’, ‘कविता’, ‘प्रज्ञा’, ‘गरिमा’, ‘समष्टि’, ‘ज्योति’, ‘मिर्मिरे’, ‘मधुपर्क’ आदि छन् । ‘मधुपर्क’ साहित्यिक मासिकबारे भन्नुपर्दा भन्न सकिन्छ यस साहित्यिक मासिकले पनि थुप्रै स्रष्टाहरू जन्माउन, संरक्षित गर्न र प्रज्ज्वलित तुल्याउन योगदान पुर्याइदिएको छ । वि.सं. २०२५ सालमा प्रकाशित ‘मधुपर्क’ गोरखापत्र संस्थानबाट प्रकाशित नियमित साहित्यिक मासिक पत्रिका हो । थुपै्र राजनीतिक घटनाक्रमहरूमा आफूलाई घोलेर थुपै्र सत्ता सञ्चालकहरूको अन्तर्गत रहेर पनि ‘मधुपर्क’ले आफ्नो साहित्यिकपनलाई ओझेलमा पार्न दिएन । राजनीतिक स्वार्थ राखेर कोही-कसैले चलखेल गर्न खोजिए पनि साहित्यिक रङ्गरोगनबाट अलग्ग रहेर आफ्नो पहिचानले यस पत्रिकाले आफूलाई गिर्न दिएन । अझ भनौं भने, नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा सङ्ख्याको हिसाबले ५०० अङ्कसम्म पुर्याउन सफल ‘मधुपर्क’को सङ्ख्यात्मक उच्चताको योगदान ऐतिहासिक बन्न गएको छ । साहित्यिक पत्रकारितामा आफ्नैपन, आफ्नै रङ बोकेर देखापर्दैआएको ‘मधुपर्क’को स्तर र शैली पनि स्तरीय छ । बेग्लै विशिष्ट छाप छोड्न सफल ‘मधुपर्क’को नियमितताको जति प्रशंसा गरे पनि नपुग हुन्छ । निस्कने र बन्द हुने प्रक्रिया र विशेषता जस्तो देखिएको साहित्यिक पत्रिकाको यो रोग ‘मधुपर्क’ले सोच्न पाएन । निरन्तर गतिशील रही प्रवाहयुक्त साहित्यिक पत्रिकाको रूपमा ‘मधुपर्क’ प्रकाशन हुँदैआएको छ । ‘मधुपर्क’ ५०० अङ्कपछि अझ गतिशील हुँदै स्तरीय कागजमा राजनीतिक शौचालयबाट टाढा रहेर अझ सुगन्धमय फूलबारीको रूपमा साहित्यिक फूलहरू फुलाउन सफल रहोस् – शुभयात्राका लागि शुभकामना दिइरहेछु ।
