मेरो अघि एउटा दराज छ
मनले छोएर दराजलाई
म दराज भएको छु
दराजले छोएर मनलाई
म दराज भएकोछु ।
खोलिन्छ बन्द हुन्छ ….
खोलिन्छ बन्द हुन्छ ।
स्वर्गीय आमा बुवाका तस्वीर
सपनामा मात्र
बात मार्छन् मसंग
तस्वीरसंग बोलिरहेको मन
दराजका कुना कुना ठोक्किएर
फेरी मलाई दराज बनाउँछ ।
मैले इतिहास
मभित्र लुकाएको छु
फावाखोला सुकेको छैन
मेरो नसामा
छङ्छङाउदै ढुङ्गासंग
पानी जिस्किँदा
मनभित्र हाक्पारे बज्छ ।
छाँतीमा पालाम रसाउँछ ।
जिब्रोले पनि
सम्झिरहँदो रहेछ इतिहास
तीतेमाछाको स्वादमा ।
मभित्र धेरै कुरा
थुनिएको छ
फगत् लुगाहरुमात्रै
सिँगारिएर मेला घुम्न जान्छन्
बजार डुल्न जान्छन्
विचरा गरीबहरुको आँखामा
असन्तोष पैदा गर्न
हुनेखानेहरुको मनमा
शिफारिस भर्न
बाहिरको हावालाई
लुगाले छोएर आउँछ
अनि मलाई सुसेल्छ
बाहिरको शानलाई
सूटले प्रतिस्पर्धा गरेर आउँछ
अनि मेरो सामु
नाक ठाडो पार्छ ।
मलाई देखेका छैनन् मानिसहरुले
मेरा लुगाहरुमात्र देखेका छन्
मलाई छोएका छैनन् कसैले
मेरो छालामात्र थाहा पाएका छन्
घाम पनि
म अघिको झ्यालबाट पुलुक्क हेरेर
त्यतिकै तर्केर गएकोछ
उज्यालो भन्नु
केवल परावर्तन मात्र रहेछ ।
परावर्तन बिना
पूर्णिमाको गुञ्जायस छैन
चन्द्रमाको सौन्दर्य नै छैन
सूर्य झुल्केर मात्र के भो र ?
फूल देखेर मात्र के भो र ?
सौन्दर्य केवल
परावर्तनमा छ
उज्यालो केवल
परावर्तनमा छ
मैले सूर्यलाई
केवल परावर्तनबाट मात्र देखेको छु
कोठाभित्रको दराजमा
आँखा ठोक्किएर
म दराज भएको छु ।

दराज… सुशील सरको…
नमस्ते सुशील सर!
गहिरो अर्थ भएको हजुर दराज मन पर्यो!
दामी
सदा झैं दामी गयो सुशील सर!