सप्तगण्डकी (नारायणी) सङ्गमस्थल, अनेक नामले विभूषित देवाट/देवघट्ट/देवघाटधाम नेपालको मध्यभागमा मुटुका रूपमा रहेको छ । यो क्षेत्र तीन जिल्लाको परिधिमा बाँधिएको छ । समग्र अध्ययनमा हेर्दा भौगोलिक बनोटको सुन्दरता हेर्न लायक छ । यो तीर्थस्थल भारतस्थित ऋषिकेशको तपोवन भन्दा श्रेष्ठ भौगोलिक बनोटको रमणीय भूमि मानिन्छ । यस क्षेत्रको महत्त्वको विषयमा चर्चा गर्नुपर्दा धार्मिक तथा पौराणिकता, ऐतिहासिकता, साहित्यिक सिर्जना, धार्मिक पर्यटन, नदी एवं पर्यावरणीय महत्त्व, सांस्कृतिक पक्ष, आदिलाई समेटेर लैजानु यस क्षेत्रको महत्त्व त हुँदै हो, साथै यसको विषय पनि हो ।

धार्मिक तथा पौराणिक पक्ष ः

पवित्र तीर्थस्थल देवाट/देवघट्ट/देवघाटधाम क्षेत्रको महत्त्वको विषयलाई लिनुपर्दा स्कन्दपुराणअन्तर्गत हिमवत्खण्ड र गण्डकीमाहात्म्यलाई लिनुपर्ने हुन्छ । यसमा इतिवृत्तका रूपमा रहेको पुराण वराह, पद्म, श्रीमद्देवीभागवत नृसिंह रहेका छन् । यसबाहेक छिरलिएर रहेको टिपटाप गरी उल्लेख गर्नुपर्ने र त्यसमा शालग्रामको विषयमा विशेष प्रसङ्ग उल्लेख भएकोले यी पुराणहरू रहेका छन् । त्यसैगरी बृहन्नारदीय, अग्निपुराण, ब्रहृमवैवर्त, मत्स्यपुराण, गरुड, शिवमहापुराण, ब्रहृमाण्ड, श्रीकुर्मपुराण, श्रीमद्भागवत, गणेशपुराण, कल्किपुराण, महाभारत, आनन्दरामायण आदिमा पनि चर्चा पाइन्छ ।

हिमबत्खण्डमा भनिएको छ ः आफ्नो अन्तरात्मा शुद्धि गर्ने इच्छाले स्वर्ग, मत्र्य, पाताल यी तीनै लोकमा र भारतवर्षमा जति तीर्थहरू छन्, ती सबै नित्यपर्वहरूमा यस देवघाट तीर्थमा आउँछन् । देवताका पनि स्वयम् देवता महादेव शङ्कर पनि पर्वपर्वमा अवसरमा आफ्ना गणहरूसहित यस तीर्थस्थलमा बस्नुहुन्छ । त्यसैले सम्पूर्ण फल प्रदान गर्ने भएकाले देवताहरूको तीर्थ देवतीर्थ भनिएको हो । महषिर् वशिष्ठको तपोभूमि, महषिर् भृगुको तपोभूमि, भगवान् शङ्करको तपोभूमि, सप्तषिर्हरूको तपोभूमि भएको यस क्षेत्रको गौरव महिमा जहाँ तेत्तीसकोटि देवताहरूले घेरिएको कालो पत्थर-शालग्राम (शालीग्राम) पवित्र भूमि हो, भन्दा अत्युक्ति नहोला, किनभने महिमालाई नै बुझेर रानी सीतासहित श्रीरामचन्द्र भगवान्ले गण्डकी संगम (नारायणी) मा आई स्नान गरी पूजा, ध्यान, दर्शन गरिसकेपछि नेपालका आराध्यदेव पशुपतिलाई दर्शन गरी पुनः यही क्षेत्रलाई हेरी अयोध्यातर्फ लाग्नु भयो भन्ने प्रसङ्ग आनन्दरामायणको सर्ग-६ श्लोक-४ मा उल्लेख पाइन्छ ।

यस क्षेत्रको एउटा पौराणिक महत्त्व यस्तो रहेको छ ः सात द्वीपहरूमध्ये जम्बूद्वीप अत्यन्त श्रेष्ठ छ । त्यसमा पनि नेपाल तीनै लोकमा श्रेष्ठ छ र विश्वमा विख्यात पनि छ । यस्तो नेपालको अन्तरालमा रहेको कौशिकी र गण्डकीको मध्यभागको मिथिलापुरी जनकपुरधामको अन्तिम सीमामा परेको यो देवक्षेत्र (देवघाटधाम) झन् श्रेष्ठ छ (देववाणी वर्ष २, अङ्क २) सप्तगण्डकी सङ्गमस्थल (नारायणी) देवघट्ट/देवघाटधाम लुम्बिनी, गण्डकी, नारायणी तीन अञ्चलले घेरिएको र त्यसमा मुख्य तनहुँले घेरेको क्षेत्र नै देवघाट हो ।

शेषावतार बलरामजी विभिन्न तीर्थस्थलहरूको भ्रमणको क्रममा देवपितृहरूलाई तर्पण दिँदै पुलहाश्रम पुगी त्यहाँबाट गण्डकीसङ्गम (देवघाटधाम) मा स्नान गरेर गोमती, विपाशा शोण (सोनपुर) क्षेत्रमा पुग्नुभयो भन्ने प्रसङ्गले पनि गण्डकी (नारायणी) को महत्त्व कति रहेछ भन्ने कुरा उल्लेख भएको छ । (श्रीमद्भागवत महापुराण दशमस्कन्ध उत्तरार्द्ध)

ऐतिहासिक पक्ष ः

यस तीर्थस्थललाई चार कालमा विभक्त गरेको छ ? (क) प्राग् ऐतिहासिककाल (पौराणिककाल) (ख) प्राचीन काल (ग) मध्यकाल (घ) आधुनिककाल ।

क) प्राग् ऐतिहासिक काल (पौराणिक काल)

सत्ययुगमा मनुमहाराजले यस क्षेत्रमा राजकाज चलाएका थिए । त्रेतायुगमा यो क्षेत्र तपोवनका रूपमा परिचित भयो । वरिष्ठ ऋषिले त्यतिबेला यस स्थलमा आएर तपस्या गर्नुभयो । जुन स्थल तपोभूमिका रूपमा परिचित हुन भएको देखिन्छ । द्वापरयुगमा आफ्नो लक्ष्य प्राप्त गर्न ऋषिहरूले आश्रमस्थल बनाएका थिए । कलियुगमा आएर धार्मिक तीर्थस्थलका रूपमा विकसित हुन गएको देखिन्छ ।

ख) प्राचीनकाल ः

कलियुग आरम्भ भएपछि वराहपुराणअनुसार यस क्षेत्रलाई ‘देवाट’ ‘देवह्रद’ ‘देवनदी’ ‘सिद्धाश्रम’ ‘शालग्राम क्षेत्र’ आदि नामले उल्लेख गरेको पाइन्छ । यसरी प्राचीन कालमा यस क्षेत्रको नामको विषयमा परिवर्तन हुँदै आएको हुनसक्छ । त्यसबेला लुम्बिनीमा शाक्यवंशको शासन ईशापूर्व छैटौँ शताब्दीमा रहेको थियो भने नवलपरासी क्षेत्रमा कोलीय वंशको शासन कायम थियो । यसरी त्यसबेला खिचडी सङ्क्रान्ति (माघे सङ्क्रान्ति) मा देवाट/देवघाट क्षेत्रमा आएर स्नान गर्ने र मेला भर्ने चलन कोलीय गणतन्त्रदेखि चलेर आएको प्रतीत हुन्छ ।

ग) मध्य कालः

पवित्र क्षेत्र देवघाटको तनहुँमा मध्यकालीन भग्नावशेषका रूपमा पञ्चदेवल अद्यावधि स्थित छ । यी पञ्चदेवलहरू मणि मुकुन्दसेन प्रथमले निर्माण गरेको र हाल भग्नावशेषकै रूपमा रहेको छ । साथै स्वयं उनको श्री विग्रह शीला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । राजा मुकुन्दसेन प्रथम तपस्वी ऋषिका रूपमा १२ वर्षसम्म तपस्या गरेको र देहत्याग गरेको प्रसङ्ग वि.सं. १८५९ मा नेपाल आएका अङ्ग्रेज इतिहासकार डा. एफ.बी. हृयामिल्टनले आफ्नो पुस्तक एन एकाउन्ट अफ दि किङडम अफ नेपालमा प्रस्तुत गरेका छन् । तपस्या अवस्थामा मुनि मुकुन्द सेन नामले चिनिएका यिनी पछि ‘मणि’ मुकुन्दसेन नामले परिचित भएको देखिन्छ । मुकुन्द सेनले ५ टुक्रामा पाल्पा राज्यलाई टुक्र्याई विभाजन गरेको पाइन्छ । माहिला छोरा भृङ्गी सेन (भृङ्ग सेन) लाई तनहुँको राज्य दिएका थिए । यसरी भृङ्गी सेन पछिका राजाहरूले देवघाट क्षेत्रमा शीतकालीन दरबार खडा गरेको कुरामा नवलपरासीमा रहेको माक्रुमडाँडाको भग्नावशेष दरबार, हर्कनारायण सतभैयास्थल (तनहुँमा) देख्न पाइन्छ ।

घ) आधुनिक कालः

बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल (उपत्यका) विजय गरेपछिको समयलाई वि.सं. १८२५ देखि नेपालको इतिहासमा आधुनिककाल भनेर चिनिएको छ । यस समयपछि देवघाटको महत्त्वमा कमी आएको देखिन्छ । घोर वनजङ्गलले घेरिएको यस तीर्थमा वि.सं.१९९७/०९८ सालपूर्व मानिसहरूको आवत-जावत, उठबस र स्नान गर्ने परम्परा रहेको थियो ।

धेरै वर्षपछि जनकवि केशरी धर्मराज थापा वि.सं. २०३० को अन्तिमतिर भ्रमण गर्न जाँदा गलेश्वरबाबासित भेट भयो । त्यस अवसरमा थापाजीले सोध्नुभयो प्रत्युत्तरमा बाबाजी भन्नुहुन्छ ः वेनी बागलुङबाट ‘वि.सं. १९९२ सालतिर यस स्थलमा आएको हुँ’ भन्ने कुराको प्रसङ्ग प्राप्त हुन्छ । विस्तारै गलेश्वरबाबाको आगमनले तीर्थको महत्त्व बढ्दै गयो ।

साहित्यिक सिर्जना ः

वि.सं. २०२२ फागुन महारात्रिका दिन कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान देवघाटको चितवनमा भएको थियो । त्यतिबेला गलेश्वर बाबा ईश्वरानन्द ब्रहृमचारीजी पनि हुनुहुन्थ्यो । डमरुबल्लभ पौड्यालले कविशिरोमणि लेखनाथ र अन्तर्वाणी विद्या’ शीर्षकको लेख वि.सं. २०५३ साल माघ ६ गतेका दिन गोरखापत्रमा प्रकाशित गर्नु भएको थियो, त्यसअनुसार के भनिएको छ भने अन्तर्जगत्मा विचरण गर्ने र त्यस जगत्मा विचरण गर्ने अन्य जीवात्माहरूसँग कुराकानी गर्ने जुन अन्तर्वाणी विद्या छ, त्यो यी दुई व्यक्तिहरूमा भएको पाइयो । कविजीले जे भन्नुहुन्थ्यो त्यो कुरा गलेश्वरबाबालाई भन्न जाँदा कुरो भन्नै नपाई बाबाले सो कुरा व्यक्त गरिदिनुहुन्थ्यो । यसप्रकारको चमत्कार गलेश्वरबाबामा नहुनु कुनै नौलो कुरो भएन, तर लेखनाथजीले जान्नु भनेको ठूलै कुरा भयो भन्ने कुराको उठान डमरुबल्लभको उपर्युक्त लेखले पुष्टि गर्दछ । यस अवसरमा आफू मध्य महाशिवरात्रिको पावन दिनमा एउटा कोशेलीका रूपमा कविता छोडेर जानुभएको थियो ।

यो दुःख भोग्ने परमेश्वरै हो, यो देह उसको रहने घरै हो

यो भत्किँदा दुःख अवश्य मान्छ सुटुक्क सामान लिएर जान्छ ।

यसरी सप्तगण्डकी (नारायणी) सङ्गमस्थलमा उहाँले आफ्नो चोला बिसाउनु भएको थियो ।

त्यसपछि राजा महेन्द्रको सत्सङ्कल्पमा देशव्यापी नेपाली कविहरूलाई बोलाई एउटा स्वणिर्म कविगोष्ठीको कार्यक्रम गर्ने निर्णयअनुसार वि.सं. २०२२ साल माघ १ गते चितवनको रामपुरमा कार्यक्रम गर्ने निश्चय भए तापनि कारणवश यो मिति तय नभएर वि.सं. २०२२ साल फागुन २३ गतेका दिन कविहरूको सेमिनार उद्घाटन गर्ने कार्य राजा महेन्द्रबाट भएथ्यो । यो सेमिनार कार्यक्रम नेपालको पहिलो कार्यक्रम मानिन्छ । यस सेमिनारका सभापति केदारमान व्यथित थिए । यस्तो अद्भूत कार्यक्रम भएको आज ४५ वर्ष भइसक्यो । यसरी चितवनको रामपुरमा पञ्चदिवसीय कार्यक्रम २७ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भइसकेपछि कवि शिरोमणि लेखनाथ पौड्यालको महाशिवरात्रिका दिन सप्तगण्डकी, नारायणीमा आफ्नो चोला बिसाउनु भएको त्यस पवित्रस्थलमा कविगोष्ठी गर्ने मनसायअनुरूप २०२२ साल फागुन २८ गतेका दिन कविगोष्ठी गर्ने निर्णयबमोजिम केदारमान व्यथितको सभापतित्वमा कार्यक्रम तय भयो ।

यसरी रामपुरदेखि १० माइल टाढा रहेको देवघाट धाममा कविहरू आउनेक्रम चल्यो । नारायणी सङ्गमस्थलमा रात्रिको समयमा तीनोटा डुङ्गा खप्ट्याएर भव्यरूपमा कार्यक्रम गर्ने तय भएअनुसार डुङ्गालाई कसिलो बनाएर विभिन्न जिल्ला अञ्चलबाट आउनुभएका कविहरू र राजा महेन्द्रलाई बीचमा राखेर वरिपरि कविहरू बसेर कवि केदारमान व्यथितले राजा महेन्द्रको अनुमतिमा भव्यरूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो । महेन्द्रलाई अभिवादन चढाउँदै केदारमान व्यथितले भन्नुभएथ्यो । ‘सप्तगण्डकीको पावन सङ्गममा शिवको करुणा प्रवाहित भएको यो स्थल कवि राजा र चौधै अञ्चलका कविहरू भएको यस रातले नेपालको इतिहासमा अद्वितीय स्थान प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ । राष्ट्रनायकबाट इतिहासलाई कहिल्यै नओइलाइने सामग्री बक्सेको छ । हामीलाई विश्वास छ ज्योतितर्फ उन्मुख भएको नारायणीको प्रवाहसँग प्रवाहित हुँदै अझ सुयोजन प्रवाह, आत्मा र युगचेतनाको गीत गाएर राष्ट्रिय भविष्य निर्माणको इतिहास बनाउन समर्थ हुनेछ । यस धाराले अनेक पहाडका बिघ्न बाधाहरूलाई छोडेर प्रवाहित भएझैँ राष्ट्रभाषाको सेवा गरी चौधै अञ्चलका साहित्यिकारहरू युगवाणीलाई मुखरित गर्दै सरकारको नेतृत्वमा आफ्नो दायित्व पूरा गर्न यस शालग्राम (शालीग्राम) को जलमाथि बसेर प्रण गर्दछौँ’ । भन्ने कुराको भाषा त्यस तीन डुङ्गामा बसेका कविहरूलाई सुनाउनु भएको थियो । कवि सम्मेलनको कार्यक्रम लगभग दुई घण्टासम्म चल्यो । सीमित समय भए पनि सम्मेलनमा १४ अञ्चल र प्रवासका समेत गरी २९ जना कविहरूले मात्र आ-आफ्नो कविता पाठ गरिए तापनि अन्य कविहरूको कविता डुङ्गाको डोरी -चुँडिएको हुनाले पनि कवितालाई छोट्याउने काम भएको थियो तर पनि ती कविहरूका कविताहरू ‘देशव्यापी नेपाली साहित्य सेमिनारको विवरण’ पुस्तकमा प्रकाशित भएको छ । यो पुस्तकलाई साहित्यकार माधवलाल कर्माचार्यले सम्पादन गर्नुभएको थियो । वि.संं. २०२२ साल फागुन २८ गतेका दिन भएको कविगोष्ठीमा । त्यतिबेला सप्तगण्डकीको सङ्गमस्थल-त्रिशूलीको प्रवाहमा रमाइरहेका राजा महेन्द्रलाई छोएको कविता थियो डा. मोहनहिमांशु थापाको ‘आँखाको गुराँस र हत्केलामा सुनगाभा’ । कवितामा उल्लेख भएका केही पक्ति यस्ता थिए –

मलाई सगरमाथाको देश चाहिन्छ, म आफ्नै देशमा रम्न चाहन्छु

मलाई छहराको देश चाहिन्छ, पहराको देश चाहिन्छ ।

यसैगरी फागुन २८ गतेकै दिन विभिन्न जिल्लाबाट आएका कविहरू सप्तगण्डकी त्रिशूली नदीको प्रवाहमा डुङ्गामा बसेर वाचन गरिएका कविताहरूका शीर्षकहरू निम्नानुसार थिए ।

१. चूडामणि रेग्मी, मेची अञ्चल, भद्रपुर, ‘घाम कुइरो र धर्ती’
२. देवदास राई, इलाम, ‘अभिशाप’
३. तुलसी दिवस कोशी अञ्चल, धनकुटा, ‘कलोसियमभित्र बन्द दिनहरू’
४. खगेन्द्रप्रसाद प्रधानाङ्ग, कोशी, ‘मेरो उपलब्धि’
५. देवेन्द्रकुमार मल्ल, कोशी, ‘विगत र अनागतबीचको पुल’
६. महानन्द सापकोटा, कोशी, ‘पुग्थे हाँक्न समुद्रको तीर’
७. पुरुषोत्तम बस्नेत, सगरमाथा, ‘क्यान्डिलको प्रकाशमा रोएको रात’
८. जीवनाथ झा, जनकपुर, ‘नैतिकता’
९. भद्राकुमारी घले, सिन्धुली, जनकपुर, ‘आग्रह’
१०. गोविन्द भट्ट, नारायणी, ‘जीवनसाथी’
११. पोषण पाण्डे, बागमती, ‘वटवृक्षको उद्धाटन’
१२. शशिकला, बागमती, ‘तिम्रो सम्झना’
१३. सुरेन्द्रबहादुर शाह, बागमती ‘म कवि हूँ’
१४. अलि मियाँ, गण्डकी, पोखरा, ‘एउटा तारा अस्ताएछ’
१५. धर्मराज थापा, गण्डकी, पोखरा, ‘मेरी जुनू’
१६. वासुदेव त्रिपाठी, गण्डकी, तनहुँ, ‘जिन्दगीको अनुहार’
१७. अमीर मुहम्मद राई, भेरी अञ्चल, ‘यो नेपाल हो’
१८. आरिफ/महमद आरिफ, भेरी अञ्चल, ‘शान्ति जिन्दावाद’
१९. चन्द्रप्रसाद अधिकारी, लुम्बिनी अञ्चल, ‘परिचय’
२०. नारायणप्रसाद शर्मा, राप्ती, दाङ, ‘आँसु’
२१. नीरविक्रम शाह, कर्णाली, ‘एकैछिन पर्ख’
२२. लोकेशचन्द्र प्रधान, ‘मलाई नछेक’ दार्जीलिङ
२३. चूडानाथ भट्टराय, काठमाडौँ, ‘नेपालीको नयाँ युग आएझैं लाग्छ’
२४. मुकुन्दशरण उपाध्याय, गण्डकी, पोखरा, ‘तिमी’
२५. बद्रीप्रसाद, नारायणी, ‘दीपावली’
२६. भैरव अर्याल, काठमाडौँ, ‘तिम्रो गीत’
२७. आनन्द श्रेष्ठ, नारायणी, ‘रात र प्रभात’
२८. गोविन्दमान श्रेष्ठ, कोशी, ‘एउटा दुब्लो आयतन जिन्दगीको’
२९. प्रेमविनोद नन्दन, गण्डकी, बन्दीपुर,’आफ्नै खोज’……
३०. कोशराज रेग्मी, विराटनगर, ‘लेकरानीको काखमा’
३१. रामविनय, गण्डकी, ‘सत्य बाटो सही कदम’
३२. मदनमोहन जोशी, नारायणी, ‘हाहा र हाहालाई’
३३. देवेन्द्र ‘मुमुक्षु’, नारायणी, ‘इन्द्रेणी’
३४. रामचन्द्र चतुर्वेदी ‘करुण’ नारायणी, गीत’
३५. निदेश गिरी, जनकपुर ‘आवाहन’
३६. कुलमणि देवकोटा, लुम्बिनी, ‘संहारको लाटो जिभ्रोको तटमा’-
३७. हृषिकेश उपाध्याय, मेची, ‘स्वार्थ’
३८. पुरुषोत्तमप्रसाद रिजाल, नारायणी, ‘कपास’
३९. रत्न थापा (रत्न शमशेर) ‘काठमाडौँ तीनटुक्रा कविता’
४०. गोपाल गुरुङ, कोशी, ‘लत्रेको फूलमा गुम्सेका भावनाहरू’
४१. मान बज्राचार्य, कोशी, ‘राष्ट्रव्यापी साहित्य सेमिनार साहित्यिकहरूको भाग्य’
४२. मेघराज, सगरमाथा, ‘एउटा मान्छे, जो फर्केर आउँदैन’
४३. जगदीश घिमिरे, मन्थली, जनकपुर, ‘हो ?’
४४. मोदनाथ प्रश्रति, लुम्बिनी, ‘साँझ र बिहान’
४५. माधवराज सुमार्गी, नारायणी, ‘तिमी एक युवक’
४६. जीवनलाल सत्याल, ‘समाधि’, काठमाडौँ ।
४७. गणेशप्रसाद भण्डारी, कोशी, ‘सभ्यमान्छे ः मुस्काएको टुकुचा’
४८. वेणु आचार्य, कोशी, ‘दुई टुक्रा’
४९. नीरविक्रम ‘प्यासी’, काठमाडौँ, ‘चार टुक्रा’
५०. कृष्णप्रसाद पराजुली, काठमाडौँ, ‘मुक्तकहरू’
५१. तेजेश्वरबाबु ग्वंगः, भक्तपुर, ‘बन्द बोतलको रक्सीझैँ तिमी, रित्तो प्यालाझैँ म’……

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *