नेपालमा पत्रकारिताको चर्चा गर्दा साहित्यिक पत्रकारितालाई बिर्सन मिल्दैन । पत्रकारिताको सुरुआत नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं. १९५५ मा ‘सुधासागर’ प्रकाशित भएको थियो र यो नै नेपालको पहिलो पत्रिका (साहित्यिक) थियो । यसको तीन वर्षपछि मात्र गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो । यस्तै, बनारसबाट वि.सं. १९४८ मा मोतीराम भट्टको सम्पादनमा प्रकाशित ‘गोर्खाभारत जीवन’ साहित्यिक पत्रिकालाई अझ जेठो साहित्यिक पत्रिका मान्नुपर्ने हुन्छ । अहिले काठमाडौँ र मोफसलबाट धेरै साहित्यिक पत्रपत्रिकाहरू निस्किरहेका छन् । भारतको सिक्कम, दार्जिलिङ, कालिङपोङलगायत विभिन्न ठाउँबाट साहित्यिक पत्रिकाका साथै अनलाइन साहित्यिक पत्रिकाहरू पनि सञ्चालित छन् । रेडियो, टेलिभिजनहरूमा नियमित । अनियमितरूपमा साहित्यिक कार्यक्रम प्रशारण हुँदै आएका छन् हाल के कति साहित्यिक पत्रिका प्रकाशित छन् भन्ने कुनै स्पष्ट तथ्याङ्क छैन तर प्रेस काउन्सिलले निकालेको साहित्यिक पत्रिका ग्रन्थ कोशमा एक हजार १८० वटा पत्रपत्रिकाको विवरण समेटिएको छ । मदन पुरस्कार पुस्तकालयको अभिलेखअनुसार चाहिँ अहिलेसम्म साहित्यिक र अन्य पत्रिकाको सङ्ख्या चार हजार सात सय रहेको छ भने साहित्यिक पत्रिका करिब एक हजार दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । (पुस्तक संसार भदौ, २०६६ मा उल्लेख) भए अनुसार ।
साहित्यलाई समाजको दर्पण पनि भनिन्छ तसर्थ समाज, देश र मानव इतिहास बुझ्नका लागि साहित्य भरपर्दो स्रोत हो । स्तरीय साहित्यले सबैमा भावनात्मक एकता कायम गरेको हुन्छ भन्ने देशलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने काम पनि गर्छ । साहित्यले एकसाथ विचार र मनोरञ्जन, तथ्य र कल्पनाका साथै मानवीय सोच र चिन्तनलाई नयाँ ढङ्गबाट अभिव्यक्त गरेको हुन्छ । समाजमा घटेका यथार्थ घटनालाई सूक्ष्म ढङ्गमा व्यक्त गर्ने माध्यम हो भने कल्पनाको क्षितिज पनि फैलाएको हुन्छ साहित्यले तसर्थ समाजलाई हेर्ने आँखीझ्यालका रूपमा लिन सकिन्छ साहित्यलाई ।
साहित्यका मूल्य-मान्यताहरू, नयाँ चिन्तन र प्रवृत्तिबारे समग्र जानकारी पाउन साहित्यिक पत्रिकामा नै भर पर्नुपर्छ । अर्को कुरा, शिकारु लेखकलाई पाठकसँग परिचित गराउने, लेखनमा निखारता, परिस्कृत र परिपक्वता ल्याउने काममा साहित्यिक पत्रिकाले सहयोग गर्छ । साहित्यका आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञानबारे पाठकलाई अद्यावधिक गराउन ठूलो भूमिका खेल्छ साहित्यिक पत्रिकाले ।
नेपालमा धेरै साहित्यिक पत्रिका संस्थागतभन्दा निजी (व्यक्तिगत) प्रयासबाट निस्किरहेका छन् । संस्थागत संरचनाभन्दा व्यक्तिगत लहडबाजीमा धेरै प्रकाशित छन् । यस्तै, विभिन्न नाममा साहित्यमा पनि गुटबन्दी कायम छ । जुन नेपाली साहित्यका लागि दुःखद पक्ष हो । साहित्यमा पनि राजनीतीकरण हावी छ । साहित्यिक पत्रिकाका लागि आवश्यक आर्थिक स्रोत, विज्ञापन, स्तरीय लेखरचना, ग्राहक र बजारको निर्माण गर्नु अहिलेका चुनौती हुन् । यस्तै, साक्षरता दर बढे पनि साहित्य अध्ययनमा रुचिको अभाव, साहित्यमा नयाँ विचार, चिन्तन र सिर्जनात्मक सोचको कमी छ । साथै युवापुस्ता टेलिभिजन, इन्टरनेट, चलचित्र, रेडियो र गीतसङ्गीतप्रति बढी रुचि राखेको पाइन्छ । युवापुस्तालाई साहित्यमा संलग्न गराउनुका साथै स्तरीय साहित्यको विकास गरी पुस्तक अध्ययन गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ । सरकारले पनि साहित्यिक पत्रिकालाई लोककल्याणकारी विज्ञापन र अन्य सुविधाहरू उपलब्ध गराउनुपर्छ । साहित्यिक पत्रिकाको विकास गर्न छुट्टै नीति निर्माण गरी लागू गर्न आवश्यक छ । व्यक्तिगतभन्दा सामूहिकरूपमा, परम्परागत ढङ्गबाट भन्दा व्यावसायिक ढङ्गबाट साहित्यिक पत्रकारिता गर्नु जरुरी छ ।
साहित्य, साहित्यकार, साहित्यिक कृति र अन्य सरोकारबारे साहित्यिक रिपोर्टिङ, साहित्यिक पत्रकारिता, भाषा र सम्पादनबारे तालिम र प्रशिक्षण, अध्ययन अनुसन्धानको व्यवस्था हुनु जरुरी छ । साहित्यिक सङ्घसंस्थाको सहयोगमा लेखक-साहित्यकारबीच भेटघाट, सुझाव आदानप्रदान, युवापुस्ता र शिकारुलाई उचित ठाउँ दिने तथा स्थापितलाई सम्मान गर्ने परम्परा बसाल्नु उत्तिकै आवश्यक छ । यस्तै, पाठकीय रुचिबारे बेलाबेलामा पाठक सर्वेक्षण गरी पाठकीय रुचिलाई ख्याल गरी साहित्य लेखिनुपर्छ । पत्रिकाको आवरण र लेख रचनामा फोटो, रेखाचित्र, कार्टुन/स्केच, डिजाइन गरी आकर्षक गराउने लेखरचनाहरू बारम्बार सम्पादन गर्ने गर्नुपर्छ । देशभरिका विद्यालय विश्वविद्यालयहरू साथै गाउँ-गाउँमा सामुदायिक पुस्तकालयहरू विकास गरी साहित्यिक पत्रिका खरिद गर्ने वातावरण तयार गर्नुपर्छ । लेखकहरूले पनि लेख्नुपूर्व कम्तीमा साहित्यिक पत्रिकाहरू आफूले पनि पढ्ने गर्नुपर्छ । पाठकले मात्र पढ्नुपर्छ भन्ने भावना राख्नुहुँदैन । मनोरञ्जनका साधन धेरै भएकाले स्तरीय साहित्य रचनागरी पाठकीय रुचिअनुसार प्रस्तुत गर्नुपर्ने अहिलेका प्रमुख चुनौती हुन् । साथै, वितरण व्यवस्थालाई प्रभावकारी बनाई पाठकले चाहेअनुरूप सहजरूपमा प्राप्त हुन सकेको खण्डमा साहित्यिक पत्रिकाको बजार हुँदै नभएको चाहिँ होइन ।
पुतलीसडक, काठमाडौँ ।
