फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो । इटहरीको पाथीभरा बोर्डिङमा अभिभावकको नाम हाम्रै थियो । सबैले हाम्रै छोरी भन्थे । कान्छो छोरो जन्मेकै थिएन । जेठो र माहिलो ऊभन्दा ठूला थिए । त्यसैले ऊ त काखकी सन्तान थिई ।

फुच्ची अचम्मकी थिई । बेलुका म अफिसबाट आउँदा बाटैमा लिन पुग्थी । ‘ड्याडी आउनु भो, ड्याडी आउनु भो’ भन्दै जामा उचालेर दौडन्थी । अझ ‘ड्याडी’ मात्र नभनेर हाम्रो ड्याडी नै भन्थी । आँखा चिम्लेर दौडँदा मेरो शरीर डराउँथ्यो । ऊ खुट्टो ठोक्किएर घोप्टो परेर लड्न सक्थी । भर्खर उम्रिएका दाँत भाँचिन सक्थे । भर्खर फुटेको बोली फाट्न सक्थ्यो ।

बरण्डामा पूर्वी घामले भेट्नेगरी भावना गनगनाउँदै थाङ्ना सुकाउँथिन् ‘फुच्चीले आज फेरि मुती । राति उठाएन भने बिगारिहाल्छे ।

डसनामाथि प्लास्टिक, प्लास्टिकमाथि थाङ्नु र थाङ्नामाथि फुच्ची सुत्थी तर उसको थाङ्नु र प्लास्टिक पलङमा घुमिरहन्थे । ड्याडी र ममीका बीचमा सुत्दा उसका लुगा पलङका बीचमा हुन्थे । ड्याडी र ममीसँगै सुत्दा उसका लुगा भित्तामा पुग्थे । बिहान बिउँझदा हामी पिसाबको गन्धले छोपिएका हुन्थ्यौँ । रिसाउनुअघि नै ऊ मुसुक्क मुस्कुराउँदै आँखा खोल्थी । माया, ममता र स्नेहले हामीलाई लतक्कै भिजाइदिन्थी ।

‘ए फुच्ची ! तेरो कट्टु ख्वै ?’ पिसावले भिजेको कट्टु मिल्काउँदै भावना सोध्थिन । फुच्ची चारैतिर खोज्थी । नभेटेपछि मेरो मुखमा हेर्दै ओठ फुलाउँथी ।

‘फेरि ड्याडीले लाइदिनुभयो होला नि ।’ हामी अघाउँजी हाँस्थ्यौँ ।

उसलाई ल्याइदिएको नयाँ कट्टु देखाउँदै एक दिन मैले भनेको थिएँ- खै, खै ! यति राम्रो कट्टु लगाइदिऊँ । फुच्चीलाई दियो भने मुतिहाल्छे !’

साँच्चै मैले लगाइदिन्छु होला भनेर ऊ खुब रोई । लडीबुडी गर्दै रोई । भावनाले ‘किन रो’की ?’ भनेर सोधेकी ‘ड्याडीले मेरो कट्टु लगाइदिनुभयो’ भनी । उसको अबोधपन देखेर मलाई ग्लानि भयो । आँखाका कोसबाट बगेका आँसुका धाराले भुइँको तख्ती पनि भिजाई । ‘तिमी कहिल्यै बूढो नहुने भयौ हगि ? भन्दै भावनाले उसलाई भुईंबाट उठाइन् । ममीका काखमा तेर्सिएर खुट्टा फटफटाउँदै फुच्ची कराई-‘डेडी, ढेडी, छुच्चो ।’ ममीले आँसु पुछिदिई । ‘आहा ! कति मीठो स्याउ हौ, खै, खै अर्को पनि खोइदिऊँ’ भन्दै दुवै गालामा म्वाइँ खाइदिई । फुच्ची खितिति हाँसी । फेरि मतिर आँखा फुलाउँदै गर्जिन थाली- ‘तपाईं हगुवा ड्याडीलाई स्याउत्याउ पनि दिन्नँ, मेरै ममीलाई दिन्छु ।’

‘लौ ! फुच्ची त स्कुल जाने भइछ हगि नानी !’-एक दिन माहिली भाउजूले चियाको सुर्को तान्दै भन्नुभयो । त्यतिबेला ऊ दादाहरूले पढेको हेर्दै थिई । सबै जना चियाको तातो थिलास बोकेर बसेका थियौँ ।

‘स्कुल त जान्थी नि तर उसको जन्मदर्ता नै छैन । मैले फुच्चीकी आमातिर हेर्दै भनेँ ।

‘आ ऽऽऽ दाजु पनि, खाली घोचेर भन्नुहुन्छ । मैले जेसुकै गल्ती गरे पनि छोरी दिएकै छु । लानू नि ! आफ्नै नाममा जन्मदर्ता गराउनू । झन् ठूली भएपछि समस्या पर्छ ।’ फुच्चीकी आमाले पल्लो छेउबाट जवाफ फ्याँकी । ऊ ढिलो बोल्थी तर तौलेर बोल्थी । फुच्चीकी आमाको ओठ बाक्ला थिए । रिसाउँदा तिनै ओठलाई फर्काउँथी । मलाई दाजु भन्थी तर सुन्दा ‘दा ऽऽऽजु’ सुनिन्थ्यो । साह्रै मिहिनेती थिई । बाबुआमाका कुरा सोधिदियो भने तीन दिन रिसाउँथी ।

शनिबार फुच्चीले नुहाई । भावनाले कैँचीले कपाल मिलाइदिइन् । आइतबार उसलाई लिएर हामी गाविस गयौँ । ‘छोरी जन्मी, जन्मदर्ता गर्न आएका’ भन्यौँ । ‘एकै रातमा कत्री भइछन्’ भनेर सचिवले जिस्क्याए । ‘छिप्पिएर पाएपछि यत्रै हुन्छन्’ भनेर जवाफ दियौँ । एकछिन हाँसोठट्टा भयो । ‘छोरीको नाम के हो ?’ – सचिवले सोधे ।

भावनाले मेरो मुखमा हेरिन् । मैले प्वाक्कै भनिदिएँ ‘सम्झौता’ । ‘ओहो ! नाम जुराउन त कवि-साहित्यकारलाई पो लगाउनुपर्नेरहेछ ।’ सचिवले जन्मदर्ता फाराम भर्दै भने । बाबुको ठाउँमा मेरो नाम लेखे । आमाको ठाउँमा भावनाको नाम लेखे ।

जन्मदर्ता प्रमाणपत्र बोकेर हामी रत्यौली खेल्दै फर्कियौँ । राजमार्गमा आउनासाथ भावनाले सोधिन्- ‘सम्झौता भनेर किन भनेको ? यसकै आमाले राखिदिएको नाम भन्नुपर्ने ।”आ ! लाटी, हाम्री छोरी भएपछि अरूले नाम जुराएर हुन्छ ? अब जिन्दगीभर पाल्छौ, हुकाउँछौ, पढाउँछौँ, बिहेदान गरिदिन्छौँ भनेर सम्झौता गरेपछि छोरीको नाम सम्झौता त राख्नुपर्छ । ठीक छ क्या यो नाम । बरु न्वारान गर्ने खर्च जोगियो भन न ।’ मैले फुर्तीझार्दै जवाफ दिएँ । उसलाई पनि घत लागेछ क्यारे, ‘जजमानेको छोरो’ भन्दै हाँसिन् ।

फुच्चीको नाम साजीलाल स्कुलमा लेखियो । ऊ आफूभन्दा ठूलो झोला बोकेर पढ्न जान थाली । पहिलो दिन ऊ स्कुल गएको सबैजनाले हेर्‍यौँ । बाटामा पुगेर ‘टाटा’ भनी । हामीले पनि आँखाभरि आँसु पारेर ‘बाइबाइ’ भन्यौँ । त्यो आँसु हर्ष र गौरवले भरिएको थियो ।

साजीलाल सरकारी स्कुल थियो । उसका दाजुहरू अशेष र प्रवेश बोर्डिङमा पढ्थे । सम्झौता सरकारी स्कुलमा पढ्थी । शैक्षिक सत्रको बीचमा नाम लेखाउनु परेकाले ऊ दाजुहरूबाट छुट्टिएकी थिई ।

नयाँ शैक्षिक सत्र सुरु भयो । सम्झौताको हुलिया बदलियो । छालाका काला जुत्ता, नीला मोजा, नीलो फ्रक, सेतो सर्ट भेटी । झोला, किताब, कापी सब चीज नयाँ आए । ‘टु वान जा टु, टु टु जा फोर’ भन्न थाली पाथीभरा बोर्डिङमा नाम लेखियो तर सुरुसुरुमा अशेष र प्रवेशले पोल सुनाएर हैरान पारे ‘गाडीमा चढेपछि कुदिरहन्छे, ‘टु वान जा टु’ भनेर गीत गाउँछे, उसको क्लासमा बस्दिन, हाम्रो क्लासमा झ्यालमा आएर ‘दादा-दादा’ भनिरहन्छे । दुई घण्टी लाग्नासाथ टिफिन खाइसक्छे अनि भोक लाग्यो भन्दै कराउँछे । साथीहरूका छेउमा लाजमर्दो पारिसकी ।’

भावना छोराहरूलाई सम्झाउँथिन् -‘त्यसो नभन, सानै छे । आफ्नी बहिनीलाई माया गर्नुपर्छ । ऊ नभएकी भए तिहारमा तिमीहरूको निधारै खाली हुन्थ्यो ।’ विस्तारै सम्झौताको ‘कम्प्लेन’ घट्दै गयो । दादाहरूको हात समातेर बोर्डिङ जान थाली ।

सम्झौताकी आमाले हाम्रै घरमा बसेर एस.एल.सी. पास गरी । त्यसपछि उसका सोचाइहरू बदलिए । पहिले ‘यही घरको सेवा गरेर बस्छु, कतै जान्नँ’ भन्थी । पछि ‘यसरी बस्दिनँ, जागिर खोजिदिनुपर्‍यो’ भन्न थाली । दिनभरि अर्काकामा जनबनी गर्न जान्थी । साँझ पर्नासाथ विरहको बिस्कुन हाल्थी ।

‘मेरा बाबुआमा भने पनि तपाईंहरू नै हो, दाजुभाउजू भने पनि तपाईंहरू नै हो । छोरी जिम्मा दिइहाले अब एउटा जागिर खोजिदिनुहोस् । म तपाईंहरूको गुन अर्को जन्ममा पनि सम्झन्छु ।’

‘जागिर’ भन्न सजिलो थियो, भेट्न गाह्रो थियो तर ‘खोजिदिन सक्दैनौँ’ भन्न पनि सक्ने स्थिति थिएन किनकि हामी दुवै जनाले जागिर भेटेका थियौँ । म कृषि विकास बैङ्कको जागिरे थिएँ । भावना ग्रामीण विकास बैङ्कको जागिरे थिइन् । उनलाई मात्र कसरी हतोत्साही बनाउन मिल्थ्यो !

फेरि ‘भाउजू ! मलाई पनि दाजुसँगै काठमाडौँ पठाइदिनू । उतै भाँडा माझ्ने ठाउँ खोजिदिनु । पढ्न पाएँ भने जे पनि गर्छु । जागिरभन्दा पढाइ नै ठूलो कुरो रहेछ’ भन्दै जागिरको कुरा छाडेर सम्झौताकी आमाले पढ्ने कुरा गरी । यसो भनेको दिन उसले आँखाबाट बगेको आँसु पुछ्दै भनी-

‘काठमाडौँ गएँ भने सम्झौतासँग भेटघाट पनि हुँदैन, बिर्संदै जान सजिलो हुन्छ । यहाँ त दिनदिनै भेट हुन्छ । ऊ पौडेल भइसकी । आफूलाई भने कस्तो कस्तो लागिरहन्छ । बरु ‘कुमारी केटी हो’ भनिदिनुहोला । नानीकी आमा भनेपछि मान्छेले दसथोक सोधेर दिक्क लगाउँछन् ।

उसको कुरा मनासिब लाग्यो । हामीले त्यसै गरिदिने सल्लाह गर्‍यौँ । काठमाडौँ आएपछि धेरै जनासँग मैले सहयोग मागेँ । सम्झौताकी आमाको राम्रो विज्ञापन गरेँ ।

धेरैले मलाई मजामा उडाए । कसैले ‘कविलेखक रसिक हुन्छन् भन्थे हो रहेछ’ भने । कसैले ‘किन पन्छाउन आँटेको

छ ?’ भने । कसैले ‘त्यस्ता लच्छिनका पनि अरूलाई दिनुहुन्छ

त ?’ भने । महिलाका मामलामा समाज यति शङ्कालु हुन्छ भन्ने कुरा मलाई थाहै रहेनछ । एकदिन साहित्य-सन्ध्याको मासिक कार्यक्रम सकिएपछि एकजना प्राध्यापकलाई भनेँ –

‘मेरा घरमा एउटी बहिनी छिन् । अहिले एसएलसी पास गरिन् । इमानदार र मिहिनेतको कुरो गर्ने हो भने त्यत्तिका मान्छे भेटिँदैनन् । घरमा सघाएर पढाइदिने भेटिए काठमाडौँ आउँछु भन्छिन् । मलाई मद्दत गर्नुहुन्थ्यो कि !’ प्राध्यापकले साह्रै चासो दिएर मेरो कुरा सुने । केरकार फाँटको प्रमुखले जस्तै सोधे । मानौँ, म अभियुक्त हुँ । बयानका लागि न्यायाधीशसामु उभिएको छु ।

आर.आर. क्याम्पसको चौरमा म भन्दै गएँ -‘मोरङकै केटी हो । स्कुल जाँदाजाँदै आमा हुने भइछ । केटो हाडनाताभित्रको पर्ने भएकाले भागेछ । बच्चा जन्मने बेलामा घरमा थाहा पाएछन् । केही गर्दा पनि घटना लुकाउन नसक्ने भएपछि बाबुले राति नै जङ्गलमा लगेर रूखमा बाँधिदिएछन् । कराउली भनेर मुखमा रुमाल खाँदिदिएछन् । जङ्गली जनावरले खाओस् भनेर होला तर भोलिपल्ट जङ्गल गएका गोठालाले देखेर खोलिदिएछन् । त्यसपछि ऊ लोकल बसमा चढेर इटहरीमा ओर्लिछ । बाटैमा बच्चा जन्मिएछ । आमाछोरीलाई नै हामीले घरमा लगेर पाल्यौं । छोरी अहिले बोर्डिङ जान्छे । आमा घरधन्दा सघाउँछे । अर्काकामा जनबनी गर्न जान्छे । चोर्ली, ढाँट्ली भन्नु पर्दैन । दुःख पाएपछि मान्छे कलिलैमा बुढिँदारहेछन् ।’

‘लौ प्राध्यापक त भावुक रहेछन् । कथा सुन्दासुन्दै आँसु झारे । फेरि हाम्रो सवाल-जवाफ सुरु भयो ।

छोरी के गर्दै छे ?

पढ्दै छे ।

कतिमा ?

वान क्लासमा ।

आमा कस्ती छे ?

कृष्ण वर्णकी छे ।

के जातकी हो ?

ब्राहृमण ।

आमा मात्रै दिनुहुन्छ ?

दिने नै आमा मात्रै हो । छोरी त हाम्रै भइसकी । जन्मदर्ता नै गरिसक्यौं ।

मिल्दो र’छ ?

ख्वै ! मिलाए ।

मेरा घरमा ‘कुमारी केटी हो, मेरो आफ्नै मान्छे ।’ भनिदिन सक्नुहुन्छ ?

किन नसक्नु ?

भाउजूले थाहा पाई भने ?

थाहा नपाउने गरी ढाँडौँला नि ।

दुई सोली बदाम खाइसक्यौँ हामीले । प्रहरी क्लबको छानामा घाम हराए । अन्त्यमा कुराको चुरो निकाल्दै उनले भने –

‘ल अनिलजी ! तपाईंको घरको ठेगाना दिनुस् । म भोलि बिहानको बसमा जान्छु । त्यो केटीले मानी भने ल्याउँछु ।’

साँच्चै प्राध्यापक घर पुगेछन् । भावनाले ‘काठमाडौँबाट एकजना मान्छे आए’ भन्दा पो झसङ्ग भएँ ।

तीन दिनपछि सम्झौताकी आमा डेरैमा आइपुगी ।

‘दाजु !’ भन्दै उसले नमस्कार गरी । पछाडि भिर्ने डोरीका झोलामा लुगाफाटा ल्याइछ । भावनाको र सम्झौताको फोटो पनि सँगै ल्याइछ । ‘बस्ने घर कस्तो छ ? न्यास्रो लाग्यो भने हेर्न हुन्छ भनेर ल्याएकी’ भनी । एक रात हामीसँगै बसी । ‘घरबाट हिँड्ने बेलामा केटाकेटीहरू आइपुगेकै थिएनन्, कस्तो हेर्न मन लागेको थियो’ भनी । ‘दसैँ-दसैँमा दाजुबहिनी घर जाउँला, पीर नगर’ भनेर सम्झाएँ । भोलिपल्ट बिहानै उसलाई प्राध्यापकको घर पुर्‍याइदिएँ । मलाई हिँड्ने बेलामा उसले स्वर लर्बराउँदै भनी-

‘दाजु ! आउँदै गर्नु है !’

क्याम्पसमा कुनै घण्टी लिजर हुँदा सम्झौताकी आमा हाम्रा डेरामा आउँथी । खाजा पकाउँथी । चिया ख्वाउँथी । मेरा सर्टपेन्ट धोइदिएर दौडन्थी । घरबेटीको बखान गर्थी । ‘काम सजिलो छ, पढ्न सकेँ भने भविष्य बन्थ्यो होला, हेर्नु न -दिमागमा त वनजङ्गल उम्रिसकेछ’ भन्थी । हुन पनि हो, उसले कसका ब्याडमा बीउ काडिन ! कसका खेतमा धान रोपिन ! कसका बारीमा डोकाभरि मल बोकिन !

वान क्लासको रिजल्ट भयो । सम्झौता पास भइछ । छोरीले सम्झिराखेकी छे । ‘ड्याडी ! कहिले आउनुहुन्छ ?’ भन्छे । ‘एक जोडी छालाका जुत्ता, सेतो मोजा र नीलो मोजा एक-एक जोडी, भिर्ने ब्याग एउटा ल्याइदिनु, भृकुटीमण्डपमा सस्तो पाइन्छ होला ।’ भावनाले भनिन् ।

त्यतिबेला हाम्रो डेरा धोबीधारामा थियो । साली नम्रता, जेठान जनार्दन र म बस्थ्यौँ । उनीहरू कीर्तिपुरमा एम.ए.पढ्थे । म बैङ्कमा जागिर खान्थेँ । त्यति बेलै नम्रताको विवाह हुने भयो । सिभिल इन्जिनियर रहेछन् । अभिभावक भएर कुराकानी गरेँ । ठीकै लाग्यो । ‘केटा र केटी कुरा गर, मन परापर भयो भने हुन्छ’ भनिदिएँ ।

मन परापर भएछ । दुवै जनाले ‘हुन्छ’ भने । त्यसपछि मोरङबाट सबैजना आए । साथमा छोरी पनि ममीको पछि लागेर आन्टीको विवाह खान आई । यता सरसहयोग गर्न भनेर सम्झौताकी आमालाई पनि बोलाएँ । गौशालाको धर्मशालाबाट नम्रताको विवाह भयो ।

विवाहको भोलिपल्ट हामी घरायसी कुराकानीमा व्यस्त थियौँ । पल्लो कोठाबाट भावना रोएको आवाज आयो । अहिले त विश्वास लागेन । कोठाको हल्लालाई रोक्तै कान थापेको, भावनाकै आवाज रहेछ । ‘हिजो बहिनी पठाएको, आज उनलाई पीर परेछ’ भन्दै पल्लो कोठामा दौडेँ । सम्झौताकी आमा र भावना मात्र रहेछन् । म पुग्नासाथ नाकको सिँगान पुछ्दै भावनाले भनिन् -‘हेर्नु न बाबा ! यसले त छोरी लान्छु भन्छे । जन्मेदेखि गुहुमुत मैँले धोएँ, आज त्यसो भन्छे ।’

भावना झन् भक्कानिएर रुन थालिन् । वातावरण एकदम कोलाहलमय भयो । सम्झौताकी आमा पनि घोसेमुन्टो लाएर रुन थाली । मैले उसको छेवैमा गएर सोधेँ-‘के भाउजूले भनेको कुरा साँचो हो ?’

उसले रुमालले आँसु पुछ्दै भनी-‘हो, मलाई मेरी छोरीकी आमा हुने अधिकार छ । तपाईंहरू दिनुहुन्न भने यहीँ झुण्डेर मर्छु । यहाँ नदिए बसेकै घरमा मर्छु ।’

‘उ…..सुन्नुभो त बाबा, फेरि त्यसै भनी ।’ भावना हिक्कहिक्क गर्दै झन् ठूलो स्वरमा रुन थालिन् ।

‘के गछ्र्यौ छोरी लगेर ?’ मैले सोधेँ ।

‘आफैँसँग राख्छु, साथी हुन्छे । आई.ए.पास भएँ, अब बी.ए. पढ्छु । अङ्कलले जागिर पनि खोजिदिनेहुनुभा’छ ।’- उसले भनी ।

‘अनि कहाँ बस्छ्यौ त ? अङ्कलको घरमा कुमारी केटी हो भनेको छ । नौ वर्षकी छोरी देखेर निकाल्दैनन् ?’ उभिएरै सोधेँ ।

‘निकाल्दैनन् । मैले सबै कुरा भनिसकेँ ।’ उसले दह्रोसँग जवाफ दिई ।

त्यसपछि मलाई लाग्यो – हामी संवेदनशील विषयमा गलफत्ती गर्दै छौँ । यस्तो विषयमा जति विवाद गर्‍यो उति मूर्ख हुइन्छ । त्यसकारण मायाको जालोमा फस्नुभन्दा बाहिर निस्कनै राम्रो हो ।

‘ल, ल, तिम्री छोरी लैजाऊ । गाविसमा गएर निवेदन दिनू । समाज भेला गरेर सर्जिमिन गर्नू । स्कुलमा पनि छोरी जिम्मा लिएँ भनेर कागज गर्नू । भरे बेलुकाको नाइट बसमा आमाछोरी जानू । भाउजूहरू पाँच दिनमा घर फर्किन्छन्, तिमीले मोरङ छाडिसक्नू । अनि सुन ! दाजुभाउजू छन् भनेर फेरि खोज्दै नआउनू । अब हामीले यो सम्बन्धलाई बिर्सनुपर्छ ।’ वास्तवमा म भावुक र आवेगको मनस्थितिमा थिएँ । मलाई एकछिन पनि संवाद लम्ब्याएर घटनालाई जटिल बनाउन मन थिएन । उता भावना विक्षिप्त अवस्थामा लडिरहेकी थिइन् ।

‘दाजु ! छोरीलाई कसरी लानु ? मेरो छेवै पर्दिन ।’- उसले अनकनाउँदै सोधी । पसलमा बिस्कुट किनिदिन्छु, हिँड् भनेर लैजाऊ । हातमा दसबीस रुपियाँ हालेर अलिक पर पुर्‍याऊ । आफ्नी छोरीलाई फकाउन मैले सिकाउनुपर्छ ?’- मैले झर्किंदै भनेँ । मनिव्याग च्यापेर ऊ बाहिर दौडी । सम्झौता र निमेष आँगनमा खेल्दै थिए । म भावनालाई सम्झाउनपट्टी लागेँ ।

चार दिनपछि आमाले खबर पठाउनुभयो -‘हिँड्ने बेलामा सम्झौता साह्रै रोई । आमा चाहिँले ‘ड्याडीममी काठमाडौँमा छन्, त्यहीँ पुर्‍याइदिन्छु भनेर फकाई । छरछिमेकी सबैले सम्झाए तर ऊ बाघजस्ती भई । कसैलाई छेउ पर्न दिइन । फुच्चीका जुत्ता, मोजा, किताब, झोला, लुगाफाटा सबै यहीँ छन् । आमाले ‘बोक्’ भन्दा मानिन । ‘मलाई काठमाडौँबाट आएपछि बोर्डिङ जाँदा चाहिन्छ’ भनी । रुवाउँदै – रुवाउँदै लगेकी छे है ।’

आमाको समाचारले झन् आहत बनायो । घरभित्रको पीडाले कसरी जलाउँदोरहेछ, हामीले पहिलोपल्ट थाहा पायौँ ।

नम्रतालाई घर पठाइसकेपछि सबै जना मोरङ गयौँ । ‘छोरी नभएको घर जान्नँ’ भनेर भावनाले पीर गरेकीले म पनि पुर्‍याउन गएँ । घर पुग्नासाथ छिमेकीले घेरे तर मैले सबैलाई सम्बोधन गर्दै भनेँ- ‘छोरीको कुराबाहेक अरू कुरा मात्र सोधीखोजी गर्नुहोला । उसलाई घरमा ल्याउँदा तपाईंहरूले देख्नुभएकै हो, नौ वर्षसम्म कसरी बसी, कहाँ बढी थाहै छ । अन्त्यमा आमाले कसरी लगी तयो पनि देख्नुभएकै हो, अझ आमाचैका बारेमा समेत तपाईंहरूलाई थाहा छ । त्यसकारण यस विषयमा तपाईंहरूले कुनै प्रश्न नगरिदिनुहोला ।’

सबै जना चुप लागे । हाम्रो घर त मौनधारण गर्ने ठाउँजस्तो भयो । २०६६ सालको दसैँमा मोरङ गएँ । काठमाडौँको घरमा ताला लगायौँ । छोराहरू पनि सँगै गए । मोरङको घरमा भावना र आमा बस्थे ।

नवमीको बिहान तल्लो कोठामा भावना बरबराएको सुनेँ । फेरि सुँक्क-सुँक्क गरेको आवाज पनि आयो । के भएछ भनेर बिस्तारै पाइला चालेर हेर्न गएँ । उनी त दस वर्षअघिका सम्झौताका जुत्ता, ब्याग, किताव पो पुछेर राख्दै गरिछिन् । म केही बोलिनँ । उनलाई देखेजस्तो पनि गरिनँ । फनक्कै फर्केर माथ्लो कोठामा आएँ । रिँगटा लाग्लाजस्तो भयो । थ्याच्च पलङमा बसेँ र मनमनै भनेँ- ‘अब कि यो घरमा अर्की सम्झौता ल्याउनुपर्‍यो, कि यी सामानलाई नदेखिने गरी तह लगाउनु पर्‍यो । नत्र तिनीहरू जहिलेसम्म देखिने र भेटिने ठाउँमा रहन्छन्, तहिलेसम्म हाम्रो घरमा यो विरही धुन बजिरहने भो ।’

हालः काठमाडौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *