Skip to content

म मेरै मृत्यु मर्न चाहन्छु

  • by


म मेरै मृत्यु मर्न चाहन्छु-
विशुद्ध मेरो आफ्नै
अरूकै मृत्यु आफ्नै भन्ठानेर
युगौँ युगदेखि
थरी थरीको अर्थ लगाएर
धेरै मरे-व्यर्थै
धेरै धेरै मरे
विस्मृत
र अहिलेसम्म पनि त्यसरी नै
अरू अनगिन्ती मर्दै छन्
तर आज म सचेत भएको छु
र यो सिलसिला तोड्न चाहन्छु
समयको साथै स्वतःस्फूर्त
यो वेगलाई
कसैको सहयोग, सहानुभूतिको आवश्यकता छैन
जस्तोसुकै अवस्थामा पनि
आज मैले आफूलाई सवल पाएको छु
त्यसैले जतासुकै उर्लन्छु, कुर्लुन्छु
बाधा व्यवधान सबै लगतै
आफैँसँग सोहरेर लैजान्छु
आश्चर्य लाग्छ
बाँकी सबै सहज रूपमा यसरी
यन्त्रवत् पछि लाग्छन्
तर यति हुँदाहुँदै
अझै पनि बेलाबखत
कताकता
चस्स चस्किन्छ-चिसो चिसो
लाग्छ मर्न योग्य जीवन त मैले
थाहै नपाई
उहिले नै मरिसकेको रहेछु
वा त्यस्तो जीवन आजसम्म मैले
बाँच्ने सौभाग्य नै
कहिल्यै पाएको रहेनछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *