अमूक बाद’र दल बाहिर बस्छे कविता!
फोहरको दलदल बाहिर बस्छे कविता !
गरीब र निमुखाहरूको घाँटी अँठ्याउने
मुलुकी ऐनको महल बाहिर बस्छे कविता !
सहस्रधारा पिरती साँचेर एक्लै मुटुमा
मान्छेको चहलपहल बाहिर बस्छे कविता !
रम्छे देशभक्तहरूको कलमका निबहरुमा
छलैछलको छलफल बाहिर बस्छे कविता !
हत्केलाहरूमा आफ्नै देश उठाउनु पर्छ भन्छे-
अरुको सेवा र टहल बाहिर बस्छे कविता !
