Skip to content

एउटा कालखण्डको सबल प्रस्तुति

  • by


“…..कहिलेकाहीँ नेपालीहरूले पार्टीको महाधिवेशन नगरे पनि हुन्थ्यो भन्ने लाग्छ मलाई । पार्टीहरूमा विखराव प्रायः महाधिवेशनकै कारण आएको छ इतिहास खोतल्दा । कम्युनिस्ट पार्टीकै इतिहासमा पनि दोस्रो महाधिवेशनपछि पार्टी दुई चिरामा बाँडियो । तेस्रो महाधिवेशनपछि त पार्टी छिन्नभिन्न नै भयो ।”

यो मार्मिक एवं शाश्वत अभिव्यक्ति कोरिएको छ, साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालको नवीनतम् प्रकाशित तथा संस्मरणात्मक ग्रन्थ ‘मुक्त आकाशको खोजी’ मा । करिब ३४ परिच्छेदमा विभाजित उक्त ग्रन्थको मूल चुरो भने लेखकले आफ्नो जीवनको अमूल्य क्षणहरू देश र जनताको उन्मुक्तिका लागि अनवरत समर्पण गरेको रोचक संस्मरण र घटनाहरूमा केन्द्रित छ । राजनीतिक चेतना र सङ्गठनका हिसाबले पूर्वको जिम्मेवारी पाएर इलामका शिरिषे पुग्दा लेखकलाई त्यहाँका आश्रयदाताहरूको व्यवहार, पार्टीको होनाहार सहयोद्धा साथीहरूको आत्मीयता तथा शिरिषेको प्राकृतिक भूभागले मन निकै छोएको प्रतीत हुन्छ । यसै सन्दर्भमा एउटा निष्ठावान् कम्युनिस्ट हुन कति स्वच्छ छवि र नैतिकवान् हुनुपर्दछ भन्ने सन्देश शिरिषेले देखाएको छ ।

क्रान्तिका ज्योति रत्नकुमार वान्तवाको कर्म एवं शहादतस्थल चित्रेमा पाइला टेक्दा लेखकलाई एक प्रकारको अलौकिक अनुभूति भएको प्रसङ्ग तथा त्यसबेलाको प्रहरी प्रशासनको क्रूर एवं अमानवीय दमनको इतिवृत्तले पाठकलाईसमेत आक्रोशित बनाउन पुस्तकले जिम्मेवारी पूरा गरेको छ । त्यस्तो विषम परिस्थितिमा पनि त्यहाँका उत्साही एवं निर्भयी साथीहरूले पार्टी सङ्गठन विस्तारका लागि गरेको योगदानको स्मरणले पाठकलाई मनग्गे जानकारी दिएको छ । नेपालआमाकी सपुत रत्नकुमार वान्तवाको जन्मस्थल इमाङको रमणीय भौगोलिक चित्रण, तत्कालीन शासकहरूको क्रूर दमनको परिस्थितिमा पनि पार्टी सङ्गठन विस्तारका लागि पार्टी कार्यकर्ताहरूको कुनै न कुनै रूपको भूमिकाले लेखकलाई इमाङको माटोको महत्त्वको अनुभूति दिलाएको छ । पुस्तकमा इमाङबारे पढ्दा इमाङले लेखकलाई सबभन्दा महत्त्वपूर्ण चिज दिएको छ- त्यो हो जीवन सङ्गिनी । इमाङकै बसाइँमा लेखकको नजानिँदो प्रेम प्रसङ्गले पुस्तकको पठनीयतामा आकर्षण थपेको छ ।

यसैगरी भूमिगत राजनीतिका रूपमा लेखकले सङ्गठन विस्तारका क्रममा जहाँजहाँ जिम्मेवारी पाए, त्यहाँको वस्तुस्थिति एवं राजनीतिक कुशलताको सजीव चित्रण गरेको पाइन्छ । यति हुँदाहुँदै पनि २०३९ मा तत्कालीन नेकपा (माले) मा आएको हुण्डरी, तत्कालीन महासचिवको बलमिच्याइँ प्रवृत्ति तत्कालीन राजाको शान्तिक्षेत्र प्रस्तावको समर्थनका सम्बन्धमा विवाद आदिलाई पुस्तकले सूक्ष्मरूपमा केलाएको छ ।

मार्क्सवादी-माले एकीकरण त्यसका बाधकहरूको हालको दयनीय स्थिति, तत्कालीन महासचिवले च्यापेका मान्छेहरूको राजनीतिबाट पलायन आदि प्रसङ्गले पुस्तक पठनमा उत्सुकता थपेको छ । पाचौँ महाधिवेशनबाट उत्पन्न जनउभार, दासढुङ्गा दुर्घटना, महाकाली सन्धिको नाममा जबरजस्ती पार्टी फुटाउने प्रपञ्च महाकाली सन्धिप्रति दुवै पक्षको अतिवादी सोचजस्ता प्रकरणहरूले यथार्थ बुझ्न पुस्तक सहयोगी भएको छ । त्यसो त छैठौँ, सातौँ र त्योभन्दा पनि आठौँ महाधिवेशनले पार्टीलाई मजबुत पार्ने भन्दा खस्कँदो बनाएको दिनानुदिनको घटनाक्रमले लेखकको मन साह्रै कुँडिएको छ । अन्याय, अत्याचार र शोषणको विरुद्धमा अनवरत लागेका लेखकलाई बेलाबेलामा पार्टीले किनारा लगाएकोमा दुखेसोका पेटाराहरू पनि फुकाएका छन् । प्रजातन्त्र प्राप्तिपछि पनि कतिपय सिर्जनात्मक कार्यको थालनी गरेका लेखकलाई पार्टीले ऐन मौकामा दूधबाट झिँगा निकालेजस्तो गरी हुत्याइँदिने प्रवृत्तिले समग्र नेपाली कम्युनिस्ट आन्दोलनमै प्रभाव पार्ने गरेको चुरो पनि बनाएका छन् ।

संस्मरणको साङ्गोपाङ्ग अध्ययनपश्चात् एउटा रोचकपक्ष के देखियो भने तिनताक पार्टीले सङ्गठन विस्तारका लागि खटाएकाहरू आज कि त नेपाल सरकारका उच्च पदमा आसिन छन्, कि गैरसरकारी सङ्घसंस्था सञ्चालन गरेर देश विदेशमा ख्याति कमाएका छन् । पार्टीप्रतिको यस्तो उदासिनता किन ? भन्ने प्रश्न पनि जन्मिएको छ ।
पुस्तक ः मुक्त आकाशको खोजी (संस्मरण)
लेखक ः प्रदीप नेपाल
प्रकाशक ः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्स प्रा.लि., काठमाडौँ ।
संस्करण ः २०६७, जेठ
पृष्ठ ः २०+२८८
मूल्य ः रु. २२५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *