धमिरा बनेर आफ्नै सन्तानहरूले
खोइरो खन्न थालेपछि
खोक्रो रित्तो कमजोर काया लिएर
जीर्ण खम्बाहरूको आडमा भाँचिएका डाँडाभाटा गन्दै
चुला-चौका, दलान र पिँढीका कसिंगरसँग
सधँैभरि लडीबुडी गर्दै कति रुन्छ्यौ आमा ?
बन्धकी राखिएको खेत जेठो छोराले निखन्दा
करेसाको पाखो बारी कान्छोले जोडिदिँदा
तिम्रो मुहारमा छचल्किएका ती खुसीका घामहरू !
आज आँसुको समुद्रमा डुबेको देख्छु,
‘दूधको भारा तिर्नुपर्छ
ममताको मूल्य चुकाउनुपर्छ’
तिम्रा लागि त यो पनि एकादेशको कथाजस्तो भयो ।
कुनै बेला
लोग्नेले घर देखाए,
जेठोले खेतका आलीमा हिँडायो
कान्छोले पाखोबारी डुलायो
र, सबैले भने यो सारा तिम्रो हो ।
आज लोग्नेले घर बन्धकी राखे
जेठोले खेत बैना गर्यो
कान्छोले पाखोबारीमा डोजर चलायो
तर, कसैले तिमीसँग एक वचन सोधेनन्
तिमीलाई केही चाहिएको थिएन
तिम्रो नभए पनि तिम्रै ठानेकी थियौ तिमीले
तर, आमा ! आज तिम्रो केही रहेन ।
थिए त केवल
तिम्रो रगतले कोरेका साँधसिमाना थिए
ममता र स्नेहले गोडमेल गरेको पाखोबारी थियो
र, अलिकति अधिकारले उभ्याएको
छाना र भित्ताको ओत थियो
आज केही छैन
तर पनि
हिजो तिमीले सन्तानका लागि कसेको पटुकी
तिनको खुसीको पासो बनोस् भनेर
तिमी सराप्न पनि सक्दिनौ,
क्षमा र आशीर्वाद मात्र भरिएको आमा हृदयले
उनको कुभलो पनि चिताउन सक्तिनौ
किनभने, तिमी आमा थियौ र आमा हौ
तिम्रा सन्तानले मर्यादाको छातीमै प्रहार गर्दा पनि
पीडा र ग्लानिले छटपटाइरह्यौ हाँसीहाँसी
तर, एक शब्द बोलिनौ
अब त अति भयो,
तिम्रो धैर्यले पनि सीमा नाघ्यो,
तिम्रा आँसुको मूल्य पनि अर्थहीन भए
भो आमा ! अब पुग्यो,
तिम्रा भएर पनि, तिम्रा हुन नसकेकाहरूका लागि
अब तिमीले रुनु पर्दैन
नेपाल साप्ताहिक ४३२
