Skip to content

भ्रमको रात र सम्भावनाको विश्वास

  • by


जहाँ प्रेम हुन्छ, त्यहाँ नियम हुँदैन । जहाँ नियम हुन्छ, त्यहाँ प्रेम हुँदैन । अर्थात् प्रेमको कुनै सीमा स्तम्भ, कुनै संविधान हुँदैन । जे पनि जायज र सम्मत नै ठहरन्िछ । युद्धलाई पनि त्यस्तै भनिन्छ । सबै सम्भव हुन्छ भनिन्छ युद्धमा । अर्थात्, युद्धको कुनै गणित र सूत्र हुँदैन, ठ्याक्कै लागू हुने । प्रेम र युद्धमा सबै सम्भव भएजस्तै भएको छ वर्तमान । असम्भव के छ र अहिले ! विज्ञानले प्रत्येक दिन परभिाषा पल्टाउन थालेको छ । कल्पनाभन्दा बाहिरका कल्पना पनि तथ्यमा समेटिन थालेका छन् । बूढापाकाले भन्थे, “बाँच्न मात्र सक्यो भने के के देख्न पाइन्छ के के !” त्यस्तै भएको छ, अहिले कुर्न सक्ने र जान्नेहरूका लागि ।

राजनीति र हाम्रो कारण कुर्नु नियति बनिसकेको छ । कुर्दाकुर्दा हाम्रा सपनाहरू चुहिन थालेका छन्, तप्पतप्प । लडेर कहिले नजिकिने भोक युद्धका छाप्राहरू जस्तै पेटको सारंगीमा रेटिरहेका छौँ । नक्कली उज्यालोले अँध्यारो पखाल्न खोजिरहेका छौँ । सुन्दर सपना देख्ने आँखाहरूमा जबरजस्ती नियोजन गरिरहेका छौँ । हामीलाई हराउने अट्टहासमा हामी नै ताली बजाइरहेका छौँ । नियति यस्तै भोगिरहेका छौँ ।

भ्रम रहेछन् २०४६ जित्यौँ भनेका । मुट्ठी कसेर उठाइएका हातहरू, जीवनलाई जोडेर बजाएका तालीहरू । भ्रममा फेरि अर्को भ्रम जित्यौँ भन्यौँ ०६२/६३ मा तर अबिरका रंगहरू खुसीसँगै मेटिँदै गएका छन् ।

भ्रममा बाँच्नु र कुर्नु यत्ति नै रहेछ जनता हुनुको ? हिजो पनि जनताका लागि भनेर जनता नै उठेका थिए । आज पनि जनताका नाममा जनता नै उठेका छन् । तर, घुम्ने मेचहरू हिजोजस्ता अन्धा मात्र छैनन्, आज त नसुन्ने र नबोल्नेसमेत भएका छन् । चित्त बुझाएका छौँ भ्रम नै भनेर हामीले प्रत्येकपल्टको आन्दोलन जित्यौँ भ्रममै ।

पञ्चायतबाट बहुदलमा आइपुग्दा डबल भ्रमका हैसियत राखेका थियौँ । लोकतन्त्रबाट गणतन्त्रमा आइपुग्दा भ्रमभन्दा अरू केही नदेख्ने भएका छौँ । कुर्ने र धैर्य गर्ने हैसियत पनि असीमित भएका छन् हाम्रा । प्रेम र युद्धमा जस्तै जनतामाथि जेसुकै गर्न असम्भव केही छैन । अहिले बिनाकुराइ केही प्राप्त गर्नुजस्तो मुख्र्याइँ अरू केही हुने छैन । अरू त अरू नकुरीकन सपना पनि देख्न सकिँदैन । भाग्य विधाता भन्नेहरू मात्र भन्छन्, प्रतीक्षाको फल मीठो हुन्छ, तपाईंहरू जति धेरै प्रतीक्षा गर्नुहुन्छ, त्यति मीठो फल हामीमार्फत मीठो स्वादको फल पाउनु हुनेछ ।

समय बढ्दै घटिरह्यो । नयाँ वर्ष आयो- शुभकामनाका स्वरहरू फैलिए । दसैँतिहार आए सफलताका कामनाहरू मंगलधुनसँगै बज्न थाले । तर, शुभकामनाका एसएमएसका अक्षरहरू डिलिट हुन नपाउँदै, कलमका मसी सुक्न नपाउँदै जनताका नाममा जनता उतार्न खोजिरहन्छन् । पटक-पटकका भ्रमलाई भुलेर कसैका मानका लागि, कसैका स्वाभिमानका लागि, कसैका इतिहास सच्याउनका लागि, कसैका वर्तमान बनाउनका लागि, कसैका भविष्य निर्माणका लागि हामीले फेरि फेरि जनता भइरहनुपर्ने । कोही देशका जनता, कोही पार्टीका जनता, कोही शान्तिका लागि जनता, कोही विरोधका लागि जनता, जनता नै बन्यौँ र बनिरहेका छौँ विभाजित भएर ।

गाह्रो हिसाब मिलाउन जान्दिनँ म । तर, लाटो हिसाबले हामी भनेका जनता र जनता भनेका हामी एकै र मात्र एकै हुनुपर्ने । अर्थमेटि्रक र अलजेब्राका जुनै फर्मुला लगाए पनि, जुन वाद र तन्त्रको व्याख्या गरे पनि जनता ‘इजइकल्टु’ जनता मात्रै हुन्छ । तर, दुर्भाग्य ! हामी बुझेर पनि बुझपचाउनु परिरहेको छ । एक जनतालाई अनेक बनाएर हाम्रो संंयमताको व्यापार हुन थालेको छ । अनेकका नाममा झन्डा र नारा बदलेर प्रयोग भइरहेका छौँ जनता नै भएर ।

जनता मालिक हुन् भनेर आदिम युगदेखि नै भनिरहेका छन् । कुनै सन्देह नभएको सत्य पनि यही हो । तर, हामी मालिक बन्न खोजिरहेका छैनाँै, मात्र मालिकको रङ दलेर भ्रम पार्न सिपालुहरू जितिरहेका छन् । हामीले बनेको भर्‍याङमाथि उक्लेर जनता मालिक भएको आवाज माइकबाट बोलिरहेका छन् र हामी त्यही आवाजको संगीतमा नाचिरहेका छौँ ताल मिलाएर ।

हामी मालिक भनिएर कठपुतली भएका छौँ । हामी स्वतन्त्र भएर रमिोटबाट चलिरहेका छौँ, हाम्रो प्राप्ति भनेको आफू पुरनि आफैँ खनिरहेको खाल्डोजस्तै हुनसक्छ । यस भ्रमको रातबाट कहिले सूर्य उदाउला र हामी ब्यूँझौँला बिहानसँगै ?

कहिले झुल्कने हो बिहान र कहिले हाम्रो मनसम्म फैलने हो घाम ? यस समयका लागि कहिलेसम्म कुर्नुपर्ने हो ? टुंगो छैन, कहिले हामीले कुर्नुपर्ने दिनको अन्त्य हुनेछ ।

कुर्नु त हाम्रो प्रतिष्ठाजस्तै भइसकेको छ । कुनै समयको बाध्यता अहिले सम्मानजस्तो हुन थालेको छ । नकुरी बाँच्न सक्दैनौँ हामी । मेलम्चीको पानी कुरिरहेका छौँ, सधैँ बल्ने बत्ती कुरिरहेका छौँ, बाटो कुर्दाकुर्दा बाटो नै लाग्ने बेला भइसक्यो । दसैँमा खान चामलका लागि लाइन लागेको कत्ति भो भो ! ग्यास पेट्रोलको त कुरै बेग्लै भो ! राख्न मात्र खोजेको भए गिनिज बुकमा कतिपटक रेकर्ड बनिसक्थ्यो ।

पम्पमा २४ सै घन्टा सवारी साधनहरूको लाइन हुन्थ्यो । भोलिपल्ट बिहान पेट्रोल बाँड्ने पम्पमा अघिल्लो साँझदेखि मोटर र मोटरसाइकलहरूको लाइन रेलजस्तो लामो न लामो हुन्थ्यो । जति घन्टा लाइन लागे पनि आफूले चाहेको नभएर उनीहरूले तोकेबमोजिम मात्र पाइन्थ्यो । पेट्रोल पाउँदा चिट्ठा परेको भाग्यमानीजस्तो लाग्थ्यो । ठूलो प्रतिस्पर्धामा जितेको मान्छेजस्तो लाग्थ्यो ।

त्यो दिन गणतन्त्र आइसकेको थियो र पहिलो राष्ट्रपतिको ऐतिहासिक चुनाव भइरहेको दिन १५ घन्टा लाइन बसेर पाँच लिटर पेट्रोल पाएको थिएँ मैले । त्यो दिन बिहान ६ बजे नै मैले पुल्चोकको साझा यातायातको पेट्रोल पम्पमा मोटरसाइकललाई लाइन लगाएको थिएँ । त्यति बिहानै पुग्दा पनि म करबि दुई सयवटा मोटरसाइकलभन्दा पछाडि परसिकेको थिएँ । मोटरसाइकल घिच्याउँदै घिच्याउँदै रातीको ९ बजे पेट्रोल हाल्न सफल भएको थिएँ । यस कुराइमा मोटरसाइकल एक्लैले ११ घन्टा र चार घन्टा हामी दुवैले कुरेका थियौँ । पेट्रोल भरेर घरतिर गइरहँदा मैले आफूलाई निकै भाग्यमानी ठानेको थिएँ । कति बिचरा छौँ हामी ? कुर्न भनेपछि हुरुक्क हुन्छौँ । समयको हिसाबकिताब नै छैन । त्यो दिनको मेरो पेट्रोल कुराइ अवधिमा नै राष्ट्रपति झन्डा फहराएर बागडोलतिर छोरीको घरतिर गइसकेका थिए । एउटा सामान्य नेता हामीले कुर्दाकुर्दै राष्ट्रप्रमुखको हैसियत राखिसकेको थियो । देखिएको परविर्तन मात्र हो यो, नदेखिएका परविर्तनहरू कति होलान् होलान् । जनता लाइनमा बसेर कुरिरहँदा नै त हो नि परविर्तन हुने । यो पनि एउटा राम्रो तरिका हो । हामीले कुर्दाकुर्दै शताब्दी पुरानो वंशको नास भयो, हामी लाइनमा नै कुरिरहँदा परम्परा नै भंग भयो । चुरापोते बेच्दै गरेकाहरू पजेराका मालिक भए । चौतारीमा गीत गाइरहेकाहरू, घाँस-दाउरा गरिरहेकाहरू, खेतमा हलो जोतिरहेकाहरू, जुलुस निकालिरहेकाहरू, बारुद पड्काइरहेकाहरू, टाउकाको मोल भएकाहरू, प्रमाणित हत्याराहरू, रातारात सलाम खाने ब्याचका मालिक भए । नचिनेकाहरू नायक भए । यी सबै संविधान लेख्ने भए र हामी थप एक वर्षको म्यादका लागि कुरिरहेका छौँ । हेर्नूस् त हाम्रो कुराइको महानता ! हाम्रो संयमताको महानता ! किनभने, हामी हौँ जनता, सबैलाई थाहा छ, हामी कुर्दाकुर्दा माटोको मोलमा नबिक्ने बनाइसक्यौँ तर आफू भने करोडको मूल्य छातीमा टाँस्ने भएका छन् । कृत्रिम भएर पनि हो जस्तै लाग्ने मुलायम शाब्दिक जाल बुन्न सकेकै कारण देख्नासाथ ह्वालह्वाली बान्ता आउने अनुहार हेरिरहेका छौँ । रावण नेता बने कि बनेनन् तर नेताहरू सबै रावण भएका छन्, १० टाउका भएका । प्रत्येक टाउकाको मुख मात्र सक्रिय भएका । प्रत्येकपटक फरक मुखले बोल्ने । यस्तालाई हामी भने भारुको, दिनारको, यानको, डलरको, रयिादको रेमिट्यान्सबाट जोगाइरहेका छौँ । रोजगारका नाममा जनता विदेश धकेलेर टाउकाहरू पाल्न रेमिट्यान्स भित्र्याइरहेका छौँ ।

भन्न त हामी भनिरहेका छौँ नि हत्यारामा जन्मकैद खाने महोदय फुली फुकाल, घूस खाँदा खाँदै पक्राउ पर्ने महोदय अनुहार नदेखाऊ, जुवाखालबाट पक्राउनुपर्ने महोदय आदर्श नघोकाऊ, कर्मचारी थुन्ने, सीडीओ थुन्ने खेलाडीहरू झन्डा बन्द गरेर कराँते सिक्न जाऊ, रंगेहात वेश्यासँग पक्राउ परेकाहरू नांगै हिँड्न थाल, लुगा किन्न जाँदा व्यापारी थुनाउनेहरू सारीले मुख छोपेर हिँड । यस्ता भन्नुपर्नेहरू कति छन् कति ! लाज पचाएकाहरू, भित्री कट्टु नलगाएर कसैले ब्याचको सम्मान गर्न खोज्दा लाजले फरयिा उचालेर मुख छोप्नेजस्ता छन् । लाज भनेको आँखै मात्र हो, त्यो छोपेपछि वास्तविक लाजको केको लाज- सबै भइरहेका यस्तै छन् । किनभने, हामी सहन सक्छौँ र कुरिरहन सक्छौँ ।

समय २१औँ शताब्दीको छ । त्यसैले ग्यासच्याम्बर बनाउने हिटलरहरू खोजेर पनि पाइँदैन । सात महिनामा बल्लबल्ल एउटा प्रधानमन्त्री बनाउने लाज पचाएकाहरूलाई राष्ट्रियता र सहमतिको च्याम्बरमा राख्ने आदेश दिने अदालत खोज्नुपर्ने भइसकेको छ कि ?

होस गर्न तयार भए हुन्छ महोदयहरू अब जनता जनता मात्र होइनन्, जिउँदा भइसकेका छन् । अब तिम्रा विजयका जुलुसहरू शोक जुलुसमा परिणत हुनसक्छन् । तिमीहरूको चिप्लो धुनमा हाम्रा पाइताला हिँड्दैनन्, अब हामी उज्यालो बोक्नेको खोजीमा छौँ । उज्यालो बोक्ने हातहरूको पछिपछि हुनेछौं । फेरि तिमी मौन सडकको आवाज सुन्न चाहन्छौ भने जनतामा आउन चाहन्छौ भने पश्चात्ताप गर, करोडौँको भविष्य च्यातेकामा । जलाऊ तिमीभित्रका काला गिदीहरूलाई, जलाऊ दलाली भनाइलाई, जलाऊ अरूको बिगार्ने र आफ्नो मात्र सपार्ने जन्मपत्रिकाहरूलाई । अब जनता भ्रमको पर्दाभित्र रहिरहने छैनन् । जनताले कुर्ने दिन, संयम हुने दिनको पनि एउटा सीमा हुन्छ, अब त्यो सीमा सकिसकेको छ । सम्भावनाका यही विश्वास त हुन् नि भोलिका दिन कुर्ने ।

नेपाल साप्ताहिक ४३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *