Skip to content

प्रभाले आत्महत्या गरिन्

  • by


“आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई । हतपतीमा रहेकी आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो । के गरौं कसो गरौं भयो ।

आफूलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन्, “त चिन्दिनस्, किन चाहियो तँलाई?”

तर आज यस्ता उत्तरले मान्ने वाली थिईन प्रभा । त्यसैले भनिन्, “नचिनेको मानिस हाम्रो घरमा किन आएको त?”

बिमलाको अनुहार हेर्न लायकको भएको थियो । उनको मुखाकृति हेर्दा एक किसिमको डर, त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन् । प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म ।

आधा घण्टा पछि बिमला निस्किन् । अझैं पनि प्रभा ढोका बाहिर उस्तै अवस्थामा खडा देखेर बिमला छिटो छिटो आफ्नो कोठातर्फ लागिन् । तर आज प्रभाले ज्यान गए पनि नछोड्ने अठोट लिएकी थिइन् कि, प्राय रातमा आउने गरेका नयाँ नयाँ मानिसहरू को हुन् । भर्खर १४ बर्ष लागेकी प्रभामा एक किसिमको कौतुहलताले आज बलियोसँग डेरा जमाएको थियो । उसले क्रोध आवेगसहित फेरि प्रश्न गरिन् “म आज जसरी भएपनि जान्न चाहन्छु, को हुन् तिनीहरू ? म अब सानो छैन । मलाई सत्य कुरा भन्नुस् आमा ।”

छोरीको ढिपी देखेर बिमलाको निधारमा पसिनाका थोपाहरू देखिन थालेको थियो । कति झुट कुराहरूले आजसम्म चलिरहेको थियो । तर आज त्यस्ता कुराले प्रभा विश्वस्त नहुने देखेर, “चुप लाग, अलि सानो स्वरले बोल, भाइ-बहिनी उठ्लान्” भनिन् बिमलाले ।

प्रभा केही संयमित भैइन् र उत्तरको प्रतिक्षामा आमाको रातो पिरो भएको अनुहार नियाल्न थालिन् । आफूलाई कुनै कैदीलाई झैं परिबन्दमा पारेको देखेर बिमला एक्कासि रुन थालिन् । भक्कनिदै उनले बेदनाहरू पोख्न थालिन्, “प्रभा मलाई माफ गरिदेऊ, म विवश छु । मैले तिम्रो बाबुको देहान्तपछि तिमीहरू लालन-पालन, पढाइ खर्च धान्न नसकेर देहव्यापार गर्न थालेकी हुँ । मसँग अरु कुनै विकल्प थिएन । ”

प्रभा छाँगाबाट खसे झैं भैइन् । उसलाई पुरै ब्रम्हाण्डनै आफूमाथि खनिए जस्तै लाग्न थालेको थियो । कुनै भुत्ते खुकुरीले पटक पटक रेटिएको भान गरिन् । थच्चक्क भुईँमा बसिन् र सुक्कँ सुक्कँ गरी रुन थालिन् । प्रभाका आँखाबाट बलिन्द्र आशुको धारा बग्न थाले, “यस्तो काम गर्नु भन्दा हामीलाई मारिदिनुभएको भए हुन्थ्यो नि आमा । किन यस्तो पेशा अंगाल्नु भएको ? अब गाँउलेले थाहा पाए भने हामीले कसरी मुख देखाउने ?”

बिमला भाव-शुन्य भैइन् । कोठामा सन्नाटा छायो थियो । बाहिर किराहरूको साम्राज्य चलेकोले भित्रसम्म पनि तिनको आवाज प्रष्टैसँग सुनिएको थियो । केही छिन पछि प्रभा जुरुक्क उठेर आफ्नो कोठातर्फ लागिन् । जाँदा जाँदै उनले भनिन्, “हामीलाई नपढाएको भए पनि हुन्थ्यो । कमसेकम आज यो दिन आउँदैन थियो ।”

बिमलाले प्रभाको कोठाको ढोका ड्याम्म बन्द भएको सुनिन् । सुक्सुकाउदैँ भारी मन लिएर ओछ्यानमा पल्टिन् बिमला ।

भोलिपल्ट बिहानको ८ बजे । बिमला सधैँको झैं आफ्नो बिहानको घर धन्दा सकाएर आउँदा पनि प्रभाको कोठाको ढोका नखुलेको देखेर ढोका ढकढक्याउन थालिन् । “स्कुल जाने बेला भैसक्यो किन न उठेकी? प्रभा ए प्रभा !” भन्दै ढोकामा हिर्काईन् ।

भित्रबाट कुनै प्रतिउत्तर न आएपछि बिमलाले जोडले ढोकामा हानिन् । बिमलाको मनमा नानाभाँतीको शंकाले बास जमाउन थाल्यो । “प्रभा ए प्रभा!”

ठुलो ठुलो आवाजले बोलाउन थाले पछि उनको चर्को र अत्यासिएको स्वर सुनेर वरिपरिका छिमेकीहरू जम्मा हुन थाले । सबैले प्रभाले यतिखेरसम्म ढोका नखुल्नुको पक्कै पनि कुनै गलत घटना भएको आशंका गरे । सबैको सल्लाह बमोजिम ढोका फुटाए । उफ्: रातो सलले आफ्नो घाँटीमा पासो लगाई कोठाको सिलिङ्मा झुण्डिएर आत्महत्या गरेकी प्रभाको लास देखेर सबैमा कोलाहल मच्चियो । बिमला अचेत हुन पुगिन् । सबै मिलेर उनलाई अर्कै कोठामा लगेर राखे । केहीले प्रहरीलाई फोन गरेर सूचना दिए ।

केही छिनमै घटनास्थलमा प्रहरी आइपुग्यो । प्रभाको कोठाको राम्ररी निरिक्षण गरेपश्चात उनीहरूले प्रभाको हस्ताक्षर सहितको पत्र प्राप्त गरे जसमा प्रभाले आफ्नो मृत्युको दोष कसैलाई पनि नजाने र आफूलाई जीवनदेखि बितृष्णा जागी देह त्याग गरेको व्यहोरा उल्लेख गरेकी थिइन् ।

यो घटना पश्चात गाउँघरमा प्रभाले आत्महत्या गर्नुको कारणको बारेमा बिभिन्न अड्कलबाजीहरू हुन थालेको थियो । कोही प्रेममा धोका भएकोले आत्महत्या गरेको हुन सक्छ भन्दै थिए भने कोही नजिकै आईरहेको S.L.C. परीक्षाको प्रेसरले गर्दा हुन सक्ने आशंका गर्दै थिए । तर कसलाई के थाहा प्रभा आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकी थिइन् भनेर, सिवाय बिमलालाई बाहेक ।

प्रभाले देहत्याग त गरिन् । तर उनले बाबुको मृत्यु आफू ८ बर्षको हुदाँ भएको, घरमा स-साना नानीहरूको रेखदेख लगायात राम्रो बोर्डिङ्मा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको बिमलाले सम्पत्तिको नाममा त्यो एउटा सानो कच्ची घर बाहेक कुनै आम्दानीको श्रोत नहुदाँ समाजमा मान्यता नपाएको घृणित पेशा बाध्यताबश अंगालेको कुरालाई आत्मासाथ गर्न सकिन । यता, बिमलाले विकल्पको रुपमा अरुनै कुनै पेशा रोजेको भए आज यस्तो कहालीलाग्दो दिनको सामना गर्नु पर्ने थिएन होला ।

आजकल प्रभाको स-साना भाइ र बहिनी स्कुल जाँदैनन् । उनीहरू आमा बिमलासँगै मजदुरी गर्न जान्छन् ।

बिना तामाङ्
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *