रेखा कविता, मुसायरा गजल र विचारको सँगम

20110228_DeshSubba


आइतबार २७ तारिख
हङकङ् ।

हङकङको चुनवानमा गरिन्दै आएको साहित्यिक छलफल याउ मा तेइको म्याक डोनाल्डमा सम्पन्न भयो । छलफलमा कवि टंक सम्बाहाम्फे, बिमल राई, गजलकार विष्णुनन्द चाम्लिङ, समालोचक तथा कवि दाजु गुरुङ्, गायिका तथा गीतकार शुशिला थुलुङ र म देश सुब्बा उपस्थित भएका थियौँ । यो हङकङलाई उज्यालो बनाउने हाम्रो नियमित कार्यक्रम हो । यो क्रम ५ वर्षदेखि निरन्तर गरिरहेका छौँ । यसले हङकङलाई बौद्धिक जमातमा निकै उज्यालो बनाएको छ । यो वैचारिक मञ्चनको चौतारी । यसमा धेरै भन्दा धेरै साहित्यकार, पाठक, समालोचक बोलाउँदै आएका छौँ । तर पनि समयले तिहुनभुटुन साटेर खानुपर्ने ठाउँमा भनेको जस्तो नहुँदोरहेछ । यस्तै भेलाको विमर्श बगैँचामा फुलेका वैचारिक फूलहरू हुन्—भयवाद, समुच्चवाद र रेखा कविता । यी सबै यतिखेर विचारको केन्द्रमा संसारभर पैmलिएका छन् । यो एउटा छलफलको सन्देश, सृजनाको करेसाबारी । ठूलो ठूलो गोष्ठी, छलफलमा रम्ने साहित्यकार, समालोचकको लागि यो अम्खोराको पानी होला । हामी त यसलाई गाग्रीको पानी मान्दछौँ । यस्तै छलफल, भेलाले जन्माएको विचारको सञ्जाल छ विश्वमा । आकारमा यो सानो हुन्छ तर यसको छाल संसारभर तरङ्गिन्छ । हिजो पनि यस्तै भएको थियो । सौभाग्यले हामी पनि यस्तै यस्तै प्राथमिक विद्यालयका विद्यार्थीहरू ।

आजको छलफलमा टंक सम्बाहाम्फेले सुनाए—रेखा अवतरण । ऊ भन्दैथिए, “म केही समयदेखि सरल कविता लेखेर रेखा बुझाइरहेको छु ।” विष्णुनन्दले सुनाए मीठो गजल—

पिरतीको डालीमा फल्दै थियो जिन्दगी ।
घामजून ढल्के झैँ ढल्दै थियो जिन्दगी ।

साउनेझरी बर्सेर बग्यो सुन्दर बगैंचा ।
सुस्तसुस्त हावा झैँ चल्दै थियो जिन्दगी ।

कति चढेँ उकाली कति झरेँ ओह्राली ।
मेलापात गर्दैमा गल्दै थियो जिन्दगी ।

गुड्दागुड्दै जिन्दगी दोबाटोमा रोकेर ।
कालोरङ्ग भावीले दल्दै थियो जिन्दगी ।

इच्छा थियो ‘विष्णु’ को हेर्ने नयाँ बिहानी ।
भूईकुहिरो उठेर छल्दै थियो जिन्दगी ।

यसमा गजलमा ‘साउनेझरी बर्सेर बग्यो सुन्दर बगैंचा’ र ‘कालोरङ्ग भावीले दल्दै थियो जिन्दगी’ मा केही छलफल चलायौ—यसलाई अझ चम्किलो, उज्यालो र चोटिलो कसरी बनाउन सकिन्छ भनेर ।

मुसायरा गजलमा पनि निकै छलफल भयो । त्यसपछि पालो आयो कवि बिमल राईको । उसको कविता ‘युद्धको कालो बादल’ मा निकै छलफल भयो । ‘युद्धभित्र उभिएको बुद्ध’ मा ‘मैले भन्न खोजेको कविताको भाव आयो’ प्रतिक्रिया थियो टंकको । यो कविता सरल थियो परन्तु मार्मिक ।

मैले रेखा कविता—२४ ‘स्वतन्त्रताको मृगमरीचिका र जूनकीरीको जिन्दगी’ को प्रस्तावित कविता सुनाएँ । त्यहाँ भएको कमिकम्जोरीलाई विचार र सुझावले पखाल्न आग्रह गरेँ । तर प्रतिक र विम्वले भरिएको प्रशंसा मात्र पोल्टामा पर्यो । त्यस कवितामा कुनै सुझाव आएन ।

स्वास्थ्य खराब भएकोले शुशिलाले केही सुनाइनन्, सबैको मत सुनिन्, कविता सुनिन् । दाजु गुरुङ्ग (उपेन्द्र कोरङ्गी)ले कार्यक्रम उपलब्धीमुलक भएको मन्तब्य दिए । रेखा कवितामा उठेका जिज्ञासाको बारेमा निकै बहस भयो । रेखाको बारेमा टंक, बिमलले स्पष्टसँग मत बताए । मैले ‘रेखा कविता लेखाइको परिचय र विश्व हेर्ने अर्को जाती हो’ भने । टंकले बिष्णुलाई ‘रेखामा गजल लेखे, पहिलो रेखा गजलकार’ हुने सुझाव दिए । छलफल चलिरह्यो । मैले प्रस्तावित भयवाद दर्शनको किताब देखाएँ, लेख्दै गरेको महाकाव्य देखाएँ । भयवादको बारेमा कम र महाकाव्यको बारेमा केही बढी बहस भयो ।

दिनको ३ बजिसकेको थियो । म्याकडोनाल्डमा मान्छेहरू छाँटिसकेका थिए । मौसम विषम थियो । सबैले भेटघाटलाई निरन्तरता दिने र अझ प्रभावकारी बनाउने निधो गर्यौँ । अर्को पटक हङकङको नेपाली साहित्यको गतिविधि, अवस्थाबारेमा छलफल—पत्र तयार पार्ने जिम्मा दाजु गुरुङ्गलाई दिएर हामी छुट्टiयौँ । यो हाम्रो सृजनाको उर्जा थियो, विचारको चौतारी । यसै अम्खोराको पानी पिएर अंकुरित हामी विचारक, सृजकका रहर लाग्दो बिरुवाहरू । आशा छ यो चौतारीको शीतलता ताप्न धेरै सृजक, विचारक, पाठक आगामी दिनमा आउने छन् ।

देश सुब्बा


बायाँबाट सुशीला गुरुङ, दाजु गुरुङ्, देश सुब्बा, विष्णुनन्द चाम्लिङ, बालकको साथमा टंक सम्बाहाम्फे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “रेखा कविता, मुसायरा गजल र विचारको सँगम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *