Skip to content

देश दुख्ने मुटु

  • by


मिल्ने भए यो अढाई सय ग्रामको मुटु
अनगीन्ति टुक्रा पारेर
मनचिन्ते आकारहरूमा ढालेर
नाङ्लो र ढाकरहरूमा
खर्पन र पेरुङ्गोहरूमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखि उँधो पठाइदिन्थेँ
तराईदेखि उँभो लगाइदिन्थेँ
मनैले मात्र के हुने रहेछ र !
पेटभन्दा ठुलो बाध्यता जिन्दगीको अर्को नहुने रहेछ !

भोका सन्तानको आशातित अनुहारमा
म कुन दर्शनको बखान गरुँ?
बेदनाले खुम्चिएको मुटु
अलिकति हाडमासुले छोपेर
श्रम बेच्दै बालुवाको कण-कणमा
प्रत्याशित भरे-भोलिको चुल्हो बाल्न भौंतारिइरहेको ‘म’ लाई
पहिले त जाउलो चाहिन्छ
छानो चाहिन्छ
लाज ढाक्ने दुई टुक्रा बर्को चाहिन्छ
उदाङ्गो तनले ढाकिएको मनहरूको अभिनय गर्न नसकिने रहेछ!

झ्याङ्ग् प्वाल मजेत्रोमा छोपिने
असफल प्रयासमा जिन्दगीको कहर काट्ने
नङ्गाको बगालमा देशको कुन पाली छाउने कुरा गरुँ??
हरियो देशका सुनौला मनहरू
मरुभूमीको तातोमा क्याक्टस बाँच्नुछ
सम्झनाको जालीरुमाल
किन्ने
साट्ने
र
जिन्दगीको एक कुइनेटोमा
भरीएको पेट
अनि ढाकिएको जिउ
आफ्नै छानोमुनि लुकाएर
स्वाभिमानको बिस्तारामा लडिबुडी गर्ने
एक त्यान्द्रो सपनामा तुर्लुङ्ग झुण्डिदै
घरि उँभो सगरमाथा नियाल्नु छ
घरि सुस्केरामा तलबी सन्तोष साट्नुछ
आश्वासनले जीवनका खाँचा नटर्ने रहेछन !

पुर्खाको बाक्लो छालामा लुट्पुटिएर
हिजो खाँदै सपनाको भोलि डकार्दै
आज देख्दै नदेखी
बुझ्दै नबुझी
सुन्दै नसुनी
नटिल्पिलाएका पसिना
चमरले हम्केर
अझै भन्छौ कि म निष्ठूर छु ?
माटो भुलेर आफूमा केन्द्रित छु ?
कि मलाई देश दुख्दैन ?
कि देश हेर्ने ऐनामा म प्रतिविम्बित हुँदिन ?
हेर ! नियाल मेरा छातीका कोलाजहरू !
सुँघ मेरा ताजा पसिनाहरू!
बनिबुतोको एक एक हिस्साले रङ्गिएको मेरो रगत !
त्यहीँ पाउनेछौ मेरो देश-चिन्तन्
त्यहीँ देख्नेछौ देश दुख्ने मुटु र आफू देखिने ऐना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *