Skip to content


सभ्य र सभ्यताको नाममा
असभ्यताको मनमौजी
रचेर तृप्त हुने स्वाङ पार्दै
अतृप्तको आड्मा निदाउन विवश छ मान्छे

त्रुटि सच्याउनुको सट्टा
बाँधा बिघ्न तेस्र्याउँदै
आफैँलाई भुल्ने गरी
अभ्यस्त रहन विवश छ मान्छे

बेचैन मुद्रामा दिन रात घोटिंदा पनि
लोभ र,मोहको घैटो भरिदैन
एकपछि अर्को गल्ती गर्न
विवश छ मान्छे

त्यही विवस्थाको पछाडि
आफूलाई लुकाएर कोलाहल
निम्त्याउन विवश छ मान्छे

आखिर के चाहन्छ मान्छे?

स्याउले झुप्रोदेखि उठेर
आलिसान महलसम्म आइपुग्दा पनि
तरुलभ्याकुरदेखि उठेर
बासमती चामलको
भातसम्म आइपुग्दा पनि
बाह्रखरीदेखि उठेर
स्नातक तहसम्म आइपुग्दा पनि
पैदल यात्रादेखि उठेर पजेरोसम्म
आइपुग्दा पनि
भोक हड्तालको शोक
र सुर्तामै अल्झेको अल्झ्यै छ मान्छे

हात बाँधी बसी रमिते भएर
भोक रोग शोक मुक्त
भएको घोषणा कैले गर्ने हामीले हामीलाई?
यही प्रश्न आफैंले आफूसँग गर्दैछु म

सभ्य र सभ्यताको नाममा
असभ्यताको मनमौजी
रचेर तृप्त हुने स्वाङ पार्दै
अतृप्तको आड्मा निदाउन विवश छ मान्छे

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *