फर्केर हेर्दा : अनाम पाठशालामा एकदिन

  • by
DhirKumarShrestha


अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकी रहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

सप्तरीका दुर्गम गाउँहरूमध्येको एउटा गाउँ सोनरा । तीनतिरबाट दुईओटा खोलाले घेरिएको । एकातिर जिता खोला र अर्कोतिर अनाम खोला । यी दुवैको दोभानले घेरिएको तेस्रो किनारमा अवस्थित थियो (छ ?) पकरी गाउँ विकास समितिभित्रको एउटा गाउँ सोनरा । त्यहीँ २०१८ सालको मध्य वर्षाका दिनमा एउटा बालककको जन्म भएको थियो । न्वारानका दिन नाम के राखियो, त्यो उसलाई थाहा भएन तर उसका श्रवणेन्द्रीयले ग्रहण गर्न थालेदेखि सुन्न थाल्यो, ‘सानु ।’ कसैले यही नाम काढ्दा उसले फरक्क फर्केर हेर्न थाल्यो । त्यहीदेखि उसले थाहा पायो, ‘यो मैले पाएको नाम रहेछ ।’ त्यो तिमी नै थियौ ।

यही नाम बोकेर तिमी हिँड्न थाल्यौ । हिँड्न थालेको समयदेखि तिमीले पहिलोपटक जुन पाठशालामा पाइला टेकेका थियौ, त्यसको नाम विस्मृतिमा हराइसक्यो । यति चाहिं अवश्य थाहा छ कि त्यस पाठशालासम्म पुग्न तिमीले एउटा विशाल चउरी (खेतको फराकिलो फाँट) नाघ्नुपर्थ्यो । चउरी नाघ्दै गर्दा दिउँसै नढिया (स्याल) कराउँथे । तिमीजस्ता केटाकेटीलाई एक्लैदुक्लै पाए ती फुटबल बनाएर भकुन्ड्याउन सक्थे, बास्केटबल बनाएर उफार्न सक्थे । तिम्री आमालाई सबैभन्दा बढी डर क्यै कुरोको थियो भने यसै कुरोको कि कहीँ तिनले तिमीलाई लछारपछार पारेर आगतका पूर्वाभ्यासका पूर्वदृश्य प्रस्तुत नगरुन् । यसैले उनी आफै तिमीलाई डोर्याउँदै पाठशालासम्म पुगेकी थिई । त्यस दिनको यकिन तिथिमित भने थाहा भएन । यसको अनुमान तिम्रो जन्ममितिका आधारमा लगाउनुपर्छ । तिमीलाई थाहा छैन होला कि त्यतिबेला तिमीसँग सिलोट र खरी पनि थियो कि थिएन । किनभने सिलोट किन्न बजार (स्थानीय रुपमा राजविराजलाई बजार भनिन्थ्यो । भनिन्छ पनि ?) सम्म पुग्नुपर्थ्यो । बजार पुग्न एउटा लामो चउरीमात्र होइन, वर्षाको मौसम पर्यो भने खाँडोको असमेल भेल तर्नुपर्थ्यो र हिउँदका बेला पर्यो भने त्यही खाँडोको बालुवामा भासिँदै लामो बाटो तय गर्नुपर्थ्यो । चैतवैशाखको खडेरीको बेला पर्यो भने त खाँडोको बालुवा विशाल हाँडीमा उमालेर परपरी भुटेजस्तै हुन्थ्यो । जुत्ताचप्पलका नाममा रित्ता पाइताला हिँड्नुपर्ने त्यसबेलामा सिरसिर चल्ने बतास पनि रिसाएर ठप्प भयो भने त झन् के कुरो गर्नु ! खाँडोको पानी होइन, बालुवा तर्नु गाह्रो हुन्थ्यो । यसैले म विश्वास मान्न सकिरहेको छैनँ कि ती सब कष्ट उठाएर बजार पुगे पनि तिम्री आमाको सारीको खुँटमा सिलोट र खरी किन्ने पर्याप्त पैसा हुनुपर्छ । यसो भइसकेपछि वर्णमालाजस्ता किताब तिम्रा हातमा थिए होला भनी कल्पना गर्नुपर्ने आवश्यकतै परेन ।

यसर्थ पहिलोपटक पाठशाला टेक्दा तिम्रो हातमा थियो भने पनि गाउँकै सुतिहार (सिकर्मी ?) ले बनाइदिएको काठको पाटी र माटाको सारो डल्लो हुनुपर्छ । यसभन्दा बढी केही थियो होला भने पानीमा भिजाएको पोतना, जसले पाटीमा लेखिएका अक्षर नामका किरमिर-किरमिर धर्काहरू मेटाउँथ्यो, अचेलको भाषामा भन्ने हो भने डस्टर । निश्चितै रुपमा त भन्न सक्दिनँ तर तिमीले पहिलोपटक पाठशाला टेक्दा तिमीसँग यिनै सब चीज हुनुपर्छ । तिमीले पहिलोपटक पाइला टेकेको पाठशालाको धमिलो चित्र भने मेरा आँखामा अहिलेसम्म नाचिरहेको छ । त्यस पाठशालाको छाना खरले छाएको थियो र त्यहाँको बाटोबाट आकाशका अधिकांश भागलाई ओल्टोकोल्टो नगरी जताबाट पनि देख्न सकिन्थ्यो । भित्तो भने ठकुवा टाटको (बाँसको कप्टेरो नागबेली फन्कामा मोडी बनाइने पर्खाल) थियो तर त्यहाँबाट पनि विनाबाधाविरोध सग्लै बाहिरी दृश्य देख्न सकिन्थ्यो । यति हुँदाहुँदै पनि तिमीले आफूलाई धन्य मान्नुपर्छ कि सप्तरीको दुर्गम गाउँमा उतिबेला पाठशाला नामको शाला पायौ र त्यहाँ पहिलो पाइला टेक्न पायौ । होइन भने तिम्रा पाइलाहरू त्यहाँदेखि यहाँसम्म आइपुग्ने थिएनन् ।

एउटा लामो यात्राको यो हिँडाइमा तिमी विश्वासै गर्न सक्दिनौ होला, तिमी पढ्न कम र आँसु बगाउन बढी व्यस्त थियौ । अरु पढिरहेका थिए कि पढिरहेजस्तो गरिरहेका थिए, त्यो तिमीलाई थाहा हुने कुरै भएन । किनकि तिमी त पढ्नुको नाममा केवल कहालिई-कहालिई रोइरहेका थियौ । मलाई लाग्छ, तिम्रो शब्दकोशमा पढ्नुको परिभाषामा केवल रूनु भनेर लेखिएको थियो र तिमी दिनभरि रोइरहेका थियौ । किनभने तिम्री आमा तिमीलाई रूँदारूँदै छाडेर सोनरा फर्किसकेकी थिई र तिम्रो गाउँबाट तिमी एक्लै थियौ । पाठशालामा दिनभरि एक्लै रोएर बेलुका त्यत्रो चउरीको बाटो कसरी सोनरा फर्कियौ, त्यो भने मलाई पनि थाहा भएन । चउरीमा जताततै दिउँसै गस्ती लगाइहिँड्ने नढिया र खिखिरहरूले तिमीलाई कसरी जीवनदान दिए, त्यो पनि मैले थाहा पाउने कुरो भएन । मैले थाहा पाएको भनेको त्यसदिनपछि भोलिपल्टेखि तिमीले पाठशालामा पाइलै टेकेनौ । त्यसो भएकोले तिमीले तिम्रा कक्षाका साथीहरू र शिक्षकका बारेमा थाहा पाउने कुरै भएन । जेहोस् उतिबेला तिम्री आमाले तिमीलाई चउरी काटेर पाठशाला पुर्याउन गरेकी साहस र तिमीले शिक्षाका नाममा पहिलोपटक दिएको आँसुको अर्घ्यलाई भने सलाम गर्नै पर्छ ।

अब ‘सानु’ कसरी ‘धीरकुमार’ भयो ? यो जान्न भने केही समय कुर्नै पर्छ । यसका लागि अर्को चिठीसम्म पर्खिराख ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *