Skip to content

प्रियालाई चिट्ठी

  • by
20110313_Sanjiwani_PriyaLaiChithi


नुमाफुङ्को फूल सिउँरेर
चन्दनको टिका पहिरेर
शालिग्रामहरू पार गर्दै
साङ्ग्रिलामा बास बसेको
सूर्यको गर्भबाट
शान्तिका निलाकिरणहरू झुल्किने दसैं
मृत्यु प्रतियोगिताको रणसङ्ग्राम बनेर आएको छ ।
यद्यपि
दोरम्बामा गोर्खेलौरी कसेर
आफ्नो घाँटीलाई अचानोमा
निशाना बनाएका कान्छामानहरू
अब कहिल्यै फर्किने छैनन्
केबल
देखिने छ,
च्यातिएका अखबारका पानाहरूमा
रक्त श्रावमा पल्टिराखेको लास
कलाकारले कोरेको चित्र झै- अमूर्त रहिरहनेछ ।
त्यसैले
उनका सुम्निमाहरू
कपाल फुकाएर
सिउँदो पखालेर
चुरा फुटाएर
रोइरहेकी छिन्
उपबासमा कात्रो बाँधेर ।
काँक्रे बिहार र स्वर्गवारी गएका
डोल्मा र आङ्आहरू पनि
बन्दुकको रिभ्वाल्वरको चारा भयो रे
तसर्थ
उनीहरू पनि
मेलबोट डाँडाको मेला भर्न आउने छैन
रोटे र लिङ्गे खेल्न आउने छैन
झ्याउँरे गाउन र नाच्न आउने छैन
यो पाली
मनको मजेत्रोले तिमीलाई
सप्काउने रहर थियो प्रिया
तर
सपनाहरूमा पहिरो गएको बेला
बिपनाहरूमा गहिरो परेका बेला
मेरो कवि दुखिरहेछ
मेरो कविता दुखिरहेछ
दुखिरहेको यो बेला
दुखिरहेको यो दसैंमा
मन सम्हालेर बस प्रिया
म आउन पाइन
म शान्तिको शिखा खोज्न जाँदैछु
म उज्यालोको दियाँलो खोज्न जाँदैछु
तिम्रो समीप आउन पाइन
प्रिया मन बाँधेर राखे है
यो पाली दसैंमा
म आउन पाएन ।

(२०६० को दसैंको अवसरमा अन्नपूर्ण एफ एम द्वारा आयोजित कविता प्रतियोगित प्रतियोगितामा दोश्रो भएको कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *