नेपाली गजल भण्डार समृद्ध नभएको र बौद्धिकस्तरमा गजल गाउने, सुन्ने र सराहना गर्ने चलन बसिनसकेको अवस्थामा पनि युवा पुस्ताका सर्जकहरू यो विधामा सशक्त कलम चलाइरहेका छन्। धीरेन्द्र प्रेमर्षिको समयलाई सलाम यस्तै एउटा प्रयास हो।
अनुभव, संशय, तर्क र प्रक्षेपणको दृष्टिले समकालीन गलजकारहरू भन्दा पृथक् प्रेमर्षिको अन्त्यानुप्रास संयोजन कलाबाट आश्चर्यचकित कविवर माधवप्रसाद घिमिरेले गजल भनेको यस्तो हुनुपर्छ शीर्षकको भूमिकामा समयलाई सलाम लाई नेपाली गजलको मानक नै भनेर मोहर लगाइदिएका छन्। नेपाली भाषाको वैशिष्ट्यलाई सहज रूपमा पचाएका मैथिली मातृभाषी प्रेमर्षिका मैथिली शब्द भण्डार, उखान-टुक्का, भाषिक संरचना र अभिव्यक्ति शिल्पले प्रस्तुत नेपाली गजल सङ्ग्रहलाई अझ् समृद्ध बनाएका छन्। काफिया, बहर र शेरको घेराबन्दीमा कतै पनि उनको अभिव्यक्ति कुण्ठित भएको छैन। गजलहरू गायन, वाचन र पठन तीन रूपमा सरस र लालित्यपूर्ण छन्।
मिथिलाञ्चलको सामाजिक परिवेश र कामदार वर्गको जीवन-सङ्घर्षले गजलमा यो रुपबाट अभिव्यक्ति पाएको थिएन। राजनीतिक-आर्थिक विभेदले उब्जाएको त्रासद र विडम्बनाको वर्णन सरल एवं सुललित भाषामा गरेर गजलकार प्रेमर्षिले गीत वा गजलको संरचनात्मक गुणवत्ता स्थापित गरेका छन्। उनका गजललाई गहन रूपमा बुझन देशको निकट विगतलाई पनि सम्झ्िनुपर्छ। सङ्ग्रहका अधिकांश गजल मावादी जनयुद्ध र आमजनताको शान्तिपूर्ण विद्रोहको उत्कर्षको समयमा रचिएका हुन्। हिंसाको बोलवाला भएको त्यो समयमा परिवर्तनको उद्वेग र सांस्कृतिक परिचयको असीम आकाङ्क्षाका साथ प्रेमर्षि लेख्छन्ः
डाँडाभरि लालीगुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ् चम्पा पनि खिल्नुपर्छ।
गजलकार प्रेमर्षि सदियौँको चरम शोषण र अनागरिक बनाइनुको पीडाका एक जना भोक्ता पनि हुन्। यो पीडाको जड कहाँ छ भनेर राम्ररी बुझ्ेका उनी लेख्छन्ः
मूलै खामो मक्केको यो काठेघर ढाल्नुपर्यो,
ईंटै-ईंटको नयाँ घर बनाउन थाल्नुपर्यो।
मक्किएको काठको घर निसन्देह राजतन्त्रको प्रतीक हो जसका विरुद्ध भोकानाङ्गा नेपाली जनताले तीन वटा ठूला विद्रोह र बलिदान गर्नुपर्यो। काठमाडौंको दरबारबाट नेपाली समाजमा निसृत बेथितिहरूको परिणाम र त्यसबाट मुक्त हुन चाहने विजयी आकाङ्क्षाले भरिएका गजलहरूको सङ्ग्रह समयलाई सलाम साँच्चै सलाम लायक छ।
रमेशरञ्जन झा
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क ०५
पूर्णाङ्क २८९
