Skip to content

सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण

  • by


१) विषय प्रवेशः-

प्राचीन कालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । वि.सं. एघारौँ शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराजले सुरुमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र त्यसपछि सिञ्जा लामाथाडामा आई सिजा क्षेत्रलाई खस साम्राज्यको मुख्य गडको रूपमा कायम गरेपछि यस भूमिलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भनिन थालियो ।

नेपालको उत्तरी खण्डमा पर्ने कर्णाली प्रदेश पूर्वको साँगा भन्ज्याङ्गदेखि लिएर पश्चिमको काँगडासम्म एवम् उत्तरको कैलाशकुट पर्वत र मानसरोवरदेखि दक्षिण गङ्गा नदीसम्मको भूमि यस प्रदेशको मानिन्छ । वर्तमान समयमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको २२,३५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको जम्मा १३४ गाविस भित्रको भू-भागलाई जनाउँछ ।

यस जिल्लाको सिमाना हेर्दा पूर्वमा डोल्पा, पश्चिममा कालीकोट उत्तरमा मुगु र दक्षिणमा जाजरकोट पर्दछन् ।

कर्णाली अञ्चलको सदरमुकाम ऐतिहासिक एवम् साँस्कृतिक केन्द्रको रूपमा परिचित जुम्ला जिल्लाले अतीतमा बृहत् क्षेत्र ओगटे पनि हाल केवल जुम्ला एक जिल्लामा सीमित रहेको छ । यस जिल्ला भरि ३० गाविस, ९ इलाका र १ सँसदीय निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लालाई दरागत (जिल्लाको सानो एकाइ वा खण्ड रखोला भेक) रूपमा यसरी विभाजन गरिएको छ ः

– सिजा दरा

– पानसय दरा

– असीदरा

– चौधविस दरा

दरा भनेको गाँउ समूह हो । एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ । ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई ‘दराखोला’ भनिन्छ । दरा शब्दले माटो (भूमि) लाई बुझाउँछ भने खोलाले पानी बग्ने भूमि र पानीलाई बुझाउँछ । मानव जीवनका लागि माटो र पानी एकअर्काका पूरक भएकाले माटो भन्ने वित्तिकै पानी र पानी भन्ने वित्तिकै माटोको नाम लिनैपर्ने हुन्छ । त्यसैले यहाँ दरा र खोला यसैसँग सम्बन्धित ठानिन्छ । आफूलाई सहरीया र सभ्य भन्नेहरूले यस्ता दरा खोलामा बस्ने मानिसहरूलाई दरा-खोल्या भन्ने गरेको पाइन्छ । यस जिल्लाको पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणबाट जुम्ला नामाकरण हुन गएको भेटिन्छ ।

सँस्कृतको ‘यमल’ शब्दले नेपालीमा जुम्ल्याहा भन्ने अर्थ बुझाउँछ । हाल जुम्ला जिल्लाको छिनासिम उपत्यकाभित्रका गाविसमध्ये एउटा गाविसको नाम हो चन्दननाथ । यस गाविसका वडा नँ २, ३, ४, ७ र ९ को बीचमा ‘देवल डाँडा’ र ‘गरल डाँडा’ भन्ने दुई डाँडा विद्यमान छन् । यी दुवै डाँडाको उचाई, लम्बाइ, बनावट र आकार-प्रकार एउटैखाले भएकाले यहाँका प्राचीन कालका मानिसहरूले यी दुई वटा डाँडाका आधारमा यस ठाउँको नाम यमल (जुम्ल्याहा डाँडा) भन्ने रहन गयो । यसबाट त्यसबेलामा यहाँ सँस्कृत भाषाको प्रभाव निकै रहेको देखिन्छ । यही यमल शब्द समयसमयमा परिवर्तित हुँदै जाँदा यमल श्रजमल श्रजुमल श्रजुमिल श्रजुमिला श्रजुमला श्रजुम्ला हुन गएको पाइन्छ । ( देवकोटा, २०६४ ः २२८) यही यमलबाट परिवर्तित हुँदै गएका वखतमा लेखिएका पुराना अभिलेख र अन्य केही लेखोटहरूमा यस्ता यी विभिन्न शब्दको प्रयोग भेटिन्छ । जुम्लाको यस छिनासिम उपत्यकाको उत्तरतिर (डाँफेलेकको दक्षिणतिर) को भू-भागलाई ‘डाँडा जुम्ला’ समेत भन्ने गरिन्थ्यो । यसै चन्दनाथ गाविस वडा नँ. ३, ४, ५ को बीचमा ‘डाँडाकोट र खोलिकोट’ भन्ने गाउँसमेत रहेका छन् । जुम्ला पानसय दराको अग्लो लेकमा मालिका ठाँटा भन्ने एउटा गाविसभित्र ‘जुम्लाकोट’ भन्ने गाउँ र ठाउँसमेत रहेको छ । यस जुम्लाकोट ठाउँको समेत जुम्ल्याहा भन्ने अर्थ हुन्छ । जुम्लाका कल्यालवँशी प्रथम वलिराजले खस साम्राज्यका मल्ल राजाहरूले मूल राजधानी वनाई बसेको सिञ्जा लामाथाडा स्थानमा नै देखिन्छ ।

सिञ्जा दराको सङ्क्षिप्त परिचय

सिजा खोलाको समष्टिगत भौगोलिकस्थिति २८डिग्री५८ उत्तरदेखि २९डिग्री ३० इन्ची उत्तरी अक्षाँश र ८१ डिग्री २८ इन्ची देखि ८२ डिग्री १८ इन्ची पूर्वी देशान्तर भित्र केवल हालको ११ गाविसमा रहेको छ । दायाँबायाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडहरूका बीचमा हिमा नदीको सुसाहटसँगै लामो रूपले दक्षिणी सिमाना कालीकोट जिल्ला र उत्तरी सिमाना मुगु जिल्ला सिरानी र गोड्यानी गरी तेर्र्र्र्िर्सएको सिञ्जा दरा महावैपातार खोलाबाट सुरु भई ब्रममाडी चौर गाविसका साथ उपत्यकामा सँरचित छ । मिश्रति वसोवास रहेको यस दरामा प्रमुख धार्मिक स्थलहरू भैरवनाथ भवानी पान्डव गुफा कनकासुन्दरी (गढीमाई) रहेका छन् ।

सिञ्जा शब्दलाई सिँजा, सिँजा, सेञ्जा, र सेँजा भनेर बहुविधरूपमा लेख्ने गरेको पाइन्छ । सिँजाको निर्वचन लगाउने क्रममा ‘सेनजय’ अर्थात् सेन राजाहरूलाई जितेर आफ्नो शासन कायम गरिएको हुँदा सेनजय भन्ने नाम रहन गएको पाइन्छ । यही शब्दको रूपान्तरण सिञ्जा मानिन्छ । सिञ्जालाई ‘यात्से’ पनि भनिन्छ । सिञ्जाको लामाथाडा दरवार बनेको ठाउँ स्थानीय हाट सिञ्जा, लुडकु, लाहार्ज, द्ययारपाटा, कोटघर आदि गाउँभन्दा माथि नै देखिन्छ भने लामाथाडादेखि तलतिर सिमपाटी, धापा, नराकोट, वड्की, लामाथाडाको उचाइको हाराहारीमा रहेका छन् । सिञ्जा शब्द बारेमा नेपाली बृहत् शब्दकोश पृष्ठ १२, ७३ मा सिञ्जा-(नाः)(सँ)१ एउटै ठाउँ वा एउटै वस्तुभित्र राखिएका गहनाहरू आपसमा ठोकिएर निस्किने आवाज । २ कर्णाली अञ्चलमा पर्ने प्रसिद्ध भाषोत्पत्तिस्थल । यसरी हेर्दा सिञ्जा उपत्यकाभित्र बस्ने मानिस त्यस क्षेत्रका गहना र उनीहरू निस्कने विचार मधुर साङ्गीतिक आवाज ठहरिन जान्छ । सम्राट नागराज अनुमानित वि.सं. ११२५ देखि ५० मा दुर्लभ देश भनिने श्रीपाल भूमिबाट आएर जुम्लाको सिञ्जालाई खस साम्राज्यको मूल राजधानीको रूपमा स्थापित गरी बसेका हुन् । यहीँबाट कर्णाली प्रदेशभरि एक छत्र शासन चलाएको देखिन्छ । त्यसैले एक सिञ्जा अनेक सिञ्जापतिको भनाइ पनि बहुचर्चित रहेको पाइन्छ ।

‘विशेषतः सिञ्जाखोला उपत्यकालाई नेपाली भाषाको मूलथलो हुने गौरव प्राप्त छ र नेपाली भाषाका प्राप्त प्राचीनतम नमुनाहरूले सिञ्जाखोला र दरा वरिपरि बोलिने त्यस बेलाको रूपलाई देखाउँछन् ।’ (जोशी, २०२८ ः भूमिका) भाषोत्पत्ति स्थल सिञ्जाखोला नेपाली भाषाको उद्भव क्षेत्र एवम् नेपाली भाषाको प्राचीन पूज्य माउथलोका रूपमा ऐतिहासिकता वोकी परिचित रहेको छ ।

सिञ्जाली भाषिकाका विशेषताहरू

सिञ्जाली भाषिकाका आफ्नै मौलिक ध्वन्यात्मक, वर्णात्मक, रूपात्मक, शब्दात्मक र व्याकरणात्मक विशेषता रहेका छन् । समष्टिगतरूपमा बूँदाबद्ध ढङ्गबाट केही विशेषताहरू निम्नअनुसार प्रस्तुत गरिएको छ ः

१) दीर्घ स्वरहरू प्रायः स्वर मध्येगत रइरको लोपले गर्दा देखापरेका छन् । यस्ता स्वरहरू मिल्दो जुल्दो वातावरणमा प्राप्त हुने गर्दछन् । जस्तै ः /रङ/रङ्गिनु (र अःड्) रहर ।

२) यदि /इ/उ/पछि कुनै स्वर आएका छन् भने त्यस्तो स्थितिमा दुई अक्षर बन्ने गर्दछन् तर /या/र/व/पछि आएको स्वरले एउटै अक्षर बनाउँछ । जस्तै ः /गर्याको/गरेको/मर्याको/मरेको/रह्याको/रहेको/

३) नेपालीमा लेख्य र कथ्य रूपमा स ध्वनि सिञ्जालीमा (जुम्ली) कतै ‘स’ त कतै ‘ह’ मा उच्चारित हुने गर्दछन्, जसको कारण उच्चारण अझ पृथकखालको हुने गर्दछ । विशेषतः स ह भित्र केन्द्रित हुने गरेको पाइन्छ । जस्तै ः

२ हल्यानश्रसल्यान, हापीश्रसापी, हुत्केरीश्रसुत्केरी,

२ हुल्पाश्रसुल्पा ।

४) मानवेत्तर प्राणीमा पुलिङ्गी स्त्रीलिङ्गी क्रिया रहने गरेको पाइन्छ । जस्तै ः बल्ल आयो श्रगोरु आयो, गाई आई श्रगाई आयो, भेँडो आयो श्रब्राखो आयो, भेडी आई श्रभेडी आयो ।

५) सामान्य वर्तमानकालिक क्रियामा दो को आगमन हुनु जस्तै ः भन्दो छ श्रभन्छ, गद्दो छश्रगर्छ, खादोछ श्रखान्छ ।

६) भूतकालीन क्रियामा छ को प्रयोग हुने गर्दछ । जस्तै ः काम गद्दो छियो श्रकामगर्दै थियो, ऊ जान्या छियो श्रऊ जाने थियो, तेइले राया छियो श्रत्यसले चिनेको थियो ।

७) कारक विभक्तिमा विशिष्ट प्रयोग भएको पाइन्छ जस्तै ः द्वितीया विभक्ति कन तृतीया र पञ्चमी देखि षष्ठी विभक्तिको (ओ ) का (आ ) सप्तमी विभक्ति मै ।

८) सर्वनामगत पृथकता देखिनु जस्तै ः मुँश्रम, तो श्रतँ, तुमीश्रतिमी ।

९) सिञ्जाली भाषिकामा अभिवादनका मौलिक शब्दहरू रहेका छन् । जस्तै ः झउदेरजउदे श्रढोग, पाउलागिश्रढोग, सोस्तीश्रढोग, जय होस् श्रढोग ।

१०) सिञ्जाली भाषिकामा शव्दगत मौलिकता देखिन्छ । जस्तै ः ओडो श्रयता, पुडो श्रउता ।

११) सम्वोधन शैलीमा विभेदता देखिन्छ । जस्तै ः ए भाउव ! ए बाबु ! , ए छोट्टिय ! ए केटी !

१२) सिञ्जाली भाषिकामा ठाउँको नामबाट विशेषण बनाउने शैली भेटिन्छ । जस्तै ः लुड्काल्श्रलुड्कुको मान्छे, सिञ्जाल्श्रसिञ्जाको मान्छे, जिउल्यालश्रजिउलाको मान्छे ।

१३) विश्मयादिबोधक शव्द आफ्नै किसिमका छन् । जस्तै ः ओदैअ ! थुइअ ! कठै ! च्वच्व ! अइय अइय ! गलिगलि !

१४) सिञ्जाली भाषिकामा सम्बन्धबाची मौलिक शव्द रहेका छन् । जस्तै ः बोबश्रबाजे, बज्ज्यूश्रबज्यै, (ठकुरी) आज्याश्रदिदी ।

सिञ्जाली भाषिकाको वाक्यतत्व

“वाक्यमा प्रयोग भएका शब्दहरूका बीचको रूपायनिक मेल वा अनुकूललाई सङ्गति भनिन्छ । यस्तो सङ्गतिमा विशेष गरेर कर्ता र क्रियापद तथा विशेष्य (नाम/सर्वनाम) र विशेषणका बीचको मेललाई लिइन्छ । वाक्यमा लिङ्ग, वचन, पुरुष तथा आदरका दृष्टिले कायम हुने सङ्गति नेपालीमा महत्त्वपूर्ण हुन्छ (अधिकारी, २०६२, ७५) ।”

“वाक्यीय सँरचनामा आएका दुई वा दुईभन्दा बढी एकाइहरू (शब्दहरू)ले समान रूपगत अभिलक्षण देखाउनु सङ्गति हो (शर्मा, २०६०, १९६) ।”

लिङ्गका आधारमा वाक्य सङ्गति

“लिङ्ग मूलतः नामसँग सम्बन्धित व्याकरणात्मक कोटि हो । यसले नामको खास प्रकृतिलाई जनाउँछ (अधिकारी, २०६२ः ७५) ।”

यसरी नेपालीमा पद सङ्गतिका दृष्टिले लिङ्गः स्त्री-पुलिङ्ग र स्त्री लिङ्ग गरी दुई किसिमका हुन्छन् । नेपाली भाषामा स्त्री लिङ्ग मानवीय नाममा मात्र देखिन्छ भने त्यस बाहेकका सबै नामको सङ्गति पुलिङ्गी नामिक पदसरह देखिन्छ तर सिँजालीमा मानवेत्तर नाममा पनि स्त्री लिङ्गी प्रयोग पाउन सकिन्छ ।

कर्ता र क्रियापदमा लिङ्ग सङ्गति

वाक्यमा प्रयुक्त कर्ता जुन लिङग्, वचन र पुरुषमा हुन्छ, क्रिया पनि सोही बमोजिम लिङ्ग, वचन र पुरुषमा हुनु कर्ता र क्रियाबीचको सङ्गति हो । यो नै कर्ता क्रियापदमा लिङ्ग सङ्गति हो ।

उपर्युक्त तालिकामा दिइएका वाक्यहरूलाई हेर्दा सिँजालीमा पुलिङ्गी नामिक पदहरू छोट्या, भाइ कर्ता हुँदा क्रिया पदहरू क्रमशः आयो, पड्डो छ हुन पुगेको देखिन्छ भने स्त्री लिङ्गी नामिक पदहरू छोट्टी, बुइनी कर्ता हुँदा क्रियापदहरू क्रमशः आई, पड्डिछ भएको छ । नेपालीमा पनि पुलिङ्गी नामिक पद केटो, भाइ हुँदा आयो, पढ्छ पदहरू क्रिया पद र स्त्री लिङ्गी नामिक पद केटी, बहिनी कर्ता हुँदा आई, पढ्छे क्रियापद आएर लिङ्ग सङ्गति जनाएका छन् । त्यस्तै सिँजाली भाषिकामा नपुँसकलिङ्ग घाम र जुनमा लाग्यो क्रियापद आएको छ । त्यस्तै, नेपाली भाषामा पनि लाग्यो नै देखिन्छ । त्यसैले यसमा कुनै अन्तर देखिँदैन ।

ख) विशेषण र विशेष्यमा लिङ्ग सङ्गति

विशेष्य प्रयुक्त विशेषण जुन लिङ्ग, वचन र आदरमा छ विशेष्यको लिङ्ग, वचन, आदर पनि त्यही अनुसार हुनु विशेषण र विशेष्यबीचको सङ्गति हो । सिँजाली र नेपाली दुबैमा विशेषण र विशेष्यमा लिङ्ग सङ्गति रहेको पाइन्छ ।

सिँजाली र नेपाली दुबैमा पुलिङ्ग विशेष्य हुँदा विशेषणमा ओकार लागेको देखिन्छ भने विशेष्य स्त्रीलिङ्गी हुँदा ओकार ‘ई’ कारमा परिवर्तन भएको देखिन्छ ।

ग) भेदक र भेद्यमा लिङ्ग सङ्गति

सिँजाली र नेपाली भाषिकाको लिङ्ग सङ्गतिमा भेदक र भेद्यको भूमिका रहने गर्दछ । यसलाई निम्नानुसार हेर्न सकिन्छ ।

माथिको तालिकामा सिँजाली र नेपाली भाषाका भेदक र भेद्य लिङ्गगत सङ्गतिमा खासै विभेदता देखिँदैन, उच्चारणगत एवम् ध्वन्यात्मक भिन्नता भने देखिन्छ ।

२ वचनका आधारमा वाक्य सङ्गति

“नाम सँख्यासँग सम्बन्धित व्याकरणात्मक कोटि वचन हो । त्यसैले यसको सम्बन्ध सङ्ख्येय नामसँग रहेको हुन्छ । नेपालीमा वचन दुई किसिमका छन् ः एक वचन र बहुवचन (अधिकारी, २०६२ः ८०)”

यहाँ सिँजाली र स्तरीय नेपाली भाषिकामा वचनको प्रयोग के कसरी भइरहेको छ भन्ने कुराको अध्ययन गरिएको छ ।

क) कर्ता र क्रियापदमा वचन सङ्गति

कर्ता जुन वचनमा छ त्यही वचनमा क्रियापदको प्रयोग हुनु कर्ता र क्रियापद बीचको वचनगत सङ्गति हुनु हो । यसलाई निम्नानुसार प्रष्ट पार्न सकिन्छ ।

उपर्युक्त उदाहरणहरू हेर्दा सिँजाली भाषिका र मानव नेपाली भाषा दुबैमा वचनले वाक्य सङ्गति जनाएको देखिन्छ । दुबै भाषिकामा कर्ता एक वचनमा हुँदा क्रिया पनि एक वचनको र कर्ता बहुवचनमा हुँदा क्रिया पनि बहुवचन भएको पाइन्छ तर मानक नेपालीमा एक वचन बहुवचन हुँदा कर्तामा ‘हरू’ प्रत्यय लाग्छ र क्रियामा ‘ए’ हुन्छ । सिँजालीमा ‘आ’ प्रत्ययले बहुवचनको बोध गराएको पाइन्छ भने ‘या’ क्रियामा रहेको पाइन्छ ।

ख) विशेषण र विशेष्यका आधारमा वचन सङ्गति

विशेष्य जुन वचन लिङ्गमा छ विशेषण पनि सोही लिङ्ग, वचनमा हुनु विशेषण र विशेष्यका बीचको वचन सङ्गति हो । वचनका आधारमा दुबै भाषिकामा विशेषण र विशेष्यबीच सङ्गति देखिन्छ ।

उपर्युक्त उदाहरणहरूमा आएका कालो, मोटो, सुकेको, अग्लो विशेषण शब्द दुबै भाषिका बहुवचनमा काला, मोटा, अग्ला भएका छन् तर सुकेको सिँजालीमा सुक्या भएको छ । त्यस्तै नेपालीमा एक वचनमा रहेका छोरो, मान्छे, रुख, पहाड नाम शब्दहरू बहुवचनमा छोराहरू, मान्छेहरू, रुखहरू, पहाडहरू भएका छन् भने सिँजालीमा ‘आ’ कारले मात्रै बहुवचन बोध गराउने गरेको छ । काला छोरा, मोटा मान्ठ, सुक्या रुख, अग्ला भिँड भएका छन् । यसरी यी दुबै भाषा भाषिकामा वचनका आधारमा विशेषण विशेष्यको सङ्गति केही समान भए पनि सिँजालीमा विशेषण ‘आ’ कार भइकन मात्रै विशेष्यगत बहुवचन बोध गराएको देखिन्छ । नेपालीमा विशेषण ‘आ’ कार र विशेष्यमा ‘हरू’ प्रत्यय लागेको भेटिन्छ ।

ग) भेदक र भेद्यमा वचन सङ्गति

वाक्य सङ्गतिमा भेदक र भेद्यको भूमिका विशेषण विशेष्य जस्तै हुन्छ । जस्तैः

माथिको तालिकामा देखाइए अनुसार दुबै भाषिकामा भेद्य एकवचन हुँदा भेदकमा ‘ओ’ कार लागेको पाइन्छ भने भेद्य बहुवचन हुँदा भेदकमा ‘आ’ कार लागेको पाइन्छ ।

३ पुरुषका आधारमा वाक्य सङ्गति

“कथनका सन्दर्भमा सँलग्न भएका सहभागीहरूको प्रकृतिलाई जनाउने व्याकरणात्मक कोटि पुरुष हो । यो विशेषतः सर्वनामसँग सम्बन्धित हुन्छ (अधिकारी, २०६२ः ८८)”

पुरुषका आधारमा कर्ता र क्रियापदमा सङ्गति

पुरुषका आधारमा कर्ता र क्रियापदको चयनमा भिन्नता देखिन्छ । यही नै पुरुषका आधारमा कर्ता र क्रियापदका बीचको सङ्गति हो । यसलाई यसरी देखाउन सकिन्छ ।

माथि देखाइए अनुसार दुबै भाषिकामा पुरुषका आधारमा कर्ता क्रियापदबीच सङ्गति भएको पाइन्छ । सिँजाली प्रथम सर्वनाम मुँ आउँदा क्रिया पद ‘उँ’, प्रत्यय र हामी आउँदा पनि उ प्रत्यय लागेको छ । त्यस्तै, द्वितीय पुरुषमा तो, तुमी आउँदा क्रमशः न्याइँ न्याऊँ प्रत्यय लागेको छ । त्यस्तैगरी तृतीय सर्वनाम ‘उ’ क्रमशः दोछ र न्याउन् प्रत्यय लागेको छ ।

उपसँहार

हलो फुटि फालो भयो ।

ज्यान सुकेर भाटो ।

यति राम्रो भाषा हजुर सिञ्जा ठउरको ।।

नेपालको मध्यपश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्ने मुलुककै प्रागैतिहासिक,गौरवशाली सिञ्जादरा सिञ्जाली (जुम्ली) भाषिकाको मूलस्थल जुम्ला हो । ऐतिहासिक गरिमा बोकेको सिञ्जा भाषिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, प्राचीन मूल रूप समेट्न सफल रहेको छ । यस क्षेत्रको सिञ्जाली (खस) भाषा नेपाली भाषाको माउ भाषा मानिन्छ । यही प्राचीन भाषाको परिष्कृत रूप नेपाली भाषा हो । सिञ्जाली भाषिका र हालको नेपाली भाषा बीच ध्वन्यात्मक, रूपात्मक, शव्दात्मक, व्याकरणात्मक परिवर्तन देखापरेको पाइन्छ । यस्ता परिवर्तन सिञ्जाली भाषिकाभित्र पनि विभेद उपभाषिक तहमा देखापर्ने गर्दछ । तात्कालीन कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिञ्जादरामा बोलिने भाषा नै सिञ्जाली भाषिका हो । यद्यपि यही भाषिका नै नेपाली भाषाको आधार भाषा हो । तैपनि यी दुवै भाषा भाषिकाका विशेषता मिल्नु, विभेद हुनु स्वाभाविक हो । बालकको चिचिलो अवस्था र वयस्क अवस्था नै हो । सिञ्जाली भाषिकाका आफ्नै मौलिक विशेषता रहेका छन् । यस भाषिकाको वाक्य तत्वगत विचरणमा आधारित हुँदा शब्दगत रूपायन र वाक्य तत्व मानक भाषासँग जोडी हेर्दा अर्थगत समानता रहे पनि नामिक चयन, शब्दगत उच्चारण, ध्वन्यात्मकता एवम् वाक्यगत सङ्गतिमा भिन्नता रहेको पाइन्छ ।

सन्दर्भ सूची

– अधिकारी , हेमाङ्गराज (२०६२), समसामयिक नेपाली व्याकरण, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।

– अधिकारी , हेमाङ्गराज (२०६२), सामाजिक र प्रायोगिक भाषा विज्ञान, काठमाडौँ विद्यार्थी पुस्तक भण्डार ।

– आचार्य, ओम प्रकाश (२०६५), सिञ्जाली भाषिका र मानक नेपाली भाषाको वाक्य तत्त्वगत व्यतिरेकी अध्ययन, त्रिवि ः अप्रकाशित शोधपत्र ।

– जोशी, सत्यमोहन (२०२८), कर्णाली लोक सँस्कृति इतिहास खण्ड-१, काठमाडौँ ः नेराप्रप्र ।

– देवकोटा, रत्नाकर(२०६४), वृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, काठमाडौँ ः कुमार खड्ग प्राइभेट स्टडिज ।

– पोखरेल, बालकृष्ण (२०५७),राष्ट्रभाषा, काठमाडौँ ः साझा प्रकाशन ।

– वन्धु, चूडामणि (२०२८), कर्णाली लोक सँकृति र भाषा खण्ड-४, काठमाडौँ ः नेराप्रप्र ।

– भण्डारी, पारसमणि (२०६३), स्नातकोतर नेपाली भाषा शिक्षा शोध विवरण, कीर्तिपुर ः हिराबुक्स इन्टरप्राइजेज ।

– शर्मा, मोहनराज (२०६०), शब्द रचना र वर्ण विन्यास, काठमाडौँ ः नवीन प्रकाशन ।

– सिजापति, रामविक्रम (२०५० विद्यावारिधि), जुम्ली भाषिकाको वर्णनात्मक अध्ययन, त्रिवि ः अप्रकाशित शोधपत्र ।

अङ्ग्रेजी

– Hall,R.A.(1968)Linguistics and your language (formerly leavyour language alone),New york:Anchor Books .

– Napoli,Donna Jo(1996),Linguistics:An Introduction: New york Oxford University Press .

– Yadava,yogendra(2001) Linguistics: A Basic Course Kirtipur: New Hira Books Enterprises .

– जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *