मधुपर्क वि.सं. २०६७ पुस (अङ्क ८ पूर्णाङ्क ४९९) पल्टाउँदा ४३ वर्ष अगाडि आफू पाठक बनेको झझल्को भयो । ‘गोरखापत्र’ हाम्रो घर लुञिटेल भन्ज्याङ (गोर्खा सदरमुकामबाट पश्चिम दरौँदी पारि चारकोश टाढा) उस बेलाको एक मात्र जिल्लाको हुलाक (भोगटेनी हुलाक)बाट हजुरबुबा खर्दार पुष्पराज देवकोटालाई हलकाराहरू गोरखापत्र पुर्याउँथे । उहाँ गोरखापत्र पढ्ने ठाउँ हाम्रो घर पिँढी मात्र थियो । हाम्रो घर क्षेत्रका लमजुङका साइलिटार, हल्काटार, राइनासटार, तिनपिपले र तन्हौको डोर डोर, चितिखोला, पुर्कोट, भन्सारटार तिरका पढेलेखेका बाठा टाठाहरू गोरखापत्र पढ्न र हजुरबुबालाई भेट्न केही दिन हामीकहाँ नै बिताउने गरी आउने गर्दथे । ती रोमाञ्चकारी विगतको सम्झना पनि गोरखापत्रसँग टाँस्सिन गएको छ । ‘गोरखापत्र’ ले १०० वर्ष पुराना अङ्कका लेख सम्झनास्वरूप छाप्दा पालुङटारमा सिँचाइको लागि नहर माग गर्दै लेखेको ‘पुष्पराज’ को चिठ्ठी उहाँकै हो । उहाँ र पिता सुब्बा गजेन्द्रराजले पनि तिनताका ‘चँखे’ र अन्य उपनाम गरी चिठ्ठी लेख्ने गरेको सुनिन्थ्यो । उहाँहरूले तिनताक कलम चलाउँदा अत्यन्त डराउनु पर्थ्यो । त्यसैले उपनाम दिएर मनका कुरा घुमाउरोपारामा व्यक्त गर्दै उचित हुन्थ्यो । कारण हाम्रो परिवार गोर्खा एकीकरणका प्रमुख पाँडे थापा र राजाहरूको अति विश्वस्त र सम्मानित राजकीय ज्योतिषी र युद्ध सल्लाहकार भएर राजकाजमा सँलग्न रहनुभएको थियो । गोर्खा एकीकरणका युद्धज्योतिष बाजे भगीरथ जैसी र उहाँका प्रतिभाशाली पुत्रहरू युद्धज्योतिष र युद्धविशेषज्ञ बिरु जैसी (वीरभद्र देवकोटा), भाष्कर जैसी श्री ५ बडामहाराजका शेषपछि शाह राजाहरूदेखि जङ्गबहादुर राणाको शासनपूर्व राजकाजमा अहम् भूमिका राख्ने गर्नुहुन्थ्यो । राणाकाल प्रारम्भ भएपछि यस परिवारलाई कैयौँ वर्ष राजधानी काठमाडौँ आउनै बन्द गरिएको थियो । त्यसैले, राजधानीका न्हृयोखा, इखापोखरी, भक्तपुर र विभिन्न ठाउँका सम्पूर्ण सम्पत्ति घरबास त्यागेर बस्न बाध्य थियो तर गोरखापत्र जन्मने समयपछिका केही कालतिर आएपछि अलि खुकुलोजस्तो भएपछि श्री पशुपतिनाथको दर्शन गर्ने निउँ पारेर नेपाल आउने र शनैः शनैः बसाइँ लम्ब्याई शक्तिसम्पन्न राणाजीका ढोका कुरीकुरी स्वस्ति-विन्ति गर्दै आवत-जावत, जर-जाहेरी, चर-चाकरी गर्न अवसर पाएपछि यस्ता लेख लेख्ने र मुन्टो उठाउन पाएका थुप्रै प्रसङ्गहरू सुनिन्छन् । देश-विदेश र मुलुकभित्रको कुरा जान्ने गोरखापत्र नै एकमात्र माध्यम थियो । यी अनुभव मनभरि साँची राखेकै छौँ । गोर्खा राष्ट्रिय भावनाको कुल, मूल र गौरव, उस्तो स्मृतिको प्रतीक लाग्ने पत्र कति प्यारो कति न्यारो । हाम्रो घरमा रहेका गोरखापत्रका प्रायः सबै अङ्क र विशेषाङ्कहरू र तिनताक र पछिका शारदा र बनारस काठमाडौँबाट प्रकाशित प्रायः सबै पत्रपत्रिकाका सङ्ग्रहहरू पनि गोर्खेलौरी, दौडाहा, तायदाती गरी सर्कार लाग्ने, अराष्ट्रियतत्त्व र माओवादी प्रतिशोधपूर्ण यातनाजस्ता ऐतिहासिक दुर्घटनाले हिनामिना बन्न गए । वरिष्ठ पत्रकार एवं विद्वान् मदनमणि दीक्षितले कुनै प्रसङ्गमा ‘ठ्यासापुसा’ को उल्लेख गरेर लेख्नुभएको रहेछ । उहाँले इतिहाससम्बन्धी घटना नेवारहरूले राख्ने ठ्यासापुसा र नेवारी सम्प्रदायको वँशावली नेपाल उपत्यकाभित्र राखेबाहेक शाह राजाका समयमा के छन् ? थाहा भएन भन्ने अनभिज्ञता प्रकट गर्नुभएको रहेछ । यस सन्दर्भले मलाई ज्यादै मर्माहत पनि पार्दछ जब कि गोर्खाको मात्र नभई जुम्लाको १४ औँ शताब्दीतिरका जुमली राजा बलिराजले थानी (ब्राहृमण) प्रति व्यक्त ‘सिम्बू चैव तथा निम्बू चौडिल्याय धितपरा पञ्चमो देवकोटिल्या राज्य मन्दो पराक्रम’ -सिम्बू-सिमखाडा, निम्बू-न्यौपाने, चौडिल्या-चौलागाई, धितपरा-धिताल, देवकोटिल्पा- देवकोटा, यी पाँच थरी ब्राहृमण भएपछि राज्य बढ्ने छ पराक्रमी हुनेछ, यी पनि पराक्रमी हुन् भन्ने (गोर्खाको दिव्योपदेशजस्तै सङ्ग्रह) सन्दर्भको एउटा अँश सम्झना हुन्छ । आफ्ना पुर्खाहरू अछाम(दैलेख राज्यमा आइबसेका समयदेखि देवीकोट विर्ता र राज्यका सम्मान प्राप्त गरेका भारद्वाज गोत्रीय देवकोटा वँशको सान्दर्भिकता डोटी गढ्सेरा श्री महाकालेश्वरमा स्थापित भण्डारी पद अर्थमन्त्री), वँशकै यही वँशकै परिवारबाट अलग भई कालीपारको वाग्ला क्षेत्रका ‘वाग्ल्या’, बझाङ्गको सुवेडागएका ‘सुवेडी’ र तिनका पुर्वजको कन्नौज आगमन, उज्जैन महाकालेश्वरमा रहेका मूलपुर्खा ऋषिराज भट्टपाध्या र त्यो समय भन्दा अगाडि यी वँश उत्तरको प्रयागबाट बसाइँ सरेपछिका देखिने भारद्वाज गोत्रीय हाँगाहरू सबै नै हिनामिना छन् । अरू सम्प्रदायका ठ्यासा पुसा (पट्याएर राखिने बहिखाता अर्थबोधक)ले राष्ट्रिय इतिहास निर्माणमा आधारपत्र बन्न जानेमा स्पष्ट हुन आवश्यक छ ।
वि.सँ. २०६५ साल माघ १३ मा प्रकाशित ‘विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान’ लेखक दिनेशराज पन्त, प्रकाशक ः डा. ठाकुरनाथ पन्त स्मृति गुठी, काठमाडौँको प्रकाशनमा उक्त सँस्थाको तर्फबाट लेखिएको व्यहोरा यस्तो छ ः-
”राजगुरु घरानामा वि.सं. १९३५ मा जन्मिएका हेमराज पाण्डेले बनारसमा रही गङ्गाधर शास्त्रीलगायतका विद्वान्सँग अध्ययन गरेका हुन् । उनी सँस्कृति भाषाका विशिष्ट विद्वान् त थिए नै, नेपाली इतिहास, पुरातत्त्व र सँस्कृतिका प्रामाणिक व्याख्याता पनि थिए । राहुल साँस्कृत्यायनले यिनलाई ‘नेपालको विश्वकोश’, भनेका थिए । यी सबैका अतिरिक्त यिनले नेपाली व्याकरणको पुस्तक ‘चन्द्रिका’ लेखेर नेपाली भाषामा व्याकरणको जग बसालेका थिए । जुद्धशमशेर प्रधानमन्त्री भएका बखत वि.सं. १९९६ मा श्री ५ त्रिभुवनबाट यिनले ‘विद्वच्छिरोमणि’को पदवी पाएका थिए । यिनै विद्वच्छिरोमणि हेमराज पाण्डेले आफ्नो अध्ययनको क्रममा सम्पादन गरेका तथा गोरखालीहरूबाट प्राप्त गरेका ऐतिहासिक सामग्रीहरूको यो सङ्ग्रह प्रकाशित गर्न पाएकोमा गुठी प्रसन्नता व्यक्त गर्दछ । यस्तो ऐतिहासिक महत्त्व बोकेको ग्रन्थ छाप्ने अनुमति दिनु भएकोमा प्रा. दिनेशराज पन्तज्यूप्रति आभार प्रकट गर्दछौँ ।” आफ्ना वक्तव्यमा पन्तज्यू गौरवशाली मन्तव्यमा (इतिहास-सँशोधनको प्रमाण प्रमेयको पृ.२४) मा उल्लेख गर्नुहुन्छ ।
खण्डाःपञ्च हिमालयस्य कथिता नेपाल कूर्माचलौ ।
केदारोऽथ जलन्धरोऽथ रुचिरः कश्मीर सँज्ञोऽन्तिमः ।।
-हिमालयका नेपाल, कुर्माचल, केदार, जलन्धर र अन्तिम राम्रो कश्मीर यी पाँच खण्ड बताइए । (ज्ञानविन्दु, १ वर्ष १ अङ्क, ३५ पृ.) यसरी हिमालयका चारवटा खण्ड नेपाल, कर्माचल, केदार र जालन्धरलाई आफ्नो राज्यमा पार्न नेपालीहरू (हुनुपर्ने शब्द यहाँ गोर्खालीहरूजस्तो लाग्छ) समर्थ भए । पाचौँ कश्मीरलाई चाहिँ आफ्नो राज्यमा पार्ने नेपालीहरू (गोर्खालीहरू शब्द रहनुपर्ने) समर्थ भएनन् । तापनि उनीहरूको मनमा कश्मीर जित्ने कुरा खेली रहन्थ्यो, त्यो बुढाकाजी अमरसिंह थापाको पत्रबाट बुझिन्छ । यी सबै कुराबाट नेपालको परिप्रेक्ष्यमा गोरखाको विशिष्ट स्थान छ भन्ने स्पष्ट हुन्छ ।)
प्रा. दिनेशराज पन्तले आफ्नो वक्तव्यमा लेख्नुभएको रहेछ-“नेपालको इतिहास प्रामाणिक रूपमा तयार गर्नुपर्छ भन्ने भावनाका हेमराजले भाषा वँशावलीका विभिन्न सँस्करणहरू सङ्ग्रह गरेका छन् । (भाषा वँशावली -१ भाग- को सम्पादकीय प्राचीन नेपाल २४ सङ्ख्या १ पृष्ठ) । यसै प्रसङ्गमा गोरखातिरका सामग्री पनि उनले सङ्ग्रह गर्न लगाएको बुझिन्छ । अब यस विषयमा केही लेखिन्छ भनिएर खुलाएका केही सत्यहरूकै सिलसिलामा लेखिएको छ ।” त्यसपछि गोरखा लुइँटेल बस्ने घरश्याम देवकोटाबाट आएको बहीको उतार (पट्याइएको खाता बही) भनी केहीको कुण्डलीसहितको जन्ममिति दिइएको छ । यो लेख भगीरथ जैसीको हो, यी विद्वान देखिन्छन् भनेर त्यहाँ लेखिएको छ । भगीरथ जैसी प्रसिद्ध ज्योतिषी हुन् । तत्कालीन समयमा उनको निकै प्रसिद्धी थियो । मुख्यतः नेपालको मुलुकी ऐन निर्माणमा पश्चिमतर्फको गौँडा (पाल्पा) का प्रमुख जनरल अमरसिंह थापा (जनरल भीमसेन थापाका पिता एवं महारानी ललित त्रिपुरासुन्दरीका हजुरबुबा) र महारानी ललित त्रिपुरासुन्दरीका एकाउदरका भाइ कर्णेल उजिरसिंह थापाका साथ रही काम गर्नुपर्ने गरी तैनात हुँदै यी शासकहरूका ज्योतिषी गुरुका हैसियतमा भएकाले उनी प्रेरक, युद्ध र राज्यव्यवस्थाका सल्लाहकार, योजनाकार भएका भए पनि उपरोक्त कारणबाट कागज प्रमाण हिनामिनाले प्रमाणहरू जुटाइ उनका बारेमा लेख्न निकै कठिनाई भइरहेछ । गोर्खालीको विशाल गोर्खा निर्माणका लागि एकीकरण र विस्तार एउटा लक्ष्य थियो भने श्री ५ बडामहाराजाको हिन्दूस्ताना (हिन्दुराष्ट्र) कायम गर्दै आदर्श वैदिक सनातन धर्म शास्त्र अनुसार न्याय, धर्म, सँस्कृति, आचारसिल समाज बनाई वैदिक सनातन राज्यका आदर्श नै राष्ट्रनिर्माणको मुख्य आधार बनाउन आफ्ना यजमान थापा र राजपरिवारलाई उनले सम्झाउँदा अनेक सङ्घर्ष गरेको पाइन्छ । यस कार्यमा उनीसँग भारादार वर्ग र शासकबाट कुनै कुरा मतभेद भयो र दवाव भयो भने आफ्नो कार्यभारबाट पन्छिएर घर बसिदिने प्रवृत्ति भएका व्यक्ति भन्ने भेटिन पुग्छन् । यस्ता महत्त्वपूर्ण प्रतिभाशाली व्यक्तित्व इतिहासमा नै नदेखिनु दुःखद छ ।
यसरी नै बिर्सिइदिने क्रममा नामै पनि बिर्सिसकिएका छन् । आजकलका नेपाली साहित्यका आदिकवि भानुभक्तभन्दा धेरै अगाडिका (त्यो कालनिर्धारण गरेरै मात्र कति अगाडि भन्नुपर्ने हुन्छ) कविहरू जो काजी, मन्त्री पनि भएका विद्वान् पाइन्छन् । त्यो कालको गोर्खा दरबार द्रव्य शाहको चौतारो रूपको होस् या राम शाहको चौतारो एक प्रकारले राजा भोजको दरबारको बयानजस्तै झझल्को दिलाउँछ । मन्त्रीका रूपमा रहेका विद्वान पण्डित शक्तिबल्लभ अज्र्याल, पं.अग्निधर पाध्या (देवकोटा), लक्ष्मण कवि (देवकोटा) र देशविदेशका विद्वान् स्रष्टाहरूले अनेकौँ ग्रन्थहरू लिएर दरबार भरिन्थ्यो । शक्तिबल्लभ अज्र्यालले सँस्कृति र गोर्खा भाषामा गरी एक करोडभन्दा बढ्ता पद्य लेखेका थिए भनिन्छ । ‘जसले सातु गर्यो मकै कन पिँधी सिद्रो मुठीमा धर्यो । सिन्की थिची सुकाई दियो नुन ढिको फोरेर साथमा लियो……’ गागरमा सागर भरेको भनिन्थ्यो (स्व.योगी नरहरिनाथ अन्तर्वार्ता सान्दर्भिक) । ती महाकविका महाकाव्यहरू जैसी कोठा र राजदरबारमा थन्किएको पनि सुनियो तर ती अमूल्य दस्तावेज अहिले कुन हालतमा पुगेका छन् भन्ने पत्तो छैन । अब त त्यस्तो अनुसन्धान गर्ने विचारै पनि बिर्सिसकेको लाग्दछ । यसैक्रममा यताका दिनहरूमा चलेका शतवाषिर्कसम्बन्धी लहरहरू र ‘उल्फा को धन फुपूको श्राद्ध’ कार्यक्रमहरू चरितार्थ गराउने सिलसिलामै पनि लेखकहरूले विचार पुर्याउनुपर्ने अवस्था छ ।
‘मधुपर्क’को मूललेखमा चासो परेको सन्दर्भतिर जान उचित सम्झदा कता कता मुटुमा च्वास्स बिझेजस्तो लाग्यो, ‘नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ पढ्दा । त्यसमा एक शताब्दी उकाली, ओराली, मैदान, द्यौराली, चारकोसे झाडी, उर्लँदो दरौदीमा खहरेका ढुङ्गाबाट नाङ्गा गोडाभरि ठेस ठोक्कर खाँदै चल्दै आएको गोरखापत्रको गोर्खाली जीवनचक्र अब जेट युग होइन, अन्तरिक्षयुगमा पुगिरहेको विश्वका माझमा छ । इलेक्ट्रोनिक्स सञ्जाल र प्रविधिले विश्व सुसज्जित छ । गिद्धे प्रेसबाट प्रारम्भ भएको प्रिन्टिङ प्रेसमा भएका अफसेट र ग्राफिक्सका नवीनतम् प्रविधिहरूका विकास गोरखापत्र सँस्थानभित्र पनि पसिसकेको छ । प्रेससँग सम्बन्धित सूचना कम्प्युटरले क्षणभरमै पेन ड्राइभ भरि दिन्छ । यस्तो बेला पनि छानविन र अध्ययनबिनाका लेखहरू छापिँदा अति हलुका लाग्ने गर्दछ । मूललेख भनिएको ‘शतवाषिर्कीको सन्दर्भ’ त्यतिकै बिना अध्ययन खरखर लेखिएको लाग्छ । जसमा भनिएअनुसार विभिन्न स्रष्टाहरूको शतवाषिर्क नभएको चर्चामा ‘माधवप्रसाद देवकोटा’ पनि परेको पाइयो । अन्य स्रष्टाहरूभन्दा यहाँ ‘पं. माधवप्रसाद देवकोटा’ सम्बन्धमा लेख्न इच्छा लाग्यो । विद्याभूषण ‘विद्वानमणि’ ‘कविरत्तन्’ पण्डित माधवप्रसाद देवकोटा सम्बन्धमा ‘गोरखापत्र’ ‘मधुपर्क’ जस्ता आधिकारिक पत्र-पत्रिकाले यस्ता चर्चित र आफ्नो अखबारी जीवनमा सदैव लेखरचना दिएर सहयोग गर्नेहरूको सम्बन्धमा अध्ययन गरी पञ्जिका बनाएर पुनर्ताजगी अद्यावधि गरी राख्नुपर्ने हो कि जस्तो लाग्दछ । त्यसको अभाव भएरै होला उहाँको जन्म शताब्दी मनाइएको भने पत्तो भएन वा यिनको सम्झनासमेत गरिएन, भनेर मधुपर्कको मूललेखमा उल्लेख भएको ।
पं. माधवप्रसाद देवकोटा (जन्म वि.सँ. १९६० साल मार्ग ३) ८० वर्षको आयुमा वि.सँ. २०३९ साल चैत्र १९ गते काशी मणिकणिर्का घाटमा दिवँगत हुनुभएको हो । उहाँ जीवित हुँदै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा कुलपति स्व. लैनसिंह वाङ्देलद्वारा आयोजित भव्य समारोह वि.सं. २०३६ साल पुस १९ गते तत्कालीन महाराजाधिराजको उपस्थितिमा महेन्द्र प्रज्ञा पुरस्कार रु. २५,०००।- नगदसहित कदरपत्र प्रदान भएको रहेछ तर त्यस समारोहमा उहाँलाई प्रशंसापत्र दिँदा बनारसको भारतीय हिन्दूधर्म सभाबाट ‘विद्याभूषण’ र त्यसै सभाले केही वर्षपछि अर्को समारोहमा ‘विद्वन्मणि र अयोध्या सँस्कृत परिषद्बाट कविरत्नम्’ जस्ता अत्युच्च विभूषण, उपाधिहरू दिएको विषय केही पनि उल्लेख नगरीकन पन्छाएर भनिएको छ-‘नेपाली साहित्यको निरवाच्छिन्न सेवा गर्दै पद्यतर्फ राष्ट्रियता र आदर्शको सुन्दर समावेश गरेवापत कदर स्वरूप’ उल्लेख गरेको पाइन्छ । उनको निधनको समाचार दिने गो.प. पनि पढिएको हो तर उनीप्रति एकेडेमी वा अन्य सङ्घसँस्थाबाट श्रद्धाञ्जली गरेका समाचारहरू कहिँबाट सुनिएन । निधनको धेरै समयपछि तानसेनमा केही कार्यक्रम र तानसेन गुठी र पाल्पाली सङ्गमले कार्यक्रम गरेर काठमाडौँमा भएको भन्ने सुनियो तर वाराणासी र अयोध्यामा भने सँस्कृत साहित्य दर्शनमा यी मुनितुल्य विद्वानको क्षतिमा भएको भनेर शोक समवेदना सभा भएगरेको चर्चा सुनियो । यस्ता कार्यक्रमहरूबारे नेपालका कुनै पनि ती बेलाका अखबारमा केही पढ्न पाइएन । उहाँका ज्येष्ठ पुत्र नेपाली साहित्य क्षेत्रमा उच्च नाम स्थापित भएका स्व. कुलमणि देवकोटाको राजधानीका साहित्यिक, सामाजिक, प्रशासनिक, शैक्षिक क्षेत्रमा काफी सम्पर्क र प्रभाव थियो । पं. माधवप्रसाद देवकोटालाई गुरुतुल्य आदर गर्नुहुने तत्कालीन राजदरबारका प्रमुख सचिव पाल्पाकै निवासी प्रा. नारायणप्रसाद श्रेष्ठ र अन्य थुप्रै उहाँका चेलाहरू अत्युच्च ओहदाका शासक/प्रशासक रहेका हुनुहुन्थ्यो तर कसैबाट पनि उहाँको सम्झनासम्म गरिएन, गराइएन, विस्तारै बिर्सदो गतिले बिर्सिदिँदै पनि जानु भएको पाइन्छ । यसरी उहाँका सबै साहित्यिक मित्र, परिवार, कुटुम्बबाट बिर्सिइसकेका स्रष्टाको वि.सं. २०५८ साल मार्ग ३ गते बालाजु औद्योगिक क्षेत्रस्थित बालाजु प्राविधिक प्रशिक्षण केन्द्रको हलमा देवकोटाबन्धु समाजले ९८ औँ जन्मजयन्तीको कार्यक्रम गर्यो । विभिन्न स्रष्टाहरूका साथ प्रा. गोपिकृष्ण शर्माले त्यस कार्यक्रमका सबै सहभागीहरूलाई पं. माधवप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, मार्ग ३ गते नै उहाँको ९९ औँ जन्मजयन्ती मनाइएको थियो । त्यस वर्ष भने उहाँलाई देवकोटाबन्धु समाजका जिल्ला शाखाहरू सिन्धुली, मकवानपुर, नवलपरासी (नवलपुर), सुर्खेत र नयाँ मुलुक (बाँके-बर्दिया-कैलाली-कञ्चनपुर) को क्षेत्रीय शाखा टीकापुरमा सुदूर-पश्चिमका विभिन्न जिल्लाका प्रतिनिधिहरूसमेत आमन्त्रण गरी मनाइयो । सुर्खेतमा यो वर्ष ३ दिनसम्म धुमधामका कार्यक्रम भएका थिए । वि.सं. २०६० साल मार्ग ३ गते नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा तत्कालीन राष्ट्रियसभाका सभापति डा. केशरजङ्ग रायमाझीको प्रमुख आतिथ्य रहेको थियो । त्यस समारोहको आमन्त्रित देवकोटा बन्धु समाजका तर्फबाट पण्डितजीकै नाति एवं वरिष्ठ बुद्धिजीवी, व्यक्तित्व राजेश्वर देवकोटा नै रहनुभएको थियो । यस भव्य शतवाषिर्क कार्यक्रमको साथमा त्यसै दिनका गो.प. र कान्तिपुरमा सन्दर्भ लेखहरू छापिएका थिए । स्व.डा. टीकाराम पन्थी, राजनीतिज्ञ कमलराज रेग्मी, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा. गोपीकृष्ण शर्मा, सूर्यबहादुर सेन ओली, कवि परिवारका सदस्यहरू, आमन्त्रक विद्वान् राजेश्वर देवकोटासहित विभिन्न महानुभावहरूको उपस्थिति भएकोले अत्यन्त भावपूर्णरूपमा जन्म जयन्ती (शतवाषिर्की) मनाइएको थियो ।
स्व. डा. टीकाराम पन्थीलाई त्रि.वि.वि. बाट पं. माधवप्रसाद देवकोटाको कृति ‘भारती-वैभवम्’, पं. दधिराम मरासिनी र उमाकान्त पन्थीसहितका ग्रन्थहरूका अध्ययन प्रतिवेदन पेश गर्न काजमा पाल्पा पठाई अध्ययन गराइने सिलसिलामा कविजीसँगै नै बसेर भारती-वैभवम् का २५० श्लोकका रहस्यमय अर्थ बोध गर्न पठाइएको पाइन्छ । अन्य ग्रन्थभन्दा अधिक समय ‘भारती-वैभवम्’लाई प्रदान गरे पनि वर्ष दिनभित्र मात्र करिव १२५ श्लोकको मात्र अर्थ बोध गरी बाँकीका लागि स्व. डा.पन्थीले काजको म्याद थप माग्दा त्रि.वि.विबाट स्वीकृति नपाएको यस सन्दर्भ देवकोटा-बन्धु समाज, पं. दधिराम मरासिनी प्रतिष्ठान (गुल्मी) र पं. विद्वान्मणि पं. माधवप्रसाद देवकोटा अनुसन्धान केन्द्र, नेपालका सहयोगमा स्व.प्रा.डा.टीकाराम पन्थीको विमोचन हुन प्रतिक्षित ‘काव्यः चतुष्टय विमर्शः’का भूमिका स्मरणीय छन् । यस सन्दर्भमा सन् १९५३-५४ तिर स्व.पं. लालबहादुर शास्त्री एवं स्व.पं.जवाहरलाल नेहरू सह-सँयोजक रहेको तात्कालीन भारतका राष्ट्रपति स्व. डा.राजेन्द्रप्रसाद, उपराष्ट्रपति सर्वपल्लि, स्व.डा. राधाकृष्णन्को सहभागिता भएको दिल्लीमा आयोजित ‘विश्व विद्वत् सम्मेलन’ दिल्लीबाट सोझै आयोजकको निम्ता पत्र पाएर भाग लिँदा उहाँको ‘भारती-वैभवम्’ कृतिका ८ श्लोक, डा. राधाकृष्णन्ले अध्ययन गरेर एउटा बृहत् ग्रन्थ लेखिएको प्रसङ्ग राष्ट्रले थाहा नपाएजस्तो गर्नु कति उचित हुनेछ ? भारती-वैभवम् वेद, उपनिषद्, धर्मशास्त्रहरूको अध्ययनबाट अत्यन्त खारिएको चिन्तनलाई कविले २५० श्लोकभित्र समावेश गरी तुर्न २५ वर्ष अर्थात् वि.सं. १९८० को श्रीपञ्चमीमा १० श्लोक लेखेर प्रारम्भ गरी प्रत्येक वर्ष बनारस, अयोध्याय, सागर, विक्रमशिला नालन्दा विद्यापीठहरूका धुरन्धर विद्वानहरूसँग सत्सङ्गपूर्वक प्रत्येक वर्षका श्रीपञ्चमीमै पुनः १० श्लोक लेखेर वि.सं. २००५ सालको श्रीपञ्चमीमा अन्तिम १० श्लोक लेखी आफ्नो लेखनी थाल्नुभएको चर्चा प्रकाश भएपछि यो दार्शनिक ग्रन्थ विश्वको श्रेष्ठतम् ग्रन्थ मानी उहाँलाई बनारस र अयोध्याका विद्वान्बाट विभूषित गरिएका तथ्यहरू छन् । यस्तै, दार्शनिक ग्रन्थ ‘ला-डिमिना’ इटालीका महान् दार्शनिक कवि दाँतेको दोस्रो-तेस्रो पुस्ताहरू आजसम्म पनि अङ्ग्रेजीमा अनुवाद गर्न र तिनको अर्थ केलाउन व्यस्त रहेको तथ्य सुनिन्छ । नेपालमा पनि प्रसिद्ध साहित्यकार स्व. विनोदप्रसाद धितालले दाँतेको ‘ला-डिमिना’ (डिभाइन कमेडी) को केही अँश अनुवाद गरी रोयल नेपाल एकेडेमीमार्फत् छापिएको पाइन्छ । उनै धिताललाई इटालियन दाँते सोसाइटिले त्यस अनुवादको निमित्त दाँतेको जन्म दिनमा विश्वभरिका विद्वान्हरूको उपस्थिति भएको समारोहमा स्वर्णपदक र कदरपत्र दिइएको बुझिन्छ । उनै प्रतिष्ठित स्व. धितालको प्रमुख आतिथ्यमा देवघाट-गलेश्वर आश्रमका पीठाधीश धर्मदर्शनका प्रकाण्ड प्रवक्ता श्री १००८ स्वामी आत्मानन्द गिरीजी महाराजलाई भारती-वैभवम्बारे विशेष वक्ता र स्व. डा. टीकाराम पन्थी र अन्य वरिष्ठ विद्वान्हरूबाट उनको कृति, व्यक्तित्व र चरित्रबारे आ-आफ्ना अनुभव र मन्तव्यसहित नेपाल ऐकेडेमिमा १०४ औँ जन्मजयन्ती साथमा उहाँका पुत्रद्वय स्व. कुलमणि र स्व. कृष्णचन्द्रको सम्झनासहित गरिएको कार्यक्रम स्मरणीय छ । वि.सं. २०६३ साल कात्तिक ३० गते ‘पं. माधवप्रसाद देवकोटा अनुसन्धान केन्द्र नेपाल’ नामबाट पश्चिम नेपालमा (आर्यावर्त नेपालका प्राग्ऐतिहासिक, ऐतिहासिक कालखण्डदेखिका शास्त्रहरू, सँस्कृतिका निर्माण, भौगोलिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक र आध्यात्मिक अनुसन्धान निमित्त) क्षेत्रीय अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
यसरी ‘बिर्सिइने राष्ट्रिय चलन र सँस्कृति’ भने अवश्य राष्ट्रका लागि अहित हुने विषय नै हो जस्तो लाग्छ । गोरखापत्रलाई वाषिर्क कार्यतालिका बनाउन अप्ठेरो पर्दैन भने, मधुपर्क, गोरखापत्रले प्रत्येक वर्ष मङ्सिर ३ गते पं. माधवप्रसाद देवकोटाबारे लेखहरू सङ्कलन गरी ‘आगामी अङ्कमा….’ भन्ने सूचनासहित छापिएका त्यस्ता जयन्ती सान्दर्भिक लेखले पनि ‘विद्याभूषण’, ‘विद्वानमणि’, ‘कविरत्नम्’ पं. माधवप्रसाद देवकोटाका कृतिहरू विद्वत्वृन्दमा जानकारी रहने जसबाट राष्ट्रभित्र र अन्तर्राष्ट्रिय विद्वत् समाजमा नेपालको गरिमा बढ्ने निश्चित छ ।
पो.ब.नं.९९४, काठमाडौँ
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
