२० जुलाई २००९ को मध्यदिनमा न्युयोर्कजस्तो व्यस्त सहरको चाइना टाउनमा बोस्टनबाट आएको बसबाट उत्रेर हामी सुटकेस गुडाउँदै सबवेतिर लाग्दछौँ । त्यतिबेला चर्को घाम थियो, सडकमा हिँड्नेहरूको भीड हुँदा बाटो काट्ने ठाउँमा सुटकेस गुडाउँदै हिँड्न असजिलो लागिरहेको थियो । जसरी तसरी हामीले क्यानल स्ट्रिट भन्ने सबवे स्टेसन भेट्टायौँ र भित्र पसेपछि बोस्टन जानुभन्दा पहिले लिएको कार्डमा रकम बाँकी भएकाले त्यही कार्ड छिराएर भित्र जाने प्रयास गर्न लाग्यौँ । न्युयोर्कमा एउटै कार्ड धेरै जनाले प्रयोग गर्न मिल्ने हुँदा पहिले निर्मलालाई प्रवेश गराएपछि म पनि त्यसैगरी भित्र पस्ने प्रयत्न गर्न थालेँ तर मेसिनले रकम अपुग भएको कुरा देखायो र ढोका खुलेन । केही रकम बाँकी रहेको त्यो कार्ड हातमा लिएर म टिकट किन्ने मेसिनतिर लागेँ । त्यो बाँकी रकम भएको कार्ड प्रयोग गरेर रकम थप्ने विचार गर्दै म कम्प्युटर स्क्रिनमा औँला चलाउँदै थिएँ, कसैका औँलाहरूले मलाई पछाडि फर्कन सङ्केत गरे । पछाडि फर्केर हेर्दा एकजना अमेरिकी महिला देखिइन् र उनले मुस्कुराउँदै भनिन् ‘डन्ट बाई’ अर्थात् ‘टिकट नकिन’ । म इन्तु न चिन्तु के गर्ने ? भन्ने मनस्थितिमा थिएँ भने ती युवतीले आफ्नो कार्ड मेसिनमा छिराएर बाटो खुलेको दिशातिर मलाई जान भनिन् । अब ढिला गर्न मिल्दैनथ्यो, भित्र निर्मलाले कुरिरहेकी थिइन् भने बाटो खोलिदिने ढोका एकछिनमा नै बन्द हुन सक्थ्यो । त्यसैले धन्यवादको एक शब्द पनि प्रकट गर्न नभ्याउँदै सुटकेस गुडाउँदै भित्र पसेपछि मात्र पछाडि फर्केर तिनलाई धन्यवाद दिने मैले विचार गर्दा उनी बाहिरको भीडमा हराइसकेकी थिइन् ।
कस्तो अचम्म ? तिनी को थिइन् ? कहाँबाट आइपुगिन् र किन आफ्नो पैसा खर्च गरेर मलाई भित्र पठाइन् भन्ने कौतूहल मनमा राख्दै हामी रिजउड्तिर जाने ट्रेनतिर लाग्यौँ । केही समय पहिले यस्तैखाले घटना बोस्टनमा भएको कुराको त्यतिबेला स्मरण भयो । केम्बि्रजको सेन्ट्रल स्टेसनमा बोस्टनतिर जाने र उताबाट आउने दुई दिशामा जान बाहिरबाट नै छुट्टाछुट्टै प्रवेशमार्ग छन्, अन्यत्र त्यस्तो हुँदैन, जताबाट प्रवेश गरे पनि भित्र गएपछि मात्र आफू जाने दिशातिर लागे हुन्छ तर त्यहाँ हामी विपरीत दिशातिर लागेकाले उत्पन्न जटिल परिस्थितिमा दुई अश्वेत युवतीले दोस्रोपटक प्रवेश गर्न सहयोग गरेर ढोका खोलिदिएका थिए । कतै तिनीहरू त्यहीँ काम गर्ने मानिस हामीलाई असजिलो परेको थाहा पाएर ढोका खोलिदिएका होलान् भन्ने सोचाइमा हामी पुग्यौँ तर न्युयोर्कमा त ती गोरीले आफ्नै पासबाट मलाई भित्र पठाएको कुरा प्रत्यक्ष थियो । आर्थिक मामिलामा आफ्ना अत्यन्त नजिकका मानिससँग पनि हिसाब राख्ने पश्चिमी सँसारका मानिस हुन्छन् भनेर उनीहरूबाट कुनै आर्थिक सहयोग हुन नसक्ने धारणा राख्ने हामीलाई यस्ता घटना दोहोरिनु अनौठो थियो । मैले ती युवतीको सहयोगी व्यवहार बिर्सन सकेको छैन ।
मलाई अरूको रकम उधारो राख्न मन पर्दैन र त्यो नतिर्दासम्म मन अधीर भइरहन्छ । त्यसैगरी अरूको सहयोग भर्सक लिन नपरोस् भन्ने विचारमा म दृढ छु । त्यो दिन पनि हामीले साथीहरू बुद्धि भुसाल या नामलाल श्रेष्ठलाई फोन गर्न सक्थ्यौँ । न्युयोर्कमा धेरै दिन नघुमेका मानिसले त्यसरी एक्लै सहरभित्र पस्नु हुँदैनथ्यो, किन फोन गर्नु भएन भनेर हामीलाई साथीहरूले पछि गुनासो गर्नुभयो ।
उधारो रकम बाँकी रहँदा अधीर रहने मेरो मनमा यसपटक भने यौटा मीठो भावनाले बास गर्यो र मेरा लागि रकम खर्च भएकोमा मलाई दुःखभन्दा रमाइलो लाग्न थाल्यो । यस्तो मनस्थितिलाई कविहरू ‘छोयो’ भन्छन् र म पनि कवि भएको भए एक/दुइटा राम्रै कविता फुरिसक्थे होलान् । कविता नभए पनि केही कुरा नलेखी मेरो मनले पनि मानेन ।
‘राष्ट्र’ निश्चित सीमाभित्रको यौटा भूगोलको क्षेत्र मात्र नभएर त्यसभित्र बसोबास गर्ने जनतासहितको क्षेत्र हो भन्ने कुरामा दुईमत हुँदैन । त्यसैले राष्ट्रको प्रतिष्ठा भन्नु नै त्यस राष्ट्रका जनताको प्रतिष्ठा हो र जनताका व्यवहारले नै राष्ट्रलाई प्रतिविम्बित गर्छ । श्रम गरेर आफ्नो जीविका चलाउने र निःस्वार्थ सेवाको पवित्र भावनाले अरूलाईसमेत आकर्षण गर्ने बानी परेका जनताले नै राष्ट्रलाई अगाडि बढाउन सक्छन् । यस सम्बन्धमा एकएक व्यक्तिको ठूलो देन हुन सक्छ । हामीकहाँ माथिबाट कसैले या सरकारमा बस्नेले मात्र देश बनाउने हो, यौटा व्यक्तिले त्यतापट्ट िसोचेर केही हुँदैन भन्ने नराम्रो कुरा सबैमा व्याप्त छ र ‘म आफूबाट मात्र केही हुन सक्छ कि !’ भन्ने कुरामा कोही पनि मनन गर्न चाहँदैनन् । देश बिगारेको कुरा नेताहरूको टाउकोमा थोपरेर सबै आफू चोखो हुन चाहन्छन् । यहाँनेर म अमेरिकी राष्ट्रपति केनेडीको भनाइ प्रस्तुत गर्न चाहन्छु- “मेरा प्रिय अमेरिकी साथीहरू, राष्ट्रले मलाई के दिन सक्छ भनेर प्रश्न नगर, म राष्ट्रलाई के दिन सक्छु भन्ने कुरामा विचार गर ।”
म आफ्नो किशोरावस्थामा भारतको वाराणासी र युवावस्थामा अध्ययनका लागि सोभियत सङ्घ गएको हुँ । नेपाली र भारतीयहरूबीच खास भिन्नता नदेखेको मेरो युवा मस्तिष्कले सोभियत सङ्घका मानिसहरूको विदेशीप्रति गरिने व्यवहारलाई उच्च मूल्याङ्कन गरेको हो । सत्तरीको दशकको जल्दोबल्दो सोभियत युगमा मास्कोमा रहँदा ममा पनि पश्चिमी युरोप र अमेरिकाप्रति केही नकारात्मक भावना प्रवेश गरेका थिए । सन् १९७८/१९७९ मा बेलायतको अक्सफोर्डमा केही समय उच्च अध्ययनको प्रक्रियामा रहँदा त्यस सोचाइमा केही परिवर्तन आएको हो । सरकारका जे जस्ता क्रियाकलाप भएर राजनीतिक प्रोपगन्डा आ-आफ्ना किसिमले प्रसारित गरिने भए पनि जनता जहाँ पनि सहयोगी भावनाकै हुन्छन् भन्ने केही आभास पाए पनि ६ वर्ष सोभियत सङ्घमा बस्दा जुन उमङ्ग थियो, त्यसको तुलनामा नौ महिने बेलायत प्रवास निरासिलो रहेको हो । सुरुको विद्यार्थी जीवन र पछिको काठमाडौँको पारिवारिक वातावरण सिर्जना गर्न सुरु गरेको समयको अन्तरालले त्यो अन्तर ल्याएको कुरामा विश्वस्त भए पनि सोभियत जनजीवन र त्यहाँका जनताको स्नेही भावनाप्रति नै मेरो झुकाव रहिरहेकाले म पश्चिमी शैली र अमेरिकाप्रति त्यति सकारात्मक सोचाइ राख्ने मनस्थितिमा पुगेको थिइनँ । त्यसैले यहाँको जनजीवनलाई र जनताको भावनालाई पाठकसमक्ष पुर्याउन म यिनीहरूका प्रत्यक्ष सम्पर्कमा जानैपर्ने हुन्छ, तर त्यो नै कठिन कार्य थियो किनभने यहाँ जताततै नेपाली र आफ्नै नातागोताले भरिइसकेकाले मलाई काठमाडौँबाट अमेरिका आएको हो कि अर्घाखाँची वाङ्लास्थित घर गएको हो भन्ने अन्तर भेट्टाउन असजिलो भएको छ जुन कुरा न्युयोर्कको रिजउड र बोस्टनको समरभिलमा पनि भेटाएँ । त्यसैले अमेरिकी सम्पर्कमा पुग्नका लागि श्रीमती निर्मलाले काठमाडौँमा पढाएका विद्यार्थीहरू र तिनका परिवार मात्र सहयोगी हुन सक्छन् भन्ने मनस्थितिमा रहेको अवस्थामा वासिङटन डीसी, न्युयोर्क र बोस्टनमा भेटिएका स्थानीय जनता र त्यसरी बोलाइबोलाई सहयोग गर्ने तिनका व्यवहारले अनायास नै मेरो कलम दौडाइदिएको छ र जे जति कुरा भइरहेका छन्, ती लेख्न म स्वतन्त्र छु ।
एक दिन हामी बोस्टनमा फाइनआर्ट म्युजियम हेरेर हार्वार्डतिर फर्कनेक्रममा भूमिगत रेलको ग्रिनलाइनमा थियौँ । त्यहाँ मेरो छेउमा यौटी दस/एघार वर्षकी बालिका र तिनकी छ-सात वर्षकी बैनी बसेका थिए । तिनीहरूका बालसुलभ क्रियाकलाप अत्यन्त रमाइला थिए र तिनीहरू सबैका आकर्षणका केन्द्र बनेका थिए, छेउमा उभिएका व्यक्ति उनका पिताजस्तै लाग्थे । पार्कस्ट्रिटमा लाइन परिवर्तन गर्न हामी उत्रिँदा तिनीहरू पनि उत्रिए । म अघि पर्ने मानिस भए पनि ती नानीहरूलाई बाबासँगै जान बाटो छाडिदिँदा दस वर्षकी ती बालिकाले यति कृतज्ञता दर्साइन् कि म बिर्सन सक्दिनँ । त्यसरी सानो अवस्थामा नै नैतिकताको शिक्षा दिइएका बालबालिका पछि गएर भ्रष्ट हुँदैनन् र अरूप्रति सहयोगी भावनाका हुन्छन् भन्ने मनस्थितिमा पुग्न म बाध्य भएँ ।
यसरी केनेडीले भनेको माथिको वाक्यलाई आमअमेरिकीहरूले साह्रै नै मनन गरेका छन् र ती सहृदयी महिलाहरूले हामीलाई सहयोग गरेर आफ्नो देशको गौरवलाई नै उच्च राखेका छन् भन्ने सोचाइमा म पुगेको छु । तिनीहरूले देशका लागि गर्ने भनेको कुरा नै त्यही हो जस्तो मेरो मान्यता छ । यस्तो अवस्थामा अर्थात् मेरो मनमा यति मीठास भरिइसकेको बेलामा चल्ने कलमले स्वतःस्फूर्तरूपमा यहाँको जनजीवनलाई यथार्थरूपमा बताइरहन सक्छ र म आफूले तिर्नुपर्ने ती अमेरिकी महिलाको उधारो रकम यिनै भावनामार्फत् तिर्न समर्थ हुन्छु जस्तो लाग्छ । हामी पनि नेपालका लागि केही गर्न चाहन्छौँ भने आफैँले परिश्रम गर्ने र अरूलाई सहयोग गर्ने बानी बसाल्न सके मात्र अघि बढ्न सक्छौँ भन्ने भावना मभित्र बढ्दै गएको छ । हामीले पनि चाहृयौँ भने हाम्रा हातहरू, हाम्रा पसिनाहरू र आवश्यक परेमा हाम्रा केही रकमले पनि अमेरिकी मात्र होइनन्, विश्वका जो कोहीलाई पनि परेको बेलामा सहयोग पुर्याउन सक्नेछन् ।
