Skip to content


यत्नका जङ्गम असरल्ल पार्दै
मृग शावकको क्रीडाकेली
आल्हादकारी लाग्दैन भने
खेचरको व्योम छुने उडान
पुतलीका फिर्फिर् र
फूलको पट्ट फुटेको बैँस
चित्ताकर्षक हुँदैनन् भने
फ्याश्विनीको कल्कल्माझ्
तपतप् रजवीर्य चुहाउने
मत्ता र मुकुना हात्तीको कर्कश नाद
रोमाञ्चकारी जच्दैन भने
प्रष्ट एलान गरिदिए हुन्छ
यहाँ एउटा इतिहासको विघटन
सखेद हुँदैछ
जून रोएको रातमा
कर्कलाको पातमा
मिर्मिरे अन्माएर
शीतविन्दु टप्किएन भने
झरी परेका साँझमा
खर्कबाट
एउटा लैनो गाई
सुँघेर आफ्नो बाछाको घुर
बुर्कुसी मार्दै गोठमा भित्रिएन भने
अकिञ्चन भएर अनायास
भनिदिए पुग्छ
यहाँ एउटा इतिहासको विघटन
अटट्हास नङ्ग्याएर हुँदैछ,
सुत्केरो लाम्टो चुसेर
कुनै नवजात शिशु
आमाको सप्कोमा लपेटिँदा पनि
निदाएन भने
उफान निकालेर
आकास र धर्ती
द्वन्द्व समासझैँ चरमोत्कर्षमा पुगेर
किनारा लागेनन् भनेँ
बाटिएर डोरीका पोयाझैँ
लीन भएका चक्षुश्रवा
एकर्काबाट विग्रह भएनन् भनेँ
सन्धिको सरहदमा उभिएर
दण्डवत् गर्दै कुनै इतिहासकारले
साफासाफ भनिदिए हुन्छ
यहाँ एउटा इतिहासको विघटन हुँदैछ ।

टीकाथली- ४, ललितपुर
हालः मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *