Skip to content


नेपाली साहित्यमा कलम चलाएकाहरूमा धेरै सिर्जना गरेर पनि थोरै मात्र चर्चामा आएका स्रष्टाहरू प्रशस्तै छन् तर थोरै सिर्जना गरेर पनि धेरै चर्चामा आएकाहरू चाहिँ एकाध स्रष्टा मात्र देखिएका छन् । उहाँ थोरै लेख्नेहरूमध्येमै पर्नुहुन्छ र आफैँ भन्नुहुन्छ-अरूले तीसौँ सङ्ग्रह प्रकाशित गरेका छन्, मैले लेखेका त जम्माजम्मी तीस वटा कविता पनि छैनन् । मजस्तो अल्छे कविलाई पनि के सारो माया गरेका ।

हो, कवि वैरागी काइँला आफूले आफैँलाई अल्छे भन्नुहुन्छ तर नेपाली साहित्यमा थोरै लेखेर पनि चर्चित बन्ने र वरिष्ठहरूको पङ्क्तिमा अब्बल ठहरिनेमा सम्भवतः उहाँको अर्को जोडा छैन भन्दा पनि हुन्छ । वि.सं. १९९६ साल साउन २५ गते पाँचथर जिल्लाको सारताप गाउँमा जन्मिनुभएका तिलविक्रम नेम्बाङ आफ्नो नाम, थर छोडेर वैरागी काइँला हुँदाको स्मरण गर्दै भन्नुहुन्छ- म आठ भाइमध्येको काइँलो हुँ । त्यतिबेला धेरैले आफ्नो वास्तविक नामभन्दा भिन्न नामले लेख्ने गर्दथे । मैले पनि अरू साहित्यकारहरूको देखासिकी गर्दै जन्मको काइँलोसँग वैरागी जोडेको हुँ । अरू त्यस्तो ठूलो कारण नभए पनि अरूभन्दा भिन्न देखिनलाई त्यसो गरिएको लेखकीय चलनमा म पनि जोडिएको हुँ, साँच्चै भनौँ भने त यही नाम यो फाप्यो मलाई ।

वि.सं. २०६२-०६३ को राष्ट्रिय जनआन्दोलनमा स्रष्टाहरूको नेतृत्वकर्ताका रूपमा उहाँ अग्रपङ्क्तिमा उभिनुभयो । राजनीतिक मोर्चाका बलबहादुर राई जस्तै साहित्यिक मोर्चाका वैरागी काइँला पनि नेतृत्वमा खरो उत्रिनुभयो । आन्दोलनको स्मरण गर्दै उहाँ भन्नुहुन्छ- विश्वमा जनताले जितेका इतिहास धेरै छन्, हामीले पनि बनाएका छौँ । जनता एक भएपछि कसको पो के लाग्दोरहेछ ।

कुर्सीका लागि मरिहत्ते गर्ने, आफू मात्र ठीक अरू सबै बेठीक भन्ने हाम्रो राष्ट्रिय रोग नै भइसकेको छ । वैरागी काइँला यो रोगबाट अलग रहेको नाम त हुँदै हो र पनि ‘म सक्दिन, बूढो भएँ, कान सुन्दिन, आँखा कम देख्छु, बिमारी छु’ भन्दा पनि स्रष्टाहरूको उच्चथलो नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिजस्तो गरिमामय जिम्मेवारीमा पुर्याइनु भएकोमा आफूलाई भाग्यमानी र सबैले मन पराएको व्यक्ति रहेछु भन्नुहुन्छ । यसभन्दा पहिले पनि दुई पटक सदस्यको जिम्मेवारी पाएर बटुलेको अनुभवले उहाँलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाएको उहाँको अनुभव छ । आफ्नो नेतृत्वको प्रज्ञाप्रतिष्ठानमा राम्रा कामको सुरुआत भएको छ भन्दै उहाँ कार्यशैलीका सम्बन्धमा भन्नुहुन्छ- अधिकार एक्लैले लिन चाहेन भने सहकार्यको काम राम्रो हुन्छ । अहिले बाँडेर काम गरेका छौँ । सल्लाह र सहमतिमा चल्दा नराम्रो काम त पक्कै हुँदैन । ठूला कार्यक्रमहरू र नीतिगत निर्णयहरू छलफलबाट तय गर्छौँ । प्रज्ञालाई सबैको साझा हो भन्ने बुझाउनलाई सङ्गोष्ठीहरू गरिरहेका छौँ । यहाँ त भइहाल्यो, झापा, सुनसरी, जनकपुर, बारा, तौलिहवा, पाँचथर, तनहूँलगायतका ठाउँहरूमा पुगेर स्थानीयको सहभागितामा छलफल-गोष्ठीहरू गर्यौँ । यो क्रमलाई निरन्तरता दिन्छौँ । हामी ठूलाठूला परियोजनाभन्दा पनि मझौला परियोजनातिर लागेका छौँ । ठूला कामलाई आर्थिक अभाव र विज्ञहरूको खाँचो पनि छ । हामीकहाँ सरकारी र गैरसरकारी सङ्घ-सँस्थाहरूले बानी बिगारेका विज्ञहरू छन् । थोरैमा काम गर्न चाहँदैनन् र धेरै दिन सकिँदैन । हाम्रो अहिलेको जोड भनेको १०२ जातजातिका भाषा-सँस्कृतिको अध्ययन, सँवर्द्धन र सँरक्षणको अभियानमा छ । वर्णमाला निर्धारण गराइदिने, साहित्यलेखनमा अग्रसर गराउने, लोपोन्मुख भाषालाई सघाएर सँरक्षण गर्ने, कोश-व्याकरण निर्धारणमा सघाउने कार्यमा प्रज्ञालाई अग्रसर बनाउँछौँ । मूल कुरा- सबै भाषाभाषी र जातजातिको साझा प्रज्ञाप्रतिष्ठान हो भन्ने बुझाउनु हाम्रो उद्देश्य हो । साँस्कृतिक रूपान्तरणमा जाँदा यो हुनैपर्छ ।

नेपालीभाषामा सरलीकरणका नाममा व्यक्तिपिच्छेका नियम ल्याएर भाषिक अपचलन भइरहेको अवस्थामा प्रज्ञाप्रतिष्ठानले यसलाई टुङ्गोमा पुर्याएर मानक व्याकरण र शब्दकोश तयार पार्नेक्रममा अभियान थालेको वैरागी काइँलाले बताउनुभयो । यसै सन्दर्भमा तीन दिने ‘नेपालीभाषा सङ्गोष्ठी’ सम्पन्न गरेर अवधारणाापत्र तयार पारेको र प्रज्ञाबाट प्रकाशित भएको शब्दकोशलाई अब यसै अनुरूप परिमार्जन गरिने कामको थालनी गरिएकोले आफ्नै कार्यकालमा परिमार्जित शब्दकोश ल्याउने दृढता व्यक्त गर्नुभयो ।

प्रज्ञाप्रतिष्ठानबाट प्रदान गरिने धेरै पुरस्कारहरू थिए । तिनीहरूको नाम धेरैको त राजा र राजपरिवारसँग जोडिएकोले पनि प्रदान गर्न सकिएको छैन तर राष्ट्रिय विभूतिसँग जोडिएका पनि एउटै घानमा परेका छन् । नाम परिवर्तन गर्ने सम्बन्धमा प्रज्ञाप्रतिष्ठानले छलफल चलाएको छ । यस सम्बन्धमा के हुँदैछ ? कुलपति काइँला भन्नुहुन्छ- टुङ्गोमा पुग्न बाँकी छ । विवाद र अबगाल हामी मात्रै बोक्ने पक्षमा छैनौँ । नयाँ इतिहास बनाउन पुरानो जति सबै भत्काउनै पर्छ भन्ने होइन । सबैको राय-सल्लाह लिएर काम गर्छौँ । सय जना जति विज्ञ-विद्वानहरूको राय-सुझाव लिएका छौँ, अझै धेरैका लिन्छौँ । सबैलाई मान्य हुनेगरी टुङ्गोमा पुग्छौँ । बरू एक वर्ष ढिलो हुँदा के बिग्रन्छ र !

उहाँ आफूलाई हिजो पनि र आज पनि महत्त्वाकाङ्क्षाविहीन मान्छे भएको स्वीकार्नुहुन्छ । आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाले नभई वाध्यताले पदीय जिम्मेवारीमा आएको भए पनि नेतृत्वदायी भूमिकामा आफू सक्षम हुन र खरो उत्रिनका लागि सबैलाई समेटेर हिँड्ने उहाँको मूल ध्येय छ । भन्नुहुन्छ-हामी एघार जना फुटबल मैदानमा छौँ । कहिले गोल हुन्छ, कहिले पोस्टमा ठोक्किन्छ । यत्ति हो कि नेपाल प्रज्ञाप्रतिष्ठानलाई सबै जातजाति र भाषाभाषीको हो भन्ने बनाउन सकेँ भने म सफल भएको मान्नेछु र यसलाई ठूलो उपलब्धि मानेर आफ्नो टाउकोमा ‘सिउर’ बढेको ठान्नेछु ।

जो कोहीलाई पनि आफ्नो मूल्याङ्कन आफैँ गर्न असजिलो त हुन्छ नै तर वैरागी काइँला असिजलो मान्नुहुन्न । ”म आफ्नो मूल्याङ्कन आफैँ गर्दा हातमा त केही पनि भेट्दिन । अरूले तीसौँ सङ्ग्रह निकालेका छन्, मेरो त वि.सं. २०३१ सालमा प्रकाशित ‘वैरागी काइँलाका कविताहरू’ र लिम्बू जातिमा कोखपूजा नै प्रमुख हुन् । मेरो उमेरकाले पुर्याएको साहित्यिक योगदान र बौद्धिक क्षमताका तुलनामा म आफूलाई दाँज्दा आफूमा खालीखाली पाउँछु । कवि भएर पाएको सद्भाव र प्रेमकै कारण विभिन्न भूमिका खेल्न ठाउँ प्रदान गरेको छ ।”

आफ्नो लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ-“मेरो लेखन हिजो पनि घाटमै पुगेको अवस्थामा थियो । अब त चितामै चढिसक्यो भने हुन्छ । चार/पाँच वर्षअघि तीन वटा कविता लेखेथेँ । ३५/३६ वर्ष अघिको अधूरो कविता पनि पूरा गर्न सकिरहेको छैन । लिम्बू जातिका सँस्कृतिका खोजीनीतिका कुराहरू पनि सङ्कलन गर्न थालेको थिएँ । त्यसलाई पनि सकाउन पाएको छैन । वि.सं. २०६३ सालमा निक्कै बिरामी परेँ । तङ्ग्रिएर आराम गरिरहेको बेलामा ‘माली गाउँमा चितुवा’ शीर्षकमा कविता लेखेपछि वि.सँ. २०६४-६५ मा अरू दुई कविता लेखेँ । त्यसपछि चाहिँ लेखेकै छैन । त्यो ३२ वर्ष अघिको कविता दुई सय लाइनको होला । तेस्रो आयाम निकालेपछि आएको परिवर्तनले प्रभाव पारेर थाती रहेको थियो, रहेकोरहेकै छ । त्यतिबेला आफू केटौले नै थिएँ । विचार भन्ने हरेक क्षण परिवर्तन भइरहने कुरा हो । जीवन र जगत्लाई हेर्ने, बदलिने परिस्थितिले असर गरेर थालिएका सिर्जनाहरू रोकिँदारहेछन् । खै, त्यो कविताले पूर्णता पाउने हो, होइन, आफैँ अनिश्चयमा छु ।”

एक समयमा नेपाली साहित्यमा वाद-आयाम-आन्दोलनहरूको चर्चा र अभियान व्यापक नै थियो । अझै पनि एकाध त्यस्ता अभियानहरू जन्माइन्छन्, चलाइन्छन् अनि त्यसै हराउँछन् । इन्द्रबहादुर राई, ईश्वरवल्लभ र वैरागी काइँला त्रयले प्रारम्भ गरेको ‘तेस्रो आयाम’ ले तत्कालमा निक्कै चर्चा र प्रभाव पारेको थियो । पछिल्लो समयमा आएर निष्क्रियझैँ देखिएको तेस्रो आयामका एक स्रष्टा ईश्वरवल्लभको निधन भइसकेको छ । अर्का स्रष्टा इन्द्रबहादुर राई बाहिरै हुनुहुन्छ । वैरागी काइँला यहाँ एक्लै पर्नुभएको छ । अब तेस्रो आयामको अन्त्य नै भएको हो कि भन्नेहरू धेरै छन् । वैरागी काइँला चाहिँ के भन्नुहुन्छ त ?

“कुन चिजको अन्त्य हुन्छ भनेर भन्न सकिँदैन । विश्राम वा स्थगित हुन सक्छ । साँच्चै भनौँ त वि.सं. २०३० सालयता मैले कुनै किसिमका रचनात्मक काम गरेकै छैन । म चिन्तक थिइनँ र छैन पनि । तेस्रो आयाममा इन्द्रबहादुर राई हो प्रमुख अभियान्ता र नेतृत्वकर्ता । उहाँ हाम्रो नेतृत्वकर्ता हुनुहुन्थ्यो भन्दा मलाई कुनै किसिमको हीनताबोध हुँदैन । ईश्वरवल्लभ पनि लेखनमा अन्तिमसम्मै सक्रिय भइरहनुभयो । सबै सोचिएका कुरा पूरा हुँदैनन् । तेस्रो आयामले देखेको, जानेको र आँटेको सबै कहाँ पुगेको छ र ? इन्द्रदाइले अघि बढाउनुभएको छ । मेरो सोचाइमा त एउटै विचारमा टासिइरहनु पनि गतिशिलता होइन । समातेका कति विचार लिएर, कति विचार चुँडालेर पनि फ्याँकिन्छ । समय अनुसार गरेको चिन्तन-मननले प्रभाव पार्दछ । इन्द्रदाइले तेस्रो आयामलाई नै परिमार्जन गरेर लीलालेखनमा लगाउनुभएको हो । मेरो विचारमा तेस्रो आयामको अन्त्य होइन, बरू मेरो लेखनमा चाहिँ कविको अन्त्य भएको हुनसक्छ । भनिहालेँ नि मेरो लेखनघाटमा पुगिसकेकै हो, अब त चितामै चढ्यो भन्दा हुन्छ । यसो भनेर केही लेख्दै लेखिनँ भनेको चाहिँ होइन । लेखिनँ भन्दाभन्दै पनि वि.सं. २०४६-०६६ को बीचमा सयभन्दा बढी लेखहरू लेखेँ हुँला तर मलाई कवि भनिदिने पाठक, समालोचकले मेरो यो पक्षलाई हेर्दै हेरिदिएनन् र कवि काइँलालाई मात्र खोजे । त्यसो गर्नु त राम्रै होला । पाठक-समालोचकमा स्थापित गरेको पनि कविताले नै हो तर कविता कम लेखेको अवस्थामा पनि म भित्रको ऊर्जालाई मर्न चाहिँ दिइनँ र यहाँसम्म आइपुगेँ । मेरो तुलनामा मेरा समकालीनहरू धेरै जाँगरिला छन् । लेखनमा उनीहरूभन्दा म धेरै पछि छोडिएको छु ।”

उहाँलाई कविताले नै हो नेपाली साहित्यमा भित्र्याएको र यो उचाइमा पुर्याएर स्थापित गराएको पनि । ‘थोरै सावाँको धेरै व्याज पाउने कवि’ भन्दा मैले चित्त दुखाउनुपर्ने कारण छैन भन्दै उहाँलाई स्वीकारिदिँदा धेरैका टीका-टिप्पणीहरूको भारी सहजै बोकिदिएझैँ लाग्यो उहाँले । उहाँले मन नपराउने त सायदै होलान् तर ‘वैरागी काइँला नेपाली साहित्यको मूलधारबाट अलग्गिएर जातीय सँस्कृतिमा सीमित भइसके’ भन्नेहरू चाहिँ धेरै छन् । यस सम्बन्धमा उहाँको धारणा चाहिँ यस्तो छ- हो, मैले पनि सुनेको छु, केहीकेहीले त्यसो भन्दैछन् तर जसले त्यसो भनिरहेका छन्, तिनीहरूले आफूलाई म नेपाली हुँ भन्न छोडिदिए हुन्छ । नेपाली साहित्यको मूलधार भनेको के हो ? सबैभन्दा पहिला यो नै स्पष्ट पार्नुपर्छ । हाम्रो मुलुक किन गरिबी, अशिक्षा र अस्थिरतातिर धकेलियो ? यसलाई केलाउनु पर्छ । मैले जुन खस नेपालीभाषामा कविता लेखेँ, के त्यही मात्रै नेपाली मूलधार हो त ? हाम्रो मातृभाषाको अस्तित्व के ? यो मुलुकको पृथ्वीनारायण शाहले एकीकरण गर्नु अगाडिको भौगोलिक अवस्था इतिहासका हरेक विद्यार्थीलाई थाहा छ । बाइसे, चौबीसे, उपत्यका, लिम्बुवान, किराँत, मगरात सबैलाई मिलाएपछि ती जातजाति के भए ? अराष्ट्रिय ? अनेपाली ? कसलाई के साँघुरो भयो ? यसको स्पष्ट उत्तर खोज्नु आवश्यक छ । भाषामा किन एकाधिपत्य ? गणतान्त्रिक आन्दोलनमा उठेका आवाज के हुन् ? तराई-मधेसको आन्दोलन के हो ? नेवारीभाषाको पहिलेको अवस्था कस्तो थियो ? धेरै प्रश्नहरूलाई केलाएर त्यसो भन्नेहरूले उत्तर खोज्नैपर्छ । नेपालको राष्ट्रियता बलियो बनाउनलाई पनि यो आवश्यक छ । जाति विशेषको भाषा, सँस्कृति, साहित्य भनेर छुट्याउन हुँदैन । मुलुकमा स्थापित गणतान्त्रिक गुणमा, लोकतान्त्रिक परिपाटी अनुसार समावेशीकरणलाई बलियो बनाउनुपर्छ । यी सबैलाई राज्यले स्वीकार गरिसकेको छ अब । प्रज्ञाप्रतिष्ठानका ऐनहरूको तर्जुमा हुँदा नै प्रस्तावनामा नेपालका भाषा तथा साहित्य भनेर उल्लेख गरिएको छ । उत्पत्तिका भाषालाई जोड दिइएको छ । दृष्टि साँघुरो र सङ्कुचित पारेर विभेदको व्यवहार गर्नु हुँदैन । सबै जातजातिका भाषा, सँस्कृति, साहित्य साझा हुन् । हिन्दू धर्म-सँस्कृति र नेपाली खस भाषा मात्र यहाँको अब्बल हो, अरू केही होइनन् भन्नु सोह्रै आना गलत हो । अहिलेको मूल असन्तोष पनि यही हो ।

म सबैलाई विनम्र अनुरोध गर्छु, नेपाली सँस्कृतिको अध्ययन गर्दा मुलुकका सबै जातजातिको सँस्कृति, भाषा र रहनसहनको अध्ययन गर्नैपर्छ विद्वानहरूले । साझा सँस्कृतिलाई साझा र अभिन्न मानेपछि मात्र साझा नेपाली बन्दछ । सबैका सबै नेपाली हुन्, एउटैले देशको विरासत धान्न सक्दैन । कसैले केही छान्ला, कसैले केही । यस्तो आरोप लगाउनु चाहिँ अर्काको सँस्कृतिमा असहिष्णु विचार राख्नेहरूको, असहयोगीहरूको बिना विश्लेषणको आरोप हो । यस्ता कुविचार नत्यागेसम्म ९२ भन्दा बढी भाषा र १०२ जातजातिको मर्म समेटिदैन । नेपाललाई बलियो बनाउन सहिष्णुता र सद्भावको आवश्यकता छ । ‘सबैको नेपाल, हाम्रो नेपाल’ भनौँ, यही नै बसुधैवकुटुम्बकम् हो । मेरो नेतृत्वको प्रज्ञाप्रतिष्ठानले आफ्नो कार्य क्षेत्रभित्र रहेर यसमा सक्दो प्रयास गर्छ र सफल हुन सकेँ भने म आफैँले आफ्नो टाउकोमा सिउर लाउँछु भनेको हुँ मैले तपाईँलाई ।

पदीय जिम्मेवारीले मान्छेको दैनिक जीवनयापनमा असर गर्छ । नियमितका कामधन्दा र सोचाइबाट विमुख पनि बनाउँछ धेरैलाई । तपाईँलाई चाहिँ कसो भइरहेको छ नि भनेर पनि सोधेथेँ-

यसभन्दा अघि कुनै पनि सार्वजनिक ढङ्गको जिम्मेवारी लिएको थिइनँ । सदस्य मात्र हुँदा सोझै उत्तरदायित्व वहन गर्नुपर्दैनथ्यो तर यसपटक चाहिँ सँस्थाको समृद्धिको जिम्मेवारी मेरो नेतृत्वसँग गाँसिएको छ । आफ्नो व्यवस्थापकीय क्षमता र दक्षतामा पनि शङ्का छ तर म एक्लो होइन-कर्मचारी, परिषद्, सभा, त्यतिले मात्र नभएर बाहिरका विद्वान-शुभचिन्तक छन् ।

मुलुकको प्राज्ञिक क्षेत्रलाई गतिमान बनाउन सबैसँग मिलेर सामूहिक निर्णयमा प्रभावकारी भूमिका खेल्नेछु । उहाँले भारत, चीन, हङकङ, अमेरिका, बेलायत, सिँगापुरलगायतका देशहरूको भ्रमण गर्ने अवसर यसअघि नै पाइसक्नुभएको छ ।

उहाँले पाएका पुरस्कार, सम्मान, अभिनन्दनको गणना गर्नुभन्दा पनि उहाँको आफ्नै टिप्पणीलाई उल्लेख गर्न महत्त्वपूर्ण होला- होइन हो, त्यति थोरै लेखेको म जस्तो अल्छेलाई पनि के विधि माया गरेका !

मान्छेको जीवनमा सुख-दुःखका क्षण त आइरहन्छन् तर सुखले कहिल्यै पुग्दैन र दुःखले पनि मारिहाल्दैन भन्नु हुने वैरागी काइँला सहयात्री ईश्वरवल्लभको निधनले चाहिँ साहित्यिक साथी गुमाएर आफ्नै जीवनले पनि झस्काएको बताउनुहुन्छ ।

अग्रजपुस्ताको रूपमा पछिल्लो पुस्ताका सिर्जनालाई कत्तिको पढ्नुभएको छ नि ? साँच्चै भन्दा म लेख्न मात्र होइन पढ्नलाई पनि अल्छे नै हुँ तर पनि पढिरहेकै छु । नयाँनयाँ कुरामा दृष्टि पुर्याउनेहरूले लेखनमा नयाँपन दिइरहेकै छन् । देश, जनता, भूगोल बुझेर लेख्नेहरूका रचना राम्रा छन् । मूलधारका मठाधीश समालोचकहरूको आँखामा नपरेका धेरै साहित्यकार छन् । आशावादी छ यो पुस्ता तर यथार्थमा चाहिँ म थोरै पढ्नेमा पर्छु ।

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *