Skip to content


सबैजनाले उसलाई देउता मान्दथे । उसलाई हेर्दा साथीभाइहरूको मनमा आदर उत्पन्न हुन्थ्यो । दाहिने खुट्टाचाहिँ अलि खन्च्याङ् खन्च्याङ् गर्दै हिड्थ्यो ऊ, तर पनि साथीहरूको आँखा उसको खुट्टामा भन्दा पनि उसको सम्पूर्ण ब्यक्तित्त्वमाथि पर्दथ्यो । उसको मिलनसारपनाले आँखाहरूलाई खुट्टामा होइन तर हृदयको स्वच्छतामा डोर्याउथ्यो। आँखाहरू त मनलाई डोर्याउने वाहकमात्र हुन्थे ।

राज, आज मल्ल सरले पढाउनु भएको पाठ अलिकति बुझाइदेऊ न हौ !

विषय आद्यात्म हो ।

राजले आफ्नो दाहिने खुट्टा दुई हातले हल्का सहारा दिँदै आफ्नो ओछ्यानमा तेर्साउँदै भन्यो –
ऐतिहासिक घटनाक्रमका आधारमा यसलाई हेर्दा नयाँ दृष्टिकोण उत्पन्न हुन्छ ।

वसन्त अझै गहिरिदै गयो–
हैन, दृष्टिकोण उत्पन्न हुन्छ कि निर्माण गरिन्छ ?

जे भन, देखिने वस्तुमा दृष्टि पुर्याएर आफैलाई फर्किहेर्दा जीवन अर्कै देखिन्छ ।

ऐनाको कुरा गरेको कि ?

हैन, ऐनाले देखाउँछ तर बोल्दैन …..।

लु…., यस्तो कुरा सुन्दा त म आफूलाई एलियन भएको जस्तो लाग्छ ।

वसन्तले आफ्नो सिरानी मिलायो । सिरक तानेर शरीलाई न्यानो बनाएर बिस्तारै निदायो । ऊ एकैछिनमा घ्वार्घ्वार् गर्न थाल्यो । राज निकैबेरसम्म अध्ययन गरेर ऊ पनि सुत्यो ।

रात निकै छिप्पिसकेको थियो । दुबैजना आ–आफ्ना ओछ्यानमा मस्त निद्रामा थिए । राजको पलङ् झ्यालपट्टि थियो र वसन्तको यता ढोकापट्टि । झ्यालबाट हल्का प्रकाश छिरेको हुनाले राजको ओछ्यान अलिअलि देखिँदै थियो ।

विषय जतिसुकै गहिरो भएपनि, तर्क जतिसुकै तिक्खर भएपनि मस्त निद्रामा परेपछि राज र वसन्तको कुनै प्रश्न उत्तर छैन । ऐनाको दोष पनि छैन । एलियनको नौलो अनुभव पनि छैन । दुबैजना मस्त निद्रामा छन् । दार्शनिक पनि छैन तार्किक जिद्धी पनि छैन । निद्रामा सबै नै बेहोस हुँदारहेछन् ।
मध्यरातमा वसन्तलाई सपनामा अप्ठयारो महशुस भयो– पिसाबले रहेछ । उसले निद्रामै आँखा मिच्दै उठ्यो र ढोका खोल्यो । ढोकाबाट अलिअलि प्रकाश गएर सिधै झ्यालको मद्दिम प्रकाशसंग मिल्यो । उसको आँखा राजको पलङछेउको झ्यालमा पर्यो । पिसाब गर्नजान ढोका खोलेको वसन्तको आँखा राजको पलङतर्फ पुगेर आतङ्कको सूचना प्रवाह गर्यो । अचानक ऊ जोडले चिच्याउँदै बाहिर कुद्यो ।

भूत …..! भूत….! !

होस्टेलका सबै विद्यार्थीहरू सपनामा ऐठनको अनुभव गरिरहेका थिए । निद्राको वशमा परेका कुनै कानले त चोर ! चोर…! ! भन्ने पो ठानेछ ।

भूत…..! भूत…..! !

अन्धाधुन्ध कराउँदै दौडेको वसन्त मुख्य कक्षाको ठूलो हलमा पुगिसकेको थियो । कसैले फलामको रड् कसैले ढोकाको आल्गो र कसैले त के के न हो भनेर चोरलाई बेस्सरी हिर्काउनको लागि पोलिथिनको बाल्टिन पो हातमा लिएर जम्मा भए । आतङ्कको आगोले सबैलाई भ्याइसकेको थियो ।

खोइ… कहाँ छ, चोर ?

ए ! बत्ती बाल् बाल् ……!.

कसैले कोशिस गरिहेरे तर लोडशेडिङ्ले सम्पूर्ण शहर झ्याप्पै छोपेको बेला त्यस्तो कोशिसको कुनै प्रतिफल थिएन ।

ए विन्दे ! तेरो टँस् लेरआ त …..!

एउटा मोटोघाटो तर निक्कै फुर्ति देखाएर आफ्नो कोठातिर तोडले कुद्यो, लिडलाइट ल्याउन । अचानक बाल्टिन बोक्ने विद्यार्थीसँग जोडले ठोकिनपुग्दा अँध्यारोमा रेश्लीङ खेल भयो । बाल्टिन हातबाट उछिट्टिएर वसन्तको छेउमा खस्यो । त्यसैत आत्तिएको वसन्त बाल्टिन खसेको आवाजले उसको भूतलाई अझै उग्र बनाइदियो ।

भूत ! भूत….. गुहार !

वसन्तको आवाज पनि दबिसकेको थियो । सबैजनाले रेश्लीङमा लडेको विन्देलाई बिर्सेर वसन्ततर्फ ओइरिए ।

ए वसन्ते ! के भो हँ, के भो ?

भ…भूत !

रुन पनि नसकी नसकी वसन्त बोल्यो ।

विन्देले उसको लिडलाइट लिएर आइसकेको थियो । सबैले हेरे – वसन्तको अनुहार भयाक्रान्त थियो । स्वर सुकिसकेको थियो । उसको ट्राउजर पनि पिसाबले भिजिसकेको थियो ।

सबैजना भेला भैसकेका थिए । सबैको ध्यान वसन्तमा थियो । राज निकैबेर पछि खच्याङ खच्याङ गर्दै अँध्यारोमा छाम्‌छाम्‌ छुम्‌छुम्‌ गर्दै त्यहाँ आइपुग्यो । उसलाई त सबैले बिर्सेका रहेछन् ।

उसले आफ्नो आँखा मिच्दै भन्यो –

हैन, कस्लाई के भो रे ?

मानौं आतङ्कतबाट कयौंपल्ट गुज्रिसकेर आतङ्कबाट बेखबर छ ऊ । धन्न यत्रो भाग दौडमा उसलाई केही भएनछ ।

हैन तिमीले क्यै देखेनौ ?

एकैसासमा वसन्त एक्लैले सबैको प्रश्नको भार बिसायो । एकैछिनको लागि सबैको मनलाई राहत मिले झैं भयो । तरपनि सबैको मनमा उत्सुकता भने कम थिएन– राजले के जवाफ देला भनेर ।

हैन, के देख्नु र ? अघिपछि सबैतिर अँध्यारै अँध्यारो छ । खोइ कहाँ के छ र ? यो वसन्तले बेकारमा मेरो निद्रामात्रै बिगार्यो ।

सबैले वसन्तलाई गाली गर्नलागे – बडा देख्ने भा’को चोर !

सबैजना खात्राक् खुत्रुक् भए । फलामको रड्, आल्गो, डोरी, बाल्टिन र वसन्तको भिजेको ट्राउजरलाई हेर्दै गन्गन् गर्नलागे । वसन्तलाई आफू सद्दे भएको देखाउन निकै हम्मे परिरहेको थियो ।

हैन, किन नपत्याएको ?

उसले आफ्नो दावी जारी राख्दै भन्यो –
मैले राजको पलङ छेउको झ्यालमा भूत उभेको देखेकै हूँ । मेरो खिल्ली नउडाओ तिमीहरू ….. !

सबैले राजलाई हेरे, ऊ चुपचाप छ शान्त छ मानौं अझै गोलमाल अवस्था देखि बेखबर ।

खोइ त, मैले त केही पनि देखिन त अनि !

वसन्तको भयाकुल स्थितिबाट ज्यादै टाढा छ राज ।

लु त जाऔं सबैजना कहाँ रहेछ यसको भूत ।

सबैजना अघि बढिहाल्न अलि हच्किए तर विन्दे अलि मोटो र बलियो भएको हुनाले उसको नेतृत्त्वको पछि लाग्न राजिभए ।

बिन्दे बिस्तारै अघि बड्दै गयो अरुहरू उसको पछिपछि सास थामेर घरिघरि आफू पछाडि पनि हेर्दै अघि बड्दै थिए । अचानक एउटा परेवा जस्तो सेतो सेतो पंक्षी फटटट…. गर्दै उड्दै जाँदा सबैजना तर्सेर एकछिन भागाभाग भए । यसपल्ट पनि राजलाई सबैजले बिर्से । ऊ त भयग्रस्त भीडमा कुद्दा कुद्दै खुट्टाले सहारा दिनसकेन अनि भुइमा लड्यो । पछि साथीहरूले फेरी उठाए ।

एउटा मामुली पंक्षी उडेको रहेछ भन्ने भएपछि फेरी सबैजना आए । विन्देले टर्च चारैतिर तर त्यहाँ केही पनि थिएन । वसन्त झ्यालको छेउमा गएर भूतको कहानी शुरु गर्यो –

हो….. यही नै त्यसको खुट्टा देखेको थिएँ । हातले चाहिँ झ्यालको डन्डा तान्दै थियो ।

सबैलाई वसन्तको कथालाई पत्यार गर्न गाह्रो भइरहेको थियो, तर सत्य पो भइहाल्ला कि भन्ने पनि डर कता कता थियो ।

धेरै बेरसम्म कोठाको चारैतिर खोजतलासी पछि पनि भूतको ठेगान नलागे पछि सबैले वसन्तलाई सम्झाए, ढाढस दिए अनि सबैजना त्यो रातभरी जागा बसेर भयमुक्त वातावरण बनाए ।

भोलिपल्टदेखि भूतको खूबै चर्चा हुनथाल्यो । होस्टेलका केटाविद्यार्थीहरू सबैजना भूत भगाउने अभियानमा जुटे । राती राज र वसन्तको कोठामा भेला भएर पालैपालो कथा भन्दै डर भगाउदै गर्नथाले । विन्देले कथा शुरु गर्यो –

धेरै वर्ष पहिले त्यस देशमा हवाइजहाज वा हेलिकोप्टरहरू केही पनि थिएन । स–साना मोटरहरू थिए । राजा महाराजा र हुनेखानेहरूमात्र मोटर जढ्न पाउँथे । त्यसो भएता पनि त्यस देशका जनताहरूचाहिँ निकै बाठा थिए । वर्षमा धेरैपल्ट आम हडताल बन्द आदि हुने गरेकाले मोटरमा सवार गर्ने राजा महाराजा र धनी मानिसहरू दिक्क हुने गर्थे ।

त्यस देशमा एउटा गरीब रिक्सावाल थियो । उसको पेटपाला त्यसै रिक्साबाट हुने गर्थ्यो । तरपनि उसले धेरैजना गरीबहरूलाई सित्थैंमा रिक्सा चढाएर टाढा टाढासम्म पुर्याइदिएर धेरैपल्ट सहायता पुर्याएको थियो ।

एक समय यस्तो भयो कि राजा सरुम्बाहाङ् आफ्ना कारमा सवार भएर सयल गर्न जाँदैगर्दा हडतालमा फसे । टाठाबाठा जनताहरू राजासँग के झुक्थे र ! चर्को चर्को नाराबाजी लगाउँदै राजा सरुम्बाहाङ्को कारको टायरको हावा खोलिदिए । धन्न कारचाहिँ जलाएनछन् । तर हावा खुस्केको कारमा किन पो सवार गर्थे र उनी । हडताल खुलेपछि सहिसलामत आफ्नो कार लैजान पाउने शर्तमा बाठा जनताले राजा सरुम्बाहाङ्लाई विदा गरे । निरास भएर राजा सरुम्बाहाङ् पैदल यात्रा गर्नथाले । भाग्यले त्यो गरीब रिक्सावाल त्यतैतिर आउँदैथियो । हडतालमा रिक्साचाहिँ चल्नपाउने छुट थियो । रिक्सावालले राजालाई चिनिहाल्यो ।

सरकारको जयहोस् !

रिक्सावाल राजा अघि झुक्यो । उसलाई हडतालको कुरा थाहा थियो र राजाको पैदल यात्रा पनि बुझिहाल्यो । उसले आफ्नो रिक्सामा राजालाई सवार गर्न खूबै विन्ती गर्यो । राजा सरुम्बाहाङ् प्रजाप्रेमी थिए । गरीब रिक्सावालको इच्छा पूरा गर्नपाए लोक कीर्ति रहने कुरा उनले झट्टै सम्झे । त्यसपछि उनी रिक्सामा सवार हुन तयार भए । रिक्वावालको हर्षको सीमा रहेन । राजा सरुम्बाहाङ् जस्ता ब्यक्तित्त्वलाई आफ्नो रिक्सामा सवार गराउन पाउँदा गरीबको पनि दिन फर्किआउँदो रहेछ भन्ने भान्‌ भैरहेको थियो । खुशीको जोसमा उसले कत्ती दूरी पार गरिसकेको थियो भन्ने हेक्का नै रहेन ।

छुट्ने बेला राजाले रिक्सावाललाई बकस दिने इच्छा गरे तर उसले लिन मानेन । राजाको सेवा गर्नपाउँदा र राजालाई आफ्नो रिक्सामा सवार गराउन पाउँदाको दोब्बर आनन्दको अघि कुनै पनि मूल्य बराबर थिएन ।

जीवनमा कहिल्यै नपाउने कुरा पाएपछि ऊ घर फर्कियो । ऊ ज्यादै थाकेको थियो । मज्जाले निदायो । भोलिपल्ट उठ्न पनि सकेन । ऊ कहिल्यै पनि नउठ्नेगरी हँसिलो मुहारमा निदाइरहेको थियो । शायद उसले खुशी पक्रिराखेको थियो । उसलाई हेर्नआउने छिमेकीहरू सुँक्सुकाउँदै रुन थाले ।

विन्देको कथा सुनेर सबैजना भावविह्वल भए । भूतको प्रभाव उनीहरूमा कम हुँदै गैरहेको थियो ।

अब म भन्छु कथा ….! , अर्को एकजना तम्सियो ।

लौ सुन….. उहिले उहिले ईश्वरले मानिसहरूलाई भनेछन् – म तिमीहरूलाई दूध र मह बग्ने देशमा लैजानेछु ।

यस्तो कुरा सुन्नासाथ मानिसहरूको मनमा दूध र मह बेचेर थुप्रै पैसा कमाउने र के के गर्ने स्वार्थी सपना देख्न थालेछन् । ईश्वरलाई दिने नित्य सेवा, सद्गुण, प्रेम आदि सबै बिर्सेर अवसरबादी बन्न थालेछन् । यो कुरा देखेर ईश्वरले उनीहरूलाई घुमाइफिराइ बारुद र बन्दूकको देशमा पो पुर्याइदिएछन् ।

धेरैले कथा भने, तर कसैले पनि भूतप्रेतको कथाचाहिँ भनेनन् । शायद कथाकारलाई आफ्नो परिस्थिति थाहा छ ।

अबको कथा भन्ने पालो राजको थियो । उसमा कुनै काल्पनिकता थिएन । जे थियो ऊ आफै थियो ।

मेरो कथा, मेरो खुट्टाको कथा हो ।

लामो सास लिँदै राज गम्भिर भयो । उसले आफ्नो दाहिनेपट्टिको ट्राउजर माथि घुँडासम्म सुर्कायो । घुँडानेर एउटा बटम जस्तो केही थिच्यो । उसको दाहिने खुट्टा सर्लक्क निकालेर झ्यालको छेउमा राख्यो । सबैजना छक्क पर्दै हेरे – राजको खुट्टा नक्कली रहेछ ! घुँडामुनिको भाग डुँडो रहेछ । सबैजना सहानुभूतिले भरिए तर भाषामा ब्यक्तगर्न भने कसैले पनि सकेनन् ।

जनयुद्धको बेलामा ईलाममा राती ८ बजेदेखि बिहानसम्म गोली चलिरह्यो । मृत्युलाई नजिकैबाट नियालेर बाँचिरहन कति भयानक हुँदोरहेछ । मेरो अनुहार नजिकैबाट कयौं गोलीहरू बत्तासिएर गए । अँध्यारोमा गोली त रातो फिलुङ्‌गो झैं देखिँदो रहेछ । गुहारका लागि आउनेवाला कोही थिएन । सबै बजार बन्द । सबै ढोका ठप्प । बत्तीहरू सबै छ्‌याप्छुप् निभेका ।

मेरो छेउमा हर्के कुन्नि के भन्दै थियो । एकछिनमा बाख्राको पाठा कराए जस्तै ‘म्याँ ! ’ गर्यो । बोल्दाबोल्दै मान्छेलाई गोली लाग्दा त्यस्तो आवाज पो निक्लँदो रहेछ ।

राजको वर्णनमा विभत्स रस मिसिँदै गयो । साथीहरूले खुट्टाको कहानी बुझिहाले । युद्धको इतिहास शब्दहरूमा वर्णन गर्न राज डुँडो खुट्टालिएर बाँचेको रहेछ । सबैजनाले मलिन मुद्रामा राजलाई हेरे । दाहिनेपट्टिको ट्राउजर हावामा अलिअलि झुलिरहेको थियो । झ्यालमा उसको कृत्रिम खुट्टा ठिङ्ग उभिएको थियो । मनभित्र विद्रोहको धारा प्रवाह भाषण थियो तर ओँठहरू बन्द थिए । दिलभित्र बिलौनाको महाकाव्य थियो तर केवल आँखाहरूमात्र बोल्न बोल्न खोज्थे ।
त्यो कृत्रिम खुट्टो त्यहीँ थियो, त्यस्तै थियो – झ्यालको छेउमा । विन्देले त्यसलाई राम्ररी नियालिरहयो । घरिघरि वसन्तलाई पनि हेर्दैथियो । एक्कासि ऊ जोडले हाँस्यो । सबैजना अचम्मित भए । ऊ हाँस्दै थियो । एकछिनमा कुनै साथीहरूलाई त साह्रै रीस उठ्न थाल्यो – त्यस्तो गम्भिर युद्धको कथामाझ पागल अट्टहास कहाँबाट आयो ? सबै छक्क पर्दै रीस–रीस पनि गर्दै थिए ।

व….वसन्तेको भूत ….! हा…हा…हा… वसन्तेको भूत !

विन्देले राजको कृत्रिम खुट्टालाई देखाउँदै मुख थुनेर हाँस्दै हाँस्दै बाहिर निस्कियो । एकछिन पछि मात्र अरुहरूले कुरा बुझेर वसन्तलाई देखाउँदै हाँस्नलागे । वसन्तको रातीको भूत त राजको प्लास्टिकको कृत्रिम खुट्टा पो रहेछ । वसन्त झुक्किएको रहेछ, त्यसैले सबैजनाले गएरात दुःख पाएका रहेछन् ।

त्यस रात सबैजना अबेरसम्म कथा भन्दै हाँस्दै आनन्दले निदाए । भोलिपल्ट बिहान होस्टलका विद्यार्थीहरू खेल खेल्न जम्मा भए । वसन्त, विन्दे र अरु साथीहरू अघि नै आइसकेका थिए । प….र बाट राज खच्याङ् खच्याङ् गर्दै उनीहरूतर्फ आउँदै थियो । विन्दे फेरि हाँस्न थाल्यो –

उ….! भूत आयो है, भूत आयो ……!!

विन्देको कुरा सुनेर सबैले हाँसो थाम्न खोजे तर सकेनन् ।

2 thoughts on “देउता–भूत”

  1. ठिस बुढा

    सुशील सुब्बाको भूत …
    नमस्कार !
    कथा राम्रो लाग्यो । कथा भन्ने तरिका गज्जबको छ ।

    अरु पढ्ने आशा राखेको छु ।

    धन्यवाद ।

    बाई !

  2. राजलाई बोकाउँदा
    नमस्कार

    कथा पढेर प्रतिक्रिया दिनुभएकोमा धन्यवाद छ । राजलाई देश बोकाउन खोजेको छु । म कति सफल भएँ थाह छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *