Skip to content


गोधूलि साँझले त्रिशूलीको पानी सुनजस्तै टल्किरहेको थियो। हिउँदको याम, त्रिशूली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो।

तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए। त्रिशूलीका वारपिारकिा सालका बोटमा झुन्डिरहेका हरिया पातहरूलाई म कालो देख्दै थिएँ। नदीको पानी कहिले ह्वात्तै बढेर मलाई छोप्न आएजस्तो लाग्थ्यो। कहिले पानी सुकेर ढुंगा र बालुवा मात्र बाँकी रहेको लाग्थ्यो। म फेरि आँखा मिचेर हेर्थें, शान्त त्रिशूली उस्तै थियो, सुन्दर र एकाग्र। एउटै प्रवाहमा त्रिशूली बगिरहेथ्यो।

भित्री मन भन्थ्यो, निधारमा अयोग्यताको टीका लगाएर बाँचिरहनुभन्दा त समाप्त पारििदउँ यो जिन्दगीलाई त्रिशूलीको शान्त प्रवाहमा ! तर, त्यसो गर्नुलाई कायरता नाम दिइएको थियो समाजद्वारा। त्यसकारण ‘कायरता’ भनिएको त्यो ‘बहादुरी’ देखाउने मेरो हिम्मत थिएन।

केहीछिनअघि छेउबाट माझीदाइ उही पुरानो गीत गाउँदै डुंगा लिएर आएको थियो। उसको डुंगा गाई-भैँसीलाई खुवाउने घाँसले भरिएको थियो। माझीदाइ त्यही थियो, जसलाई मैले वर्षौंअघि देखेको थिएँ। अहिले फेरिएको छ केवल उसको उमेर। तर, गीत उही छ, उत्साहप्रद र लयात्मक। उसले गर्ने काम पनि उही र उस्तै छ। नदी त्यही छ, केवल पानी फरक छ।

तर, म ! मेरो जीवन !!

म संसार बदल्न हिँडेको मान्छे। क्रान्ति गर्न हिँडेको मान्छे।

मभन्दा त्यो माझीदाइ धेरै गुना बढी योग्य देख्छु अहिले। ‘अयोग्य’ म मात्रै। घोषित अर्थात् प्रमाणपत्रधारी ‘अयोग्य’।

अयोग्यताको यो प्रमाणपत्र भिरेर अब कुन शिविरमा जाउँ म ?

हरेक वस्तु फेरिएका छन्।

म श्यामसुन्दरबाट ‘भीषण’ भएको छु।

सबैभन्दा ठूलो कुरो, अब मैले बाँकी जिन्दगी बिताउनुपर्ने मेरो प्रिय गाउँ फेरिएको छ।

मेरो समाज फेरिएको छ।

मेरा आफन्त फेरिएका छन्।

तिनले मलाई हेर्ने दृष्टिकोण फेरिएको छ।

म जन्मेको मेरो आफ्नै घर-आँगन फेरिएको छ।

केही वर्षअघिसम्म यो गाउँ, समाज मात्र होइन, पूरै क्षेत्र नै मसँग डराउँथ्यो। र, मैले जे भन्यो त्यही गर्थ्यो। अर्थात्, मैले यो क्षेत्रभरि डर वितरण गरेको थिएँ। यो मेरो परिवार पनि अहिले पूरै फेरिएको छ। बाबुले अर्कै श्रीमती ल्याएपछि नै उनी मेरा थिएनन्, अर्कैको भएका थिए, न त म नै उनको थिएँ। मेरी आमा कस्ती थिइन्, मलाई थाहा छैन। सायद दुई वर्षको थिएँ म, उनको निधनताका। त्यसैले मलाई उनको अनुहार पनि सम्झना छैन। आमाको ममता कस्तो हुन्छ, म भन्न सक्तिनँ।

बाबु र सौतेनी आमा दुवै मसँग डराउँथे। म कहिलेकाहीँ यसो घर पस्दा उनी भागेर छिमेकमा लुक्न पुग्थिन्। अहिले उनी पनि मलाई देख्दा आँखा तर्न थालेकी छन्, बाबुले जस्तै।

मेरो चाहना अब पनि उही पुरानै ‘डर’को पुनरावृत्ति होस् भन्ने छैन। अब मलाई यो समाज र मेरा आफन्तले अलिकति स्नेह र विश्वासका आँखाले हेरििदए मात्र पुग्छ। आज मेरो यो सामान्य चाहना पनि किन पूरा हुँदैन ?

मलाई ममाथिको यो आकाश फेरिएको महसुस हुँदैछ। किन यो आकाश सधैँ धुम्म देख्छु म ! यो आकाश नै यस्तो हो कि मेरो दृष्टिदोष ? कसलाई सोधूँ म यो प्रश्न ! किन खुल्न जान्दैन छ्याङ्ङ यो आकाश ? मेरो अहिलेको अवस्थासँग के यो आकाश पनि परििचत छ ? यो धर्ती किन यति अनुर्वर ?

यो त्रिशूली किन यति शान्त ? म उभिएको यस जमिनमा मैले कुनै बंकर खन्न दिएको थिइनँ। कुनै बम पड्काउन दिएको थिएन। मेरो आदेशमा यस भेगमा कुनै हत्या भएको थिइनँ। तर पनि किन यतिविघ्न कृतघ्न भएको यो गाउँ ?

मैले आफ्नो जीवन समर्पित गरेको पार्टीले त मलाई ‘अयोग्य’ घोषित गर्यो नै, यो गाउँले पनि मलाई किन अयोग्य मान्दैछ ?

किन मलाई अस्वीकृत गर्दैछ ?
—-

शिविरबाट अयोग्य भनी निकालिएपछि म गाउँ फर्किएको छ महिना भएको छ। यस अवधिमा मसँग निकै थोरै मात्र मान्छे चाहेर बोलेका छन्।

घरको कोठामा म एक्लो छु। गाउँका एकै छिमलका दौतरीहरू अधिकांश पलायन भइसकेका छन्, युद्ध अवधिमै। सबैले छाडेको यस गाउँमा म फेरि फर्किएको छु। म बसेको लडाकू शिविरबाट सयभन्दा बढी योद्धा एकैपटक अयोग्य घोषित भई निकालिएका थियौँ। अयोग्यमध्ये हिक्मत, बादल, प्रभात, हर्क र म अलि बढी नै मिल्थ्यौँ। हामी लडाकूमा प्रवेश गरेको मिति करिब एउटै थियो, युद्ध घोषणा भएको झन्डै दुई वर्षपछि।

कमान्डरसँग बेलाबेलामा विमति भइरहन्थ्यो। त्यसबखत हामी एक हुन्थ्यौँ। त्यो शिविरबाट हामी पाँचै जना अयोग्य घोषित भएका थियौँ।

कमान्डरले माथिको आदेश भन्दै ‘देशमा दिगो शान्ति र प्रगतिका लागि’ केही नबोली शिविर छाड्न आदेश दिएका थिए, केही हजार रुपियाँ थमाएर। तैपनि, हामीले आफूहरू अयोग्य हुनाको कारण सोधेका थियौँ। तर, जवाफ बिलकुल चित्तबुझ्दो थिएन। लडाकूमा प्रवेश गर्दा र हालको उमेर, शारीरिक अवस्थालगायतका सामान्य तर्क दिएर हामीलाई अयोग्यको कोटीमा राखिएको थियो।

दुनियाँमा त्यस्तो के होला, जुन क्षणभरमै महान् हुन्छ र फेरि क्षणभरमै अत्यन्तै खराब हुन्छ ? विश्वास वा अविश्वास घट्न तथा बढ्न पनि त केही समय लाग्छ ! तर, योग्यबाट अयोग्य हुन किन यति हतार ? योग्यदेखि अयोग्यसम्मको दूरी यति छोटो होला भनेर मैले सोचेको पनि थिइनँ।

यी सबै प्रश्न तथा सफाइहरूको प्रक्रिया म आफूसँग मात्र चलिरहेको छ। मसँग अब प्रश्न सोध्ने मान्छे पनि कोही बाँकी छैन। मेरो प्रश्नको उत्तर दिने झन् को होला र ! फगत मसँग मेरो एकाकीपन छ। आठ वर्ष देश र जनताका नाममा भनिएको लडाइँमा लागेका स्मरणहरू छन्। र, तिनले दिएका झीनो आनन्द र भयंकर ग्लानि तथा पश्चात्तापहरू छन्।

म यही निश्छल त्रिशूलीलाई साक्षी राखेर युद्ध मैदानमा उत्रिएको थिएँ। प्रवेशको छोटै समयमा ‘योग्य’ भन्दै काँधमा फुली थपी पाएको थिएँ।

त्रिशूली यहीँ छ, मेरो घरको छेवैमा- उस्तै र उही लयमा बग्दैछ। मेरो जिन्दगीका भने सारा लयहरू भंग भएका छन्। लयहीन, बेसुरा, अभाव, एकाकीको पर्याय भएको छ जिन्दगी। अपमान, हेय, अविश्वास आठ वर्षबीचमा मैले कमाएको सम्पत्ति हुन पुगेको छ।

अयोग्य भई शिविर छाडेको एक महिनामा आत्महत्या गर्ने मेरो प्रिय साथी हिक्मतसँग सुरुमा त मलाई असाध्यै रिस उठेको थियो। तर, पछि मैले महसुस गरेँ, उसले किन जिन्दगी अगाडि बढाउन सकेन । मजस्तै हिक्मत पनि शिविरबाट सोझै आफ्नो गाउँ हानिएको थियो। मैले अहिले जे भाग्दै छु, ऊ पनि त्यस्तै अथवा त्यसभन्दा दूरावस्था भोग्दै थियो। उसले मलाई भनेको थियो, ‘भीषण म र मेरा लागि यो दुनियाँमा अब बाँकी केही छैन। म अब कि त भारत पलायन हुन्छु कि त घरछेउको यही कोसीमा हाम्फाल्छु।’

त्यसबेला मैले उसको चित्त बुझाउन कुनै बेग्लै ढंगको राजनीतिक पार्टी खोलेर हामीसँगै अगाडि बढौँ भनेको थिएँ। तर, उसले मानेन। “म कुनै राजनीति गर्न चाहन्नँ, यो शब्दसँग नै मलाई अरूचि छ,” उसले भनेको थियो।

हिक्मतको देहान्तको दुई साता पनि नपुग्दै अर्को साथी हर्क जिल्ला सदरमुकामको व्यस्तबजारमा मृत फेला परेको खबर आएको थियो। ऊ अर्की एउटी ‘अयोग्य’ घोषित लडाकूसँग बिहे गरेर बसेको थियो। उनीहरूले बजारमा एउटा पत्रिका पसल चलाएका थिए। तर, अचानक उसको मृत्युको खबरले मभित्र एकप्रकारको अत्यास पैदा गरििदएको थियो। त्यसपछि मभित्रका बचेखुचेका साहसहरू खर्ल्यापखुर्लुप भए। बादल र प्रभात त शिविरबाट घर नगई भारत पलायन भएका थिए। उनीहरूको हालको अवस्थाबारे मलाई कुनै जानकारी छैन।

मलाई राजनीतिक अभीष्ट सिद्धिका लागि मारिएका हजारौँ मान्छेहरू सम्भिएर अहिले ठूलो विस्मात् लागेको छ।

त्यो भयंकर कालावधिभित्रका विविध घटनाप्रति विस्मात् छ।

बन्दुक चलाउन जति सिपालु थिए मेरा हात, त्यति नै गाउँका मान्छेहरूलाई सम्झाइबुझाइ गर्न पनि निपुण थिए मेरा शब्दहरू। बास माग्न वा सहयोग माग्न पनि मलाई नै अगाडि सार्थ्यो मेरो टोलीले।

सधैँ मैले साथ दिएको, सम्मान गरेको, विश्वास गरेको कमान्डरले नै अयोग्य भनेको देखेर विस्मात् लागेको छ।

अर्को ठूलो विस्मात्, मेरो क्रान्तिकारी पार्टी केही दिनअघि मात्र गठबन्धन सरकारमा साझेदार बनेकामा लागेको छ। साझेदारीमा उसले तीनवटा मन्त्री, दुई देशमा राजदूत, सात सरकारी निकायमा अध्यक्ष तथा महाप्रबन्धक पद हात पारेको छ।

खल्तीमा रहेको रातो रङको रुमाल झिकेर त्यसमै थुकिदिन्छु म। यो साँझ पुनः उल्लिखित घटना मेरो मानसपटलमा ताजा भएर आएको छ। टाउको दुखेजस्तो, रंिगटा लागेजस्तो, वाक्वाकी लागेजस्तो हुन थालेको छ मलाई। आँखाअगाडि हिक्मत र हर्क नाच्न थालेका छन्।

‘एकबारको जिन्दगीमा अयोग्य भएर कति समय बाँच्छौ भीषण ?’ दुवैले एकै स्वरमा प्रश्न गरेजस्तो लागेको छ मलाई।

त्रिशूलीको पानी एकाएक रगतजस्तो रातो भएको देखेँ मैले।

झ्वामलाङ्ङ…!!

म त्रिशूलीमा खसेको आवाज मलाई निकै सुमधुर र लयबद्ध लागेको छ।

तर, कति गाह्रो हो यो रगतको नदीमा पौडी खेल्न…!!!

नेपाल साप्ताहिक ४३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *