एक नेताकी अलि खरो, अन्याय सहन नसक्ने कडा स्वभावकी पत्नी थिइन्। उनलाई नेताहरूले बेमतलबको फाल्तु कुरामा बहस गरी धन र समय खेर फालेको पटक्कै मन परेको थिएन । पुर्खाले कति दुःखकष्ट सही रोपिदिएका बिरुवालाई सबै मिली मलजल हाली हराभरा बनाउनुको साटो जरै उखेल्ने कुरामा सहमति जनाउँदै निमिट्यान्न पार्न खोज्दै छन् भन्ने उनलाई लाग्छ। नयाँ नयाँ विकासबारे अझ जनतालाई शान्ति सुरक्षा र राहत दिनेबारे जोरदार बहस र छलफल भयो भन्ने उनले कहिल्यै कहीँ सुन्न पाइनन्। खालि उही पुराना संरचना भत्काउने र जनतामा त्रास फैलाउँदै, आपसमा मनोमालिन्य र विद्रोहका कुरा मात्र गर्दै हिँडेको देख्छिन्।

सधैँ उही घिसीपिटी बहसका कुरा सुन्दासुन्दा वाक्क भएकी नेतापत्नीले पार्टी बैठकबाट फर्केका पतिलाई सोधिन्, “आज पनि बैठकमा उही पुराना कुरा गर्दैमा बित्यो होला होइन ?”

नेतापतिले गर्वसाथ भने, “होइन, आज हामीले ठूलो विवादित कुराको टुंगो लगायौँ। त्यो के हो थाहा छ ? नेपालको झन्डा पहिलेको नै यथावत् रहने भयो। त्यसमा कुनै हेरफेर हुने भएन।”

नेतापत्नीले आक्रोश पोख्दै भनिन्, “कस्तो काम नपाएकाहरूको जमात रहेछ। त्यो पनि कुनै बहस गर्नुपर्ने विषय हो र ? संसारभर ‘नेपाल’ भन्नासाथ चन्द्र-सूर्यअंकित झन्डा भन्ने जनाउँछ। सबैको मानसपटलमा यही छाप गढेको छ। कत्रो अर्थ, गौरव र महिमा बोकेको छ यसले। नेपालीको पहिचान हो यो।”

उनले अगाडि भनिन्, “होइन जनताले चुनेर तपाईंहरूलाई त्यहाँसम्म पुर्याएका के यस्तै फाल्तु कुरामा समय बिताउन हो ? यति लामो समयको उपलब्धि के यही हो त ?”

नेताले पत्नीलाई सम्झाउँदै भने, “तिमी कुरै बुझ्दिनौ कति कुरा मन नपरे पनि पार्टी निर्णय भनेपछि स्वीकार्नुपर्छ।”

रातो रातो मुख पार्दै नेतापत्नीले भनिन्, “मन नपरेको कुराको विरोधमा बोल्न पनि नपाइने ? कस्तो हैकमवाद ? ओहो ! त्यसो भए भोलि पार्टीले तिम्रो बाबुआमा हामीलाई मन परेन बदल्नुपर्यो भन्यो भने बदल्नुहुन्छ ?”

ती नेतालाई पत्नीका कुरा मनासिब लाग्यो। रिसले रन्किँदै गरेकी पत्नीलाई मनमनै तारिफ गर्दै अ…जेहोस् नेतापत्नी भन्नलायककी छ मेरी बूढी भन्दै मुसुमुसु हाँस्दै हेर्दै थिए।

नेपाल साप्ताहिक ४३६
२०६७ चैत्र ६

मझेरीमा प्रथमपटक प्रकाशित- 2011-03-20 16:06:29 +0545

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *