यसपालि खगेन्द्र सरलाई देखेँ मैले। खगेन्द्र सरलाई नदेखेको १८ वर्ष भइसकेको थियो। बुझाएर पढाउनुपर्दा र बुझाएर पढाउनेहरूको कुरा चल्दा खगेन्द्र सरको आकृति मेरो आँखाअघि उभिन्छ। खगेन्द्र सरको आकृति उभिएपछि म पनि मिहिनेत गरेर पढाउन थाल्छु। विद्यार्थीहरूले जटिल मानेका समस्याहरूलाई निकै खोतलेर पढाउँछु अनि बुझाउँछु।
खगेन्द्र सर हामीलाई प्राथमिक तहमा गणित र विज्ञान बुझाएर सिकाउने गुरु हुन्। छैटौँ र सातौं श्रेणीको विज्ञान विषय छिचोलेर पढाउने गुरु हुन्। शिष्यहरूमा आफ्नो शिक्षण धर्मको पवित्र कर्तव्य खन्याउने गुरु हुन्। आफ्नो क्षमताको पोको निःस्वार्थी भावनाले फुकाउने गुरु हुन्। चेतनाको गोरेटो खनेर त्यसैमा हामीलाई डोर्याउने गुरु हुन्। बुझ्दै जाँदा लाग्छ, विषयवस्तुलाई सरलीकृत गरेर चिरफार गर्ने गुरुको नाम हो खगेन्द्र सर अर्थात् खगेन्द्र थापा र थुप्रै विद्यार्थीहरूका थापा सर !
विपन्न किसानका थुप्रै छोराहरू दुई-अढाइ घन्टाको ढुङ्गे बाटो छिचोलेर स्कुले शिक्षा आर्जन गर्ने समय थियो खगेन्द्र सरको समय। सबैभन्दा ढिलो विद्यालय पुग्यो, पछिल्लो बेन्चमा बस्यो, थकाइले झुल्यो, जटिल समस्याहरूका पहाड बोक्यो, रात परेपछि घर पुग्यो, पाडाबाच्छा लायो, ढिँडोरोटो खायो, भोलिपल्ट उही झोला भिर्यो र उही रफ्तारमा स्कुलतिर दौडियो। यस्तै सिलसिला पछ्याउनुपर्थ्यो खगेन्द्र सरका पालामा। यस्तै दुःखकष्टमा हुर्किएका, राम्रै मस्तिष्क भए पनि अवसरबाट ठगिएका धेरै गरिब खगेन्द्र सरहरू एसएलसी परीक्षा उत्तीर्ण हुन्थे र बन्थे मास्टर। हिजोआज विद्यालयको शिक्षा आर्जनमा यस्तो अप्ठ्यारो छैन तर जागिरका लागि गरिबको मारका भीडहरू लामै लहरमा लामबद्ध छन् र एकपछि अर्को चरण छिचोलेर उभिएकाहरूको ताँती बढ्दो छ, संख्या थपिँदो छ।
इलाम, सोयाङको एक गरिब परिवारका जेठा छोरा खगेन्द्र सर, नामसालिङ माविका २०३७/३८ तिरका नियमित विद्यार्थी थिए। खाने मुख धेरै, काम गर्ने हात भने थोरै भएको परिवारका एक जिम्मेवार सदस्य थिए उनी। त्यसकारण एसएलसीलगत्तै जागिरको मेलो मिले त्यसैमा सामेल हुने एक विद्यार्थीका रूपमा दर्ता हुन पुगेका थिए खगेन्द्र सर। उच्च शिक्षाको सम्भावना आफ्नो पढाइ र क्षमताका कारणले नभई परिवारको आर्थिक विपन्नताका कारण रोकिएर गयो उनको। यस्तैमा नयाँबजार माविमा रिक्त रहेको प्रावि तहको अस्थायी दरबन्दी नै उनका लागि राम्रो सम्भावनाको उपयुक्त ढोका बन्न पुग्यो। तत्कालका लागि अति उत्तम सम्भावना र राहत यही थियो, त्यसैले यसैलाई समातेर उनी, त्यसैका भित्ता-खोल्सा र डाँडापाखामा लहरिंदै झ्याँगिन थाले।
आशावादी बन्नु र एउटा सम्भावनाबाट अर्को सम्भावना खोज्दै वर्तमानलाई टेकेर भविष्यको रचना गर्नु मानवीय स्वभाव र गुण हो। त्यही स्वभाव र चरित्रमा अडिएर खगेन्द्र सरको दैनिकी पनि निरन्तर गुडिरह्यो। परिवारका आवश्यकताहरू चौमासिकले टाल्दै परिवारको भरोसाको केन्द्रविन्दुका रूपमा खगेन्द्र सर हिँडिरहे, हिँडिरहे।
बुझाउने क्षमता, मिहिनेत गर्ने बानी, पाठयोजना अनुसारको शिक्षण, विद्यार्थीको जिज्ञासालाई जतिपल्ट भए पनि बताइदिएर शान्त पार्न सक्ने क्षमता खगेन्द्र सरका विशिष्ट र अतुलनीय गुणहरू हुन् र यिनै विशेषताले मेरा दृष्टिमा खगेन्द्र सर एक असल र सफल शिक्षकका कोटीमा छन् सधैँ। त्यतिबेला र यतिबेला पनि खगेन्द्र सरको स्तरमा शिक्षण गर्ने शिक्षक-शिक्षिकाहरू ज्यादै कम देखेको छु मैले। शिक्षणका नाममा केवल झारा टार्ने प्रवृत्ति भएकाहरू धेरै भेटिन्छन् हिजोआज। सरकारी दरबन्दीका शिक्षकहरूको अवस्था र प्रवृत्तिलाई अवलोकन गर्ने हो भने यो प्रवृत्ति धेरै भेटिन्छ हामीकहाँ। शिक्षाको गुणस्तर खस्कँदै जानुको कारण, पर्दा उघारेर छर्लंगै देखाइदिन्छ यही प्रवृत्तिले सबैलाई।
खगेन्द्र सरले जागिर पाएपछि घरको अवस्था पनि सुध्रिंदै गएछ। खेतबारी खनजोत, मकै, गहुँ, जौ आदिको व्यवस्थापन उनकै मातापिता र परिवारले हेरचाह गर्ने, उनका भाइबहिनीहरू उनकै छायामा पढाइलेखाइलाई अघि सार्दै अघि बढ्ने हुँदै निकै राम्ररी सप्रिएछ उनको परिवारको अवस्था। पढाएपछि छोराले जागिर खान्छ, जागिर खाएपछि घरका सबै समस्याहरू सजिलैसँग हल हुँदै जान्छन् भन्ने सोचाइ हरेक खगेन्द्र सरका पिताजीहरूको हुने गर्छ। गाउँका पढेलेखेकाहरूले गर्ने जागिर भनेकै मास्टरी हो, त्यसैबाट परिवारको उन्नति राम्ररी हुने गर्छ भन्ने सोचाइ खगेन्द्र सरका पिताजीहरूको रहिआएकै छ। गाउँकाहरूले पनि यस्तै सोचेर छोराहरूलाई एसएलसीसम्म र कसैकसैले सकेदेखि एक तह माथिसम्म पढाउने परिपाटी थियो, त्यतिबेला। छोरीहरूलाई त्यसबेला शिक्षाको माथिल्लो अवसर त्यति थिएन। अचेल जागिरको अभाव बढ्दै गएको र मानिसहरूमा चेतना थपिँदै गएकाले यो सोचाइमा अलि-अलि परिवर्तन आउँदै गएको छ। त्यसैले, छोराहरू अझै अर्को तहमा उक्लिएर पढ्दै छन् अनि छोरीहरू पहिलेभन्दा केही थप पढेर पराईघर जाँदै छन्।
०४६ सालको प्रजातन्त्र प्राप्तिपश्चात् देशमा परिवर्तनका थुप्रै रेखाहरू कोरिए। राजनीतिक चेतनाको बीजारोपण गाउँगाउँसम्म हुँदै गयो। गाउँलेहरूमा चेतनाका बीउ छर्नेहरू धेरैजसो गाउँका शिक्षक तथा कर्मचारीहरू नै थिए। शिक्षित समुदायमा प्रजातन्त्रको उज्यालो धेरै थियो त्यसैले, त्यसको अर्थ उनीहरूले नै नजान्नेहरूलाई बाँडे। एउटा-एउटा राजनीतिक पार्टीको झन्डा समातेर शिक्षक तथा कर्मचारीहरू पनि आ-आफ्ना राजनीतिक पार्टीका स्वार्थसिद्धिका मन्त्रहरू जपेर हिँडिरहे। ०४८ सालको निर्वाचनपछि बनेको सरकारले आफूलाई मन लागेका परिवर्तनहरू गर्दै हिँड्यो। रिक्त रहेका विविध कार्यालय तथा विद्यालयहरूमा स्थायी आयोगका नाटकहरू रच्दै आफ्ना कार्यकर्ता भर्ती गर्न थाल्यो। यसको मारमा शिक्षासेवा आयोग नराम्ररी गाँजिएको थियो। शिक्षा सेवा आयोग त त्यसबेलाको सरकारले रचेको आफ्ना कार्यकर्ता भर्तीकेन्द्रको नमुना नै बन्यो। त्यसैले, त्यतिबेला धेरैले जित्ने पार्टीमा लागेको फाइदा पनि उठाए। आफू सो पार्टीको कार्यकर्ता भई भोट खसालेको कार्यलाई सार्थक सम्झे। धेरैलाई विपक्षमा बसेकामा पश्चात्ताप लाग्यो। कतिले त तुरुन्तै पार्टी परिवर्तन गरी जागिर खान कता लाग्नुपर्ने रहेछ त? भन्ने प्रश्नको जवाफसहित उदाहरण पनि पेस गरे।
यसैको मारमा किचिएकाहरूमध्ये हाम्रा खगेन्द्र सर पनि एक थिए। विपक्षमा बसी राजनीति गरेको, विपक्षीलाई दिलोज्यान दिई भोट हालेर जिताएको र विपक्षी पार्टीको उदाहरणीय कार्यकर्ता बनेको भन्ने सुनिएका हाम्रा खगेन्द्र सर त्यही आयोगमा फेल भई घर न घाटको बन्न पुगे। आयोगको परिणामले उनमा चरम निराशा उत्पन्न गरायो। त्यही विन्दुमा खगेन्द्र सर शिक्षक भएर कमाएको आफ्नो लामो अनुभव त्याग्दै पुनः आफ्नै खेतबारी र पाखाका राम्रा हली र त्यस्तै पाटामा काठ चिरानकटानका कुशल आरावाल बन्न पुगे।
शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने बोलीहरू सुनिए। खगेन्द्र सरको योग्यतामाथि प्रश्नचिह्नहरू उठे। कसैले उनको गरिब र परिवारप्रति सहानुभूतिका शब्दहरू सुनाए। कसैले त्यो अप्ठ्यारोलाई ताली लगाए। कसैले के भने, कसैले के गरे !
शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने विपक्षीहरू जे गर्नु हुँदैन भन्दै थिए, त्यही गरेर त्यो आयोगमा पास भएका थिए। खगेन्द्र सरको योग्यतालाई प्रश्नचिह्न उठाउनेहरू खगेन्द्र सरको क्षमतासँग तुलना हुनसक्ने खालकै थिएनन्। पारिवारिक अवस्था र गरिबको कुरा गर्ने हो भने त खगेन्द्र सरको पारिवारिक अवस्थाका लागि जस्तो र जतिसुकैको भए पनि एउटा जागिर चाहिएकै थियो। त्यसकारण, त्यस आयोगमा राजनीतिक कारणबाहेक अन्य कुनै कारणले पनि खगेन्द्र सर असफल भएकै थिएनन्।
त्यस आयोगको नतिजा प्रकाशित भई थाहा पाएकै दिनदेखि खगेन्द्र सर आफ्ना सबै योग्यताका कागजी खोस्टाहरू त्यागेर यो कृषिप्रधान देशमा वितृष्णाको भुमरीमा छट्पटिएका एक किसान बन्न पुगेका छन्। अघिपछि पनि शैक्षिक जागरणको उज्यालो बाँड्ने अवधिबाट उब्रिएको समयलाई बचाएर खेतीपातीको काम गर्दै आएका खगेन्द्र सर अब भने फ्रस्टेसनले भरिएका एक नयाँ किसानमा दर्ता भएका छन्।
यो देश राजनीतिक स्वार्थमा लम्किनेहरूका लागि अवसर पस्किएर बसेको छ। यहाँ योग्यता र क्षमताको कुनै कदर छैन। निजी निकायहरू चिनजानका मान्छे भर्ती गर्ने केन्द्रका रूपमा र सरकारी निकायहरू सरकार चलाउनेहरूको कार्यकर्ता भर्तीकेन्द्र बनेका छन्। फेरिएका हरेक शासकहरू मुलुक सञ्चालनको शैली पहिलेको भन्दा स्तरीय बनाउने नारा फलाकेर केवल अयोग्यहरूको थुप्रो लगाउने अभ्यासमा आफूलाई विकसित बनाउँदै छन्। यहाँ नेतृत्वको आकारसँगै शिक्षा नीतिका नयाँ नारा लागेका छन् र स्तरीयताका नाउँमा शुष्क र कोरा पाठ्यपुस्तकहरू लेखिएका छन् अनि तिनीहरूलाई पार लगाउने व्यक्तिका नाममा तानतुने र चोरचारे उपायका व्याख्याताहरू भर्ती गरिएका छन्। समयले हरेकपल्ट खगेन्द्र सरहरू माग्दैछ तर फेरिएका हरेक शासकका नयाँ अनुहारहरू, खगेन्द्र सरको योग्यतालाई प्रश्नचिह्न ठड्याएर आफन्त अनुहार भर्दै छन् र कलिला मस्तिष्कहरूको भविष्य बर्बाद पार्दै छन्।
धेरैपछि यसपालि खगेन्द्र सरलाई देखेर यो समयलाई सोच्दै छु म। पहिलेका ती खगेन्द्र सर, यसरी अहिलेका खगेन्द्र सर भएको देखेर उनका अनुहारभरि म देशको ओरालो लागेको चित्र पढ्दै छु। खगेन्द्र सर र सरहरूका मस्तिष्कभरि उठेका प्रतिशोधका ज्वालाभरि, भविष्यमा विस्फोट हुने ज्वालामुखीका डरलाग्दा संकेतहरू देख्दै छु। युगले मागेका ज्ञानका सुन्दर आकृतिहरूको खरानी-खरानी रूप बग्दै झरेको हेर्दै छु।
फाटेको झोला भिरेका खगेन्द्र सर कलेँटी परेका ओठहरू हाँसेर मंगलबारे हटियाबाट फिर्दै छन्। १८ वर्षपछि देखिएका खगेन्द्र सरलाई समयले व्यापक परिवर्तन गरेछ। त्यहाँबाट यहाँसम्मको हिँडाइले केवल ओरालो झारेछ, केवल ओरालो बगाएछ। झोलाभित्रका केही चीजबीज प्रस्टै देखिन्छन्। एक बोतल मट्टीतेल, एक किलोजति नुन, अलिकति खोर्सानी, खबरीकागजमा पोको पारेका केही पोकाहरू आदि। घाम ओर्लिंदै छ डाँडाबाट क्रमशः क्रमशः तलतल। खगेन्द्र सर पनि जवानीबाट ओर्लिएका देखिन्छन्, नयाँबजारबाट सोयाङतिर ओरालै-ओरालो ! हटियाको समाप्तिजस्तै आफ्ना योग्यता र क्षमताका कुलेसाहरू सुकाएर झर्दै छन् उनी विवशताको ओरालै-ओरालो ! म हेर्दै छु फाटेको झोलामा टाँसिएको दुःख, थुप्रिएको कथा र एक साताका लागि गरिएको जोहो।
राज्य अवसरका नाटक रचेर हरेक योग्यलाई खगेन्द्र सरमा रूपान्तरण गर्दै छ र झार्दै छ नयाँबजारबाट सोयाङतिर ओरालै-ओरालो ! राजनीतिक प्रतिशोधका कारण योग्यका योग्यतालाई खरानी बनाएर हरेकपटक भर्दै छ गरिबका झुप्राहरू आगोका बीउ थुपारेर। यस्तै आगोका बीउहरू चलाएर, ११ वर्षे अवधि रचनाको कारकका रूपमा यो राज्य खगेन्द्र सरहरूका रूपहरू जिस्क्याइरहेछ। एकपछि अर्को अवस्थाका अवशेषहरू नामेट पारेको भ्रममा झन् ठूलो आगो सल्काउने अभ्यासमा मट्टीतेल खन्याइरहेछ।
खगेन्द्र सरलाई हेरेर म आफूलाई नियाल्दै छु। खगेन्द्र सरले पढाएको र अरू धेरै गुरुहरूबाट पाएको शिक्षाभित्र हरेक नेतृत्वको हाम्रा लागि फराकिलो व्यवहार र मस्तिष्क खोज्दै छु। क्षमता प्रस्तुत गरेर आफ्नो जीविकोपार्जन गर्नुपर्ने हामी गरिब झुप्राका खगेन्द्र सरहरू कसैको स्वार्थसिद्धिका बाटामा छैनौँ। कसैलाई रिझाएर आफ्नो स्वार्थसिद्ध गर्ने अभ्यासमा पनि छैनौँ। त्यसैले, हाम्रो दिन खोज्दै भविष्यका पोल्टाभरि आगो रोपेर झिल्काहरूसँगको अर्को यात्रामा सामेल हुनेहरूको भीडमा हामी छैनौँ भनी कसरी भन्न सक्छु र म?
खगेन्द्र सरको मायालाग्दो अनुहारमा यस देशका सबै क्षमतावान् र योग्यहरूको स्पष्ट चित्र नियाल्दै छु आज म। सपनाको बाटोभरि खगेन्द्र सरका ठेसहरू विचार्दै छु म। योग्यताका सफा अक्षरहरूमा खगेन्द्र सरका चोटैचोट र दागैदाग पढ्दै छु म। खगेन्द्र सरको ख्याउटे रूप र दारीवाल अनुहार, म र मेरो भावी रूप र अनुहारको सफा चित्र बुझेर आजका सबै विद्यार्थीहरूमा एउटा सफा छापको अभ्यासमा निरन्तर छु म।
राजनीतिको नक्सा कोर्ने ठेक्का लिएका ठेकेदारहरूले रचेका खगेन्द्र सरहरूका रूप नै आगामी समयका ज्वालामुखीका रूप हुन्। हरेक खगेन्द्र सरका गोजीबाट निस्किएका आगोका बीउहरू र फाटेका झोलाबाट बिच्किएका मट्टीतेलका बोतलहरू ठेकेदारहरूको फोहोरी खेलको अन्त्यका लागि बलियो कारण बन्नेछन्। समयलाई पर्खिएर समय नभेटिएको यस अवस्थालाई विचार गर्दै यतिबेला म यही सोच्दै छु र त्यही झ्यालबाट चिहाएर खगेन्द्र सरहरूको जमात हेर्दै छु। कति बेला भत्किने हो मौनताको बाँध र सल्किने हो आगो, हरेक खगेन्द्र सरहरूको झोला च्यातिएर। स्वार्थपूर्तिको लहरमा उभिएकाहरू कतिबेला सल्किने हुन् र कतापट्टकिो ढोका उघारेर भाग्ने हुन्, हेर्दै छु म प्रत्येक खगेन्द्र सरहरूको स्वरूप उभिएर !
नेपाल साप्ताहिक ४३७
