अधिकारको सदुपयोग गर्ने परम्परा कहीँ लोप हुन लागेको त होइन ?
आशङ्का सर्वत्र व्याप्त छ । तजविजी अधिकारमा समेत स्वविवेकको स्थान हुन्छ नै । स्वविवेकको प्रयोग गर्दा निर्णायकले मेरो मान्छे, तेरो मान्छे अनि हाम्रो मान्छे नभनी सुयोग्य सही मान्छेको चयन गरेको महसुस बिरलै हुने गरेको भुक्तभोगीहरूको राय ठहर छ ।
केही दिन अघिको कविता प्रतियोगितामा निर्णायक रहेका वरिष्ठ कवि सोमध्वज ‘स्वतन्त्र’ ले यही यथार्थलाई उदाङ्गो पारेकेा दृष्टान्त यस प्रसङ्गसँग ठ्याक्कै मिल्न आयो । प्रतियोगितामा सहभागी अब्बल दर्जाका कवि-कवयत्रीको स्तरीय कवितालाई वेवास्ता गर्दै सिर्जनाको मैदानमा एउटा सर्जकसमेत रहेकेा निर्णायक सोमध्वज ‘स्वतन्त्र’ ले निःसङ्कोच स्वच्छन्द निर्णय सुनाए । कोरा रहरमा कनीकुथी रचित कविताका कविलाई प्रथम घोषित गरियो । यस्तो अनपेक्षित परिणाम आएपछि कार्यक्रमका दर्शकश्रोता एवं सहभागी एक आपसमा मुखामुख गर्दै कानेखुसी गर्न थाले ‘अजब नेपाल, गजब काश्मिर’ भनेको यही रहेछ । तथ्य उजागर हुने क्रममा थाहा लाग्यो, सर्वश्रेष्ठ ठहर्याइएका कवि नाताले सोमध्वज ‘स्वतन्त्र’ का साक्खै साला रहेछन् ।
युवामञ्च २०६७ फागुन
