घाम नडुब्दै भेट्नु सखी !
अन्धकारको के भरोसा
जहाँ छाँया समेत मेटिन्छ
त्यहाँ मायाको कति ग्यारेन्टी होला ?
घामको बैजनी किरण
तिम्रो मुहारमा पोतिँदाको आभा
दुई आँखाभरि-भरि नियालेर
म त्यही आकृति मनको क्यानभासमा कोर्न सकुँ
ताकि जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ
तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा,
याचनै सम्झ बरु तर बिन्ती !
घाम नडुब्दै भेट्नु सखी !
अन्धकारको के भरोसा ?
आजका लालिगुराँसे पलहरूले
भोलि विगत बनेर अवस्य चिमोट्नेछ
चाउरिएका खुजुमुज्जे हृदयका भित्ताहरूमा,
उसबेला सम्झनाका भर्याङ्गमा
खुट्किला टेक्तै टेक्तै
यिनै सिम्रिके घटनालाई वैशाखी बनाउँला
उसोर वैशाखीले अंधेरोमा पनि हिँड्न सघाउला
तर वैशाखी बनाउने त उज्यालो मै हो नि !
त्यसैले बिन्ती !
घाम नडुब्दै भेट्नु सखी !
दिनकै उज्यालोमा वैशाखी बनाइसक्नुपर्छ
अन्धकारको के भरोसा? !
नजानेको भोलि
नदेखेको उज्यालो
नभोगेको आनन्द
भैगो उही अनिश्चित आगतका पोल्टामा राख भो,
जिन्दगीको भर्भराउँदा पलहरू
कोपिलाका याम जस्तै न हुन्
अनि हुन यि ताजा मौसमी झोँका
कि त उडन्ते चराका बथान जस्तै
रुखका लच्किने हाँगा बुढिएपछि छाडेर
हरियाली मौसमका आयाम भेट्न भुर्र्र उडेर पारी लागेझैँ
सपनाहरूले रहरको झोलुङ्गे तरेपछि
जिन्दगीको तारे भीर खङ्ग्रङ्ग पर्छ नै
त्यो सुष्क अंध्यारो कहरमा
कुन मायाको बिरुवा रोप्नु !
त्यसैले,
घाम नडुब्दै भेट्नु सखी !
मलाई भोलिको पटक्कै भर लाग्दैन
सखी ! अन्धकारको के भरोसा? !
घाम नडुब्दै भेट्नु है सखी ! !
दीप्स शाह

thank you for yes poim
derai ramro lekh lekhnu hun6 tapai lai dera derai thanks dips ji >>>>>>>>>>>
क्या बात
घाम नडुब्दै भेट्नु सखी !
मलाई भोलिको पटक्कै भर लाग्दैन,क्या बात! सब्दको संगालो बुन्न जान्नु पर्छ ……… राम्रो लाग्यो ,