वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राई हङकङ आउने

  • by
20110402_DeshSubba_News


देश सुब्बा, हङकङ ।
मार्च २९, २०११ ।

नेपाली साहित्यमा विचार, समालोचना, सृजना, प्रयोग र अनुवादमा लामो समयदेखि निरन्तर समर्पित साहित्यकार ईन्द्रबहादुर राई हङकङ नेपाली महासंघको अप्रिल २२, २०११ मा हुने साहित्यिक कार्यक्रममा भाग लिन हङकङ आउने भएका छन् । उक्त कार्यक्रममा कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी र ईन्द्रबहादुर राईको विचार प्रस्तुत हुने कार्यक्रम छ । हिजो नेपाली महासंघको कार्यालयमा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, संगीतकारको सामूहिक बैठकले यस सम्बन्धमा वृहत छलफल गरेको थियो । हङकङ नेपाली महासंघले विगत वर्षखि विविध कार्यक्रम गर्दै आइरहेको छ । त्यस मध्ये साहित्यिक कार्यक्रम यो पहिलो हो ।

ईन्द्रबहादुर राई नेपाली साहित्यका शिखर पुरुष हुन् । उनको विपना कतिपय कथा संग्रह सन १९६०, आज रमिता छ १९६४, कथास्थ कथा संग्रह १९७४, टिपेका टिप्पणीहरू समालोचनात्क निबन्धहरू १९६६, नेपाली उपन्यासका आधारहरू १९७४, सर्न्दर्भमा इश्वर बल्लभका कविता समालोचना १९७४, दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी १९८५, कठपुतलीको मन कथा संग्रह १९८९, अर्थको पछिल्लतिर १९९४ समालोचना जस्ता धेरै चर्चित कृति, समालोचना, लेखहरू प्रकाशित छन् । उनी समालोचना विधामा पनि त्यतिकै सशक्त छन् । त्यस्तै थुप्रै प्रसिद्ध नेपाली पुस्तकलाई अंग्रेजीमा अनुवाद पनि गरेका छन् । ईन्द्रबहादुर राई, इश्वर बल्लभ र वैरागी काँइला मिलेर साहित्यमा सन १९६३ मा ‘तेस्रो आयाम’ घोषणा गरेका थिए ।

नेपाली साहित्यमा यसको प्रभाव अहिले पनि त्यतिकै रहेको छ । सन १९७६ मा राईले लीला-लेखनको थालनी गरेका हुन् । लीला लेखनको पनि नेपाली साहित्यमा त्यतिकै ठूलो हलचल छ । तेस्रो आयामले शुरुवात गरेको कविता लेखनमा विशेष वैरागी काँइलाको ठूलो प्रभाव छ । काइलाको धारलाई पछ्याउँदै सृजनशील अराजकता, रंगवाद, उत्तरवर्ती सोचजस्ता धेरै नयाँ विचार, र कविता आएका छन् । त्यस्तै लीला लेखनलाई पछ्याउँदै कृष्ण धरावासी, कृष्ण बराल, रत्नमणि नेपालीजस्ता उपन्यास र कथामा धेरै साहित्यकार, समालोचक देखा परेका छन् । उनको कथा, उपन्यास, विचारमा थुप्रै सोध अनुसन्धान भएका छन् र नेपाली साहित्यको पाठ्यक्रममा पनि समावेश छन् । उनले सन १९७६ मा भारतबाट साहित्य एकेडेमी पुरस्रकार, सनमा १९९६ मा नेपालबाट प्रतिष्ठित जगदम्बा पुरस्कार र १९९७ मा सिक्किमबाट अगमसिंह गिरी पुरस्कार प्राप्त गरिसकेको छन् । उनलाई पूर्वीय र पश्चिमी दर्शनको प्रकाण्ड विद्वान् मानिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *