कुरा वि.सं. २०१२ सालतिरको हो । म्याट्रिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएकोले उहाँलाई खड्गशमशेरका नाति तुङ्गशमशेरका छोरा द्रोणशमशेरले यस्तो प्रतिभाशाली विद्यार्थीले पढ्न छोड्नु हुँदैन भन्दै खर्च दिएर बनारस पढ्न पठाएका थिए । पढ्न त जानु भयो तर आइ.ए. पढ्दापढ्दै उहाँमा सांसारिक मायामोहप्रति वैराग्य र आफ्नै जीवनप्रति पनि वितृष्णा उत्पन्न हुनथाल्यो । उहाँमा उम्रिएको वैराग्य र वितृष्णाले जोगी बन्ने इच्छा जगाइदियो र साथी भगवतीप्रसाद गुप्तासहित भारतको पण्डिचेरीस्थित अरविन्दाश्रममा गएर योग सिक्ने अनि योगी तथा स्वामी बन्ने उद्देश्यले बनारस छोड्नुभयो । त्यहाँ पुग्नलाई रेल छुटिसकेको थियो । अर्को रेल पर्खिनेक्रममा उहाँको साथीको विचारमा पुनः विचलन आइदियो । आमाको माया लाग्यो म जान्न भन्दै साथी डाको छोडेर रुन थाल्यो । साथी फर्किने भएपछि उहाँलाई पनि एक्लै हिँड्ने साहस आएन । त्यसपछि फर्किएर पढ्न थाल्नुभयो र उत्कृष्ट स्थानमा आइ.ए.उत्तीर्ण गर्नुभयो । पढाइका क्रममा त्यसपछि उहाँ कहिल्यै रोकिनु भएन । कोलम्बो प्लानअन्तर्गत एम.ए. र विद्यावारिधिसम्मको अध्ययन-अनुसन्धान गर्न सफल हुनुभएका लेखक, साहित्यकार, समालोचक, चिन्तक, पत्रकार, अनेक व्यक्तित्वमा खारिनुभई तर्कनाथलाई छोडेर गोविन्दभट्टका रूपमा चर्चित र सम्मानित हुनुभएको उहाँमा अझै पनि कताकता त्यो वेदान्ती वैराग्य अझै बाँकी छ भन्नुहुन्छ । पाश्चात्य दर्शनशास्त्रमा विद्यावारिधिको शोधग्रन्थसमेत तयार भइसकेको भए पनि योजनाको तीनवर्षे अवधि सकिएको र कतैबाट सहयोग प्राप्त नभएकोले डाक्टर बन्ने इच्छा नै मरेको बताउनुहुन्छ उहाँ ।
नेपालको सुदूरपश्चिम जिल्ला डोटीबाट गोरखा हुँदै धादिङ जिल्लाको मैदीमा बस्न आइपुगेका उहाँका हजुरबुबा तारानाथ उपाध्याय पण्डित्याइँ गर्नुहुन्थ्यो । उहाँको बुबा रुद्रनाथ पनि पण्डित र धार्मिक ग्रन्थहरू लय हालेर पढ्न ज्यादै निपूर्ण हुनुहुन्थ्यो । काठमाडौँबाट लखेटिएका तुङ्गशमशेर पशुपतिनाथको दर्शन गर्न काठमाडौँ आउँदा रुद्रनाथले संस्कृतका श्लोकहरू लय हालेर पाठ गरेको सुनेर प्रभावित भई गौर दरबारमा लगेका थिए । तुङ्गशमशेरले उतै घरजम गरिदिएपछि वि.सं. १९९४ साल साउन तीन गते प्रथम सन्तानका रूपमा तर्कनाथ भट्टको जन्म भएको थियो । राणा परिवारसँग जोडिएको भए पनि उहाँको परिवार त्यतिबेला पनि सामान्यस्तरको थियो । उहाँ भन्नुहुन्छ- बाहुनहरूका पनि विभिन्न ओहदा हुन्थे । एक त उनीहरू नै खेदिएका परे, त्यसमा पनि मेरो बुबा श्लोक वाचन गरेर सुनाउने सामान्य ओहदामा हुनुहुन्थ्यो । मणि परिवारहरू राणाहरूको ज्यादै नजिक भएर कमाए । हामी तल्लो तहका भएर कमाउन सकेनौँ । तैपनि पढ्ने अवसर चाहिँ पाएँ र अङ्ग्रेजी साहित्य एवं दर्शनशास्त्रमा केही ज्ञान बटुलेँ । एक त ब्राहृमण परिवार, त्यसमाथि त्यतिबेलाको कट्टर संस्कारजन्य समयमा पनि पिताजीले अङ्ग्रेजी स्कुलमा हालिदिँदा हजुरबुबाले निक्कै टोकसो गर्नुभएथ्यो ।
उहाँको घरमा त्यतिबेला पनि संस्कृत, नेपाली, हिन्दी, अङ्ग्रेजीलगायतका भाषाका पुस्तक र पत्रपत्रिकाहरूको सानोतिनो पुस्तकालय नै थियो । त्यसमा भानुभक्त रामायण, महाभारत, चाणक्यनीति, पञ्चतन्त्र, एवं देवकोटा, लेखनाथ, भीमनिधि तिवारी आदिका साहित्यिक कृतिहरू पनि थिए । गौरमा प्रसिद्ध शारदा पुस्तकालय पनि थियो । त्यहाँबाट पनि किताव ल्याएर पढ्थेँ भन्दै उहाँ भन्नुहुन्छ- पढेपछि मनमा अनेकौँ कल्पना आउँथे । मेरो आफ्नै घर-परिवारका अन्तर्द्वन्द्व र समस्या, धार्मिक कट्टरता र कठोर अनुशासन, समाजका दुःखकष्ट, दरिद्रता, अन्याय, थिचोमिचो आदिले मेरो मनमा अनेक असन्तुष्टि जन्माउँथे । त्यतिबेलैबाट आफ्नो असन्तुष्टि र आक्रोश पोख्न कसैलाई थाहै नदिई कविताहरू लेख्न थालेँ । गाउँले युवाहरूको आग्रहमा हस्तलिखित पत्रिकाका लागि एउटा राणा विरोधी निबन्ध पनि लेखेर तयार पारेको थिएँ । तर राणाका पुलिसहरू घरघरमा खानतलासी गर्दै हाम्रो गाउँमा पनि आउँदैछन् भन्ने हल्ला चलेकोले मेरा ती प्रथम लिखित रचनाहरू पनि खाल्डोमा पुरिए । त्यस्तैमा वि.सं. २००८ सालमा बनारसबाट कृष्णप्रसाद भट्टराईको सम्पादनमा प्रकाशित हुँदैआएको ‘युगवाणी’ मा ‘शोसित पुकार’ शीर्षकको कविता र त्यसैताक ‘आमा नेपाल’ शीर्षकको निबन्ध पनि छापिएर उत्कृष्ट रचनामा छनोट भई पुरस्कृत भएपछि लेखनमा अग्रसर हुँदै आएँ । काठमाडौँ आएपछि श्यामप्रसाद, कृष्णप्रसाद पराजुली, भवानी घिमिरे, शान्तदास मानन्धर, आनन्ददेव भट्ट, माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा आदिको स्नेह, सद्भाव र प्रोत्साहनबाट अगाडि बढ्न सकेको हुँ ।
कविता लेखनको प्रारम्भिक चरणमा नेपालीमा भन्दा पनि हिन्दीमा कविता लेख्ने भट्टलाई बालकृष्ण समले नेपालीमा लेखेर सुयोग्य कवि बन्न हौसला दिँदै ‘राम्रो मात्र होइन धेरै राम्रो र चिल्लो पात’ भनी कापीमा लेखेको टिप्पणी अझै सुरक्षित राख्नु भएको छ । त्यस्तै लेखनाथले पनि ‘पखेटा’ शीर्षकको कवितासङ्ग्रह प्रकाशन गर्ने योजना सुनाउने बित्तिकै कापीमा तुरुन्तै लेखिदिएका प्रोत्साहनका वाक्य र हस्ताक्षर पनि सुरक्षित नै छन् । गुण्डादर्प-दलन, शान्ति सन्देश, गधा र मानिस, मैले कान समातेँ, परसाद र आशीर्वाद, नेपाललाई बुझ्ने समस्या ः एक लामो र कठिन प्रक्रिया, गोविन्द भट्टका समालोचना, गोविन्द भट्टका माक्र्सवादी चिन्तनहरू लगायतका धेरै कृतिहरूले उहाँको साहित्य र चिन्तक व्यक्तित्वलाई उजागर गरेका छन् ।
आफ्नो जीवनको ज्यादै महत्त्वपूर्ण समय भारतमा अध्ययनको क्रममा १० वर्ष र चीनमा जागिरको क्रममा १५/१६ वर्ष बितेकोले ढुक्कले कुनै महत्त्वपूर्ण कार्यमा लाग्न नपाएकोमा उहाँमा पछुताउ छ । वि.सं. २०२२ सालमा भारतबाट फर्किएपछि केही सानातिना काम गर्दै रहेर वि.संं २०२९ मा उहाँ रेडियो पेकिङको नेपाली भाषाको कार्यक्रमका लागि विशेषज्ञका रूपमा काम गर्न चीन जानुभयो । आठ वर्ष काम गरेर फर्किएपछिको केही वर्षमा पुनः अतिथि प्राध्यापकका रूपमा पुनः चीन जानुभयो । चीनको लामो बसाई र सम्लग्नताले गर्दा उहाँलाई कट्टर कम्युनिष्ट पनि भन्छन् । उहाँको लेखनमा विवाद, विचारमा विवाद, सम्लग्नतामा विवाद, विदेश जाँदा विवाद, उहाँको जीवनमा विवादका शृङ्खलाहरू एकपछि अर्को निस्किएका छन् । उहाँको स्वभाव पनि आफ्नैखालको भिन्न छ । यसै सम्बन्धमा उहाँ केही रमाइला पक्षहरू बताउनुहुन्छ- मान्छेले मलाई घोर वामपन्थी पनि भने, चीन जाँदा चिनियाँले तालिम दिन लगेको पनि भने तर म कसैको पनि सदस्यधारी भट्ट थिइनँ र अहिले पनि छैन । राजनीतिमा सामान्य माक्र्सवादी दृष्टिकोण छ तर झण्डा बोक्ने नै चाहिँ होइन । लेखकै हुने पनि मेरो चाहना होइन । नेपालजस्तो सानो मुलुकमा केही पढेलेखेको मान्छेले आफूले बुझेको लेख्दैमा चिनिएको मात्रै हुँ । मैले धेरैतिर काम गरेँ । विश्वविद्यालयमा हुँदै गोरखापत्र संस्थानमा अध्यक्ष भएर पनि गएँ । प्रदीप नेपालले आग्रह गरेर गएको थिएँ । माथिल्लो सदनको सदस्य हुन पनि भनेका थिए तर म गइनँ । एमालेले धेरै अवसर दिएकोले एमालेको मान्छे भन्छन् । पार्टीमा बाँधिए माथि पुगिन्छ, आउनुस् पनि भनेका हुन् तर चाहिनँ । मेरो स्वभाव नै बेग्लै छ, केवल गोविन्द भट्टकोसँग मात्र मिल्ने । आफ्नो चाहनाअनुसार जीवन चलेन । धेरै गर्नसक्छु भन्ने हुँदाहुँदै पनि केही गर्न सकिनँ । खेद्नेहरूले मलाई खेदी रहे । राजावादी भयो पनि भने । यतिसम्म कि छोरी एसएलसीमा वोर्डफस्ट हुँदा पनि मेरो नाममा कुरै नबुझी विवाद गरिएथ्यो । मेरा लेखहरूलाई पनि जबरजस्ती विवादमा तान्ने गरिन्छ ।
गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वको विश्लेषण र मूल्याङ्कन शीर्षकमा स्नातकोत्तर तहमा शोधपत्र तयार पारेकी हुमा पाण्डेयले लामो समयपछि त्यसैलाई परिमार्जन गरेर वि.संं. २०६६ सालमा पुस्तककाररूपमा सार्वजनिक गर्नभएको छ । यसले गोविन्द भट्टको साङ्गोपङ्ग जीवन बुझ्नलाई ठूलो मद्दत मिल्दछ । उहाँलाई विवादित सन्दर्भमा प्रश्न सोद्धा त्यो पुस्तक पनि पढ्न भन्नुभयो ।
उहाँलाई अफ्रोएसियाली जनएकता सङ्गठनको जनरल सेक्रेटरी हुँदादेखि नै विवादमा तान्ने प्रयास हुनथालेको स्वीकार्नुहुन्छ । बुद्धदर्शनका केही प्रगतिशील पक्षहरू शीर्षकको लेख, शान्ति सन्देश र गुण्डादर्प-दलन काव्यलाई लिएर संशोधनवादीको आरोप, शिरीषको फूल उपन्यासको समालोचना गरिएको लेख ‘शिरीषको फूल कि कागजको फूल’ लेख्दा प्रगतिवादी लेखकहरूको विरुद्धमा लागेको आरोप, यस्ता धेरै लेखकीय आरोपहरू उहाँमाथि लागेका भए पनि आफ्नो विचार प्रस्तुत गर्दा वाद र सिद्धान्तको सङ्कुचित घेरोमा बस्नु हुँदैन, त्यसमा पनि म त प्रतिबद्ध भएर कतै पनि लागेको मान्छे नै होइन भन्नुहुन्छ भट्ट । वि.सं. २०३८ सालमा उहाँकी जेठी छोरी लुना भट्टले एसएलसी परीक्षामा बोर्डफस्ट भएर छात्रातफर्को पहिलो रेकर्ड बनाउँदा गोविन्द भट्ट नामधारी अर्का मन्त्री थिए र उनकी छोरीलाई बनाइएको भन्ने विवाद भएथ्यो । उहाँकी अर्की छोरी शिरीष भट्टले पनि २०३९ को बोर्ड द्वितीय भएर देखाइन् । छोरीहरूकै बाटोबाट अमेरिका गएको बेला पनि उहाँलाई विवादमै तान्ने प्रयास प्रगतिशील खेमाबाटै भयो ।
हो, म प्रलेसको अध्यक्ष पनि भएको मान्छेलाई अमेरिका गएको निहुँमा सल्लाहकारबाट राजिनामा मागियो, राजिनामा दिएँ । मोदनाथ प्रश्रतिले अमेरिका जानुभन्दा अगाडि नै प्रज्ञाप्रतिष्ठानमा जानुपर्छ भनेका थिए । मैले मानेको थिइनँ र अमेरिका जाने निश्चित पनि भइसकेको थियो । यता घोषणा भएछ । पहिले पनि हल्ला हुन्थ्यो र हल्लैमा रहन्थ्यो भने यसपालि त स्वीकृति पनि नजनाइएको र देशमै नभएको अवस्थामा हुन्छ भन्ने नै थिएन । पछि जीवेन्द्रदेव गिरीले फोन गरेर घोषणा भएको र कोठा नै छुट्याएर समालोचना विभाग दिइएको जानकारी गराए । अरू साथीहरू चाहेर मरिहत्ते हालेर पनि नपाउने, म अमेरिका गएर पनि पाउने भएपछि धुँवाधार विरोध गरे आफ्नै साथीहरूले पनि । बस्नेगरी त गएकै थिइनँ, घुम्न जानेहरूमा त सबैको तँछाड-मछाड नै छ नि तर ममाथिको आक्रमण अचम्मकै भयो । मेरो नियुक्तिमा नरेन्द्रराज शर्मा, खगेन्द्र सङ्ग्रौला, हरिगोविन्द लुइटेल, विमल निभा, धेरैले लेखकीय आक्रमण गरेका पचाएको छु । प्रगतिवादी भनाउँदा साथीहरूले मलाई गैरप्रगतिवादी बनेको भन्दै औपचारिक कार्यक्रमहरूमा बोलाउन छोड्नुलाई उनीहरूको दरिद्र मानसिकताको उपज भन्छु ।’
गोविन्द भट्टले आफ्नो अध्ययन, चिन्तन र लेखनको दायरालाई माक्र्सवादी सौन्दर्यशास्त्र चिन्तनमा ज्यादा केन्द्रित गर्नुभएको छ । ‘मेरो दृष्टिकोण भनेको द्वन्द्वात्मक भौतिकवादी केन्द्रित नै हो । माक्सवादी साथीहरू मसँग फरक मत राख्दछन् । सौन्दर्य पनि अमूर्त कुरा होइन । ठाडो आदर्शवादी धारणामात्र राख्नु हुँदैन । संस्कृति, सामाजिक परिवेश र परम्परा पनि हेर्नुपर्छ । गलगाँड आउने गाउँमा मान्छेको सु्न्दरताको वयान गर्दा सबै राम्रो छ तर एउटा सानो गाँड पनि भएको भए कति राम्रो देखिने थियो भन्छन् अरे । त्यसैले हेराइ र दर्शन आ-आफ्नो हो । सौन्दर्यशास्त्र पनि हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशबाट निर्धारित हुन्छ । खासमा भौतिकवाद भनेकै यही हो । यो जीवनको वरिपरि हुन्छ र समाजले पचाएर स्थापित भएको हुन्छ । अझ हाम्रो सौन्दर्यशास्त्र त प्रकृतिबाट प्रभावित पनि छ । आदर्शवादीहरूले यसलाई बुझेनन् वा बुझेर पनि बुझपचाए । उनीहरू यथार्थवादलाई त बुझपचाउँछन् र हेप्छन् पनि । हाम्रो पौराणिक दर्शनका हिरो र अहिलेका उपन्यासका हिरोमा फरक छ, सौन्दर्य भिन्न छ । सौन्दर्य तल्लो वर्गकोमा पनि हुन्छ । माथिल्लो वर्गको र तल्लो वर्गको बेग्लाबेग्लै सौन्दर्य छ । हाम्रो छोपेको सौन्दर्यमा पश्चिमाहरूको नाङ्गो सौन्दर्य छ । गहिरिएर हेर्दा मापदण्ड आ-आफ्ना छन् । सौन्दर्यशास्त्रको सर्वमान्य सिद्धान्त छैन, मापदण्ड यही हो भन्ने छैन । भौतिक आधार छ । हेर्ने दृष्टिकोणमा भिन्नता मात्रै हो ।’ यसैले म अरूभन्दा भिन्न भएको हुनसक्छु भन्नुहुन्छ उहाँ ।
गोविन्द भट्ट प्रगतिवादी साहित्य र संस्कृतिका क्षेत्रमा जडसूत्रवाद र सङ्कीर्णतावादको विरोध गर्नुहुन्छ र आजको यथार्थलाई नबुझी यन्त्रवत् चल्न खोज्नेहरूबाट साहित्यको उन्नयनमा बाधा पुग्ने देख्नुहुन्छ । धर्म र संस्कृतिका बारेमा पनि युगानुकूल परिवर्तन र परिष्कार गर्नुपर्ने उहाँको मत छ ।
लेखनका क्षेत्रमा उहाँ कवि, निबन्धकार, समालोचक र चिन्तक पनि मानिनुहुन्छ । उहाँको चिन्तन भनेको दर्शन र साहित्य केन्द्रित हो । यसमा धर्म र संस्कृतिलाई पनि माक्र्सवादी दर्शनको मियोमा राखेर प्रवृत्तिगत वैशिष्ट्य केलाउनु आफ्नो अभीष्ट हो भन्नुहुन्छ उहाँ । सङ्ख्यात्मकभन्दा गुणात्मक लेखनमा ध्यान दिने भट्टको समालोचकीय व्यक्तित्व व्यावहारिक एवं सैद्धान्तिक समालोचना केन्द्रित छ ।
‘मसँग त्यस्तो ठूलो कुनै महत्त्वाकाङ्क्षा छैन । साँच्चै भनौँ भने मेरो जोगी हुने सोच अझै मरिसकेको छैन । अध्ययन, अनुसन्धानमै लागिरहेको छु र उब्जिएका विचारहरूलाई लेखिरहेकै छु । कसले के भन्छ भन्नेतिर अल्झिएर बस्यो भने स्वतन्त्र जीवन नै समाप्त हुन्छ’ गोविन्द भट्ट आफूलाई फुक्का-फकिर भन्नुहुन्छ । मान्छे कहिल्यै फुक्का-फकिर हुनसक्छ र ? हाम्रो समाजमा उखानै छ- काम गर्नुको अल्छीले जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै बसेँ । अनि कसरी जीवन चल्छ ? ‘त्यो त हो, न्यूनतम् कुराहरूलाई त छोड्न कहाँ सकिन्छ र पनि उच्च महत्त्वाकाङ्क्षा त्याग्न सक्नु पनि ठूलो कुरा हो’ उहाँको जीवन-दर्शनमा ।
मधुपर्क २०६७ चैत