Skip to content

साहित्य बूढापाकाको मात्र क्षेत्र हो ? किन टाढिँदै छन् किशोरहरू साहित्यबाट

  • by


किशोर अवस्थाको अर्थ नै हुन्छ बाल्यावस्था र युवावस्थाको बीचको समय अथवा दुवैको सम्मिश्रण । मानिसको जीवनमा यो उमेर निकै महत्त्वपूर्ण हुन्छ । शेक्सपियरले ‘द प्यासोनेट पिलगि्रम’ मा युवाअवस्था र पाको अवस्थाको तुलना गरेका छन् । पाको अवस्था जहाँ चनाखोले भरिएको हुन्छ त्यहाँ युवाअवस्था आनन्द, ‘गृष्मऋतुको बिहानीझैँ गृष्मकालीन’, बहादुर, खेलमय, ऊर्जावान र साहसी, जङ्गली हुन्छ भनेका छन् । यो यस्तो अवस्था हो जहाँ मानिस निर्दोष, निश्चिन्त र स्वच्छन्द हुन्छ । लङ्गफेलोले यो अवस्था जिन्दगीमा एकपटक मात्र आउँछ भनेका छन् भने वायरनले चाइल्ड हेराल्डमा, ‘चाइल्ड हेराल्ड’ ‘आह हेप्पी इयर्स, वन्स मोर’ भनी आफ्ना किशोरावस्थालाई र्फकन आहृवान गरेका छन् । लङफेलोले ‘मोरीट्युरी सेलुटामस’ मा युवावस्थालाई सुन्दर र तेजस्वीकाल भन्दै यसमा भ्रमहीन आकाङ्क्षा र सपना पनि उत्तिकै भएको बताएका छन् । उनकै शब्दमा, यो प्रारम्भको पुस्तक हो जसमा कथा समाप्त भएका छैनन् ।

किशोरावस्था उत्साह, उन्मुक्तता, दायीत्वहीनता, निश्चिन्तताको समयमात्र होइन यो त्यो विरुवा जस्तै हो जो पूर्णतः हुर्किसकेको छैन जसलाई हुरी वतास, आँधीबेरी, घामपानीको डर हुनसक्छ, जसलाई हेरचाह, स्यारसुसार, मार्गदर्शनको खाँचो पर्छ । बस्तुत यसको आवश्यकता बाल्यावस्थादेखि नै पर्छ तर बाल्यावस्था र युवावस्थामा केही फरक छ, हुनुपर्छ । सनातनी साहित्यमा १६ वर्ष पुग्दा सन्तानलाई मित्रसरह मान्नुपर्ने धारणा आएको छ । यो कुरा नबुझ्दा पनि हाम्रो समाजमा युवाले धेरै समस्या बेहोर्नु परेको छ । तिनलाई संवाद सहचार्यको खाँचो हुन्छ र साख्यभावले सन्तानलाई बुझ्न र हेर्न सकिएन भने तिनले बाटो बिराउन सक्छन्, कुलतमा लाग्न सक्छन् वा तिनको सम्भावनाको अधिकतम सदुपयोग नहुन सक्छ । तिनका सवलता दुर्वलतामा परिणत हुनसक्छ । किशोरास्थामै कोही बूढा हुन सक्छन् ।

जहाँसम्म साहित्यको कुरा छ किशोर वा युवाकै लागि भने विशेषगरी साहित्य लेखनको परम्परा धेरै पुरानो छैन । विकिपिडियाको तथ्याङ्कलाई मान्ने हो भने प्रथम पटक १४ देखि २१ वर्षको उमेर समूहका बालक र किशोरका लागि साराह टि्रमरले सन् १८०२ मा कलम चलाइन् । उनले १४ वर्ष मुनिका लागि ‘क्वारडियाड अफ एजुकेसन’ लेखिन भने युवाका लागि ‘बुक्स फर यङ पर्सन’ लेखिन । द स्वीस फेमेली (१८१२) ओलिमर टिवस्ट(१८३८) देखि द जङ्गल बुक (१८९४) सम्म १९ औं शताब्दीमा कयौँ कृति अगाडि आए । २० औं शताब्दीमा अझ तीब्रता आयो’ रिबेका अफ सनी र्फम (१९०३) एन अफ ग्रीन गेवल्स (१९०६) सेक्रेट अफ गार्डेन (१९०९) जस्ता कयौँ कृति आए तर १९५० को दशकमा आधुनिक प्रकाशन गृहको अवधारणाले मूर्तरूप लिएपछि ‘रोमान्स मार्केट’ हृवात्तै बढ्यो । किशोर पाठक पनि निकै बढे । द क्याचर इन द राय (१९५१), लर्ड अफ फायल्स (१९५४), द आउटसाइडर (१९६७), द द विगम्यान (१९६८) युवा पाठकलाई ध्यानमा राखी रचित त्यस युगका केही चर्चित कृति हुन् । सन् १९५० र ६० को दशकमा आधुनिक युवा साहित्यको थालनी भयो । खासगरी एस ई हिन्टनको ‘द आउटसाइडर’ किशोर समूहमाथि केन्दि्रत चर्चित कृति थिए । अमेरिकाका भीसी एन्ड्रुजका कैयौँ लोकप्रिय कृति गोथिक हरर, फ्लावर्स इन द अल्टिक अमेरिकाकै लाउरी हाल्सका कैयौँ कृति यस सन्दर्भमा चर्चित भए । सन् १९७० र ८० को दशकलाई युवा साहित्यलेखनको दृष्टिले स्वर्णयुग मानिन्छ । प्रकाशकले पनि युवा साहित्य प्रकाशनमा बढी रूचि देखाए । क्यानेडियन लेखक कोरी डोक्टोरोको उपन्यास ‘लिटल ब्रदर’, ‘फर द विन’ निक्कै चर्चित भयो । लेसी हेरिसनको बेस्ट सेलर ‘द क्लिक’, ‘द अल्फाज’ ले सनसनी मचायो ।

पश्चिममा किशोर साहित्यले गति लिए पनि नेपालमा त्यस्तो अवस्था देखिँदैन । बाल साहित्यमा भने अवश्य निकै प्रगति भएको छ तर किशोर साहित्यलाई नै लक्ष्यित गरी सुनियोजित एवम् शृङ्खलावद्ध लेखनको प्रयास कमै भएको पाइन्छ । बाल लेखनमा पुस्तक र पत्रपत्रिकासमेत निकै अगाडि दखियो तर किशोर साहित्य अथवा किशोरको समस्या र सम्भावनालाई केन्द्रबिन्दु बनाइ ठोस रूपमा कमै काम भएको पाइन्छ । यसको अर्थ यदकदा किशोरलाई लक्ष्यित गरी साहित्य सिर्जना नगरिएका भने होइनन् तर किशोरको रूचिका नाममा सस्तो यौन, साहित्यको प्रंकाशन, प्रसारण र सस्तो मनोरञ्जन र अपराध कथामै बढी जोड दिइएको पाइयो । भारतीय बजारमा समेत व्याप्त विकृति यहाँ पनि भित्रियो । किशोरावस्था काँचो बाँससरह यसलाई जसरी मोड्यो त्यसरी नै गति लिने कुरामा कमै ध्यान दिइएको पाइन्छ । सहिद गङ्गालाल, दर्गानन्द झा, खुदीराम बोस, भगत सिंह केही यस्ता साहसी तथा समर्पित किशोर-युवाको प्रतिनिधि उदाहरण हुन जसले समाजलाई आफ्नो बलिदानले नयाँ दिशा दिए । गङ्गालालको मार्मिक तर चुनौतीपूर्ण कविताले सम्पूर्ण नेपाली समाजलाई नै जगाइ दियो त्यसरी नै जसरी खुदीराम बोसले फाँसी पूर्व मार्मिक गीतमा अभिव्यक्त गरे ः

माँगो बिदाइ दाउ !
बरो लाट के मारवी बलो
तीन टी मागी मारी…..

गङ्गालालको क्रान्तिकारी कवितामा राणाशासनविरुद्ध, अन्यायविरुद्ध विद्रोहको शङ्खदनाद छ तर किशोरावस्था साहस, समर्पण र इमान्दार भावनाको सर्वोत्तम अवधि, निर्लोभ निष्ठाको दुर्लभ अवस्था, आस्थाको देदीप्यमान कालखण्ड त हुन्छ नै साथै तिनका दिशा र दृष्टि निर्माणको बेला पनि हुन्छ । तिनको सपना, आशा, निराशा, आकाङ्क्षा, लालसाले आकार ग्रहण गर्न लागेको अवसर पनि हो । कतिपय किशोर बाटो बिराएर समस्याको भुमरीमा फसेको पनि देखिन्छन् । रोमान्स र यथार्थबीच टक्कर हुन लागेको बेला पनि हो । यस्तो अवस्थामा राम्रो-नराम्रो, हलुका-गम्भीर, सकारात्मक जे कुरा उनीहरू देख्छन् र आफूले रमाएको दनियाँमा रमाउन जिन्दगीको अर्थ ठान्छन् त्यो दुनियाँको गहन तस्बिर उतार्ने शृङ्खलाबद्ध साहित्यिक संयन्त्र वा मञ्चको हामी कहाँ समुचित विकास हुनसकेको छैन । मधुपर्क, गरिमा, समष्टि, रचना, बगरजस्ता केही स्तरीय साहित्यिक प्रकाशन अस्तित्वमा रहे, भए पनि किशोर साहित्यकै रूपमा भने किशोरको चिन्तन, सोच, सङ्घर्षलाई विधिवत वा ठोसरूपमा अभिव्यक्त गर्ने सुदृढ परमपराको विकास हुन बाँकी नै छ । मधुपर्क मा ‘आँकुरा’ स्तम्भमा नयाँ युवा रचनाकारलाई स्थान दिने गरिन्छ । यस्तै युवा रचनाकार र रचना ले अन्य पत्रपत्रिकामा स्थान थोरै भए पनि स्थान पाएको पाइन्छ तर ती पत्रिकाको लक्ष्य भने किशोरभन्दा प्रायः अरू उमेर समूहका व्यक्ति नै विषय हुन्छन् ।

वि.सं. २०४५ सालमा गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘युवामञ्च’ मासिकको प्रकाशनबाट युवा जमात निकै आकषिर्त भएको पाइयो । यसको पाठक सङ्ख्यामा लगातार वृद्धि भइरहृयो र राजनीतिक विषयबाट टाढा रहेको हुँदा ज्ञान, मनोरञ्जन एवम् युवाका अभिरूचि विषयमा बढी समेटिएको हुँदा लोकप्रियताको शिखरमा बढ्दै गयो । त्यसपछि सम्भवतः युवामञ्चको लोकप्रियताबाट उत्साहित भई युवा जमातलाई केन्द्रविन्दुमा राखी विमोचन, सर्वोत्तम, नवयुवा, किशोर रङ्गमञ्च, र अङ्ग्रजीमा डिस्कभर जस्ता केही अन्य पत्रिका पनि बजारमा आए । दुर्भाग्यवश अहिले बजारमा नेपाली भाषामा बढी पढिने युवा पत्रिकामा युवामञ्च, नवयुवामात्र बाँकी छन् । प्रसङ्गवश, युवामञ्चको प्रकाशन पनि २०४५ साल तात्कालीन युवराज दीपेन्द्रको शुभजन्मोत्सव पारी पहिले प्रारूप अङ्क प्रकाशित गरिएको थियो । यसको सम्पादकमा बालमुकुन्ददेव पाण्डे थिए ।

पहिले युवा जमातसमक्ष कुनै पठनीय पत्रिका थिएन, युवामञ्चले त्यसकारण पनि लोकप्रियता प्राप्त गरेको हुनु पर्छ । अर्को कुरा क्रमशः अङ्ग्रेजी शिक्षित किशोर युवाको सङ्ख्या पनि बढ्दै गएकोले तिनको रूचि पनि पश्चिमेली रङमा रङ्गिँदै गए । सञ्चार, क्रान्तिले गर्दा विशवव्यापीरूपमा युवाजमातमा आधुनिकीकरणको प्रभाव अर्को शब्दमा भन्ने हो भने पशिच्मीकरणको प्रभाव पर्दै गयो । फलस्वरूप नेपालमै पनि ‘वेभ’ र ‘भोउ’ जस्ता पत्रिकाको जन्म भयो र अङ्ग्रेजी शिक्षित कुलीन किशोर युवाका दुनियाँ बेग्लै हुन गयो ।

इन्टरनेटको आगमनपछि नयाँ पुस्ताका किशोर, युवाहरूको प्रवृत्तिमा पनि व्यापक परिवर्तन भयो । काठमाडौँको नयाँसडकस्थित चर्चित पत्रपत्रिका पसल ‘सन्देश गृह’ का पुस्तक बिक्री फाँटका शङ्कर श्रेष्ठ भन्छन्, “साहित्यमा किशोर, युवाको रूचि एकदमै कम छ । उनीहरूले हेर्नु पर्ने कुरा प्रायः नेटमै हेर्छन्, साहित्य त बूढापाकाले पढ्छन् । थोरै केही युवा जो आउछन्, ती प्रायः ती साहित्यप्रेमी बूढापाकाकै सन्तान हुन्छन्, जसले आफ्ना सन्तानलाई पढ्नुपर्छ है भनिरहेका हुन्छन् ।”

सन्देश गृहकै पत्रपत्रिका फाँटका अनिल शाक्यको भनाइमा सेन्ट जेभियर्स, रातो बङ्गला आदि जस्ता स्तरीय र महँगा अङ्ग्रजी पाठशालामा भने विद्यार्थीलाई साहित्य पढ्न भने प्रेरित गरिन्छ । ती अङ्ग्रेजी साहित्य हुन् । नाम चलेका अङ्ग्रेजी साहित्यकार हेरोल्ड रोविन्सन, सिल्डी सिल्टन, निकोलस स्पार्कस पाउलो कोइल्हो जस्ता लेखकका कृतिमा कुलीन युवा नेपालीको बढी रूचि देखिएको शाक्य बताउँछन् तर प्रायः सहरिया युवा पाठकको अभिरूचि खेलकुद, मनोरञ्जन, फेसन जस्ता विषयमा बढिरहेको शाक्यको अनुभव छ ।

पीपलबाटस्थित चर्चित पत्रिका बिक्रेता दिनेश चित्रकारको अनुभव पनि यस्तै छ । युवा पाठकको रूचि गम्भीर, साहित्यिक पुस्तकतर्फ कम रहेको बताउँदै चित्रकार आरएसजे, म्याक्सिम, इन्टरप्रेनर, वेभ, भोउ एवम् खेलकुदको स्पोस्र्टस स्टार जस्ता पत्रिकातर्फ बढी रूचि देखिएको यथार्थ बताउँछन् । ठमेलस्थित एक युवा उद्यमी छिरिङ गुरुङ भने ‘बिजनेस’ सम्बन्धी पत्रपत्रिका र आम पत्रिका आफूले दिनहु पढ्ने गरेको भए पनि आफूलाई जर्ज वर्नाड सा, शेक्सपियरले निकै प्रभावित गरेको बताउँछन् । नेपाली साहित्य उति पढ्न नपाएको बताउँदै गुरुङ आफूलाई मन छोएको कति ‘द आर्ट अफ लिभिङ’ भएको पनि उल्लेख गर्छन् ।

यो आमनेपाली युवा पाठकको प्रतिक्रिया भने होइन तथापि केही युवा पाठक साहित्यबारे सचेत देखिन्छन् । इन्टरनेटको आविस्कार च्याटिङ, फेसबुक आदिले नेटमै युवाको बढी समय खिचे पनि नेटमा गम्भीर साहित्य अध्ययन, अन्वेषण गर्ने युवा कमै देखिन्छिन् । हलुका सामग्रीले किशोर पुस्तालाई बढी तान्ने कुरा सहज भए पनि साहित्यको माध्यमबाट समाज र संसार बुझ्ने कुरामा उनीहरू गम्भीर भएको देखिँदैनन् । यसको मूलतः दुई कारण देखिन्छ । एक, बोझिला होमवर्क र नीरस पाठ्क्रमको यान्त्रिक शिक्षासंस्कृति दुई, अभिभावकमा साहित्यचेतनाको अभाव अथवा साहित्यलाई अनुत्पादक ठान्ने मनोवृत्ति । तेस्रो कारण पनि छ, टेलिभिजन र नेट युगको उदय ।

विद्युतीय सञ्चार माध्यमको द्रूत विकासले किशोर, युवापुस्तालाई स्वस्थ मनोरञ्जनसँगै सत्मार्गमा डोर्‍याउने र असल समाज निर्माणमा प्रभावकारी भूमिका खेल्ने सामग्रीबारे उति ध्यान पुर्‍याएको पाइँदैन । मनोरञ्जनको नाममा सस्तो र अन्धानुकरण गरिएका फिल्मी ‘गोसिप’ ग्ल्यामर, बेलुका टेलिशृङ्खला, रियालियटी सो, अपराध कथा, बिहान बिहानै ज्योतिषका गनगनबीच किशोर-युवापुस्तालाई पठनीय, दर्शनीय, श्रवणीय, उत्प्रेरक, मार्गदर्शक वातावरणबाट वञ्चित गर्दै लगिएको छ । भारतीय प्रसारणमाध्यम, श्रव्यदृश्य सामग्री, सिनेमासमेत बढी प्रचारात्मक र कम सिर्जनात्मक भएको प्रभाव पनि नेपाली किशोर युवाजमातमा परिरहेको स्पस्ट छ ।

राजधानीको एक मध्यमवर्गीय बोर्डिङ स्कुल ज्याठास्थित अन्नपूर्ण बोर्डिङ स्कुलका कक्षा १० छात्रछात्रासँगै साहित्यसम्बन्धी यस पङ्क्तिकारले गरेको अन्तरक्रिर्याको रोचक तर चिन्तनीय नतिजा पायो । पाठ्यपुस्तकमा समावेश रचनामार्फत साहित्यकारबारे केही कुरा तिनलाई ज्ञान रहेछ । उदाहरणका लागि भूपी शेरचन, भैरव अर्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, बीपी कोइरालाबारे तिनलाई जानकारी रहेछ तर भूपी शेरचनको लोकप्रिय कृतिका नामबारे समेत तिनलाई थाहा रहेनछ, भैरव अर्यालले आत्महत्या गरे भन्ने कुरा कसैलाई थाहा रहेनछ । वीपीको दोषी चश्मा पाठ्यक्रममा भएकोले पढेको तर बीपीको ‘जेल जर्नल’ वा आत्मवृतान्त’ बारे थाहा नभएको प्रतिक्रिया तिनले दिए । विद्यालयमा पुस्तकालय कमजोर भएको र स्वयम् विद्यार्थीको रूचिसमेत समसमायिक घटनातर्फ कम रहेको तिनको जवाफबाट बुझियो । माथि उल्लेख भइसकेको र आधुनिक भनिएका केही पत्रपत्रिकातर्फ भने तिनको केही रूचि भएको देखियो भने केहीले नेट र टेलिभिजनले गर्दा तथा केहीले नभ्याएर साहित्य पढ्न नसकेको प्रतिक्रिया दिए । यसमा धेरै हदसम्म वास्तविकता पनि लुकेको छ । हाम्रो परिवेश साहित्यमैत्री छैन । सञ्चारमाध्यम पनि व्यावसायिक हुनुको सट्टा बढी व्यापारिक हुनु पनि एक प्रमुख कारण हो । एक युवा अङ्ग्रेजी शिक्षक रामशरण हुमागाईं, विश्वव्यापीकरण एवम् इन्टरनेट संस्कृतिको असर पनि कारक रहेको बताउँछन् । शिक्षा पनि ‘फास्ट फुड’ झैँ भइसकेको छ, सबैलाई हतारो छ । हुमागाईंको विचारमा सबैथोक रेडिमेड भइसकेको छ, रेडिमेड मानसिकता, रेडिमेड प्रश्न, रेडिमेड गेस पेपर, रेडिमेड शिक्षक । ‘क्रिटिकल थिङकिङ’ कम भइरहेको प्रवृत्ति औँल्याउँदै हुमागाईं शिक्षकसमेत दोषी रहेको बताउँछन् । उनको विचारमा हाम्ो शिक्षा परीक्षाउत्मुख भइसकेको छ, परीक्षामा जे आउछ त्यो घोकाउने कारणले विद्यार्थीमा सिर्जनशीलताको अभाव देखिन्छ । यो तर्क धेरै हदसम्म सही र यथार्थपरक छ ।

सारांशमा सञ्चार क्रान्तिभन्दा पूर्व र क्रान्तिपछिका किशोर, युवाको मानसिकतामा व्यापक अन्तर आएको छ, खासगरी सहरिया युवाको मानसिकतामा । विश्व सानो गाउँ भएपछि, नेट टेलिभिजनले भूमिका त खेल्ने नै भयो तर यसले किशोरहरूमा गम्भीर अध्ययनशीलता, सिर्जनशीलतालाई कम पनि गरेको छ । अर्को कुरा, गीत-गजल, राशिफल, चुट्किला, सिनेमा, सेक्स, सङ्गीत किशोरका लागि सहज कुरा भए पनि यी बाहेक सक्कली र ठोस दुनियाँ अरू पनि छन् । यीमध्ये साहित्य समाजको दर्पण हो भन्ने बोधबाट किशोरहरू टाढिँदै छन् ।

पहिल्यै भनिइसकिएको छ, न घरको वातावरण गम्भीर हुन सकेको छ, न त स्कुलको वातावरण सिर्जनशील हुन सकेको छ, यो चिन्ताजनक र खतरनाक लक्षण हो ।

युवामञ्च २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *