Skip to content


यो कुनै महावाणी वा सोसरहको आप्तवचन भने होइन तर पनि यसो भन्नाको कारण भने छ। के छ भनेर प्रश्न नगरिए पनि सोच्न भने सकिन्छ। यो एउटा सम्बन्धबाट प्राप्त निराशाको सुस्केरा हो। कसरी? कसरी भने यो हुन त सम्बन्धहरूबाट उब्जेको पूर्ण अप्रकाशित परिणाम हो। यतिसम्म भन्दा तपाईंहरूलाई लाग्न सक्छ, यो घुमाउरो गरी पुनरूक्तिमूलक शब्दजाल फाल्दै छ। यसमा कुनै गुदी र गिदी हुने छैन। हुनसक्छ। यहाँ यस्तै वाकवाकीयुक्त वाक्यांशलाई पूर्णतः मान्यताप्राप्त हुने चलन छ, पाठकीय मण्डलमा पनि र लेखकीय संसारको फेरामा पनि। अनि, त्यस्तो रचनालाई महान् बनाउँदै पाठकीय टाउका र पुरस्कारमण्डलीले आफ्नो अल्पज्ञताको विशेषताबाट सम्मानित पनि गर्ने गरेको छ। यस्तो प्रचलनमा मेरो यो सानो गन्थनको घुमाउरो घुम्तीशब्दका अर्थहरू पर्गेल्याइँमा नपुगी निष्कर्ष उत्पादन गर्नु निश्चय पनि नेपाली रचनासंसार एकपक्षीय र अल्पज्ञको बहुमत भएको प्रमाणित हुन्छ। यस कटुसत्यलाई गुनासाको नाउँ दिएर पढे पनि यथार्थ भने पूर्ण रूपमा सही हो। यसैले म भन्छु, त्यस्तो पण्डितीय हूललेखनीमा एक्लै भएर नै म त्यस्तो वक्पण्डितमूलक शब्दजालको लहरा बढाउन यस्तो लेख्तै छु। अहँ, त्यो त झन् पटक्कै होइन। मैले यसो भन्नाको कारण यो जोजससँग सम्बन्ध भएरै हो। अशिष्ट र अल्पज्ञ वक्रोक्ति उपयोग गरेर लेखिने निबन्ध भनेर पाठकीय अवधारणा यहाँ बनाइन्छ भने त्यो पूर्णतः विपरीत सोचाइको कुण्ठा हुनेछ भनेर म सत्यलाई एकछिन थाती राखी आफ्नो यस शब्दसंसारलाई एकफेर उघार्छु।

कुरा के भने आफू केही भए पनि यसो साहित्यमा रम्दै, लेख्तै र पढ्दै आइएको हो। म आफ्ना साहित्यिक प्रवेशक्षण सम्झन्छु। उत्तरआधुनिकहरूले बीचमै नोस्टालजिया भन्ला। पूर्णतः असत्य पनि होइन। जेहोस्, मेरो विगतका कतिपय क्षणहरूलाई जम्मा गरेर उघार्दा देख्छु, ०३४/३५ सालतिर सर्वप्रथम कलम समाएर कविता लेख्नु उत्तम मार्ग हो अर्थात् साहित्यप्रवेश सही प्रवेश हो भनेर ठानिसकेको रहेछु। केही बालमन वा किशोरचेतनालाई लिएर मैले साहित्यसभामा सामूहिक हामफालेको हुँ भन्दा हुन्छ। त्यसैको निरन्तरता हो, ०३७ सालमा मैले नै अल्पज्ञानबाटै भए पनि पुस्तकालय खोलेको। ज्ञान यसरी पनि विस्तार हुँदोरहेछ भनेर म भन्छु। त्यसरी नै हो, ०३९ सालमा मेरो पहिलो कविता कालो बादल प्रकाशित भएको। त्यसपछि लेखन र प्रकाशनको निरन्तरता रही नै रहेको म अनुभूत गर्छु।

यस स्थितिमा मैले कति मित्र कमाएछु र कति गुमाएको पनि छु। कमाउनुमा मेरो सिर्जनशीलता नै हो भनेर भन्छु भने गुमाउनु मेरो गल्ती होइन भनेर पनि भन्न सक्छु। मेरापछाडिका कुराकटाइका कारण हुनसक्छ त्यो भएको। छोडिदिऊँ, यो वैयक्तिक कुरा। मुख्य चुरो त यहाँ पो छ। म भूमिका लेख्ने छैन भन्नुको कारण। जानी-नजानी वा संघर्षशील भई लेखन गर्दै यहाँसम्म आइपुग्दा ओह, लगभग तीन दशकको फेरो घुमिसकेछ मेरो जीवनका वरिपरि। त्यस घुमाइमा मैले कति अध्ययन गरेको छु वा कति गर्न पाएको छैन भन्ने लेखाजोखा गर्नुभन्दा पनि मैले लेखनमा निरन्तरता दिँदै जाँदा आफ्ना अग्रजका पुस्तकमा पनि आफ्नो ल्याकतले भ्याउन्जेल वा सकुन्जेल मन्तव्य, भूमिका वा समालोचना गर्दै आएछु। मेरा समकालीन मित्रहरू र केही अनुजका पनि भूमिका लेख्ने सत्कर्म गरिसकेको छु भनेर मलाई गर्व लाग्दालाग्दै पनि मैले यहाँ यति बेला कठोर भएरै अब म कुनै पनि, कसैको पनि पुस्तकको भूमिका लेख्ने छैन भनेर भन्नुपरेको…।

यसको थुप्रो र धेरै कारण भने छैन। मैले आफैं नै यो सोचेको हुँ। यो कुनै क्रान्ति घोषणा पनि होइन। केवल मलाई केही समयदेखि लागेको कुराले आफूलाई यो सोच्न वा भन्न बाध्य गराएको हो। अग्रजहरूको भूमिका लेख्ता कतिको तारो पनि बनेको छु। यो पनि एकातिर सत्य नै भएर रहेको छ। मेरो भूमिकालेखनको इतिहासलाई मेट्ने र निरर्थक बनाउने केही स्वजनहरूको कुकृत्यले म सजग हुन बाध्य भएको हुँ। यद्यपि, कुरा यो मात्र होइन। खासमा मैले प्रायशः आफ्ना सम्पूर्ण समकालीन मित्रहरूको विधा अनुसार लेखन गरेको छु र आफ्नो दौँतर युग एवं छिमल समयको नाउँ पनि प्रदान गरी सिर्जनाको अर्थलाई इतिहासको सानै पाना भए पनि भर्ने काममा दत्तचित्त भएको छु र हुँदाहुँदै पनि केही मेरा महान् मित्रहरू मेरो विवशता, वेदना, पीडालाई आफ्नो सरोकारहीनको केन्द्रमा राखी उल्टै मेरो कमजोरीको परिभाषामूलक कोश उभ्याउने कार्यमा रत वा लिप्त भइरहेको देखेर नै यसो भनेको हुँ। योचाहिँ वास्तविक र यथार्थ हो। मैले जति मेरा अग्रज वा समकालीन मित्रहरूबारे लेखे पनि मेराबारे कसैले सकारात्मक र सिर्जनात्मक लेख्नु त परै जाओस्, बोलेको पनि छैन। यद्यपि, यो ठोस सत्य भए पनि मेरो चिन्ताको विषय भने होइन। मलाई अर्थात् मेराबारे लेख्नुपर्छ भन्ने पनि छैन।

म आफ्नो सिर्जनामा अडिग भएर लेख्ने एक सामान्य स्रष्टा हुँ। मलाई पुरस्कारको भनसुन, भूमिकाको समर्थनपहाड, प्रशंसाको लामो पुल आदि कुनै पनि आवश्यक भएर यो लेख्न लागेको वा गुनासो गर्न लागेको पनि होइन। खास कारण छ। मैले केही मित्रहरूको कमजोर लेखनलाई पनि आफ्नो सिर्जनाशक्तिद्वारा मन्तव्य, भूमिका आदि नाउँका कर्म दिएको छु र नेपाली साहित्यको उपलब्धि भनेर तर्क गरेको छु। त्यस स्थितिमा ती ती मित्रहरू भूमिका वा मन्तव्य लेखिइसकेपछि मेरा लागि उक्त पुस्तकको सौजन्यसंस्कार त छोडिदिऊँ, धन्यवादका दुई शब्द पनि दिने गरेका छैनन्। मानौँ मैले भूमिका लेखेर ती महान् मित्रका महान् कृतिबारे होइन, आफ्नै लेखनमा ऊर्जा दिएको हुँ र म भूमिका लेखेबापत साहित्यमा प्रगति गर्न सक्ने हुन पुगेको हुँ। अनि, निवेदन लेखेर ‘लौ न मित्रवर मैले तपाईंका पुस्तकमा भूमिका लेखेको हुनाले म चर्चित भएको छु र त्यस भूमिकावत् पुस्तकको एक प्रति उपहार मलाई उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दै श्रीमान्मा यो निवेदन पेस गरी आगामी दिनमा यहाँको सिर्जनाशक्तिले म गद्गद् हुन पाऊँ’ भन्नुपर्ने स्थिति आएपछि के गर्ने त? लौ भन्नूस् त महाशय ! यसैले यो निवेदनधारी प्रणालीले दिक्क भएर आफूमै सीमित रहनु ठिक्क भन्ने सोचाइमा मैले यस वाक्यांशलाई मन्त्रोच्चारणझैँ गर्नुपरेको हो। यसमा थप कारण अरू पनि छन्। के छन् भनेर प्रश्न उठ्नुअगावै म भनिदिन्छु, मैले आफ्नो ल्याकतको भूमिका लेखेपछि स्याबासी वा प्रशंसाको कदरपत्र नभएर उल्टै खुप जान्ने भएर लेख्नुपर्ने, त्यस्ता लेखन के लेखन, बढी जान्ने हुने आदिआदि प्रिसद्ध बसिबियाँलोजन्य उपमा आफ्नै कानले सुनेर गलित हुनुपर्ने बाध्यकारी मौखिक तक्मा भने पाएको छु। त्यसो त साहित्यसंसारमा नाउँ दिने र टिप्पणी अनि आलोचना अरूको मात्र गरनिे परम्परा गहन चिन्तनको नदी लिएर बगेको देखिन्छ। त्यसैले होला, मेरा लागि कसैलाई नमान्ने, अभिमानी, बडबोला, मित्रहीन आदिआदि विभूषित आप्त महावाणीले ओतप्रोत बनाइएको छु। यसैले होला, मैले लेखिदिनु मेरो कर्म हो तर मेरा लागि बोलिदिनु र लेखिदिनु निरर्थक मात्रै होइन, अनावश्यक नै हो।

यस्तो स्थितिमा के लेख्ने, किन लेख्ने, कसलाई लेख्ने? आदिइत्यादि प्रश्नशूल पनि नउठेको होइन, उठ्छ नै तर यस निराशाको खेलमा नकारात्मक सोच मात्र आउने होइन, सकारात्मक दिन पनि उदाएको छ मेरो सन्दर्भमा। नेपाली साहित्यमा कति अशिष्ट, कति खराब, कति कमसल, कति निरर्थक, कति भ्रष्ट भन्ने तर्क र छलफलीय वार्तालापको आलाप बेलाबेला सुनिने नै गरिन्छ तर त्यस स्थितिमा कहिलेकाहीँ हुने जुन अप्रत्याशित घटना हुन्छ, त्यसले सोच्न मात्र होइन, बुद्धिजीवी र शिष्ट सर्जकका परिभाषालाई नै अब अर्कै ढंगमा बुझ्नुपर्छ कि भन्ने लाग्छ। भन्न लागेको के भने नेपाली साहित्यसंसारमा केही यस्ता अशिष्ट साहित्यिक वा नकारात्मक दृष्टिपोषक मानिएका सर्जकले भने मलाई आफ्नो कृतिको भूमिका लेख्न दिएर मैले उक्त पुस्तकको भूमिका लेखिदिँदा वा लेखिदिएपछि सधन्यवाद मलाई आफ्नो उक्त पुस्तक मात्र होइन, पारिश्रमिक पनि प्रदान गरििदएर साहित्यिक वक्वक्चण्डालको मुख ट्वाँ पारििदएको अनुभूत गर्छु किनभने मैले कति सज्जन, शिष्ट र सकारात्मक सोच भएको मानिएका सर्जकका भूमिका लेखिदिँदा माथि नै भनेझैं पारिश्रमिक त परै जाओस्, धन्यवाद र भूमिका लेखिइएको कृति मात्र पनि प्राप्त गरेको छैन र ती महामनाहरूले दिने चेष्टा नगरँिदा अहिले, यतिबेला साँच्चै यो भन्न बाध्य भएको हुँ, अब त्यस स्थितिमा अरूबारे के लेख्नू? यसैले महोदय, मैले अब अरूको कुनै पनि कृतिबारे लेख्ने वा भूमिका, मन्तव्य कोर्ने छैन भनेर मनमनै घोषणा गरेको भने हुँ। साँच्चि अब म भूमिका लेख्ने छैन ।

नेपाल साप्ताहिक ४३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *