Skip to content


‘दले’ भनेको दलालको छोटकरी रुप हो । ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो । सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो । हर्ताकर्ता भएर उसले ङिच्च हाँस्दै उच्चमार्गी र निचमार्गीका कान फुक्ने काम गर्दछ । एड्शन अरान्ते दो नासिमेन्तो अर्थात् प्रसिद्ध अन्तराष्ट्रिय ब्रजालियन फुटवलर पेले फुटवल खेल्नकै लागि जन्मिएका हुन् भने दलेहरू दलाली गर्नकै लागि मात्रै जन्मिएका हुन् । पेलेका शरिरमा रगत भएर फुटवल बगे जस्तै दलेका शरिरमा दलाली मात्र बग्छ ।

‘घोडाले घाँससँग मित्रता गाँस्दा के खानु’ भनेर मित्रता नगाँसे जस्तै दलेले इष्टमित्र, नाताकुटुम्भ, छरछिमेकी कसैलाई पनि मित्र भनेर स्वार्थसिद्धीमा बाहेक हात जोड्दैन, परिआउँदा र लुट्न पाउँदा ‘कुकुरले हड्डी छोड्ला’ तर दलेले छोड्दैन । यो उसको सनातन जीविकोपार्जनको अनुपम उपहार जस्तै हो । ‘तरुनी खेती’ भने जस्तै यो युग र अनुशासन विगार्ने दलाली खेती हो । कान फुक्न जान्नेले यो पेशामा धनदौलत कमाएका छन् भने दैलो ढुक्न लाजघिन नमान्नेले उच्च ओहोदा कमाएका छन् । इमान बेचेर इनाम कमाउने यो जगमा कोही छन्/हुन् भने दलेहरू मात्रै हुन् ।

अव आयो जालोको पालो । ‘जालो’ भन्नाले घेराबन्दी, भुलभुलैया, धराप वा अल्झाउने/अल्मल्याउने/जकड्ने पासो भन्ने अर्थ लाग्छ । जालोलाई घिरौँला र माकुराको जालो मात्रै भनेर बुझियो भने कम बुझिएको ठहर्छ । तसर्थः कुकर बम्ब, तुल बम्ब, सुतली बम्ब, एम्बुस आदिलाई पनि जालो भनेर बुझ्नु पर्दछ । अश्रु ग्याँस र कफ्र्यू पनि जालो नै हुन् । बन्द, हड्ताल, आन्दोलन, अनशन आदि पनि एक प्रकारका जालो नै हुन् । तर असली जालो चाँही दलेले गोटीका रुपमा प्रयोग गर्ने एक ब्यक्ति वा अनेक ब्यक्ति नै हुन् । यस्तै ब्यक्ति कालान्तरमा गोटीबाट दले हुन्छन् । यसरी नै दलेको पिँढी चलेको छ ।

‘दलेसँग जालोको नरनाता के छ ?’ भन्ने प्रश्न तपाईँका मनमा पलाएको होला । तर यिनको चेब्जुबाजेकै पालादेखि अनन्य सम्बन्ध रहँदै आएको छ । दलेले दलाली गर्न जालोको सहारा लिने भएकाले वा दलेले दलाली गर्दा जालो बनाएर गर्ने भएकाले नै यिनको सम्बन्ध सियो र धागोको जस्तो, पराल र आगोको जस्तो भएको हो । अझ अचेल त यिनको सम्बन्ध भट्टि र जँड्या जस्तो, क्यासिनो र नेपाली जस्तो, बैँक र डाका जस्तो, अपहरण र फिरौती जस्तो, झापड र झलनाथ जस्तो, सरकार र दण्डहिनता जस्तो, सभासद र संविधान जस्तोे भएको छ । त्यती मात्र कहाँ हो र ! नेपालमा त दल र कुर्सीको जस्तो सम्बन्ध छ दले र जालोको । अर्थात जस्ले जे भनोस् ! दले र जालोको दोस्ती बाहुनी बज्यैका ठेकीमा दही जमे जस्तै जमेको छ ।

दलेको जालो फेसबुकको जालो भन्दा ब्यापक रहेको छ । सरकारी कार्यालयमा गाविसदेखि मन्त्रालयसम्म, प्राविदेखि विश्वविसम्म, सहकारीदेखि केन्द्रिय बैँकसम्म कहीँकतै दले नपुगेको र दले नभएको ठाऊँ छँदैछैन । ठेक्कापट्टादेखि राज्यसत्तासम्म दलेकै दलदल छ । दलेकै जगजगी छ । कोठीमा बेचिएकी चेलीदेखि नक्कली विलका ठेलीसम्म, खाडीमा बेचिएका जवानदेखि चोरी/डकैटीका वाहनसम्म, निर्धाको घर घेर्नेदेखि गाडीका नम्बरप्लेट फेर्नेसम्म, बडीगार्डदेखि बुढीगार्डसम्म, सडकदेखि सदनसम्म दलेकै चकचकी छ । दलेकै रत्यौली छ । अब यता(कतार)को कुरा गरौँ ।

हप्तैपिच्छे अलपत्र पारिएका नेपालीहरू यहाँस्थित नियोगमा अँध्यारो मुहार र अनिश्चित भविष्य लिएर समस्या दर्शाउँदै आश्रय लिन आएको देखेर तिनलाई यस्तो हालतमा ल्याउने ठूला टाउके दलेदेखि साना टाउके दलेहरूप्रति कन्सिरी तातिनेगरी रिस उठेर आउँछ । यताका स्वनामधन्य दले पनि नेपाली, उताका बद्नामधन्य दले पनि नेपाली र जाली भिषा, जाली पासपोर्ट र हुँदै नभएको खाली कम्पनिमा उता र यताका दलेले भनेकै भरमा परेर अलपत्र हुनेगरी ठगिने पनि नेपाली । हे दले ! तिमेरलाई दलाली नगरी खाएको पच्दैन ? दलाली नगरी तिमेरको घर चल्दैन ? तिमेरको अन्तर्राष्ट्रिय जालो देखेर तिमेरको नियत जस्तै कालो खेद प्रकट गर्न मन लाग्छ । धन्य होस् तिम्रो दलाली र धन्य हौ तिमी दले ! अब फेरि उताको कुरा गरौँ ।

कुनै गाऊँस्तरिय कार्यालयमा वा सहरस्तरिय मन्त्रालयमा जहाँ गए पनि पहिले दले भेटिन्छ । उसले सकेको बाहिर धुत्छ, भित्रको दलेले भित्रै धुत्छ । जहाँ पनि दलेले नाङ्गेझार पारेर पठाउँछ । पउँचवाला दलेहरूले त के सम्म गरेनन् ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही हप्तादेखि पार्किङ्गमा राखिएको नेवानीको जहाजका कम्तीमा दस करोड जाने पार्टपुर्जाको बाकस नै दलेहरूले गायब पारे । देश बिगार्ने दलेहरू नै हुन् । देश बनाउनु छ भने दले बिग्रिनु पर्छ । दले निख्रिनु पर्छ । आजका मितिसम्म संविधान नबन्नुका पछाडिको कारण पनि दलेहरू नै हुन् । झलेको नेतृत्वको सरकारले ‘दले निर्मुल अभियान’ मात्रै थाल्यो भने पनि देशका लागि महान उपलब्धी हुनेछ ।

चर्चित ढुङ्गेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *