महेशलाई आज पढ्नमा खासै ध्यान गएको छैन । कक्षामा पढ्नमा राम्रो र अनुशासित विद्यार्थी मानिए पनि उसको व्यवहार आजअलि फरक भएको उसका शिक्षक प्रकासले बुझिसकेका छन् । आज महेशको ध्यान अन्त कतै मोडीएको छ भन्ने उसलाई लागिसकेको छ ।
विद्यालयको पढाइ सकेपछि धर तिर दगुर्दै गइरहेको महेशलाई कसैले बोलायो, ‘महेश ! ए महेश यता सुन त ।’ आफ्नै सुरमा दौडीरहेको महेश रोकियो । ‘आज कक्षामा पनि तिम्रो ध्यान पढाइमा थिएन । अहिले पनि दगुर्दै गइरहेका छौ । के भयो तिमिलाई घरमा त सबै ठिक छ नी हैन ?’ पल्लो गाउँमा बस्ने प्रकाश सरले उसलाई सोध्नुभयो ।
प्रकाश सर महेशको बुबाको मिल्ने साथी भएकाले उहाँले महेशलाई विशेष ध्यानदिनु हुन्छ । पारिवारिक रूपमा पनि उनीहरूको सम्बन्ध नजिकैको छ ।
‘घरमा त सबै ठीक छ सर’ टाउको कन्याउँदै उसले भन्यो, ‘आज घरमा बुबाले कम्प्युटर ल्याउने भन्नु भएको छ त्यसैले मलाई…’
यति भने पछि ऊ बोल्न डरायो तर सरले उसको कुरा बुझी हाल्नुभयो । ‘ए, कुरा यसो पो । अनि कम्प्युटरले ल्याउँदैमा यस्तो फुर्किनुपर्छ त ? आज तिम्रो ध्यान पढाइमा पनि थिएन ।’
महेश चुप लागेर बसिरह्यो । एक छिनसम्म पनि केही नबोलेपछि सरले फेरी सोध्नु भयो, ‘कम्प्युटरले के के गर्छ थाहा छ तिमीलाई ?’
‘फिलिम हेर्न मिल्छ रे सर । अनि फोटो खिच्न, गेम खेल्न । कति रमाइलो रमाइलो हुन्छ रे सर त्यसमा खेल्न त । मान्छेको मनभित्रको कुरा पनि थाहा पाउँछ रे अनि मान्छे भन्दा पनि सिपालु हुन्छ रे’, सरले कम्प्युटरको कुरा झिकेपछि उत्साहित हुँदै ऊ बोल्यो ।
‘ल, ल आज हेर अनि भोलि कम्प्युटरको बारेमा कुरा गरौंला । तर भोलिदेखि पढाइमा धेरै ध्यानदिनु नी’ सरले उसलाई विदा दिँदै भन्नु भयो । सरसँग विदा भएपछि ऊ आफ्नै तालमा घर तिर लाग्यो ।
जनता माध्यमिक विद्यालयको ७ कक्षामा पढने महेश पढाइमा अब्बल विद्याथी हो । उसलाई मनपर्ने विषय गणित र विज्ञान हो । उसले पहिलो पटक कम्प्युटर ५ कक्षा पढदा देखेको हो । सहरमा फुपूको घरमा जाँदा उसले पहिलो पटक कम्प्युटर देखेको थियो । उसका दाई, फुपुका छोरा, जीवनको कोठामा । पछि उसले थाहा पायो कि जीवनदाई त कम्प्युटर पढदै पो रहेछन ।
घरमा भएको टीभी जस्तै लाग्ने त्यो चिज देख्दा उसको मनमा धेरै प्रश्न उठेका थिए । दाजुले कम्प्युटर पढदै गरेको कुरा थाहा पाएपछि ऊ झनै दंग पर्यो । ‘हाम्रो घरमा भएको टीभी चाहिं पढ्नुपर्दैन तर यो टीभी जस्तै चिज चाँहि पढनु पर्ने । कस्तो अचम्म’ मन मनै सोचेको थियो ।
पछि उसले दाजुसँग सोधेर कम्प्युटरको बारेमा केही जानेको थियो । कम्प्युटरबाट नै अहिलेको संसार विकसित हुँदै गएको हुनाले उसका दाजुले कम्प्युटरसम्बन्धी विषय पढेका रहेछन् । कम्प्युटरमा गेम खेल्न मिल्छ, फिलिम हेर्न मिल्छ अनि हिसाब गर्न पनि मिल्छ भनेर उसका दाजुले भनेका थिए । अरुको मनको कुरा थाहा पाउने भन्ने चाहिँ साथीबाट सुनेको थियो । दाजुले नै उसलाई कम्प्युटर भनेको त्यो टीभी जस्तो भाँडो मात्रै होइन भनेर बुझाए ।
कम्प्युटर चलाउनचाहिने मुसा (माउस) चाहिँ उसलाई याद छ अनी त्यो अर्काे ठूलो भाँडोको नाम भने उसले बिस्र्यो । दाजुले अङ्ग्रेजीमा खै के हो भनेका थिए । मुसा जस्तै लामो पुच्छर भएको त्यो माउसलाई उसले खेलाएको थियो । मुसा जता हल्लायो त्यो टीभी जस्तो भँाडोमा भएको तिर जस्तो आकार यताउता सरेको देख्दा उसलाई रमाइलो लागेको थियो ।
पछि दाजुको सहयोगले उसले कम्प्युटरमा आफ्नो नामसमेत लेखेको थियो । नाम लेख्दा पो उसले थाहा पायो कम्प्युटरमा लेख्ने कलम त गजबको हुँदो रैछ । कापिमा लेख्ने कलमजस्तो नभई त्यँहा त थिच्ने कुराबाट पो लेखिँदो रैछ । अनी मेट्नलाई इरेजर पनि नचाहिने । लेख्दा थिचे जस्तै मेटदा पनि थिचे हुने । फेरि अक्षर पनि कति मिलेका राम्रा । अक्षर ठुलो सानो बाङ्गो टेढो जस्तो पार्न पनि मिल्ने अनि रङ फेर्न पनि मिल्ने । त्यस दिन ऊ निक्कै दङ्ग परेको थियो । दाजुले भोलिपल्ट फिलिम देखाउने भनेका भए पनि ऊ घर फकर्नु परेकाले फिलिम हेर्न भने पाएन ।
मनमा अनेक कुरा खेलाउँदै महेश घर आइपुग्यो । घरमा आमामात्रै हुनुहुन्थ्यो ।’ आमा बुवा खै त ?’ उसले सोध्यो । ‘सहरबाट आउनु भएको खै र ?’ स्कुलबाट आएपछि डे्रस फेरेर हातमुख धोएर खाजाखान हतारिने महेश आज नहतारिएको देखर आमाले भन्नुभयो । निराशहुँदै महेश कपडा फेर्न आफ्नो कोठातिर गयो ।
कोठामा पुग्दा ऊ दङ्गपर्यो । कोठामा नयाँ टेबुल छ र त्यसपाछि उसको सपनाको बस्तु कम्प्युटर । ‘आमा कम्प्युटर कसले ल्याएको त ?’ ऊ चिच्यायो ।
‘अरु कसले ल्याउनु नि तिम्रो बुबाले । अघि मैले त तिमिलाई दङ्ग्याएको ।’
महेश कम्प्युटरलाई सुम्सुम्याउन थाल्यो । असलाई कम्प्युटर कसरी चलाउने थाहा नभएकाले माउस खेलाएर बसिरहृयो । बुुबाको प्रतिक्षामा ।
(विद्यार्थीलाई कम्प्युटर सिकाउने यो मुनाको पहल हो, कम्प्युटर र यसको सञ्जालका विषयमा थप ज्ञान दिने र अभ्यस्त बनाउने हाम्रो प्रयास आगामी अङ्कमा पनि जारी रहनेछ ।)
मुना २०६७ चैत
