टह टह जूनको राजमा
अनगिन्ती ताराहरूको माझमा
रात फक्रेको छ ।
किरीकिरी किरीकिरी
एकोहोरो किराहरूले कराई रहँदा
पूर्णिमाको बेवास्ता गर्दै
गैरी खोलामा स्यालहरू कराउदैछन् ।
आँगनको दायाँ कुनाबाट
कुकुर हुनुको अर्थ ब्यक्त गरिरहेछ
त्यो काले कुकुर
एक्लै एक्लै आवाज दिइरहेछ
आफ्नै भाषामा अनि आफ्नै लवजमा ।
म छिचोलिरहेछु यी सबैका मध्येबाटै
कसैको यादलाई
म टाँठो गरी सम्झिरहेछु
कसैको न्यानो स्पर्शलाई
अनि
झस्किरहेछु कसैसितको दुःखद
त्यो वियोगदेखि ।
आज मेरा नयनहरूसित
भित्तामा लेखिएका उनका नामहरू
ठोक्किन आइपुगिरहेछन् बारम्बार ।
म युद्धमा हारेको सिपाही जस्तै
आत्मसमर्पण गरेको विद्रोही झैं
कायर बनिरहेछु पल पल
त्यो यादसित, भित्ताको तस्बिरसित
अनि विगतसित ।
रनभुल्ल आफैंमा, हराएको आफैंभित्र,
असमन्जस्य आफैंसँग
दुखेसो आफैंसँग, गुनासो आफैंसँग,
सल्लाह आफैंलाई
हो म धेरै प्रयास गर्छु,
आफूलाई सम्हाल्ने प्रयत्न
आफूलाई ब्यवस्थित बनाउने प्रयत्न
म गरिरहेको छु ।
हो म कोशिस गरिरहेछु ।
बोल्नेहरू बोलिरहेछन् ।
बोल्न डराउनेहरू डराइरहेछन् ।
कोशिस गर्नेहरू गरिरहेछन् ।
यही भीडबाट दुईको यात्रा
शुरुवात भएको थियो ।
तर
दुबैको रफ्तार एउटै हुन सकेन
चुडियो गति, रोकियो समय
जीवन आफ्नै ढगंले अघि बढ्यो
तर रफ्तार एउटै हुन सकेन ।
त्यसैले त
म दुःखित छु, समयसित
म खुसि छु, समयसित
गुनासो गर्छु समयसित
हाँस्छु समयसित
रुन्छु समयसित ।
तर समय वेप्रवाह, आफ्नै गतिमा लम्किरहेछ ।
आफ्नो विशेषता जनाइरहेछ ।
मलाई दास बनाइरहेछ ।
उनले सहयात्रा तोडेदेखि
जिन्दगीका भागहरू समयसँग
हारिरहेछन् ।
आफैंसँग हारिरहेछन् ।
