ए ! मेरा प्यारा दुख:हरू,
म उन्मुक्ति रुचाउन थालेको छु अचेल ।
काल भैरवहरूसँगको सम्बन्धमा ह्रास आउँदैछ ।
द्रव्य पिचासहरूलाई झलुङ्गोमा झुलाएर सुताइदिएँ ।
तिमीले अब रोर्बट साम्राज्य
यो उत्तरआधुनिक समाजमा समाहित हुनुपर्छ ।
त्यहाँ चुचुरे विचार शिखरको फन्दामा पर्नेछौ
वाध्यतावश कपाकप सडेगलेका नयाँ बासी विचार निल्दै गर्दा –
तिम्रो घाँटीमा गला लाग्यो भने-
निर्लज्ज भएर,
अविरल मेरो आँखाका नानीबाट
सलल बग्न सक्नेछौ ।
मुटु घोच्ने गरी मच्किन स्वतन्त्र छौ ।
नयाँ सालसँगै तिम्रो नविन स्वागत गर्दछु ।
स्वीकार मेरो औपचारिक अभिनन्दन !
ल्याऊ मेरा धमनीहरूमा भूइँचालो !
