चैत जाँदो बैशाख लाग्दो
यो सिंदुरे बिहानी
सिसौ र सालका पल्लवित
पातहरूमा
नयाँ वर्षको
उन्माद पोख्छ ।
लालुपातेको बोट र
लालुपाते ओठहरूमा
उन्माद पोख्छ ।
जताततै
बेलगाम
बेशरम
निर्लज्ज
क्वान्टम’ गफहरूको
उन्माद पोख्छ ।
यद्यपि
गाउँबेसीका भाखाहरूमा
उन्माद पोखिन्न ।
उजेलीका आँखाहरूमा
उन्माद पोखिन्न ।
रातो माटाले लिपिएका
सुन्दर घरहरू
पर्यटकका
क्यामेराहरूमा कैद छन्।
ढिस्कोले पुरिएर
उजेलीका
सपनाहरू पनि
सबै
मृत्यु पछिका
खण्डहरहरूमा कैद छन्।
यद्यपि
यो
सिंदुरे बिहानी
रातोमाटे वनमा उन्माद पोख्छ।
रातो माटो झैं
मुस्कान
लिपिएका
मनहरूमा उन्माद पोख्छ।
बाँच्नु केवल
एउटा थिति ।
हाँस्नु केवल
एउटा थिति ।
थितिहरूमा
हाम्रा इच्छाहरू
कैद छन्।
यद्यपि
यो सिंदुरे बिहानी
यिनै इच्छाहरूमा
क्वान्टम’ उन्नतिका
तिलस्मी
अश्वाशनहरूको उन्माद पोख्छ।
काठमाडौं
वर्ष मृत्युको
उत्सव मनाउँछ
र
मस्तिस्कहरूमा
गणतन्त्रको
मदिरा पोख्छ।
अर्थहीन
महोत्सवहरूको
उन्माद पोख्छ।
यद्यपि
यो सिंदुरे बिहानी
सुमधुर
कोइलीको आवाजमा
जंगली बाद’ हरूको
उन्माद पोख्छ
तर
उजेलीका आँखाहरूमा
उन्माद पोखिन्न।
सधैं सधैं यो
गराहरूमा
चराहरूको
उन्माद पोखिन्छ।
कुन चराको नाम हो कुन्नि
क्वान्टम’ विकासे छलांग पोखिन्छ।।
