Skip to content


सबैले उसलाई माग्ने भन्छन्, भिखारी भन्छन् । बच्चा काखमा च्यापेर बजारका प्रत्येक गल्ली र चोकहरूमा ऊ डुलिरहेकी हुन्छे, डुल्दै गर्दा पाँच, दश रुपैयाँ आफ्नो गुजाराको निम्ति मागिरहेकी हुन्छे । यो उसको दिनचर्या हो । बजारका प्रत्येक मान्छेहरू उसका लागि परिचित छन्, त्यसैले त ऊ नजिक जाँदा तर्केर भाग्ने गर्छन् । या फेरि ऊ नजिक हुदा हप्काएर धपाउने गर्छन् ।

उसको बोल्ने ठेगान हुदैन । उसलाई पैसा माग्न कुनै समय चाहिन्न । जो कोही जतिबेला जहाँ निर भेटिन्छ, त्यही निर पैसा माग्ने उसको आदत नै बसिसकेको छ । तर यसको मतलब ऊ पागल भने होईन । उसको दिमाग ठिक छ नत्र सबैले यो त पागल हो भनेर पागलखाना पठाउन लाग्दा किन डाक्टरले मानसिक रुपमा स्वस्थ्य छ भनेर फर्काउथे त उसलाई ? ऊ बाध्य छे, पैसा माग्न । ऊ बाध्य छे भिखारीको संज्ञा पाउन ।

यो समाज स्वार्थी छ, छली छ, ठगी छ । विशिष्टताको नाममा खोक्रो आडम्बरको खोल ओढेर बाँचेको छ मान्छे । यही मान्छेले बसाएको समाजले उसलाई घरी घरी, थरी थरी चोट दिएको छ । उसले मेहनत गर्न नजानेकी होईन । न त उसलाई मेहनतको पाखुरा बजार्न लाज नै लाग्छ । त्यसैले ऊ अल्छी हुँदै होईन । आफूले जानेको काम, सकेको काम गरिदिदा समाजले उसलाई शोषण गर्छ । उसको श्रमको कदर हुदैन । उसलाई ठगिन्छ । उसलाई प्रत्येक पल आहत बनाउनमा समाज उद्धत छ । होटेलको सारा भाँडा माँझिदिए बापत उसले केबल कहिले एउटा जेरी त कहिले एउटा समोसा बाहेक केही पाउँदिन वा त्यो बाहेक बढी दिईन्न । कसैको घरमा पोत्ने माटो घण्टौ हिडेर ल्याईदियो, ज्याला बापत के पाउछे र ? त्यही जाबो एक मुठी कनिका वा एक कचौरा बासी भात ? त्यसैले त ऊ परिश्रमका पसिना अब नचुहाउने भनेर बर्बराउदै मागेर हिंड्छे । ऊ भन्छे परिश्रमले कमाएको त्यो जाबो फल भन्दा त कोही दयालु मान्छे पर्यो भने एक्लैले एक छाक खाना पुग्ने पैसा हात पारिदिन्छ ।

उमेरका हिसाबले उसको आधा बैंश गुज्रिसकेको सहजै अनुमान लगाउन सकिन्छ । यहाँसम्म आई पुग्दा उसले आफ्नो जिन्दगीको लामै कथा बोकेकी छे । त्यही कथाभित्र उसका धेरै ब्यथाहरू भिन्न भिन्न काल खण्डमा अल्झेका छन् । थुप्रै ईतिहासहरू खण्डित भएका छन् । उसले थोरै भागहरू हाँसेकी छे । धेरै पाईलाहरू रोएर खियाएकी छे । यो मेरो अनुमान हो । ऊ प्रतिको मेरो विश्लेषण हो । हुनसक्छ, उसको जिन्दगीको शुरुवातका अध्याय आम मान्छेको भन्दा पनि सुखद थिए, सुखी थिए । तर म वर्तमानमा छु । ऊ वर्तमानकी साँछी बनेर मेरो सामु उभिएकी छे, पाँच या बीस रुपैयाँको रातो नोट माग्दै । तर ऊ साक्षी हुनुको कुनै तुक छैन न त म विश्लेषक हुनुको अर्थ छ किनकी ऊ आफै सँग यो जिन्दगीका थुप्रै मुद्दा भए पनि के गर्नु पर्छ थाहा छैन न म नै उसको लागि केही गरिदिन सक्छु , अनि मैले विश्लेषण गर्नुको औचित्य के ? म आफैमा अन्यौल छु । यद्यपी, यही वर्तमानको भोगाई, देखाई र अनुभवबाट उसको समग्र मुल्याकंन गर्ने प्रयत्न गर्दैछु । सही नहुन पनि सक्छ तर गलत पनि हुनेछैन, मेरो यो विश्वास हो ।

च्यातिएको मैलो तन्नाले झण्डै डेढ वर्षको छोरालाई बोकिरहेकी छे । छोरा रोईरहेछ । छोराको रुवाईको गति बढ्दै छ । पटक पटक हो….. हा…. हो…….. हा……. भन्दै ढाड हल्लाईरहेछ । बच्चाको रुवाई शान्त पार्ने उसको मनसाय हुनसक्छ । छोराको चिच्याहट विचविचमा भाच्चिन्छ । छोराको अनुहार मैलो छ । हेर्दा लाग्छ धेरै समय देखि उसको अनुहारमा पानी पारिएको छैन । सिंगानले चिउडोसम्म लतपतिएको छ । उसलाई के मतलब छोराको सिंगान सँग । आफैलाई पेटभरि खाना पाए त कति हुन्थ्यो ? अझ छोरालाई चारो दिन पाईयो भने उसलाई पेटभरि खाए जस्तो हुन्थ्यो ? कसलाई के थाहा ? कहिले काँही त उसले पानीले समेत पेट भरेकी होला ।
गल्लीको अगाडी अगाडी एक जना भलादमी लाग्ने ब्यक्ति हतार हतार हिड्दै थियो । उसले त्यही मान्छेलाई पछ्याउन दौड्दै थिई । ए, भाई पख्नुहोस त, ऊ कराउदै थिई ‘पाँच रुपैयाँ दिनुहोस् न’ । अगाडी हतारिएको ब्यक्तिले झनै हिडाईको वेग बढायो । एकै छिनमा ओझेल पर्यो । ऊ एक्लै भन्दै थिई, अस्ति दिउँला भन्ने आज भागेर जाने ? नदिनेले किन दिउला भन्नु त ?’ भागेर जाने सित उसलाई रिस उठेको थिएन । शायद त्यो मान्छेको प्रबृत्ति प्रति रिस उठेको थियो । उसको ढाँट्ने र छल्ने बानी प्रति ऊ असुन्तुष्टि जनाईरहेकी थिई । केही बेर नजिकैको चौतारोमा बसिरही । चौतारोको बाटो भएर जानेहरूको अनुहारमा हेर्दै आफ्नो छोरालाई त्यही चौतारोको भुईमा सुताई अनि त्यही च्यातिएको तन्नाले खुट्टा देखि सिरानीसम्म छोपि दिई । मान्छेहरू चौतारो नजिक पुग्ने वित्तिकै उसले पैसा माग्न सक्ने डर देखि त्रसित हुदै सचेत भएर भागेका देखिन्छन् । दिन ढल्दै गैरहेको छ । आज उसले एक रुपैयाँ पनि बटुल्न सकेकी छैन । तर उसको अनुहारमा केही दुःखेसोको भाव देखिन्न । भाग्यले दिएछ भने चालीस, पचास नत्र त सुख्खै हुनसक्छ यो उसको दैनिकी हो । त्यसैले पनि उसलाई कुनै पश्चाताप छैन । कुनै पछुतो छैन । न त कुनै दिन उँसग चालीस, पचास हातमा परेका बेला खुसीले अनुहार खुम्चिन्छ ।

पुस माघको समय, दिन छिटै वित्छ क्यार । तर उसलाई लाग्दो हो यिनै छोटा दिन पनि संसारकै पट्यार लाग्दा लामा दिन । दिनभरि मागेर हिड्यो, रातभरि कहिले सडक पेटीमा, कहिले चौतारो र पाटीमा उसका रात वित्छन् । कठ्याग्रिंदो जाडोमा, ठाउँ ठाउँबाट च्यातिएका चोली र धोतीले के जाडो छलियोस् । तर उसलाई जाडोको भन्दा छोराको पिरले सताउछ । नारी भएकोमा उसको मातृत्वले सताउछ । आमा भएकोमा छोराको मायाले दुखाउछ । कसैले दया गरी दिएको हुनसक्छ लगौटी, छोराको छाति ढाक्नेसम्म भएको छ । तर त्यति जाबो कपडाले के जाडो छल्थ्यो । बच्चालाई काखमा गुटुमुटु पारी च्यातिएको तन्दाले छोप्छे र आफू पनि छोपिने प्रयास गर्छे । त्यहि चौतारोमा उसले त्यो बच्चा जन्माएकी थिई । विना बाबुको छोरा जन्माएकी थिई । यति मात्र होईन यो बाहेक उसले धेरै बच्चा जन्माई सकेकी थिई विना बाबुकै । तर तिनीहरू सबै मरिसकें । कोही चिसोले, कोही गर्मीले, कोही भोकले मरे, कोही रोगले । ती सन्तानहरू गुमाउनुमा उसलाई कुनै दुःख छैन । कुनै पश्चाताप छैन । आफै त माग्ने जिन्दगी बिताईरहेकी छे ऊ । उसैसँग यौनको भिख माग्ने, भिख नदिए, खोसेरै लिन खोज्ने ती समाजका पापी र दुष्ट पुरुषहरूले उसको पटक पटक यौवन लुटें । ऊ लुटिदै गर्दा सोची म र यिनमा के फरक छ । कमसेकम म त जबर्जस्ती माग्दिन तर यी समाजका भद्र भलादमी भनाउदाहरू ? जबर्जस्ती मेरो शरिर लुटिरहेका छन् । के उनीहरू म भन्दा बढी भिखारी होईनन् ? के यिनीहरू माग्ने होईनन् ? शायद उसले चित्त बुझाई कि आफ्नो हालत देखि । या त उसलाई ती भिखारीहरू प्रति दया पो लाग्यो कि ? समाजका प्रतिष्ठित हुँ भनेर दम्भ गर्नेहरू सँग खोक्रो आडम्बर मात्र भएको उसले बुझे पछि टिठ पो लाग्यो कि ?
जाडो बढिरहेको छ । रात छिप्पिरहेको छ । उसको काखमा छोरा ठुलो स्वरमा रोईरहेको छ । मातृत्वको विशेषता ऊ दर्शाईरहेकी छे । तर बच्चाले दुध चुस्न सकिरहेको छैन । बच्चाको शरिरका प्रत्येक अंगहरू चिसिदै छन् । उसले एक पल्ट हातले शिर देखि पैतलासम्म सुमसुम्याई । उसले बुझीं, छोरा अब धेरै समय उसको काखमा रुन पाउने छैन । किनकी यसरी नै यही चौतारोमा उसको काखबाट धेरै सन्तानहरूले आफ्नो रुवाईलाई समाप्त पारेका छन् । शुरु शुरुमा त उसलाई पनि भक्कानिएर रुन मन लाग्थ्यो । छोडेर जाने सन्तान सँगै आफ्नो ढुकढुकी पनि समाप्त पारिदिउँ जस्तो लाग्थ्यो तर समय सँगै ऊ कठोर बन्दै गई । समाज सँग कट्टर बन्दै गई । अहिले ऊ सँगको सन्तान निर्जिब भैरहेको छ । उसको निर्जिवता सँग दुखेसो छैन किनकी यो भन्दा धेरै समय अघि नै उसको जीवन निर्जिब भैसकेको थियो । तर उसलाई त्यही निर्जिवताले पनि डराईरहेछ । भोली देखि उसलाई फेरि ती भिखारीको डर बढ्दै जानेछ । जसले उसलाई बारम्बार अनि पटक पटक निर्जिब बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *