भ्रष्टाचार अभियोगको हत्कडी
नेताहरूको हात समाउँदै
कारागारसम्म पुऱ्याइराख्छन्
अनि प…र पुगेर खुइय्य गर्छ
देश दुखेको बेला ।
निर्निमेष हेरिरहेका
स्वयम्भूका दुई आँखाहरू
रगतका आँसु थाम्न नसकी
लोडशेडिङ्को अँध्यारो रातमा
चुपचाप चुपचाप रोइबस्छ
एकान्तमा सबै साथीहरूबाट छोडिएको अवस्थामा
एक्लै धक फुकाएर रोइबस्न
अर्थपूर्ण हुँदो रहेछ
मन हल्का हुने रहेछ ।
आमा अस्पतालमा थिइन्
सिकिस्त थिइन बेडमा
‘मेरो त सास उभै रोकिन खोज्छ , बाँच्दिन होला ’
मेरो गला भरेर आउँछ
सम्झेर ल्याउँदा त्यो दिन
डाँको छोडेर रुन पनि कति गाह्रो
देश दुखेको बेला ।
छोराहरू परदेशमा छन्
नेताहरू जेलमा
डाक्टरहरू
अर्कै इमर्जेन्सीमा खटिरहेका छन्
सबैलाई भ्याइनसक्नु छ
अस्त ब्यस्त सर्वत्र
गुहार पाउनै गाह्रो छ
देश दुखेको बेला ।
नयाँ नयाँ प्रविधिहरू आए
डाक्टरहरूका डाक्टर आए
तर रोगहरू
झन् झन् नयाँ अनुहारमा देखिन्छन्
ढुकुटी जति रित्तिसक्यो
अल्पकालीन र दीर्घकालीन
बजेटको नाउमा
तर पनि
रोगको पहिचान छैन
पहिचान भए पनि
उपचार छैन
शायद जिउनु भनेकै दुख्नु हो कि ?
देश दुखेको बेला ।
उमेर नपुग्दै फुल्न थालेका
एक दुई वटा सेता कपालहरू
केशराशीमै कतै हराउँछन्
कतै लुकिबस्छन्
सेतो उखेल्दा कालो दुख्छ
देश दुखेको बेला ।
हेप्नसम्म हेपिएका
सार्वजनिक शौचालयहरू
माया पाउन नसकेका
सडकछेउका कन्टेनरहरू
केराजति खाएर
फ्याँकिएका बोक्राहरू
मिठाइका खोस्टाहरू
पोलिथिनका ब्यागहरू
समाजवाद खोजिहिड्छन्
हिड्दै गरेका भलाद्मी आँखाहरूमा
माक्सवाद मागिबस्छन्
धेरैलाई शहिद बनाउने
झुठा रणनीतिहरूमा
अचम्म !
यता शहर गन्हाएर
हिंडिनसक्नु भएको बेला
एउटा चर्को नारा घन्क्यो –
‘हाम्रो माग पूरा नभएसम्म
फोहोर उठाउन दिदैनौं ! ’
राल–सिङान–खकार–गोबरबाट
एकहुल किटाणु निस्केर
सडकमा चक्काजाम गरे
किटाणुहरू राजनीतिमा पसेछन्
देश दुखेको बेला ।
