झण्डै नब्बे वर्ष अगाडिको कुरा हो । वर्तमान तेह्रथुम जिल्लाको एउटा गाउँ, खान्दानी परिवार, शुद्ध पहाडी ढाँचाका दुईटा घर, तिनै घरको संयुक्त आँगनमा छोरीलाई मैतालु पठाउन आमाबा घरभित्र वा बाहिर निस्कन्छन् । मङ्गलाचरणको वाचनबीच छोरी बिदा हुन्छिन् । संस्कार र संस्कृतिको बन्धनमा परेका बा आमा विछोडको आँस पुछ्दै घरभित्र पस्तन् । ती मैतालु नानी थिइन् हाम्री आमा ।
आमालाई माइत पठाउँदा घरबाट दिइएका लुगा कपडा, कोसेलीपात, गरगहनाका अतिरिक्त एउटा राडी पनि थियो । शताब्दी छिचोल्न, पुगेको त्यो राडी भाग्यले हो वा संयोगले मेरो हात लाग्यो । मकहाँ आइपुग्यो, मसँगै सुरक्षित छ ।
पेशाले कर्मस्थल विराटनगर बनाइदियो । पहाडबाट बुढौती जीवन व्यतीत गर्न आमा विराटनगर आउँदा राडी पनि साथ लागेर आयो । विराटनगर रहँदा पनि त्यो राडी आमाले कहिल्यै त्याग्नु भएन । पुरानो भएन । डसनामुनि ओछ्याएर सुत्नुहुन्थ्यो । जीवनको अनितम घडीतिर काशीबास जाँदा पनि राडीले पछ्याउन छोडेन । काशीमा आमाले यही राडीमा अन्तिम सास लिनु भयो ।
आमालाई मैतालुदेखि मसानघाटसम्म साथ दिने राडीले भोगेका, देखेका, अनुभव गरेका सुखदुःख, भोगविलास, माया मोह आदिको लेखाजोखा हुन नसके तापनि जब म राडी देख्छु, त्यसमा बस्छु म स्वतः गम्भीर हुनपुग्छु । कल्पनै कल्पनाको जालोमा पर्छु, आनन्दित हुन्छु बाआमालाई सम्झन्छु । सन्तोषको घेराभित्र पर्छु अनि आफ्नै दुःख सुखमा रूमलिन्छु ।
मेरी आमाले नौवटा प्राणको सिर्जना गरिन् । यही राडीले नवैजना हुर्कायो । राडीको पत्रपत्रमा रूपियाँ पैा घुसारिएका हुन्थे, चिठीपत्रहरू राखिन्थे । सिरानतिर गीता, विष्णु सहस्त्र नाम गङ्गालहरी जस्ता धार्मिक पुस्तकहरू सधैँ हुन्थे । मेरो बाल्यकालमा राडीको पत्रबाट नरिवलका टुक्रा, गोल मिठाइहरू झिकेर खाँदा आमा भन्ने गर्नुहुन्थ्यो, ‘फेरि राडी खोतलेछ’ । मेरो मुस्कान र भरिएको मुखबाट कुरो प्रस्ट हुन्थ्यो । आमाको अनुहारमा स्नेहको सागर उत्पन्न हुन्थ्यो । हाल त्यो ऐतिहासिक राडी, मेरो काठमाडौँको निवासस्थानमासजिएको छ । आठफुट लामो, पाँच फुट चौडा र झण्डै तीन सय जति काला सेता वर्गाकारका कोठाहरू बुनिएका छन् । राडीको बीच भागका केही कोठा फाटेर प्वाल परेका छन् । धेरै बल पर्दा फाटेका जस्ता देखिे ती प्वालहरू आमाबाट जन्मदिने क्रममा प्रसव वेदनाको असहयताबाट छटपटाउँदा फाटेको हुन सक्छ ।
राडी अझै पनि कमजोर पुरानो भएको जस्तो लाग्दैन । यसको रूप भने पुरातात्विक आकार प्रकारको भएको छ । मेरो संरक्षकत्वमा आएको पारिवारिक प्रतिनिधित्व गर्ने राडीका कोठा कोठामा हामी सबै सन्तानको विगत कोरिएको छ । त्यही राडीमा बसेर ललाटमा भावीले लिखितम लेखेको हुनसक्छ । अतीतहरू त्यहीं छरिएका छन् । राडी मेरो प्यारो वस्तु भएको छ । मेरो कण्ठश्रीको स्थान ओगटेको छ । बाबुको सम्पत्तिको अंशवण्डाको एउटा भाग हुन पुगेको राडी अपहरण हुन खोज्दा सकुशल मैले नै बचाएको म बिर्सन्न । जबसम्म यो राडी मेरो घरमा रहन्छ तबसम्म म मेरी आमा साथै हुनुहुन्छ भन्ने अनुभव गर्दै ढुक्कसँग निदाउँछु । सन्तान दरसन्तानको क्रम बढ्दै जाँदा राडी पनि छोरा, नाति, नातिनी, पनाति पनातिनीको जिम्मा लाग्दै शताब्दीऔं सम्म पृथ्वीको भाग गर्न सकोस्, एक एक कोठा एक एक शताब्दीका प्रतीक बनून्, मेरो हार्दिक इच्छा यही छ ।
मेरो बैठक कोठाको दाहिने कुनामा एउटा तामाको घ्याम्पो सजाएको छु । घ्याम्पाको उमेर राडीभन्दा दस वर्ष जेठो भनिन्छ । घ्याम्पाकै कारण बैठक कोठा ऐतिहासिक पुरातात्विक सङ्ग्रहालय जस्तै देखिएको ठान्ने आगन्तुक पाहुनाहरू त्यसलाई पहिलो स्पर्श दिएर उमेर सोध्ने गर्दछ । सय वर्षका सयवटा वसन्त, गृष्म, चिसो, तातो खेपेको घ्याम्पो पुरानो भने देखिँदैन । घरका पुराना सदस्यहरूको भनाइअनुसार हाम्रा जिबा पण्डित भएर पुराण वाचन गर्दा त्यसबखतको रितीअनुसार इलाम गौडाका बडाहाकिमले तामाले तामाको ठूलो खड्कुलामा बसाएर त्यही घ्याम्पाबाट जल उबाएर शरीर स्नान गराएको, पाउ धोएर जल ग्रहण गरेका थिए अरे । खड्कुलो भने मेरा भाइका घरमा सुरक्षित छ अरे !
उत्सव, भोज, भतेर, पुराण, विवाह, व्रतबन्धजस्ता सामाजिक कर्महरूको व्यवस्था गर्दा पानी सङ्कलनको जिम्मा यही घ्याम्पालाई दिएको हुन्थ्यो । सानातिना पूजापाठ कर्म त एक घ्याम्पो पानीले उतारिदिन्थ्यो । यसको क्षमता करिब तीनमुरी जति होला ।
म केटाकेटीमा निकै चकचके स्वभावको भएकै कारण मलाई मन पराउने घरलगायत गाउँ, छिमेकका मान्छेहरूको सङ्ख्या नगण्य थियो । मलाई घ्याम्पाबाट पानी उबाएर अरूलाई छ्याप्न, भिजाइदिन औधि मन पर्दथ्यो । घ्याम्पामा साना गिलास छिराएर त्यो आधाभाग मात्र भरिएको गिलास निकाल्न असमर्थ हुँदा यस्तो अवस्थामा कसरी इच्छालाई सफल पार्ने युक्ति खोज्दा रहेछु । गाग्राको पिंधको पानी पिउन सफल काग जस्तै मैले पनि कसैलाई घ्याम्पा ढल्काइ दिन अनुरोध गर्दथें । घ्याम्पाबाट पानी निकाल्न सक्ने अवस्थामा पुगेपछि त्यही पानी निकालेर जसलाई पायो उसैलाई छ्याप्दै हिँड्नु, घर हिलो पार्नु, टाढाबाट बोकेर ल्याएको पानीको दुरूपयोग गर्दोरहेछु । घरकै कुनै सदस्यको चड्कन प्राप्तपश्चात् लोटा खोसिन्थ्यो, मेरो उपद्रो त्यसरी रोकिन्थ्यो । यस्ता घटनाहरूको धमिलो सम्झना पुरानो फोटाजस्तै हृदयमा टाँसिएको छ ।
मेरो खेल्ने बालसखा घ्याम्पो आज मेरो साथमा छ । ऊ खाली छ । पुरातात्विक भेषभुषमा सजिएको छ । घ्याम्पाबाट कुनै सेवा लिइएको छैन । सयवर्ष अघिको समयको प्रतीक हाम्रो तीनपुस्ते परिवारको एउटै सालिक यही घ्याम्पो भएको छ । यो महान् वस्तुको निर्माता कालिगढ अवश्य पनि यस भूतलमा छैनन्, यसबाट पानी पिउने, हजारौँ हजारमा निश्चय पनि केही मात्र जीवित होलान् । संरक्षक शुभचिन्तकहरूले भक्षकहरूबाट जोगाएर मलाई हस्तान्तरण गरिदिएको घ्याम्पो मेरा लागि इजिप्टको पिरामिड, भारतको ताजमहल, चीनको पर्खाल समान अमूल्य भएको छ ।
किसान परिवारभित्रको सदस्य भएकै कारण होला मई गाई, भैँसी, दुध, दही, ठेकी, ढुङ्ग्रे प्रति सदैव आकषिर्त हुन्छ । किसान पेशा विपरीत जागिरमा कार्यरत हुँदा पनि मैले गाई पाल्ने, दुध दुहुने, ठेकीमा दही जमाउने, मोही खाने व्यवस्था गरेको थिएँ । अहिले काठमाडौँको सहरिया जीवन अपनाउन परेपछि ती सबै कर्महरू स्थगत भए । तर मेरा पुराना दही जमाउने ठेकी भने मेरै घरमा छ । यो पनि बैठक कोठामा सजिन पुगेको छ । दार वृक्षको यो मझौला ठेकी, बाबुको जिन्सी सम्पत्तिको भागबण्डा क्रममा लुकामारी खेल्दै मेरो साथ लागेको हो । यो ठेकीको गजबको खुबी के हो भने यसमा दही जमाउन दाउन हाल्न पर्दैन । दूध कहिल्यै फाट्दैन । चक्का, चक्का परेर दही जम्दछ । तातो मौसममा ठेकी चिसो भइदिन्छ भने चिसोको बेलामा ताप उत्पन्न गरेर तापक्रम सन्तुलन गर्दछ । दही, ठेको र मेरो सम्बन्ध कमल, मसी, कागज र यस्तै निबन्ध जस्तो चतुष्कोण आकारको छ ।
मेरो सम्झना शृङ्खलामा स्थायी बासस्थान बनाएका राडी, घ्याम्पो र ठेकीहरू बारम्बार मसँग साक्षात्कार गरिरहन्छन् । जिवाको पाउ धोएको दृश्य, राडीमा बसेर आमाको स्नतपान, ठेकीको एकराते दहीको कल्पना गर्दा साह्रै रमाइलो लाग्दछ । जुन पुर्खाको जीवनगुजाराको परिचय हो र पौरूषत्वको निरन्तरता ।
सन्तान दरसन्तानमा हस्तान्तरण हुँदै जाने यस्ता निर्जीव वस्तुहरूले हामीलाई पे्ररणा सुमार्ग देखाएको हुन्छ । विवाहको पोते, जन्मदिनको उपहार, सहयोगी मित्रजस्ता यी वस्तुहरू बनेका हुन्छन् । मेरा भावी पिँढी यही राडीमा बसेर राष्ट्र र राष्ट्रिय स्वार्थका कुरा गरून्, मेलम्चीको पानीले छिट्टै घ्याम्पो भरियोस्, देशमा दूधका खोलाहरू बगून् र तिनै खोलाबाट अलिकति दूध उबाएर ठेकीमा दही जमाइयोस् । राष्ट्रिय चिन्तन, शुद्ध पानी, पोसिलो दहीले नेपाल र नेपालीको ओझेलमा पर्न आँटेको बहादुरी गौरवगाथा पुनः विश्व सामु प्रदर्शन हुन सकोस् । राडी, घ्याम्पो र ठेकीको जय होस् ।
शनिबार, गोरखापत्र
बैशाख १७, २०६८
