Skip to content

जोमसोम मुक्तिनाथ (यात्रा स्मरण)

20110501_ShekharDhungel_Jomsom_01


धत्तेरिका! मेरो प्यारो उपत्यका (काठमाडौं)किन यसरी दिनानुदिन कुरूप विकृत हुदै गएको होला ? हेर्दाहेर्दै यसको प्राकृतिक सुन्दरता नष्ट भएर कंक्रिटको जंगलमा परिणत भएको छ । कुनै बेला यो आखाले देखेको थियो सडक बिभागको ट्यांकरले काठमाडौंको प्रमुख सडकहरूमा सडक बढार्ने र पानी छम्कने पनि गर्थ्यो । शहर बाहिर प्रशस्त हरियाली अनि खेतीयोग्य जमिन थियो । बिकासको अर्थ प्राकृतिक सौन्दर्यता ध्वस्त गर्नु होइन भन्ने कुरो हाम्रा नीति निर्माता र ब्यबसायीहरूले छिमेकी देश भारतको राजधानी दिल्लीलाई मात्र हेरे पनि पुग्थ्यो ।

मलाई थाहा छ मेरो यस्तो तर्कको कुनै तुक पनि छैन । तर ३० बर्षदेखि दिल्लीको बदलिदो स्वरुप देखेको यो निरीहलाई भने त्यस्तो पो बिकास भन्न खसखस लागेको छ । २५ बर्ष पहिले Green City Delhi अबधारणा लेराएर सुरु गरेको कार्यक्रमले आज मूर्तरूप लिएको छ । दिल्ली साँच्चिकै नमूना “हरित शहर” पनि भएको छ र भवन, सडक, सपिंग कम्प्लेक्स निर्माणमा पनि अग्रपंतिमा नै छ। के हामीले तिनको सिको गर्न सक्दैनथ्यौ ? विश्वको जुनसुकै देशमा पनि आफ्नो एतिहासिक महत्व राख्ने स्थानको मौकिकतालाई जोगाइराख्न निश्चित योजना लागु गरिएका छन् । काठमाडौं उपत्यका जहाँ दर्जनौ पुरात्वतिक महत्व र युनेस्कोबाट संरक्षित क्षेत्र हुँदा हुँदै पनि यस्तो विकृत र कुरूपतालाई रोक्ने प्रयास नहुनु दुखद मान्नु पर्छ ।

जहाजबाट उपत्यकाको विकृत स्वरुप देख्दा नै मैले माथि उल्लेखित सोच बनाएको थिए । जब बिमानस्थलमा उत्रिएँ वरिपरि सुकेको फुलका बोट ढलेका बिजुलीका पोल, अस्तव्यस्त झारपात । राम्रो देखुभन्दा भन्दै पनि सकिएन । अनि अँध्यारो अध्यागमनको कक्ष, बन्द भएका होलान सायद पसल कवलहरू र तोडफोड गरिएको जस्तो लाग्ने त्यो भित्रको फर्निचरको उराठ लाग्दो दृश्यले पर्यटन बर्षको उपहास गरिरहेको थियो । अध्यागमनको आगमन कक्षको एउटा कुनामा पुराना लुगाहरू फ्याँकिएको अबस्थामा थियो । फोटो खिच्छु भनेको “फोटो खिच्न मनाही “सूचना देखेर दुस्साहस गरिन ।

मनले जति सुकै “जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी, “मेरो प्यारो नेपाल “, मदरल्याण्ड, फादरल्याण्ड, वा ससुरालील्याण्ड जे भने पनि शरीरलाई भने त्यहाँको प्रदुषणसित लड्न वा अब खप्न मुस्किल हुने भएछ । गएको दुई दिनपछि नै हाछ्युँ हाछ्युँ र ज्वरोले लडाएपछि यो कुरोको महसुस भयो । झन यस पटक आफ्नो पुरानो ठाउँ (कटुन्जे भक्तपुर) नबसेर चाबेलतिर बस्ने भएको त उफ काठमाडौंको दैनिकी ? केही मुठ्ठी भरका सुकिला मुकिलालाई बाहेक काठमाडौं त नर्कभन्दा पनि खराब ठाउँ पो भै सकेछ त ? बिजुली बत्तिको समस्या, खानेपानीको हाहाकार, मध्यरातमा उठेर धारामा पानी थाप्नेहरूको कोलाहल झगडा । जाल साजी, अपराधिक घटना (२० हजारमा मान्छे मार्न सुपारी लिने-दिने रे) धुलो एबम ध्वनि प्रदुषण आदि आदि देखेपछि देशलाई धारेहात लगाएर विदेशमा पलायन भएको भनेर धारेहात लगाउने स्वदेशमा बस्ने मेरा शुभ चिन्तकहरूको लागि नीति शास्त्री चाणक्यको यो भनाइलाई मैले जवाफको झटारो बनाएर दिए । चाणक्यले भनेका छन् -“जुन देशमा इमान्दार असल मानिसलाईसम्मान मिल्दैन, जुन देशमा जीवन यापनको लागि अवसर मिल्दैन, जुन देशमा बन्धुत्वकोको भावना मरेको छ, जुन देशमा उचित शिक्षाको लागि सुबिधा छैन, जुन देशमा भ्रष्ट अपराधीलाई दण्ड दिंदैनन जुन, देशमा अति स्वार्थी मित्र र आफन्तहरू रहन्छन्, त्यो देश परित्याग गर्दा पाप लाग्दैन “।

जे जस्तो होस्, कुरूप होस्, लंगडो होस्, रोगी होस्, देश त मेरो हो । त्यही धुलोमा हुर्केको हो । त्यही बोल्न सिकेको हो । त्यही हिड्न जानेको हो । जहाँ पुगे पनि पहिले म नेपाली हुँ । अतिआवश्यक ठाउँमा भन्दा अन्त नेपाली नै बोल्छु । मौका पाउने बित्तिकै दौरा सुरुवाल र नेपालीको शान टोपी लगाउछु । दुखी छु, चिन्तित छु, देशको पीडामा । अझै पुर्खाको सम्पति त्यही छ त्यो लालच हटेको छैन । लाग्छ कहिलेकाहीं त चरी झैँ भुरुरु उडेर पुगिहालुँ आफ्नो देश । तर के गर्नु आफैंले कोरेको गोरेटो पछ्याउदै परदेश आई पुगियो । अँझै गन्तब्य निश्चित भै सकेको छैन । दुई बर्षपछि फर्कन्छु भन्थे १० बर्ष नाघ्यो । अब अर्को ५ बर्ष आफैले म्याद थपेको छु । कसैले बिरोध गर्न पाउने छैन ।

प्रसंग यात्राको अगाडि बढाऊँ ! नाक मुखमा गोरू वा अपराधी झैँ मास्क लगाएर बिभिन्न ठाउमा आवत जावत गरियो । दुई चार घर जग्गा सम्बन्धि कागजातलाई आबस्यकता अनुसार बनाइयो । मज्जाको कुरो के भने १० रुपियाँ सरकारी दस्तुर तोकिएको काम गर्न २० हजार नेपाली लाग्यो । प्रत्येक कर्मचारीमा कागजको कुन शब्द र अक्षरले अड्काउन सकिन्छ वा घुमाउँन् सकिन्छ भन्ने मात्र ध्याउन्न हुन्छ । पैसा दिए नहुने पनि हुने, नदिए हुने पनि नहुने त्यहाँको तितो यथार्तता छ । उनीहरूले अत्तो थपेको कुरोलाई मिलाएर लैजाने हो भने सर्जमिन मुचुल्का, म्यादी सूचना, सिफारिस र स्वीकृतिको गोल चक्कर पुरा गर्न कम्तिमामा तीन महिना लाग्छ । अनि नदिएर भयो ? कर्मचारीको कुरो सुन्यो भने र पत्याउने हो भने झन बिरक्त र ताज्जुब लाग्छ । उनीहरू पनि मासिक यति बुझाउने शर्तमा सरुवा भएर आएका हुन् रे । दैनिक रकम बराबर हाकिमलाई दिने पर्छ रे । मुस्किलले सात दिनमा काम तमाम गरेर काठमाण्डौको प्रदुषित उकुस मुकुसबाट उम्केर कुनै हिमाली क्षेत्र घुम्न जाने बिचार भयो जुन पहिले नै सोचेको थिए ।

मेरो यस पटकको भ्रमणको छनौट मुगु, हुम्ला, लुक्ला वा जोमसोम (मुक्तिनाथ दर्शन)मध्ये कुनै एक थियो । एकातिर उडानको अनिश्चितता अर्कोतिर टिकट अप्राप्ति र समय अभाबको कारण अन्तमा मुक्तिनाथ सजिलो र छोटो बाटो लाग्यो र त्यहाँको लागि प्रयत्न गरे । नेपालका आन्तरिक उडानका बिमान कम्पनीहरूले एउटै गन्तब्यको लागि स्वदेशीलाई एउटा र बिदेशीलाई अर्कै मुल्य तोकेका हुन्छन । यसो सम्झे, त्यस्तै मानसिकता भए विदेशमा हाम्रो कस्तो बिजोग हुन्थ्यो होला ? नेपालीलाई २२ सय लाग्नेमा भारतीयलाई ३३ सय र सार्क राष्ट्रभन्दा अन्यन्त्र कालाई ५५ सय यस्तै नीति युरोप अमेरिका वा अन्य राष्ट्रले अपनाए गोर्खालीको फाट्दैन थियो होला ? तर अर्को बिडम्बना के छ भने नेपालीलाई सस्तो टिकट भने पनि बिदेशीको चाप हुने ठाउको लागि सकेसम्म नेपालीलाई निषेध नै गरिएको हुन्छ । र बिदेशीलाई स्वागत गरिएको हुन्छ ।

अग्नि, तारा, यति, सीता, बुद्ध आदि पवित्र नामका बिमान कम्पनी भए पनि तिनको नियत पवित्र छैन । बिदेशीको चाप हुने रुटको टिकट नेपालीलाई सिधै छैन मात्र भन्छन वा महँगो तिर्ने भए कोसिस गर्नु पर्छ भन्छन । एउटा ट्राभल एजेन्सीले काठमाण्डौबाट पोखराको लागि कुनै पनि टिकट छैन मिल्यो भने २६-२७ सय लाग्छ भन्यो एक जना मित्र जो ट्रावल लाइनका साथीहरू चिन्दथे उनले फोन गरे । अनि जुन टिकटलाई २६ सय भनेको थियो १७४५मा घर मै लेराइदिए । पोखरा त पुगियो अब जोमसोमको टिकटको चिन्ता । कुनै कम्पनी पनि टिकट छ भन्दैनन् अर्को हफ्तासम्म प्याक छ रे ? एउटा बिमान कम्पनीका कर्मचारीले भने चार्टरको मुल्य तिर्ने हो भने टिकट मिलाई दिन सक्छु ३५ सय लाग्छ । भएन नेपाली स्टाइलले काम गर्छ कि भनेर कास्की प्रहरी प्रमुख यादबराज खनाललाई फोन गरे (उनी मेरा पुराना साथी हुन् र फेसबुकमा निरन्तर सम्पर्क पनि हुन्थ्यो) – “हाकिम सा’ब मुक्तिनाथ पुग्न आएको खोइ यहाँ त टिकट नै पाउन गार्हो रहेछ । केही उपाय लाग्छ कि यहाँको राज्यमा ?” उनले हाँस्दै वेलकम भन्दै भने – “एक छिन है म ५ मिनेटमा फोन गर्छु ।”

एक छिनपछि फोन आयो – “तारा(यति) एयरको काउन्टरमा जानुस र टिकट लिनुस् । त्यहाँ पाइलटको नाममा बिशेष सुरक्षित टिकट हुँदो रहेछ । तारा(यति) एयरका सिनियर पाइलट बोधराज निरौलाजीले फोन गरिसक्नुभएको रहेछ ।

बिहान छ बजे पोखराबाट जोमसोमको लागि तारा एयरको बिमानलाई पाइलट निरौलाजीले बिस्तारै १२ हजार फीटमाथि पुर्याए । जम्मा १८ मिनेटको त्यो रोमान्चकारी उडानमा माच्छापुछ्रे हिमालको काखबाट सुन्दर हिमाली दृश्य देख्न पाउदा मन दंग भयो । एक छिन संसार बिर्सायो पनि । बिमानमा छिर्ने बित्तिकै एउटी लुखुरी नानीले चकलेट र कानमा कोच्न कपासको ठोचो दिएकी थिइन । यात्रीसित न हाइ न हुइ केही न बोली पाइलटले जहाजलाई तीन पाङ्ग्रे टेम्पु झैँ अगाडि हत्याए र उडाएका थिए । रातभर जहाजको पाइलटसिट क्याबिनमा निसुल्क मस्तीसँग सुतेका ४-५ वटा लामखुट्टेलाई सहायक पाइलटले पालै पालो मृत्युदण्डको सजाय दिन न भ्याउदै जहाज सरांगकोट नाघिसकेको थियो ।

दुवैतिर सुन्दर हिमाल धौलागिरी, निलगिरी माच्छापुच्छ्रे आदिको रस्वादन गर्न नभ्याउदै दुवैतिर पहाडमा छोइएला छोइएला झैँ जस्तो लाग्ने खोचबाट जहाज जोमसोम बिमान स्थल उत्रियो । बिमान चालक बोधराज निरौलाजीले त्यहाँ मलाई भोलिको टिकटको लागि पनि भनिदिनु भयो । म उनीप्रति अनुग्रहित हुदै धन्यवादको औपचारिकता पुरा गरी बिदा लिएँ अनि मुक्तिनाथ जाने बाटो तर्फ लागें । जोमसोमको सानो बजार बिचमा सेनाको ब्यारेक पार गरी कालीगण्डकीमाथि रहेको काठको पुल (साँघु) काटेर गएपछि त्यहाँ दर्जनौ महिन्द्रा कम्पनीका १४ सिटे जीप पर्खिएर बसेका रहेछन । त्यहाँ पनि नेपालीलाई २४५ भारतीयलाई ५०० र बिदेशीलाई ७०० मोरुको टिकेट लाग्ने रहेछ ।

ट्रयाक मात्र खोलिएको (सेनाले)कच्ची गड्याङ गुडून्ग बाटोमा पानी जहाजमा हल्लिए झैँ हल्लिदै कालीगण्डकीको तिरै-तिर आधा घण्टा अगाडि पुगेपछि सुरु हुन्छ नागबेली उकालो बाटो । स्मरण रहोस यो कालीगण्डकी नदी विश्व कै सबभन्दा गहिरो खोचमा बग्ने नदी हो । । कता कता मरुभूमि जस्तो लाग्ने त्यो बाटोको दाया बाया हिमशृंखलाहरूको सुन्दर दृश्यले बिदेशीहरू त झन रमाई रहेका देखिन्थे । ती मध्ये एक जोडी बर्लिन जर्मन र अर्को जोडी एरिजोना अमेरिकाका थिए । हामी सित केही दक्षिण भारत (हैदरावाद) देखि आएका भक्तालु पनि थिए । उनीहरूको भनाइमा भगवान शिबका सबै पिठ दर्शन गरे पनि मुक्तिनाथ पिठ (शिब पार्बती मन्दिर) दर्शन नगरे त्यो तीर्थ पुरा हुन्न रे (मुक्तिनाथ पिठसित महाभारतको पाण्डवहरूको कथा जोडिएको छ) । त्यसको साथै यो पवित्र धार्मिकस्थल शताब्दीकोयौदेखि नै बौद्ध र हिन्दु धर्मालम्बीहरूको प्रसिद्ध तीर्थस्थल रही आएको छ ।

करिब दुई घण्टाको जीप यात्रापछि प्रसिद्ध देवस्थल मुक्तिनाथ नजिकै पुगिन्छ । जोमसोमबाट साथी बनेका थिए पोखराबाट आएका एक जोडी जो ब्यापारको सिलसिलामा एक हफ्तादेखि त्यही बसेका रहेछन । मलाई गफ गर्न र फोटो खिचाउन उनीहरू सहयोगी बनेका थिए । जीपबाट ओर्लेर करिब १५-२० मिनेट उकालो चढ्नु पर्छ मन्दिर पुग्न जुन ३८०० मिटरको उचाईमा अबस्थित छ । तर त्यति हिड्न नसक्नेहरूको लागि स्थानीय युवाहरूले मोटरसाइकललाई भाडामा प्रयोग गर्दा रहेछन । मो. रू. सय लिएर । हामी गफ गर्दै चारैतिर फैलिएको हिमशृंखलाहरू हेर्दै फोटो खिच्दै मन्दिर पुग्यौ । मन्दिरको तल अनि मुख मै दर्जनौ हिन्दी भाषी जोगीहरूले डेरा जमाएका रहेछन । नेपाली बोल्ने जोगी थिएनन त्यहाँ ।

हिमालको पवित्र सुन्दर काखमा रहेको यो धार्मिक स्थल (मन्दिर)को अगाडि कन्चन पोखरी छ । वरिपरि अविरल कलल-कलल बगिरहेका १०८ धाराहरूको जल प्रबाहले काठमाण्डौ काकाकुल यो मनुवाको यो मन लोभियो । वाह कति मिठो पानी ? कसैले कुनै मिठो चिज मिसाई दिए जस्तो ! त्यस्तो चिसोमा बगेको त्यो पानी भने मन तातो जस्तो भान हुन्थ्यो । मुक्तिनाथको जल सम्झेर धित मर्ने गरी पिएँ । घारोको पानीले मन प्रफुल्ल भयो मन्दिर दर्शन गरेर हामी फर्कियौ जीप रोकेको ठाउँ तर्फ । फर्कदै गर्दा एकछिन एउटा ठुलो ढुंगामाथि बसेर चारैतिर आँखा घुमाएँ । तल मार्फा गाउँ, पछाडि ४-५ सय मिटर माथि हिउँ थुप्रिएको, वरिपरि सुन्दर हिमपर्वतहरू । वाह मेरो नेपाल ! एकाएक मेरो दिमागमा नेपालमा सम्भाबना नै सम्भावनाहरू फुर्न थाल्यो । धत्, यस्तो देश छोडेर पनि कोही विदेश जान्छ ? आफूले आफैलाई प्रश्न गर्ने थालें । कत्ति आन्नद छ यहाँ ? पुर्खाले त्यसै भनेका होइनन्, आधा पेट खाए पनि आफ्नो देश नै प्यारो हुन्छ ।

मलाई लाग्यो बास्तबमा अहिलेको नेपालमा बिकृतिले न्युनतम चरमताको हद नाघिसकेको छ । अब योभन्दा खराबमा जाने बाटो छैन। निश्चित रुपमा अब नेपाल सम्पूर्ण बिकृति फ्याकेर, बढारेर अगाडि बढ्ने छ । नेपालमा बिकास निर्माणका लाखौ ढोकाहरूले स्वागत गर्न पर्खिराखेका छन् । लाखौ माइल सडक निर्माण, हजारौ मेघावाट बिजुली उत्पादन, स्कुल स्वास्थ्य चौकी निर्माण, केवल कार, होटेल खानेपानी योजना, पशुपालन, कृषि उत्पादन, जडिबुटी उत्पादनका कारखानाहरू सुरु हुनेछन् । नेपालीलाई विदेश जानु पर्दैन यही रोजगारी पाउने छन् । बरु बिदेशीहरू नयाँ नयाँ प्रविधि बेच्न हामी कहाँ आउने छन् । मैले महसुस गरें, प्रत्येक नेपालीमा आज राष्ट्रप्रतिको जिम्मेवार नागरिक बन्नु पर्छ भन्ने भावना जागेको छ । त्यसैले जनतादेखि नेतासम्ममा इमान असल, मेहिनती अनि सदाचारी बन्ने छन् भन्ने आशा पलाएको छ । अर्को १५ बर्षमा नेपाल साच्चिकै स्वीजरल्याण्ड बन्ने निश्चित छ । हा हा यस्तै यस्तै के कल्पिदै थिएँ । सँगै आएका नेपाली जोडीले “सर हाम्रो एउटा फोटो खिचिदिनुस न” भनेपछि म झस्के र उनीहरूको फोटो खिचिदिएँ । म एक छिन कुनै बेला पूर्व उपप्रधानमन्त्री बामदेव गौतम र काठमाण्डौका पूर्व मेयर केशब स्थापितलाई सम्झन पुगें । किनकि, उनीहरू पनि नेपाललाई स्वीजरल्याण्डभन्दा राम्रो बनाउन सकिने भन्दै यस्तै यस्तै गफ निक्कै हाक्थे ।

इमान्दारीपूर्वक भन्नुपर्दा विश्वको सर्बोच्च शिखरको देश, हिमालै हिमालको देश भने पनि मैले योभन्दा अगाडि पोखरा सारंगकोटबाट देखेको धौलागीरि, माच्छापुच्छ्रे बाहेक नजिकबाट हिउँ छोएको पनि थिइन । अनेक हिमालहरूको फोटो हेरेर नै रमाई रहेको थिएँ । कहिलेकाहीं बिदेशीसित “मेरो देशमा यस्तो हिमाल उस्तो हिमाल” भन्दा उसले “तँ कति चोटी कुन कुन हिमाल पुगिस्?” भनेर सोध्दा गर्धन, कपाल कन्याउदै नाक खुम्च्याएर “त्यहाँ पुगेको छैन” भन्नलाई दर्जनौ बहाना खोज्नु परेको थियो । त्यसैले पनि यस पटक कुनै न कुनै हिमाल नजिक पुग्ने वा छुने दृढ निश्चय गरेको थिएँ । फर्केर पुरांग रानीपौवा (मुस्तांग)मा खाना खाइसकेपछि फेरि उही महिन्द्रा जीपमा जोमसोम फर्कियौं । ४ बजेतिर जोमसोम आइपुगियो । त्यहाँ मुस्तांगका पूर्व सभापति समेत हुनु भएका आनन्द शेरचनजीले संचालन गर्नु भएको होटेल स्नोल्याण्ड (जुन बिमानस्थल ढोकाको ठिक अगाडि अबस्थित छ) बास बसियो । वहाँले आफ्नै पहलमा निर्माण भएको प्राकृतिक संग्रहालय समेत देखाउन लैजानु भयो जुन पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नु भएको रहेछ । त्यही होटेलमा मौवाको तीनपाने र फापरको ढिंडो खाएर रात बिताई भोलिपल्ट बिहान ७ बजे तारा (यति) एयर लाइन्सको बिमानबाट पोखरा फर्किएँ ।

2 thoughts on “जोमसोम मुक्तिनाथ (यात्रा स्मरण)”

  1. सुरेशजी
    श्रोत, लिंक र लेखकको

    सुरेशजी

    श्रोत, लिंक र लेखकको नाम स्पष्ट खुलाएर प्रकाशन गर्नुहोला ।

    धन्यवाद !

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *