स्वप्ननगरी, स्वप्नद्रष्टाहरूको यथार्थ नक्कलीपनाभित्रको अन्तरद्वन्द्व र चलचित्र क्षेत्रको अति रोचक चित्रण प्रस्तुति नायिका मीनाकुमारी, निर्देशक बीआर चोपडा, उपन्यासकार राही मासुम रजा, गायक उदित नारायण पाकिजा फिल्मको जीवनको उत्कृष्ट प्रेमदर्शन, भारतीय महिलाहरूको औसत व्यवहार, भारतीय देश, कालअन्तर्गतको रचनागत वातावरणको तुलना भारतीय पूर्वोत्तरमा मेरो बुझाइको सीमाभित्रका कुराहरू अत्यन्त गाम्भीर्ययुक्त छन् । धन्यवाद प्रकाश दाइलाई यस्तो रचना पढ्ने अवसर प्रदान गर्नुभएकोमा ।
‘वर्षादी दिनहरू’ छापिएको दस महिना सात दिनपछि फेसबुकको मेरो स्ट्याटसमा कृष्णसिंह पेलाले युनिकोड फन्टमा लेख्नु भो, उहाँसित मेरो सशरीर परिचय त छैन तर उहाँको टिप्पणीपछि म निकै झस्किएँ । उहाँले यति गम्भीर रूपले पुस्तक पढेर लेख्नुभएको प्रतिक्रियाले म तरङ्गित भएँ ।
बिहान करिब ९ बजे उहाँले प्रेषित गरेको यो प्रतिक्रियाले म करिब नौ बीससम्म झुमिरहेँ । मलाई लाग्छ, लेखकका रूपमा मैले लेखेको यो रचना संस्मरण, नियात्रा वा आत्मगाथा जे भए पनि यो एउटा अतीत कथा हो जसमा म धेरै चक्रवात् भएँ ।
यो बम्बई, गुरु र वर्षादी दिनहरू शीर्षकमा नेपालको श्रेष्ठ साहित्यिक मासिक मधुपर्कमा छापिएको थियो । छापिएपछि मलाई पहिलो प्रतिक्रिया दिने पाठक क्याप्टेन जनकबहादुर राणा महफिल छोडेर हिँडिसके । त्यसबाहेक अन्य केही पाठक अझै पनि सम्पर्कमा छन् र यो कथा दोहोर्याएर भनिरहन्छन् । म चुपचाप सुन्छु, मानौँ यो मेरो नभएर अरू कसैको कथा हो । र, अझै पनि यो कथा यदाकदा मेरो जीवनको छनोटबाट गुज्रिरहन्छन् । केही साताअघि मेरा प्रिय कथाकार दिदी माया ठकुरीले एउटा दिवान्त भोजनमा बोलाएर यही कथा सुनाउनु भो र भन्नु भो, यस “संस्मरणमा चित्रित अनिला मै हुँजस्तो लाग्छ ।”
उहाँको बोलीमा सरस्वती थियो हामी हाँसिरहृयौँ । हामी भन्नाले कविताजस्तै शाश्वत लाग्ने मेरी जीवनसङ्गिनी अञ्जली, गीतजस्तै हुर्किरहेकी मेरी छोरी प्रतिज्ञा र लेखन अनि अध्ययनमा साथ दिने कविमित्र गीता त्रिपाठी । त्यो समय माया दिदीले भनेको कुरामा जति सत्यता थियो त्यति नै सत्यता बोकेर मेरा अगाडि अनिला शास्त्री दृष्यिक भएर झुल्किएकी थिइन् । माया दिदीकै सौजन्यमा हामीले त्यो दिन च्याप्टर नाइनमा भव्य दिवान्त भोजन गर्यौँ, त्यो वर्षादी दिनको निम्ति पुरस्कार ठानेँ, जीवनमा कहिले पुरस्कार नलिने मेरा निम्ति । यो पहिलो पटक लेखिएको मेरो संस्मरण तर त्यही शीर्षकमै रत्न पुस्तक भण्डारबाट विक्रमाब्द २०६७ को चैत ३ गते किताबै निस्कियो ।
त्यो किताब पढ्नेले जुन प्रतिक्रिया दिए त्यसबाट विम्बित छु ।
मेरा मित्र गायक दीपक खरेलले पुस्तक बजारीकरण भएको दिन पहिलो प्रहरमै किन्ने वित्तिकै अड्डाबाट छुट्टी लिएर घर गएर पढेको र आफ्ना पिता चण्डिका खरेललाई पनि सस्वर सुनाएको प्रसङ्ग मलाई सुनाउँदा म आकाशचित्त भएको थिएँ । स्वरसम्राट नारायण गोपालपछिका मेरा सर्वकालिक प्रिय गायक खरेलले किनेर पढेको र पढेर पिताजीलाई सुनाएको घटना भन्दा त्यो पुस्तकको निम्ति एक दिन बिदा नै हापेको उदारताले म स्थिर र स्तब्ध भएँ, मोबाइलमा कुरा गर्दागर्दै ।
उहाँले यो पुस्तक पढिसकेर पठाएको समोस (सरल मोबाइल सन्देश) अहिलेसम्म मैले दैनिकीमा सुरक्षित राखेको छु ।
आज समयौँपछि पेलाजीले पठाएको फेसबुक स्ट्याटसले म झन् अचम्भित भएको सत्य अहिले छर्लङ्ग भयो । पेलाजीले आफ्नो विचारमा खलिल जिब्रान, हिटलर र रजनीशजस्ता चिन्तकको गुणको गणितमा उल्लेख गर्नु भो ।
म रजनीशमा माथि दिइएको सिट्कम (नामाङ्कन गरिएको शीर्षक) मा अल्झिएँ … रजनीशको उत्कृष्ट प्रेमप्रदर्शन ।
रजनीश बीसौँ शताब्दीका अन्तिम महान् विचारक हुन् त्यसमा कुनै विवाद वा सन्देह अब रहेन, मलाई त कहिले पनि यस कुराको चिन्ता पनि भएन । उनी मेरा निम्ति के थिए, भन्ने तर्कातीत तटतिर म जान चाहन्नँ । रजनीशसित साँच्चैको मेरो प्रेम कहाँबाट कसरी सुरु भयो म यकीन गरेर भन्न वा खोल्न सक्तिनँ तर रजनीश नपढेको भए, म साहित्यको यति नगिच हुने थिइनँ । वा, यसो पनि भनौँ, साहित्य नपढेको भए म रजनीशको निकट पनि हुने थिइनँ ।
रजनीश र साहित्य । साहित्य र रजनीश वा रजनीशी साहित्य मेरो जीवनमा एक्कासि आए । म सत्रको हिउँदमा थिएँ, काठमाडौँको बजारमा भर्खरै दुई वटा घटनावली सकेर गएको थियो, छत्तीस सालको आन्दोलन । र, त्यससँगै भर्खरै सम्पन्न भएको विश्वप्रसिद्ध साङ्गीतिक समूह गोदाइगोको म्युजिकल कन्सर्ट ।
आज रजनीशका कृति नपढेको भए, म रमण महषिर्सम्म पुग्न सक्तिन थिएँ । रमण महषिर्को मौन नै सबैभन्दा ठूलो भाषा हो भनेर बुझ्न मलाई हम्मेहम्मे पथ्र्यो । जापानका बोशो, जेन कथा वा हायकू बुझ्न एक पराकाष्ठा हुन्थ्यो । अर्जेन्टिनाका होर्हे लुई बोर्हेस मेरा निम्ति हराएको तासजस्तै हुने थियो होला । मीरा, कबीर, नानक, गोरख वा बुद्धकाबारे शीर्षकसम्मत कुरासम्म पुग्न मेरो उमेर वा अवस्थाले भ्याउने थिइनँ वा आज कृष्णसिंह पेलाजस्ता पाठकका निम्ति म कलम चलाउने थिइनँ । राम्जी तिमिल्सेना, साम्ब ढकाल, रत्ना लामिछाने, डा. प्रत्युश वन्त, मिथिला प्याकुर्याल, शैलेश सिंह, भूपिन व्याकुल वा किशोर पहाडी मेरा निम्ति पढ्ने थिएनन् । कालिम्पोङबाट विचलन पत्रिका चलाइरहेका सम्पादक सुधीर क्षेत्रीले एकदिन विद्युत्पत्रमा लेखी ठोके ।
प्रकाश सायमीज्यू मैत्रिक अनुरोध स्वीकार्नु भएकोमा धन्यवाद छ । विशेष तपाईंको गद्यको म फ्यानै हुँ । फिचर लेखमा गुलजार, कमलेश्वर लामिछाने आदि तपाईं बेजोड हुनुहुन्छ । हेर्नु होला ।
सुधीरको त्यो विद्युत्पत्र पढेपछि मैले गद्य लेखनमा समय फालेको रहेनछु, सुखी भएँ तर यसको सबै श्रेय सन् सत्तरीको दशक र त्यसपछि विश्वमा आएका साहित्यिक, साङ्गीतिक तरङ्गलाई जान्छ जति बेला मैले जोन लेननको इम्याजिन देअर इज नो हेभेन – (कल्पना गर त्यहाँ स्वर्ग हुने छैन ।) सुनें । त्यही समय पश्चिम जगत्मा एलएसडी, ब्राउन सुगर, इपीको युगमा युवापुस्ता फँसिसकेको थियो । हामी पुर्खाको खोजमा इतिहास र साहित्य पढ्दै थियौँ । जोन लेननले यु मे से आइ’म ड्रिमर (तिमीलाई लाग्न सक्छ म एउटा स्वप्नजीवि हुँ) गाउँदा हामी निर्दलीय व्यवस्थाको विरोधमा बहुदलीय व्यवस्थाको माग गर्दै विद्यार्थी आन्दोलनमा थियौँ, सपना हाम्रो पनि थियो तर लेननको भन्दा फरक । ऊ कम्बोडियामा अमेरिकी सेना नझरोस् भन्ने चाहन्थ्यो, हामी भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाजस्ता क्रान्तिकारी फेरि गुपचुप नमारियोस् भन्ने चाहन्थ्यौँ । समयले हामीलाई ज्ञान, विज्ञान र सञ्चारको यति नजिक पुर्यायाइदियो, मान्छे देख्न र सुन्न मात्र होइन भेट्न पाइने भो ।
साँच्चै एकदिन रजनीश पाहुना भएर काठमाडौँ झर्ने खबर आइपुग्यो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको लामो बहादुरीपछि उनी ओरेगावँजस्तो जङ्गलबाट देश निकाला भए, डेविड वासिङ्गटन नामबाट । उनी अमरिका जाँदा जुन नाम लिएर गएका थिए त्यो नामले उनी र्फकन पाएनन् । त्यो षड्यन्त्रका निम्ति रेगनले तीन हप्ता लगाए, उनलाई थुने- रेडियो ध्वनि प्रदूषण, छापा अखबारका मसीगन्ध र चुरुटका बेस्वादिला धूँवाका माझ रजनीशचन्द्र मोहन जैनले भगवान् रजनीश हटाएर डेविड वासिङटन नामबाट दस्तखत गरेर उनी घर फर्के, घर भन्नाले उनले आफूलाई बुद्ध सम्झेर नेपाल फर्के । मलाई उनी त्यतिबेला साह्रै प्रिय लागे जति बेला बुद्धको जन्मभूमि नेपाल जान चाहन्छु भने । सारा भारतीय सञ्चारमाध्यम आफ्नो औसत बुद्धिमा बुद्ध भारतमा जन्मेको भनेर भ्रामक हल्ला फैलाइरहेको बेला उनले बुद्धको जन्मभूमिको घोषणा जेएफके विमानतलबाट गरे । हामी बुद्ध नेपालको मात्र हो चिन्ता गरिरहेको बेला रजनीशले बाँच्दा राजाजस्तो बाँच मर्दा जोगीजस्तो मर भनेर सम्बोधन गर्ने गोरखनाथको जन्म नेपालमा भएको हो भनेर प्रवचन दिए । ती महान् गोरखनाथमाथि उनले भयावह प्रवचन दिए सन् १९७९ मा, मरौ है जोगी मरो मा । ७१० पृष्ठको सो पुस्तकमा बेलाबेला नेपालको प्रसङ्ग आउँदा एउटा गोरखवासी म त्यसै पनि खुसी हुन्थे । ती गोरखका महान् भक्त रजनीशले अमेरिकी सरकारका सबै सर्त मानेर सजाय स्वीकारेर अमेरिकाबाट हिँडे, अन्तर्राष्ट्रिय वायुयानमा हतकडीसहितको यात्रा गरे । यो हवाई निगमा कानुनमुताविक पहिलो यस्तो घटना थियो जसका निम्ति उनी तयार भए, नवभारत टाइम्स्मा यो फोटा छापिएको देख्न पाउँदा म अमेरिकी सरकारप्रति लज्जित भएको थिएँ । यहाँबाट थाह हुन्छ, अमेरिका जसलाई जे पनि गर्न सक्छ । त्यसैले त अमेरिकी कवि एलेन्स गिन्सवर्गले भने अमेरिका आइ फक यु ।
यसरी सन् १९८६ को झरीपछि रजनीश जोर्बा दि बुद्ध हुने तयारीमा नेपाल विमानस्थलमा आए, हाम्रो पञ्चायतमिश्रति शाह सरकारले चुपचाप उनलाई स्वागत गरे । उनी केही नबोली नेपालको अत्यन्त विवादस्पद होटल सोल्टी गए, एउटा सुइटमा मौन साधन गरे । म उनलाई भेट्न लालायीत भएँ तर कसरी ? चिन्ताका क्षणमा थिएँ । म कसैलाई चिन्दिनथेँ, मेरो पहुँच केही थिएन । म न दरवारका मान्छे चिन्थेँ, न होटलका । अहिलेको होटलको जागिरे । साहिरकै गीत सम्झेँ, ती को हुन् जसले मायामा प्यार पाए मैले त फूल मागेँ काँडाका हार पाएँ …. साहिरले भनेजस्तै मेरो पनि त्यही हाल थियो, सुनाउनु र सुन्नु कसलाई । विगत दस वर्षदेखि जसलाई महेन्द्र मालाझैँ पढेँ आज ती नै मेरा निम्ति ल्हासाको सुन भयो । जसले व्याख्या गरेका कथाकथित पात्र मेरा अगाडि दृष्यिक हुन थाले, कहिले साहिर, कहिले गालिब, कहिले मुल्ला नसीरुद्दीन, कहिले कबीर, कहिले फ्रायड, कहिले सार्त्र ….तर म उनैलाई चिनाउने प्रिय सूत्रधारसित भेट्न नपाएर अवाक् छु । म रिसले फेरि उनका किताब पढ्न थालेँ विहान र बेलुका ड्युटीमा बस्दा ।
म त्यतिबेला होटल बज्रमा रिसेप्सनिस्ट थिएँ दिउँसो कलेज पढ्थेँ, रातिदेखि बिहानको ड्युटी गर्थेँ । निद्रा धपाउन राति किताब पढ्थेँ, किताबमा शक्ति हुन्छ भन्ने मेरो ज्ञान त्यतिबेला पनि कमजोर थिएन र भएन पनि । एक रात यसै अनिद्रामा किताब पढ्दै थिएँ, ड्युटीमा । अचानक बत्ती गयो । बत्ती गएपछि होटलमा बास बसेका एक अतिथि मसित मैनबत्ती माग्न आए, मैले खोजाखाज गरेर मैनबत्ती दिएँ । मैले काउन्टरमा मैनबत्ती खोज्दै गर्दा उनले मैले पढ्दै गरेको रजनीशको किताब हेरेछन् र पछि मलाई सोधे,
“डु यु रिड भगवान् ?”
प्रश्न उनले अङ्ग्रेजीमा गरेको भए पनि भगवान् शब्दको उच्चरित उनको ध्वनिमा स्पष्टता थियो र मैले तत्काल उनको पनि यस मनुवाप्रति प्रेम छ भन्ने बुझेँ ।
मैले भने, “या आइ डु । एन्ड आइ एडमाइर हिम लट ।”
उनले अझै भने, उनी काठमाडौँ छन् । उनको प्रवचन सुन्न
गएनौं ? कसरी जानूँ ? उनी सबैका लागि होइनन् रहेछ, केवल धनीका लागि मात्र आएका रहेछन् । म त जान्नँ । मेरो त किताबमै संसार छ उनी यहीँ छन् । ….
कुन्नि केके भनेछु, आक्रोशमा प्रेममा र वितृष्णामा । ती गोराले मलाई गौरपूर्वक हेरे र आफ्नो परिचय विस्तारपूर्वक दिए, “मेरा मित्र । तिम्रो होटलको रजिस्टरमा मेरो जुन नाउँ छ त्यो मेरा नाउँ हैन । मेरो नाउँ होन्साकर चार्ल्स । भगवान्ले मलाई प्रेमपूर्वक नयाँ नाउँ दिनुभएको छ, स्वामी दीक्षान्त । म उहाँको ….” उनी केके भन्दै थिए, मैले ध्यान दिएर केही सुनिनँ । नाम पनि मैले स्पष्ट बुझिनँ तर पछि मात्र थाहा पाएँ । त्यतिबेला त एउटै कुरा मनमा लिएँ, यो पनि मजस्तै एउटा प्रेमी रहेछ, धनी भएकोले यहाँसम्म आएर भेट्न पाएको हुँदो हो । म त भानुभक्त न ठहरिएँ, ऊ त घाँसी रहेछ । मेरा लागि उसले कुवा खनिदिने सक्ने कुराको विद्युतीय चेत त्यति बेलासम्म भएन जब उसको स्वामी लेखिएको भिजिटिङ कार्ड भोलिपल्ट मेरो डेस्कमा आइपुग्यो ।
होन्साकर चार्ल्स त रजनीशका सुरक्षाप्रमुख पो रहेछन्, म त उनलाई भेटेर नै खुसी भएँ । उनी मलाई हलमा टिकट मिलाइदिन सक्ने व्ल्याकजस्तो पनि लाग्न थाल्यो ।
मलाई भोलिपल्ट मात्र थाहा भो, सोेल्टी होटलको गेटदेखि रजनीश बस्ने सुइट कोठासम्मको सुरक्षा उनले हेर्दारहेछन् । प्रवचन दिने दिनको बिहानदेखिको तयारीका निम्ति उनी सोल्टीमै बस्ने गरी सर्ने भएका रहेछन् । उनी हामीसित बिदा माग्न आएका बेला मलाई भने, “मित्र । तिमी आउन चाहन्छौ भने सोल्टीमा आज दिउँसो आऊ । पहिलो दिन हो ..” स्वागतका भावमा उनले मलाई भन्न त भने तर मैले मनमनै भने, “के हातमा पाँच सय लिएर आउनु ।” “अब त टिकट पनि प्याक् भइसक्यो । त्यति भनेर उनी हामीबाट ओझेल भए तर उनले मेरो नाउँमा एउटा किताब छोडेर गए टिप्सजस्तै । त्यो होटलको चलन नै हो । मलाई त्यतिबेला के लाग्यो, अहिले रजनीश नै मबाट बिदा भएर गएका हुन् कि ? उनी गएको धेरै बेरपछि मैले त्यो पुस्तक खोलेर हेरेँ, एउटा अचम्म र अनौठो लाग्दो कुरा देखेँ- त्यहाँ मेरो नाउँमा उनले एउटा सानो चिट लेखेका रहेछन् । त्यो चिटसँगै उनले मेरा निम्ति छोडेर गएका प्रवेशपत्र रहेछन् जुन कार्यक्रम अवधिभर तीन दिनका लागि नै रहेछ । अघि हलको ब्ल्याक्जस्तो लागेका मेरा प्रिय मित्र होन्साकर चार्ल्स यतिबेला मेरा निम्ति भगवान् नै ठहरिए, म खुशीले अजब गजब भएँ । उनले दिएको प्रवेशपत्र बोकेर म त्यहीँ दिन प्रवेशपत्रमा तोकिएको समयमै म सोल्टी होटलको प्राङ्गणमा पुगेँ । रजनीश सबैको दर्शनको निम्ति ध्यानस्थ भएर होटलको गेटबाट निस्के, उनका भक्तहरूले रोइकराई विलाप गरे, कोही हाँस्दै रुँदै आलाप विलाप गरिरहेका थिए । यो दृश्य मलाई अलि नाटकीयजस्तो लागे पनि तर नियन्त्रण बाहिरको थियो, त्यहाँ कोही धनी, को गरिब सबै एकै पङ्क्तिमा थिए । रजनीश आफ्नो प्रख्यात चोलामा थिए जसलाई रजनीशीहरू चोगा भन्थे । उनको शिरमा एउटा टोप थियो, जसमा एक करोड सत्तरी लाखको हीरा जडिएको छ भन्ने भारतीय अखबारको दाबी थियो, म ती सबै चीजभन्दा त्यहाँ देखिएको तमासामा लोभिएँ । त्यहाँको दृश्य उदेकलाग्दो बन्दै थियो, मान्छे त्यहाँ यसरी रोइरहेका थिए मानौँ त्यहाँ कोही मलामी जाँदैछन् र हामी त्यो मलामीका साथी हौँ । होटलबाट केही परसम्मको रुखमुनि पुगेर रजनीश फर्किए चूपचाप । अनुहारमा कुनै खुशी, कुनै ग्लानि केही केही प्रतिक्रिया थिएन । उनी हात जोडेर सबैलाई प्रणाम गर्दै डेढ इन्चको मुस्कानका साथ हिँड्दै थिए । म पुगे द्वारको छेउमा, होन्साकर त्यहीँ थिए आफ्नो शालीन मुद्रामा । मलाई देख्ने वित्तिकै उनी मुस्काए, म हारेको उनी जितेकोजस्तो खालको उनको हाँसो थियो । जब म मुस्काएँ, उनलाई लाग्यो जित उनको मेरो भएको रहेछ । विस्तारै हलभित्र पसेँ, जहाँ मेरो स्थान रजनीश बस्ने सोफाको नजिक थियो, मसँगै जर्मन टेलिभिजनकी रिपोर्टर सुजानी भोन्डी बसेकी थिई, उनी फतफत कराउँदै थिई “मैले भगवान्लाई बीसओटा प्रश्न दिएकी थिएँ तर मेरो त जम्मा दुईटा प्रश्न मात्र स्वीकृत भयो । ओ जिजज …।” रजनीशलाई प्रश्न सोध्नुअघि पहिले प्रश्न स्वीकृत गराउनुपर्ने प्रावधान रहेछ । विश्वका धेरै कलाकार, फिल्मकार, नेताको त्यस्तो चलन हुँदोरहेछ । यदि प्रश्नको उत्तर पहिले नै दिइसकिएको छ भने सोध्न मनाही रहेछ । सुजानी यसैका निम्ति एक हप्ताअघिदेखि आएर डेरा जमाएर बसेका रहेछन् । दुर्भाग्यवश उनको दुइटा प्रश्नको सम्बोधन मात्र हुने भएछ आज ।
म बस्दाबस्दै तत्कालीन नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि आएर अघिल्लो दीर्घामा बसे । त्यसपछि राजदरबारका ज्वाइँ कुमार खड्ग विक्रमले कुर्सीमा आसन जमाए तर उनलाई भुईंकै कुसनमा बस्न भनियो । नियमतः त्यहाँ रजनीश बाहेक कोही पनि सोफामा बस्न नपाउने रहेछ । सुजानी भोन्डी आफ्नो प्रश्नलाई दोहोर्याएर हेर्दै थिई र गनगन गर्दै थिई, त्यही बेला एकपटक सुरक्षा जाँचकी आएर ढाड नदेखाई बस्न र प्रवचनको बीचमा उठेर नजान आग्रह गरे । सुजानी भोन्डी र म बसेको ठाउँको पछिल्तिरबाट आउने भएको हुनाले हामी उल्टो दिशा फर्केर बस्न बाध्य भयौँ ।
केही मिनेटपछि हलको बत्ती निभ्यो, ठूलो स्वरमा झ्यालीजस्तो एउटा चहकिलो बाजा बज्यो । झ्याङ्ग । म सतर्क भएँ, मजस्तै अरू पनि । प्रवेशद्वारमा बत्ती बल्यो, ढोका खुल्ने बित्तिकै धूपको गन्धसँगै आचार्य रजनीशले प्रवेश गरे । हलमा भएका सय डेढसय जना सबै नमस्ते गर्दै उठे, धेरै विदेशी र थोरै नेपालीसँगै उठे । यसपालि अघि बाहिरजस्तो कोही रोएनन्, कराएनन् । रजनीश गएर मञ्चस्थ भए । सबैलाई बस्न आग्रह गरियो । रजनीशले सम्बोधन लगत्तै बोल्न थाले ….अहंकारको अन्तिम निष्कर्ष यही हुन्छ कि म श्रेष्ठ हुँ, अरू बाँकी सबै निकृष्ट हुन् ।”
उनी अमेरिकाको दम्भमाथि प्रहार गर्न थाले ।
उनी बोल्दै गए, हामी सुन्दै गयौँ । उनको हातको उतारचढाव, नयनको गति सबै नोट गर्न लायक थियो । उनी कुनै पङ्क्ति नहेरिकन र अझै कुनै प्रश्न नपल्टाइकन
उत्तर दिँदै थिए, स्वरको आरोह-अवरोह, शब्दमा दिइएको मूढता सबै नियन्त्रित थियो । नियन्त्रण नभएको एउटै कुरा थियो, समय त्यहाँ बित्दै गरेको समय ।
मधुपर्क २०६८ बैशाख
