‘बलेको आगो’ शीर्षकीय निबन्धसङ्ग्रह कवि मित्रलाल पंज्ञानीको नयाँ परिचय हो । २०३७ देखि २०६५ सालसम्ममा पाँचओटा कविता कृति प्रकाशित गरिसकेका पंज्ञानीले छैठौँ कृतिका रूपमा निबन्धसङ्ग्रह प्रकाशन गरेका हुन् । यो पंज्ञानीकै लागि पनि अभिव्यक्तिको नयाँ स्वरूप हो र पाठकले पनि यसबाट नयाँ ऊर्जा पाउने निश्चित छ ।

रचनामा विचार प्रस्तुतीकरणको आफ्नै रहरलाग्दो शैली छ, त्यो अरू कुनै पनि माक्र्सवादी लेखक र निबन्धकारहरूसँग मिल्दैन भनेर भूमिकामा डा. माधवप्रसाद पोखरेलले लेख्नुभएको छ । छोटो आयाम र अभिव्यक्तिको इमान्दारिताभित्र अनुभूतिको सारभूत सन्देश खिपेर पाठकको दिमाग हल्लाइदिने आकर्षण निबन्धकार पंज्ञानीको लेखनमा देखिन्छ ।

समतामुखी मानव मूल्यका सूक्ष्मताहरूलाई गम्भीरतापूर्वक अनुभूत गर्नु र विवेकसम्मत ढङ्गले च्वाट्ट भन्नु, धेरै नलम्ब्याउनु तर भन्न खोजेको सबै भन्नु, सिक्नुपर्ने कुरा छ पंज्ञानीबाट । व्यवहारका साना कुराहरूबाट जीवनको गम्भीर अर्थ खोज्ने प्रयास र महान् भनिएका सिद्धान्तहरू जीवनका दैनिकीहरूमा कसरी प्रकट हुन्छन् भन्ने कुराको खुलासा निबन्धमा गरेका छन् ।

अप्ठ्यारामा कसरी बाँच्छ मान्छे ? मन एकातिर तन अर्कातिर हुँदा कसरी सोच्छ मान्छे ? आफू जहाँ छ, जुन लाइनमा छ त्यही बेठीक लागिरहँदा र आफू जहाँ छैन त्यही चाहिँ ठीक जँच्दा कसरी सम्हालिन्छ मान्छे ? यस सङ्ग्रहका अधिकांश निबन्धहरू लेख्ने बेलामा सायद मित्रलाल कुनै राजनीतिक आस्थामा थिए । उनलाई त्यस समूहप्रति भरोसा थिएन, उनीहरूको विकृत मानसिकता देखेर क्षुब्ध थिए तर पनि थिए त्यही ठाउँमा । सम्भावनाहरूले भरिएको भए पनि सही नेतृत्वको अभावमा क्रमशः शिथिल हुँदै गएको आफ्नो जीवनलाई छक्क पर्दै हेर्छन् -“केही गर्लाजस्तो मान्छे केही गर्नै नसक्ने भएर कसरी इतिहासको गर्तमा बिलाउँछ ? हेर्दै छु ।”

पंज्ञानीको निबन्धको अर्को शक्ति हो आक्रोसको शक्ति । जहाँजहाँ पंज्ञानी रिसाउँछन्, त्यहीँत्यही निबन्धले चमत्कार देखाउँछ । ‘भावना, राजनेता र कवि’ निबन्धमा मौनधारणका विषयमा नेतालाई दिएको दनक होस् वा ‘तँ चोर होस्’ भन्ने निबन्धको तीव्र आक्रोस तर निबन्धकार डराउनु हुँदैनथ्यो ।

‘औपचारिकतामा कुनै शक्ति हुँदैन’ भन्ने पंज्ञानीले सगरमाथाको फोस्रो महिमालाई खिल्ली उडाएका छन्- ‘सर्वोच्चता तब मात्रै गर्वयोग्य हुन्छ, जब त्यसले दुनियाँको कल्याण गर्छ । अन्यथा त्यो सर्वोच्चतालाई दुनियाँले ढोगेर हिँड्न जरुरी छैन ।’

सङ्ग्रहमा जीवनका लोभलाग्दा अनुभूतिहरू पनि सङ्कलित छन् । सधैँभरि जोगाएर राखूँजस्ता, अरूलाई सधैँ सुनाइरहूँ जस्ता, कसैलाई यही कुरा सिकाऊँ र यो मैले आफैँले थाहा पाएको भनेर ढाँटूँजस्ता विचार र अनुभूतिहरू यहाँ छन् । त्यसैले कृति सङ्ग्रहणीय छ ।

कृति ः बलेको आगो (निबन्धसङ्ग्रह)

लेखक ः मित्रलाल पंज्ञानी
प्रकाशक ः साझा प्रकाशन
प्रकाशन ः २०६६
पृष्ठ ः ९२+१०
मूल्य ः रु. १४५।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *