नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’

यस ‘मध्यस्थ व्याकरण भाग-१’ मा नेपाली व्याकरणमा विद्यमान विविध पक्षलाई उठाइएको छ । जे.ए. एटनबाट सुरु भएको नेपाली भाषाको व्याकरण लेखन परम्परा गाउँलेसम्म आइपुग्दा थुप्रै प्रयोग, विधि, पद्धति, सिद्धान्त प्रस्तुत भैसकेका छन् । हेमराज पण्डितको ‘गोरखाभाषा व्याकरण ः चन्दि्रका’, सोमनाथ सिग्द्यालको ‘मध्यचन्दि्रका’, ‘लघुचन्दि्रका’, गोपाल पाडे ‘असीम’को ‘ह्रश्वदीर्घको सबाई’, ऋषभदेव शास्त्रीको ‘व्याकरण दन्त्यकथा’, कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना ः मीठो नेपाली’ लगायत पछिल्लो समयमा आएर थुप्रै नेपाली व्याकरण पुस्तकहरू प्रकाशित भए पनि कसैले अङ्ग्रेजी व्याकरणको स्वरूपलाई आधार मानेका छन् भने कसैले संस्कृत व्याकरणलाई आधार बनाएर लेखेका छन् ।

नेपाली व्याकरणका सूक्ष्मातिसूक्ष्म पक्षलाई केलाएर सरल र सहजरूपमा लेखिनुपर्नेमा त्यसो नहुँदा त्यसका कठिनाइ हटाउँदै सोमनाथले ‘मध्यचन्दि्रका’ र ‘लघुचन्दि्रका’ लेखे । व्याकरण पढ्दा आउने क्लिष्टता र निरसतालाई हटाई बोधगम्य गराउन विभिन्न विधिहरू प्रयोग हुँदैआएका छन् र यसैक्रममा आएको सिकाइको निश्चित तह र क्रियाकलापलाई ध्यानमा राखी आवश्यकताअनुरूप पाठ्यक्रम मिलाइएको गाउँलेको ‘मध्यस्थ व्याकरण’ मा पहिलो कथ्य अर्थात् उच्च्ाार्य खण्ड र दोस्रो लेख्य खण्ड रहेको छ । उच्चार्य खण्डअन्तर्गत चन्द्रविन्दु/शिरोविन्दु प्रयोग, भिन्नता, व्यञ्जनवर्ण, नेपाली सन्धिको विविध अवस्थालाई सोदाहरण प्रस्तुत गरिएको छ । त्यस्तै, उच्चारण गर्ने उपाय, हिन्दी, अङ्ग्रेजीजस्ता आगन्तुक शब्दका उच्चारण पनि प्रस्तुत गरिएको छ ।दोस्रो लेख्य खण्डमा संयुक्त व्यञ्जन वर्ण, अनुस्वार, तत्सम स्वरसन्धि, विसर्ग, लेख्य खण्डमा संयुक्त व्यञ्जन वर्ण, शब्दनिर्माण नेपाली शब्दका प्रकार, उपसर्ग, कृत-तद्धित, समास, द्वित्व प्रक्रियाबाट शब्द निर्माण, कार्यका आधारमा शब्दवर्ग, अर्थका आधारमा नेपाली शब्द, नेपाली क्रियापदको वर्णविन्यास, पदयोग-पदवियोग आदिलाई ‘मध्यस्थ व्याकरण भाग-१’ मा समेटिएको छ । यस व्याकरणमा नेपाली वर्णहरूको उच्चारणविधि सरल, व्यवहारिक तबरले दृष्टान्तसहित प्रस्तुत गरिएको छ । कलेजस्तरमा समेत सैद्धान्तिक कुराबाट मात्र प्राणत्व घोषत्व, स्थान तथा प्रयत्नका आधारमा भिन्नता छुट्याएर उच्चारण गर्न कठिन भइराखेको अवस्थामा अत्यन्त सरल उपायबाट सिकाइएको यस पुस्तकमा संस्कृतको सन्धि र आधुनिक भाषाविज्ञानको बेजोड संयोजन पनि पाइन्छ ।

कवितांशहरू कैयन ठाउँमा उदाहरण बनेर आएका छन्, जसलाई गाउँलेले आफ्नो पूर्वप्रकाशित व्याकरण ललित व्याकरणबाट उधृत गरेका हुन् । भाषावैज्ञानिकहरूले पत्ता लगाउन नसकेका कतिपय विषयमा तर्कमात्र होइन! सप्रमाण केलाइएको पनि छ । यस व्याकरणमा ‘गाउँलेको गन्थन’ भनेर विविध विषय र प्रसङ्गलाई उठान गर्दै सोदाहरण त्यसलाई निम्ट्याउन खोजिएको छ । त्यो नै यस व्याकरण र व्याकरणकारको सवल पक्ष हो । भाषाविज्ञानका दृष्टिले पनि सबल बन्नपुगेको यो ‘मध्यस्थ व्याकरण’ जो कोही अध्यापक, प्राध्यापकहरूले हेर्दा केही मिल्ने छ नै ।

‘मेरो गोरुको बाह्र टक्का’ ठान्ने भाषाविज्ञ तथा शिक्षण पेसामा संलग्न महानुभावहरूलाई यसले केही नसिकाए पनि व्याकरणीय एकरूपता कायम राख्न भने यसले अवश्य सिकाउने छ । प्राध्यापन पेसामा संलग्न गाउँलेको नेपाली व्याकरणको यो तेस्रो कृति हो । यसअघि उनका ‘भाषा-बन्दना’ र ‘ललित व्याकरण’ प्रकाशित भैसकेका छन् । व्याकरणबाहेक कृतिकारका निबन्ध, खण्डकाव्य गरी हालसम्म २६ वटा कृति प्रकाशित भैसकेका छन् ।

कृति ः मध्यस्थ व्याकरण (भाग-१)
लेखक ः ‘गाउँले’ बलदेव
प्रकाशक ः लेखक स्वयम्
प्रकाशन ः २०६६
पृष्ठ ः २७२
मूल्य ः रु. २००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *