थुप्रै उपन्यासहरू प्रकाशन गरिसकेकी, थोरै गजलसङ्ग्रहबाटै गजलकारका रूपमा धेरै प्रसिद्धि कमाइसकेकी स्रष्टा श्रेष्ठ प्रिया ‘पत्थर’ को कथासङ्ग्रह ‘एउटा अर्कै बाटो’ प्रकाशित पश्चात् उनी कथाकार पनि भइसकेकी छन् । प्रस्तुतसङ्ग्रहमा विभिन्न शीर्षक र सन्दर्भका सत्रवटा कथाहरू समाविष्ट छन् ।

‘यो मौका कहिले आउला’देखि लिएर ‘दुई कट्ठा जमिन’सम्मका सम्पूर्ण कथाहरूले समानता, न्याय एवं मानवताको वकालत गरेका छन् । सङ्ग्रहको शीर्षकथा ‘एउटा अर्कै बाटो’ समाजमा हरेक दृष्टिले शोषितहरूको कथा हो । दरिद्र एवं पिछडिएका जनताहरू कसरी प्रताडित भएका छन् भन्ने पक्षलाई यस सङ्ग्रहका सबैजसो कथाले देखाएका छन् । संस्कारका नाममा रहेका समाजमा व्याप्त अन्धपरम्पराका कारण नारीहरू कसरी शोषित हुनुपरेको छ, त्यस्तो प्रताडनाबाट मुक्त हुन कत्तिको त्याग गर्नुपरेको छ, त्याग र सङ्घर्ष गर्दागर्दै पनि सफल हुन साह्रै गाह्रो छ भन्ने पक्षलाई देखाउन ‘अबलाको अठोट’, ‘दोषी को ?’, ‘पुनमको गर्जन’, ‘कमली’ आदि कथाहरू सक्षम देखिन्छन् । ‘उद्घाटन’ कथामा पुरुष जातिलाई एड्स रोगका किटाणुका रूपमा देखाई महिलालाई ‘बेश्या’ र के के भनेर गालीगलौज गरे पनि महिलालाई बेश्या बनाउनेहरू भनेका पुरुषहरू नै हुन् भन्दै त्यस्ता पुरुषलाई एड्स सारिदिएर महिलाले साटो फेरेर सन्तुष्टि लिएको देखाइएको छ । ‘उद्घाटन’ एउटा मार्मिक एवं प्रतिशोधात्मक शिक्षाको कथा भएको छ महिलाहरूका लागि ।

जनयुद्धको नाममा भएको द्वन्द्वमा कति केटाकेटी टुहुरा भए, कति महिला विधवा भए, कति वृद्धवृद्धाको वैशाखी खोसियो, कतिलाई जेलमा कोचियो त्यसको लेखाजोखा छैन । युद्धविभिषिकाको कथाको रूपमा ‘त्राषद् त्यो क्षण’ देखिएको छ । वनको बाघबाट पीडित भएकाहरू त भए, भए अरू सबै मनको बाघबाट सताइए, किनकि त्यो समय नै भयावह थियो । जनयुद्धको बेलामा सरकार एवं विद्रोही पक्षको चेपुवामा परेर निर्दोष र अबोध जनताहरूले अनाहकमा दुःख पाएको यथार्थ ‘त्राषद् त्यो क्षण’ले देखाएको छ ।

नेपालको नियम, कानुन, संविधान निरीह र अव्यावहारिक भएका कारण ‘सानालाई ऐन र ठूलालाई चैन’ भन्ने उक्ति चरितार्थ भएको सन्दर्भ ‘मानवता हराएको मान्छे’ ले उजागर गरेको छ । सम्पूर्ण कथामा पत्थरले गरिब दीनदुःखीप्रति सहानुभूति दर्साई सबैमा समानता हुनुपर्छ, राज्यले सबैलाई न्याय दिनुपर्छ । एउटै देशका नागरिक कोही दास त कोही मालिक कसरी हुन्छन् ? भन्ने प्रश्न उठाएको पाइन्छ ।

सुदूरपश्चिमेली वा परपश्चिमा भाषा एवं थारू भाषाको समुचित प्रयोग, त्यहीँको स्थानीय भूगोल एवं परिवेशको प्रस्तुति सबै वर्गका पात्रको प्रयोग आदिले कथालाई रोचक बनाएको छ भने निम्नवर्गप्रति सहानुभूति अन्धपरम्पराप्रति विद्रोह, समानताको वकालत, नारीलाई सवलरूपमा प्रस्तुत, जमिन्दारी कमैया-कमलरी प्रथाको विरोधवादी जातिमा यौनव्यवसायको विकल्पको खोजीको माग आदि यस सङ्ग्रहका सबल पक्ष हुन् ।

कृति ः एउटा अर्कै बाटो (कथासङ्ग्रह)
लेखक ः श्रेष्ठ प्रिया ‘पत्थर’
प्रकाशक ः नेपाल स्रष्टा समाज
प्रकाशन ः २०६६
पृष्ठ ः ९२+१२
मूल्य ः रु. ५०।-

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *