यहाँ मान्छेबाट मान्छे
दुख्न छाडेका छैनन्
सोझो चिताउनेको यहाँ
भलो हुन सकेको छैन
उहिल्यै सतीले सरापेको
श्र्राप रही रहेकै छ यहाँ ।
एउटै मुलुकमा
एउटै नियम कानुनमा
जाली फटाहाहरू
बनिरहेछन् काजी
कर्मवादी मुक्तिकामीहरू परिरहेछन् पछाडि
झूटको राजनीतिले
मुलुक लाथालिङ्ग भइरहेछ
अनेक क्रान्ति सङ्घर्षमा
जनता लड्ने
जनता नै मर्ने
जनताको बलिदानमा
नेताहरू चैन गर्ने
यो कस्तो विडम्बना !
बदलियो केवल
शासन व्यवस्था
बदलिएन हाम्रो मानसिकता
जसको शक्ति उसकै भक्ति
कानुनी राजमा के हुन्छ यस्तै ?
पराईको वैशाखीमा
स्वाभिमान गुमाउनेहरू
गुट, फुट र स्वार्थमा
देशलाई टोक्नेहरू
जनताको नाममा
कार महल जोड्नेहरू
सत्तालाई परम ठान्ने
बहादुर हाम्रा नेताहरू
मुलुक भ्रष्टाचारले थलिँदै छ
तस्करी कमिसन चुलिँदैछ
दण्डहीनता छताछुल्ल छ
सुशासन कानुनी राज
निरीह बनेको छ
अब उपरान्त जनताले
कुनै गुनासो गर्न नपाउने गरी
सत्ता बनेर आउनु
अव्बल अभिवादन छ
नयाँ वर्षलाई ।

मधुपर्क २०६८ बैशाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *