परेवाहरू
निशर्त खुशीको
आह्वान गर्छन् ।
आँगनभरि
पर्याप्त शान्ति
र
पर्याप्त प्रेमको
आलाप छर्छन्
किनकि
परेवाहरू आँफै
सृष्टिका
निशर्त र पर्याप्त
प्राप्तिहरू हुन् ।
तिनीहरूको
आँखामा शान्ति र
भाखामा प्रेम हुन्छ ।
नवनित
घाम झुल्कँदा
लोकतन्त्रको आलोकसित
माथि माथि
स्वतन्त्रताको उचाइ सम्म
परेवाहरूको आकास हुन्छ
अपितु
त्यो भूगोलबिहिन, सीमाबिहिन
स्वतन्त्रताको
साम्राज्य आकासमा
उनीहरूको राष्ट्र हुँदैन ।
त्यसैले
उनीहरू उडेर फर्कंदै
राष्ट्रियताको गुँडमा पस्छन् ।
परेवाहरू
प्रेम र शान्तिका
सर्वनामहरू हुन् ।
बेनाम सिद्धान्तको
खाली आकासमा
उडाइएका परेवाहरूले
आफ्नो गुँड ।
आफ्नो पहिचान
बिर्से भने
उनीहरूलाई बलात्
उडाउनेहरूलाई
पाप लाग्छ ।
परेवाहरू
पर्याप्त इच्छा र आकांक्षाहरूको
बिगुल फुक्छन् ।
आँगनमा सुकाएको
बिस्कुन खान्छन्
र
आँगनभरि
प्रेम र शान्तिको
बिस्कुन सुकाएर
घुर घुर गर्छन्
किनकि
परेवाहरू
सृष्टिका अव्युत्पन्न प्राप्तिहरू हुन् ।
परेवाहरू-
युद्धको विकिरण सहन सक्दैनन् ।
परेवाहरू-
मृत्युको घोषणा सुन्न सक्दैनन् ।
परेवाहरू-
घना बस्तीको भुइँचालो पढ्न सक्दैनन् ।
परेवाहरू
प्रमोदित भएर रमाउँछन्
धुरी धुरीमा रमण गर्छन् ।
परेवाहरू
प्रेमका बेमिसाल पर्यायहरू हुन् ।
यद्यपि
परेवाहरू कहिल्यै
उन्मत्त हुँदैनन्
झगडालु हुँदैनन्
किनभने
परेवाहरू
प्रेम र शान्तिका द्योतक
राष्ट्रप्रेमी चराहरू हुन् ।
