पुस्तकका पृष्ठ थोरै छन्। कविताका पंक्तिहरू पनि थोरै छन्। तर, यो सीमितताभित्र पनि कवि मधुसूदनप्रसाद घिमिरेले जीवन र जगत्का धेरै गहिरा कुरा बोलेका छन्। कृष्णको भक्तिमा लीन भएर सिर्जित अर्पण आफैँमा भक्ति-कविता हो। त्यसैले यसमा भक्तिका आधारमा जीवनका कुरा उठाइएका छन्। उनका कविताले एउटा प्राणीले अर्को प्राणीको बलि दिएर ईश्वर खुसी नहुने यथार्थलाई अभिव्यक्ति दिएका छन्। उनका तर्कमा जलचर, थलचर, उभयचर सारा एउटै ईश्वरको सृष्टि हो भने मानिसले प्राणीको हत्या गर्दा कसरी ईश्वर प्रसन्न हुन्छ ? बलि त त्याग हो र मानव मात्रले गर्नुपर्ने कर्तव्य पनि यही नै हो, कवि भन्छन् :
बलि भनेको पनि त्याग नै हो
मनुष्यले गर्नु पनि यही नै हो
त्यागेर सारा मन नै चढाऊँ
श्रीकृष्णको दर्शन गर्न पाऊँ ।
मनभन्दा निर्मल, मनभन्दा पवित्र र मनभन्दा पुण्य अर्को कुनै वस्तु छैन भगवान्लाई चढाउन। हो, कसैलाई बलि नै नचढाई भगवत्कृपा प्राप्त हुँदैन भन्ने भ्रम छ भने यसले चामल, खीर, दाल, कुभिन्डो, मूला आदिको बलि दिँदा हुन्छ। उनको आग्रह छ, ‘जे आफ्नो हो त्यही नै चढाऊँ’। तर, आध्यात्मिक दृष्टिले भन्ने हो भने मानिससँग आफ्नो भन्ने केही नै छैन, सारा रचना ईश्वरको हो। त्यसो हो भने उससँग भगवान्लाई चढाउनका लागि के हुन्छ त ? यो कविको गहिरो व्याख्या हो। लेख्छन् :
यो देह उसकै रचना नि उसकै
सारा जगत्का सब जाति उसकै
मेरो छ कुन चीज भनै चढाऊँ
श्रीकृष्णको दर्शन गर्न पाऊँ ।
जम्माजम्मी ४२ श्लोकको यो सानो पुस्तकले भनेको सारांश हो : राम्रो काम, अहिंसात्मक काम र परोपकारी, नि:स्वार्थ काम गर। महाकवि देवकोटाले भनेझैँ घिमिरे पनि ‘मोक्षका लागि आखिर एक मात्र श्रीकृष्ण हुन्’ भन्ने विचार राख्छन्। तर, देवकोटाले भनेझैँ घिमिरेले भक्ति गर्न सकिन भनेका छैनन् बरू यिनकै भक्तिमा लीन होऊँ भन्ने कुरा सम्प्रेषण गरेका छन्। भक्तिभावको अत्यन्त गहिराइसम्म डुबेकाले होला, उनले कृष्णबाहेक अरू कसैलाई देखेका छैनन्। तर, मानिसको जीवनयापन भजन-कीर्तनले मात्र सम्भव छैन। उसले कृष्णबाहेक कमाउनु पनि पर्छ, जहान-बालबच्चा पाल्नु पनि पर्छ र मानिस-मानिसबीचको सम्बन्धलाई निर्वाह पनि गर्नुपर्छ। तर, घिमिरे लेख्छन् :
आफन्त भन्नु क्षणको रहेछ
वैराग्य मात्रै संगमा बसेछ
भोगादिको लक्षणलाई त्यागौँ
श्रीकृष्णको दर्शन गर्न पाऊँ ।
कुनै पनि कर्मशील मानिसलाई उनका यी हरफले सकारात्मक सन्देश दिँदैनन्। यो त उनको चरम पलायनताको अभिव्यक्ति हो। यहाँसम्म मानिसलाई पुर्याउनु हुँदैन। सबै मानिस तपस्वी भए र वन प्रस्थान गरे भने संसार कसरी चल्छ ?
अर्पण
स्रष्टा : मधुसूदनप्रसाद घिमिरे
प्रकाशक : स्रष्टा स्वयं
पृष्ठ : ३२
मूल्य : २०
नेपाल साप्ताहिक ४४४
