रामकृष्ण परमहंस भन्छन्- ‘प्रायः मानिस परचर्चामा दिन बिताउने गर्छन् । यसरी हमेसा अरूको गुण र दोषको चर्चा गर्नाले अरूले अहित त गर्ला नगर्ला तर आफ्नो अहित भने गरिरहेका हुन्छन् किनकि आत्मचर्चा र परमात्मा चर्चाको प्रमुख बाधक भनेकै परचर्चा हो ।’ मानिसका लागि पहिलो हितैषी भने पनि सहयोगी भने पनि मानिस नै हो । एउटा मानिसलाई आफू सुरक्षित छु भन्ने महसुस हुन पनि अर्को मानिसको उपस्थिति जरुरी हुन्छ । अहिलेसम्म कोही पनि मानिस अनकण्टार स्थानमा घरजम गरेर बसेको उदाहरण भेटिएको छैन । कदाचित्त कोही पुगेका छन् भने पनि उसलाई जीवनलाई पूर्णता दिन पुनः मानवकै समूहमा आउन परेको छ । सम्भवतः त्यसै भएर नै होला स्वामी विवेकानन्दले नरको सेवा नै नारायणको सेवा हो भनेका छन्, सत्य साई बाबाले मानवसेवालाई माधव सेवा मानेका छन् भने महात्मा गान्धीले जनतालाई जनार्दनको संज्ञा दिएका छन् तर विडम्बना आज मानिसका लागि मानिसभन्दा ठूलो शत्रु अर्को कुनै हुन सकिरहेका छैनन् । मानिस वरू कुकुरसित मित्रता बढाउन तम्सन्छन् तर मान्छेप्रति भने असहिष्णु हुनुमै गर्व गरिरहेका हुन्छन् । हामीसित अर्काको चियो चर्चो र निन्दा गर्ने त प्रशस्त समय हुन्छ आफू को हो, कहाँबाट आएको हो, किन आएको हो र के के दायित्व छन् भन्ने तर्फ सोच्ने भने समय नै रहँदैन । फलतः मानव समाज मान्छेकै कारण घोर असुरक्षाको स्थितिबाट गुजि्ररहेको छ ।
सायद भाषाशास्त्री गाउँले बलदेवले ठीकै भनेका छन्- अहं पनि हामीसितै छ र वयं पनि हामीसितै छ तर प्रायः के देखिन्छ भने दुःख पाउँदा त हामी वयं नै भनिरहेका हुन्छौ तर सुख पाउँदा भने पुनः अहंको मार्गमा झर्ने गर्दछौं । हुनुपर्ने हरहमेसा वयं नै थियो । मुख्य गडवडी नै यही किनकि यसैबाट नै मानव समाज मानवकै कारण डर लाग्दो हुन पुगेको छ । धर्मगुरुहरू भन्छन्- जन्म जन्मात्तरदेखि बोक्दै आएको दुःखको भारी विसाउन कै लागि मानव जीवन प्राप्त भएको हो तर भइदिएको के छ भने मान्छेले बाटो बिराउँदा जन्मजन्मात्तरदेखि बोक्दै आएको दुःखको भारी विसाउने होइन जन्मजन्मात्तरसम्मका लागि दुःखको भारी बढाउने काम भइरहेको छ । यद्यपि हाम्रा अघि सही बाटो देखाउने गुरुको कमी छैन । महषिर् व्यासले त यसै पनि हजारौं वर्ष पूर्वदेखि सही बाटो देखाउने प्रयास गर्दै आएका थिए करिब दुई हजार छ सय वर्ष पूर्व नेपाल, ग्रीस र चीनमा उदाएका क्रमशः बुद्ध, पाइथागोरस र कन्फ्युसियसले पनि यही नै बाटो देखाउने प्रयास गरेका थिए । त्यति मात्र होइन त्यसपछि विश्व मानचित्रमा देखा परेका सुकरात, प्लेटो, एरिस्टोटल, इसु, मोहम्मद, नानक, तुलसीदास, कवीरदास आदि जति पनि आत्मदर्शी महामानव छन् मूलतः सबैको उद्देश्य पनि त्यही नै रहेको छ । तथापि विडम्वना नै मान्नुपर्छ मानव समाज झन् झन् बाटो बिराएर कि कर्तव्य विमूढ अवस्थामा पुगिसकेको छ वा पुग्दैछ ।
विमेज दर्शनका प्रतिपादक विमेज भन्छन्- मानिसले गन्तव्य भुलेकाले वा बिर्सेकाले सत्याणु दर्शनबाट चुकेका छन् । उनका अनुसार मानिसले सत्याणुको दर्शन नपाउँदा सपाणुको सिकार बनी ब्ल्याक होलतिरको यात्रा गरिरहेका छन् । उनी भन्छन्, चाहे भौतिकवादी हुन् चाहे अध्यात्मवादी दुवैको उद्देश्य मानव मात्रकै कल्याण गर्नु हो तैपनि मानिसले किन कल्याणको बाटो समाउन सकेका छैनन ? किनकि सत्याणु दर्शनबाट विमुख हुँदा पक्ष र प्रतिपक्षमा विभाजित भई मानिसले आफू पर्ने खाल्टो आफैँ खनिरहेका छन् । मानिस जतिबेलासम्म पक्ष र विपक्षमा विभाजित हुन्छन्, त्यतिबेलासम्म निर्धाले बलियाको सिकार हुनुपर्ने शृङ्खला जारी नै रहन्छ उदाहरणका लागि भन्नुपर्दा एकताका इराकमा जुन नरसंहार भयो त्यसैको परिणाम हो र अहिले लिवियामा जे भइरहेको छ त्यो पनि त्यसैको निरन्तरता हो । यी त ठूलो उदाहरण हुन् । वास्तवमा प्रत्येक राष्ट्र र समाज हुँदै टोलछिमेक र घरपरिवारसम्मलाई यही रोगले गाँजेको छ । यस्तो प्रवृत्तिले निर्धाको हित त हुँदैन नै अन्ततः बलियाको हित पनि गर्दैन र दुवै उही व्ल्याक होलको अनन्त गर्नमा समाधिस्थ हुनपुग्छन् ।
वास्तवमा संसारमा को ठूलो, को सानो ? को अघि, को पछि ? यो मनको भ्रम वा अहं बाहेक केही पनि होइन ठूलो खिइदै जाँदा सानो हुनपुग्छ, सानो सकिँदै जाँदा त्यही विशाल स्पेसमा परिणत हुनपुग्छ । अघि र पछि पनि त्यस्तै हो । आजको वीज भोलि वृक्ष बन्न पुग्छ पछि सोही वृक्ष नै पुन वीज बन्न आउँछ । आजका बाबु भोलि छोरो बन्छ पछि त्यही छोराको छोरोमा पनि सोही बाबुको अङ्ग विराजमान हुनपुग्छ । कसलाई अघि भन्ने कसलाई पछि ? नचल्लालाई म अघिल्लो भन्ने अधिकार छ न अण्डाले आफूलाई अघिल्लो ठान्ने अधिकार पाउँछ । ब्रहृमाण्ड गोल छ आज अगाडि देखिएको भोलि पछाडि पर्छ आज पछाडि परेको भोलि अगाडि आउँछ । विमेज दर्शनको सिद्धान्तको आधारमा भन्ने हो भने पनि ठीक जीर्ण हुँदै जाँदा बेठीक बन्छ बेठीक जीर्ण हुँदै जाँदा ठीक हुन पुग्छ छ रित्तिदै जाँदा छैन हुनपुग्छ । छैन कम हुँदै जाँदा छ हुन पुग्छ । कालोको कालो पनि हटाउँदै जाने हो भने सेतो हुन पुग्छ सेताको सेतोपन झिक्दै जाने हो भने कालोमा दाँजिन पुग्छ । कसलाई पक्ष मान्ने कसलाई विपक्ष भन्ने कसलाई अघि भन्ने कसलाई पछि भन्ने ? सबै समान छन् र सँगसँगै छन् न कोही अघि छन् न कोही पछि न कोही ठूला छन् न कोही साना ? ठूलो, सानो, वलियो, निर्धो, अघि, पछि, तल माथि सबै अहम्कारको खेल हो । जबसम्म मानिस वयंलाईं बिर्सेर अहम्को आहालमा पौडिरहन्छ तबसम्म जित हारको खेल जारी नै रहन्छ । हार्नेले जित्ने प्रयास गर्दछ । जित्नेको एक मात्र उद्देश्य जितलाई टिकाउनु मात्र हुन्छ । यस्तो प्रवृत्तिले मानव रगतको खोलो मात्र बगाउँदैन मानव समाजलाई गन्तव्यबोधबाट विमुखसमेत गराउँछ ।
अहिलेसम्म संसारमा जति आए सबैले आ-आफ्नै वादको मात्र कुरा गरे । द्वैतवाद, अद्वैतवाद, विशिष्ठाद्वैतवाद, शुद्धाद्वैतवाद, हैताद्वैतवाद, समाजवाद, साम्यवाद, पुँजीवाद, माक्र्सवाद, लेलिनवाद, माओवाद, प्रजातन्त्रवाद, वादैवाद तर समन्वयवादको कुरो भने कसैले पनि गरेनन् । जबकि गर्नुपर्ने कुरो चाहीँ त्यही थियो । एक्लै हिँडेर कसैले पनि गन्तव्य भेट्टाउन सक्दैनन् । अहिलेसम्म जति नै प्रयास गर्दा पनि मानिसले चाहेको शान्ति र आनन्द पाउन नसक्नुको मूल कारण नै यही हो त्यसैले अब हामी सबैले आ-आफ्नो यात्रालाई रामकृष्ण परमहंसले भने जस्तै परचर्चालाई छोडेर आत्मचर्चातर्फ केन्द्रित गराउने पो हो कि ?
युवामञ्च २०६८ बैशाख
